लैङ्गिक हिंसा विरुद्ध रचना वाचन
Tags: No Comments
मकवानपुर/आँचल साहित्य कला पुञ्जको आयोजनामा लैङ्गिक हिंसा विरुद्ध ऐक्यबद्धता जनाउँदै विशेष कार्यक्रम गरिएको छ । लैङ्गिक हिंसा विरूद्व १६ दिने अभियानको शिलशिलामा लैङ्गिक हिंसा विरुद्ध रचना वाचन कार्यक्रम गरिएको हो । जुम मार्फत आयोजना गरिएको लैङ्गिक हिंसा विरुद्ध रचना वाचन कार्यक्रममा देशको विभिन्न जिल्लाका ५० जनाभन्दा बढी साहित्यकारहरुको सहभागीता रहेको थियो ।
वरिष्ठ साहित्यकार कुन्ता शर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा अधिकांश साहित्यकारहरुले लैङ्गिक हिंसा विरुद्धका विभिन्न विधाका रचनाहरु सुनाएका थिए । कार्यक्रममा जोडिएका साहित्यकारहरुले लैङ्गिकताको आधारमा कसैमाथि पनि हिंसा गर्न नहुने धाराण राख्दै रचनाहरु सुनाएका थिए । पुरुषलाई सानैदेखि पितृसत्तात्मक शिक्षा दिएको कारण महिलामाथि हिंसा हुदैं आएको सहभागीहरुले बताए । कार्यक्रममा प्रमुख अतिथि शर्माले समाजमा महिलाहरु हिंसाको चपेटामा परेको बताइन् ।

‘जहाँ श्रीमान श्रीमति मिलेर घर चलाउँछ त्यहाँ सधैं सफलता मात्रै हात लाग्छ’ साहित्यकार कुन्ता शर्माले भनिन् । श्रीमानले श्रीमति वा श्रीमतिले श्रीमानलाई थिचोमिचो गर्दा हिंसा सदा रहिरहने उनले बताइन् । ‘हामीले आफूलाई आफैंले सानो र श्रीमानलाई ठुलो बनाएका हौ, जहाँ देह त्यहाँ छायाँ भन्दै शक्तिहिन जस्तो भएको कारणले पनि महिलाहरुले बढी पीडा भोगेको हुन्’ उनले भनिन् ‘कुनै पुरूष शक्तिहिन भएपनि महिलाले नै महान बनाएका छन् ।’
डिग्री गरेका श्रीमतिको श्रीमानले अर्को श्रीमति ल्याएपनि पहिलो श्रीमतिले मलाई एउटा कुनामा नै भएपनि बस्न देउ भन्ने गर्छन्, यो देखेर दिक्क लाग्छ’ उनले भनिन् ‘पितृ सत्ता त छ, तर महिला आफैंले पनि हिम्मत उठाउनु पर्छ ।’ महिलाहरुलाई चुनौतिका बिचमा पनि संघर्ष गरेर आफ्नो अवस्था माथि उठाउन उनले आग्रह गरिन् । अहिलेको अवस्था विगतको भन्दा केही आशाबादी भएको उनले बताइन् । आर्थिक रुपमा सशक्त भएका महिलाहरुले हिंसा सहेर बस्न नहुने उनले बताइन् ।
कार्यक्रममा साहित्यकार गिता त्रिपाठीले महिला वा पुरुषवादी सोचका कारण समाजमा हिंसा रहिरहेको बताइन् । ‘हामीले सानै देखि छोरी र छोरालाई दिने संस्कारमा पनिवर्तन ल्याउनु पर्ने छ ’ साहित्यकार त्रिपाठीले भनिन् । आँचल साहित्य काला पुञ्ज कार्यवाहक अध्यक्ष अनिता न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकारहरु देवराज तिवारी, दीपक गौतम, निरा शर्मा, भावना सापकोटा, गणेश पैडेल, अमृता नेपाल, शुभ लक्ष्मि प्रभा, एलिजा पुडासैनी, मसान उपासक, लगायतले विभिन्न विद्यालयका बालबालिकाहरुले समेत रचना वाचन गरेका थिए ।
१
अर्काको भरोसामा पर्नेलाई छुट छ
नजिक हुँदा टाढा सर्नेलाई छुट छ
सत्य सत्य नै हुन्छ सक्नुपर्छ कुर्न
झुटको खेती दिनहुँ गर्नेलाई छुट छ
२
आफ्नोलाई पराइ भनेर त सिद्दियौ
व्वाँसाको पाइला गनेर त सिद्दियौ
उचाल्नेले पछार्छ भन्ने बुझ्नु पर्ने हो
उसैको आज्ञाकारी बनेर त सिद्दियौ
३
विषयलाई पटकपटक गुन्ने गर्नु है
कुविचारलाई मनभित्रै थुन्ने गर्नु है
आफ्नो कुरा लागू गराउनु छ भने
अरुको कुरालाई पनि सुन्ने गर्नु है
४
इर्ष्या त्यस्तो रोग हो गलाउँछ आफैलाई
अनियन्त्रित बनाएर चलाउँछ आफैंलाई
बेलैमा सुझबुझ हुन सकेन भने जिन्दगीमा
ढाल्न खोज्दा अरुलाई ढलाउँछ आफैलाई
५
आजकलको माया प्रेम खोटो हुँदोरहेछ
पैसा रहुन्जेल मात्र नाता मोटो हुँदोरहेछ
स्वार्थ र वासना मिसिएर होला नि है ?
