झिनो आशातीत हृदयतलमा
अमिलो मन धमिलो तलाउमा
अनुत्तरित प्रश्न सल्बलाइरहेछ
लोचन उसै फर्फराइरहेछ।
जननीको खुम्चिएका ललाटमा
कुमदिनी झैँ प्रियसीको वदनमा
मन्द मन्द मुस्कुराइरहेको छ
लोचन उसै फर्फराइरहेछ।
मातृभूमिको मट्टी लेप्पन गर्दै
मीठो कल्पनामा चुर्लुम्म डुबुल्किदै ,
सात समुन्द्र पार गरिरहेछ
लोचन उसै फर्फराइरहेछ।
माता पिताको तुन्दै गरेका वस्त्र
प्रियाको हार लगाउने स्वप्न चित्र
मानसपटलमा झल्किरहेछ
लोचन उसै फर्फराइरहेछ ।
घरखेत बन्दगी राखेर यस्तै
ऋण मोचन निम्ति बढेका पथ
पर भूमिमा खून बगाइरहेछ।
लोचन उसै फर्फराइरहेछ।
नीर गगनको शशि नियाल्दै
उच्च गिरिमा कद कुदिरहेको बेला
तिनै गाउँवेशीको यादमा तड्पिरहेछ
लोचन उसै फर्फराइरहेछ ।
बिदाइको क्षणका अश्रुधारा समेल्दै
आफन्तको बिछोडमा चिस्सिएको मन
प्रत्येक स्पन्दनमा धड्किरहेछ
लोचन उसै फर्फराइरहेछ ।
पल्लोघरे साइलाको रातो बाकस
फेरि दृश्य झल्काइरहेछ
काँचको टुक्राझैँ झर्याम झुरुम
डर त्रासले कता कता झस्काइरहेछ
लोचन उसै फर्फराइरहेछ ।
मणि र बुध्दिसागार दुवै नेपाल सरकारका उच्च पदस्थ कर्मचारी। भरखरै दुवैले सरकारी कोटामा एकसाथ बिदेश भ्रमण गर्ने अबसर पाए। ठूलो प्लेन चढे। हवाई यात्रा गर्दै डाँडाकाँडा,खोलानाला तथा समुद्री दृष्यको रसपान गरे।
सुन्दरी बिमान परिचारिकाले दिएको मीठा,स्वादिला परिकार खाँदै बिदेशी एअरपोर्टमा झरे। सफा,सुन्दर र भब्य एयरपोट देखेर यस्तो संवाद गर्न थाले,”त्रिभूवन विमानस्थललाई कहिले यस्तो बनाउँने होला है।” “त्यही त प्राकृतिक सुन्दरताले भरिपूर्ण भएर पनि मानवनिर्मित फोहोरले कुरुप र प्रदुषित भएको छ हाम्रो राजधानी।” “यहाँ त जतासुकै फोहर फाल्न हुँदैन नि। जरिवाना खाईन्छ”
ट्रान्जिटमा बस्दा बिस्कुट र केक खाएर त्यसको खोल साबधानीपूर्वक डस्बिनमा हाले।”त्यही त बिचार पुर्याउँनु पर्छ।असभ्य भएर नेपालीको बेईज्जत गर्न हुँदैन नि। सरकारले यत्रो खर्च गरेर हामीलाई यहाँ पठाएको। केही सिकेर आफ्नो देशमा गई लागु गर्नु पर्छ।” “अब हामी गएर जनचेतना जगाउँनु पर्छ । सफाई अभियान चलाउनु पर्छ।
स्थानीय सरकार मार्फत दण्ड र पुरस्कारको प्राबधान लागु गराउँनु पर्छ।” “हो गर्नु पर्छ।हामीले नगरे कसले गर्ने? अहिले नगरे कहिले गर्ने? त्यति सानो केपी खनाल भाईले त कति गरिसक्यो हामी पनि लाग्नु पर्छ” “आफू आफूमा सबै सचेत बनेर फोहोर ब्यबस्थापन गरे त फोहोर नै हुदैनथ्यो नि” यस्तै यस्तै बिचार र सम्बाद साट्दै जोस जाँगरका साथ पन्ध्रदिने अबलोकन भ्रमण सके। स्वदेश फर्किए।जब प्लेनबाट झरे र गाडीमा चढ्न लागे।मणिले पिच्च थुक्यो।दुईचारवटा चकलेटका खोल खल्तिमा रहेछन्, वुध्दिसागरले ह्वार्र फ्याँकिदियो।
सभापोखरी १ संखुवासभा
१.