सर सङ्गतको अवधि छोटो हुँदोरहेछ
६
सँगै हिँडाउदा नि भएन छोड्दा पनि भएन
जनम जनमको सम्बन्ध तोड्दा पनि भएन
खेदिरह्यौ आखिर के ? देख्यौ र कमजोरी
बारम्बार दुई हात मैले जोड्दा पनि भएन
७
कहिलेकाही तिमीले पातैभरि लेख्थ्यौ
फेरि कहिले कापीमा रातैभरि लेख्थ्यौ
सायद मेरो माया धेरै लागेर हुनुपर्छ
नाम अनि के के हो हातैभरि लेख्थ्यौ
८
मायामा मायाको रङ भर्न मन पराउँछु
आफ्नाहरूको नजिक पर्न मन पराउँछु
तिरस्कार कसैले नगर्नु दुईदिने चोलामा
म त अक्षरको खेती गर्न मन पराउँछ
९
बोली मुटु छेड्ने भालो रहेछ
सहिरहनु पर्ने मेरो पालो रहेछ
बाहिर देखेर मात्र नहुने भयो
गोरो मान्छेको मन कालो रहेछ
१०
मायाले तिमीलाई घेर्न चाहन्थेँ म
अङ्गालोमा सदा बेर्न चाहन्थेँ म
अवसर दिएनौ भयौ तिमी बेग्लै
फूलको नजरले हेर्न चाहन्थेँ म
११
कहिल्यै चाहन्नँ कसैलाई फसाउन पाए हुन्थ्यो
बरु चाहना हुन्छ हृदयमा बसाउन पाए हुन्थ्यो
जिन्दगीमा अक्सर यस्तै यस्तै कुरा खेल्छन्
आफू हाँसेर अरुहरूलाई हसाउन पाए हुन्थ्यो
१२
नाटक देखाइ रुनेसँग केही लाग्दैन
कहालिदै शिर छुनेसँग केही लाग्दैन
सुधार्न जति प्रयासहरू गरेता पनि
नियत खराब हुनेसँग केही लाग्दैन
१३
मन बरालेर अन्त तिमी जानु हुन्न है
खराब बाटोमा आफूलाई लानु हुन्न है
मन र मुटु दुवै दिन्छु भन्दाभन्दै तिमीले
कुनै हालतमा हरेस खानु हुन्न है
१४
तिम्रै यादमा प्रत्येक पल तड्पिने त मै हुँ नि
क्षितिज भन्दा पारिबाट कल्पिने त मै हुँ नि
छटपाउँदै रात बित्यो भुलभुलेको यादमा
तिमीले कहिल्यै सम्झिनौ सम्झिने त मै हुँ नि
चितवन
मकवानपुर । नेपाल प्रज्ञा–प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव आगामी मंसिर २९ गते काठमाडौँमा आयोजना गर्ने भएको छ। प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक असार ९ गते हुँदै आएको उक्त प्रतियोगितात्मक महोत्सव कोभिड–१९ का कारण स्थगन गरिएको थियो।
प्रतिष्ठानले विसं २०२२ देखि महोत्सव आयोजना गर्दै आएको छ। यसअघि विसं २०७२ मा गोरखा भूकम्प जाँदा कविता महोत्सव स्थगित भएको थियो। प्रतिष्ठानले प्रतियोगिताको पुरस्कार राशिसमेत वृद्धि गर्ने निर्णय गरी महाेत्सवमा प्रथम हुनेलाई ५० हजार, द्धितीयलाई ४० हजार र तृतीय तीन जनालाई जनही ३० हजार रूपैयाँ नगदसहित पदक र प्रमाणपत्र प्रदान गरिने भएकाे छ।
मकवानपुर । मकवानपुरको पर्यटन क्षेत्रको रुपमा रहेको चित्लाङमा लामो समयदेखि पर्यटन क्षेत्रमा लागेका पर्यटन व्यवसायी देवेन्द्र नेपालले चित्लाङको पर्यटकीय सम्भावनालाई उजागर गर्दै आएका छन् । चित्लाङमा पर्यटनको सम्भाव्यता अध्ययनपछि १८० रोपनी जमिन भाडामा लिएर १० वर्षअघि अर्गानिक भिलेज रिसोर्ट सुरु गरे ।
शुक्रबार कर्म पिक्चर्सले युटुवमार्फत् सार्वजनिक गरेको देबेन्द्रको ‘मेरो चित्लाङ’ म्युजिक भिडियोले चित्लाङको पर्यटनको पर्याय बन्नुभएका देवेन्द्र गीत, संगीतमा पनि रुची राख्छन् भन्ने बताउँछ । यस अघी चर्चित म्युजिक भिडियोहरु ‘झ्यानापुल्टुङ’, ‘टुच्च स्यान्टाराम’ र ‘कि साथमा तिमी’ को शब्द, संगीत र श्वर देबेन्द्रकै रहेको थियो । त्यसैगरी ‘मेरी प्यारी’ र ‘म त मेरै देश गाउँछु’ को म्युजिक भिडियोमा उहाँको कथा र अभिनय रहेको थियो । शुक्रबार सार्वजनिक म्युजिक भिडियोमा भने शब्द, स्वर, कथा, निर्देशन, निर्माण र मोडेलिङसमेत आफ्नै रहेको छ ।
म्युजिक भिडियोमा स्थानीय श्रोत र साधन प्रयोग गरी लघु उद्यममा लाग्न र आफू भित्रको आर्थिक सम्भावनाको खोजी गर्न आह्वान गरिएको छ । चित्लाङ चिनाउने चैत्य, भेडीगोठ, साँस्कृतिक नाच, गोट चिज, पाटी, पौवा, धर्मशाला, ढुंगेधारा, साँस्कृतिक नाचलगायतलाई कैद गरिएको भिडियोमा शिक्षाको यात्रामा लम्किरहेका ससाना बालबालिकालाई पनि देखाइएको छ ।
भिडियोमा देवेन्द्रको साथमा मुना बस्नेत, प्रकृति नेपाल, प्रणय नेपाल, परिछित नेपाल, काजी श्रेष्ठ, मोहन रेग्मी, प्रदिप भट्ट, रेश्मा बलामी, सजिना मगर लगायतको अभिनय रहेको छ । देवेन्द्र नेपाल र माण्डवी त्रिपाठीको स्वर रहेको गीतमा विपिन आचार्यको संगीत रहेको छ भने दिपेश उपाध्यायको छायांकन र पदम तिमल्सिनाको सम्पादन रहेको छ ।
- हिममाया पौडेल
हेराइमा, देखाइमा र अनुभवमा
उस्तै उस्तै लाग्ने गर्छन्
आकाश र धरती
प्रकृति र पुरुष
मौसम र जीवन
लम्बीय र क्षितिजीय समय रेखाहरु
यद्यपि
वृक्षका पहेलिएका
पुराना पातका सट्टा
नयाँ पात थपिएपछि
फेरिएको छ
एक पाना जिन्दगी ।
चिप्लिएका छन्
बालापनका चञ्चलताहरु
यौवन र किशोर वयका
रोमाञ्चित छालहरु
स्मृतिमा अपलोड हुँदैछन्
बृहत् आगतका लागि
विगतका मनोबिम्ब र चालहरु ।
निस्तेज भएका छन्
धेरै पाएर तृप्त भएपछि
अरु पाउने आशाका
अतृप्त चाहनाहरु
त्यस्तै ,
धूमील धूमील भएका छन् ।
खण्डहर बगरको धापमा
वृक्षारोपण गरेपछि
उर्लिँएकोे पसिनाको मूल थाम्न,
एक झल्को बसाइमा
सजाइएका सपनाहरु ।
फुत्किँदै गएको छ
समय उस्तै गरी
फुत्त फुत्त
चुडिएको लरियाबाट
एक एक दाना मोती
खस्दो भएर
यद्यपि ,फेरिएको छ
एक पन्ना जिन्दगी ।
बगिरहेको छ
अविरल नायल
आपनै परिधिमा
बगरलाई साक्षी राखेर
अनि किनाराको कथालाई
बढी सुनेर ।
यसरी
चिप्लिएरै रहेका रोमाञ्चित छालहरु
फुत्किएरै रहेका मनोरम चालहरु
बदलिँदै गएका उमेरका भावहरु
बल्झिएरै रहेका वास्तविक हालहरु
आखिर भोग्नु नै पर्दछ ।
अझ स्वास्थ्यले एक फन्को
विश्राम लिएपछि
पुनः पुनः खोसिदै छन्
सुनौला रहरहरु ।
समय चक्रमा अाँधि आएपछि
बन्द बाकसमा
निस्सासिएका फाइलका
अनमोल योजनाहरु
शीतका थोपाले
घैला भर्न लालायितका
भत्किएका छन् बाटाहरु
त्यसैले
नखोजिदिनु प्रिय मबाट
कर्मठ कार्यहरुका लागि
सुनौला र अतिरञ्जित सपनाहरु
नखोजिदिनु
मेरो बगैचाको नियति भित्रको बोटबाट
सुन्दर फूल र स्वादिष्ट फलहरु
र नखोज्नु
दशकौ पहिले उर्लेका
यौवनका चञ्चलताहरु
सक्छौ भने आऊ
हातेमालो गरौँ,
समाऊ हात दह्रो गरी
र लैजाऊ त्यहाँसम्म
जहाँसम्म तिम्रा पाइला
पुगेका थिए ,
निरन्तर निरन्तर
फेरिएको एक पाना
जिन्दगीपछि पनि ।