जुनदिन खोलामा, तुइनको साटो पुल भेटिन्छ
गाउँमा निशुल्क अस्पताल र स्कुल भेटिन्छ
त्यही दिन तिमी, ढुङ्गाबाट भगवान् बन्ने छौ
जब आँसुको तलाउमा खुसीको, फूल भेटिन्छ ।
२.
कोही सानोबाट छिर्छन्, कोही ठूलोबाट छिर्छन्
सक्नेजति खोलाबाट ,नसक्ने कुलोबाट छिर्छन्
काइँला दाइ ! मन नदुखाऊ, राजनीतिमा यस्तै हो
कोही ढोकाबाट छिर्छन्, कोही दुलोबाट छिर्छन् ।
३.
जुन दिन मुटुभरि साँचेका, विश्वासहरू उठ्ने छ्न्
त्यसदिन चिहानबाट शहीदका, लासहरू उठ्ने छन्
निर्णय गर्नुअघि मुटुमा देश र छातीमा हात राखेर सोच्नू
अन्याय गर्यौ भने पक्कै तिम्रा, इजलासहरू उठ्ने छन् ।
गमुको पाहुना पोष्ट बिराटनगर
हिजोसम्म शून्य थिए, रातारात कसरी
केही जीवन आकासिए ,रातारात कसरी
क्रान्तिमा विश्वास गरी पछि लागियो हिँडियो
तिम्रा विचार बदलिए , रातारात कसरी
सरकार छोरी मरिन आज न्याय माग्छु यहाँ
न्यायाधीशहरूनै फेरिए रातारात कसरी
थिए देश कोपर्ने केही धमिरा जुटेका
आज तिनै किरा फैलिए रातारात कसरी
आउला सोचियो उज्यालै उज्यालो जीवनमा
दियाहरू तेल सकिए रातारात कसरी
विराटनगर
बारी मल्न बस्तुभाउ बेंसीको गोठमा सारेकाले ठूलो भाइ र ठूली दिदी बेंसीको घरमा बस्थे भने भाईबैनी आमासगै माथी गाउँको घरमा बस्थे ।भाइ उतैबाट स्कूल जाने आउने गर्थ्यो, दिदी गाई बस्तुको धन्दा गर्थिन्।
एकदुई दिनमा आमा उनीहरुलाई चाहिने सामल तुमल बोकेर भेट्न आउने गर्थिन्।सधै झै साँझको खाना खाईसकेर भाइ भित्रै किताब पढ्दै थियो। दिदी बाहिर जुठेल्नामा जुठाभाँडा माझ्दै थिईन्।जुनको उज्यालोमा उनले अलिपर एउटा अनौठो आकृति देखिन्। ध्यान दिएर हेर्न थालिन्। त्यो आकृति बढ्दै गयो।हातखुट्टा लामा लामा हुँदै गएको उनले देखिन्। के हो भनी ठम्याउने कोशिस गर्दै थिईन् झन् छिटो छिटो आकृति परिवर्तन भएको देखिन्।
उनको मनमा चिसो पस्यो, उनले सुनेकी थिईन् भुत प्रेत देख्यो भने पछाडि फर्किन हुन्न। उनी पछाडि सर्दै सर्दै त्यो आकृतिबाट आँखा नहटई विस्तारै ढोका निर पुगिन् र ढक ढक गरेर ईसाराले भाईलाई बोलाईन्। भाई बाहिर आयो। बिस्तारै खस्याकखुसुक गर्दै भाईलाई त्यो आकृति तिर देखाईन्।
“पख है दिदी तिमि यही बस !” दिदीको हात खुस्काउँदै भाई अघि बढ्यो।छेउमा भएको निकै ठूलो ढुंगो दुई हातले उचाल्यो र अलि नजिक गएर जोडले हान्यो।”टंरङ” आवाज आयो।”ला मैले विहान ठेकी माझेर घाममा सुकाएकी थिएँ!” दुई टुक्रा भएको ठेकी हेर्दै दिदी आत्तिन्।
सुन्दरहरैचा, मोरङ