मकवानपुर । ग्रामीण महिला सेवा केन्द्र र प्लान इन्टरनेसनल नेपालको संयुक्त साझेदारीमा बागमती गाउँपालिका वडा नम्बर ६ फापरबारीमा युवा सञ्जालका किशोर किशोरीहरुका लागि २ दिने वकालत र पैरवी सिप विकाश तथा योजना निर्माणका चरण सम्बन्धी तालिम सम्पन्न भएको छ ।
ग्रामीण महिला सेवा केन्द्र र प्लान इन्टरनेसनल नेपालद्वारा सञ्चालित lead and Decide कार्यक्रम अन्तर्गत वकालत र पैरवी सिप विकाश तथा योजना निर्माणका चरण सम्बन्धी तालिम गरिएकाे हाे । तालिममा बागमती गाउँपालिका वडा नम्बर ६,७ र ८ का गरी २८ जना किशोर किशोरीहरूको उपस्थिति रहेको ग्रामीण महिला सेवा केन्द्रकी बागमती गाउँपालिकाकी सामाजिक परिचालक रमा प्रजापतिले जानकारी दिइन्।
“हामीले यो सिक्ने पर्ने तालिम रहेछ योजना निर्माणमा हाम्रो भूमिका हुँदैन झैँ लाग्दथ्यो यो योजना निर्माणका बेलामा बस्ती स्तर वडास्तरमा त हामीले सक्रिय रुपमा सहभागी भई आफ्ना योजना राख्न पाइने रहेछ थाहा थिएन अब भने बस्ती र वडा स्तर मा हुने योजना निर्माणमा आफूसहित आफ्ना साथीहरुलाई उपस्थित हुन भन्नेछु” तालिममा सहभागी भए मध्येकी १ रुबिना श्रेष्ठले बताइन्। सो तालिमको सहजीकरण प्रकाश खतिवडाले गरेका थिए ।

यस्तै ग्रामीण महिला सेवा केन्द्र र प्लान इन्टरनेसनल नेपालको संयुक्त साझेदारीमा सञ्चालन भइरहेको Lead and Decide कार्यक्रमअन्तर्गत मकवानपुरगढी २ शिखरकटेरी र हेटौंडा १५ रातोमाटेमा कचहरी नाटक प्रदर्शन गरिएको छ । प्रजनन स्वास्थ्य, बालबिबाह, लैङ्गिक समानता, परिवार योजना जस्ता महत्वपूर्ण शीर्षकमा जनचेतनामुलक नाटक प्रदर्शन गरिएको ग्रामीण महिला सेवा केन्द्रका सामाजिक व्यवहार परिवर्तन संचार सहजकर्ता अमिर दहालले जानकारी दिए । कार्यक्रममा ग्रामीण महिला सेवा केन्द्रकी कार्यसमिती सदस्य देवकी चौलागाई तथा सोही संस्थाका कार्यक्रम संयोजक दिपक न्यौपाने दिपको उपस्थिति रहेको थियो।
मकवनापुर । कोभिड–१९ को समयमा न्याय सम्पादन क्षेत्रमा विभिन्न क्षेत्रबाट योगदान पुर्याएको ७ जनालाई मंगलबार हेटाैडामा सम्मान गरिएकाे छ । जिल्ला अदालत मकवानपुरले कोभिड–१९ को समयमा न्याय सम्पादन क्षेत्रमा योगदान पुर्याएको ७ जनालाई सम्मान गरेकाे हाे ।
कोभिड–१९ को समयमा हेटाैडा उपमहानगरपालिकाकाे न्यायिक समिति मार्फत न्याय सम्पादनमा सहयोग गरेकाे र हेटौंडा–११ मा रहेकाे बालसुधार गृहका बालबालिकाहरुलाइ सहयोग गरेकोमा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामालाई कदरपत्रसहित सम्मान गरेको हो ।
यस्तै न्याय सम्पादनमा नागरिक समाजको तर्फबाट योगदान पुर्याएकोमा नेपाल पत्रकार महासंघ बागमती प्रदेशको अध्यक्ष प्रताप विष्टलाई सम्मान गरिएकाे छ । स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएको भन्दै हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. प्रविण श्रेष्ठलाई अदालतले सम्मान गरेको हो ।

यसैगरी हेटैंडा अस्पतालमा रहेको एकद्धार संकट व्यस्थापन केन्द्र, जिल्ला प्रहरी कार्यालय मकवानपुर, कारागार कार्यालय भिमफेदी, बालसुधार गृहलाई कदरपत्रसहित जिल्ला अदालत मकवानपुरले सम्मान गरेको हो ।
कार्यक्रममा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश शेषराज शिवाकोटी, उच्च अदालत पाटन, हेटौंडा इजलाशका मुख्य न्यायाधीश साबिर हुसेन, न्यायाधीशहरु चन्डीराज ढकाल, मरिना श्रेष्ठ, रजिष्ट्रार रामेश्वर रेग्मी, जिल्ला अदालत मकवानपुरका न्यायाधीशहरु डिल्लीरत्न श्रेष्ठ लगायतको उपस्थिति थियो ।
मकवानपुर । मकवानपुर प्रहरीले माेटर साईकल चोरी गर्ने १ जना र फरार प्रतिवादी ३ जना पक्राउ गरेकाे छ ।
ओखलढुङ्गा घर भई हेटौडा ४ बस्ने प्रेम बहादुर तामाङको जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडी पार्कीङ गरी राखेको ना ३३ प ६२५८ नं. को पल्सर मोटरसाईकल गत अाइतबार हराएको ले निवेदन दिएका थिए ।
तामाङकाे निवेदनकाे अाधारमा खोजतलाश गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले फागुन २४ गते साेमबार हेटाैडा १० स्थित राप्ती पुल नजिकबाट हेटाैडा ११ बस्ने बर्ष ३३ को विजय लामालाई चोरी भएको सहित पक्राउ गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।
यस्तै मकवानपुर प्रहरीले जिल्ला अदालत मकवानपुरबाट चेक अनादर, सवारी ज्यान मुद्दाहरूमा कैद र जरिवान भुक्तान गर्न बाँकी रहेका ३ जना फरार प्रतिवादी पक्राउ गरेकाे छ ।
मकवानपुर जिल्ला अदालतको २०७४ साल भदाै ५ को फैसलाले चेक अनादर मुद्दामा १ हजार जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी सिन्धुली कल्पबृक्ष घर भई हाल हेटाैडा १० बस्ने बर्ष ४० को शशी विश्वकर्मालाई पक्राउ गरी जरिवाना भुक्तानको लागि सम्मानित जिल्ला अदालत मकवानपुरमा उपस्थित गराईएको प्रवक्ता रिमालले जानकारी दिए।
यस्तै मकवानपुर जिल्ला अदालतको २०७४ साल माघ ९ गते को फैसलाले सवारी ज्यान मुद्दामा ४ दिन कैद र २ हजार जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी मकवानपुर गढी गाँउपालिका ७ सुकौरा बस्ने वर्ष २५ को पवन लामालाई मकवानपुर गढी ७ बाट पक्राउ गरी कैद तथा जरिवाना भुक्तानको लागि मकवानपुर जिल्ला अदालत उपस्थित गराईएको रिमालले बताए।
यसै गरी मकवानपुर जिल्ला अदालतको २०५१ साल जेठ ९ गतेको फैसलाले सवारी ज्यान मुद्दामा २ वर्ष ११ महिना २० दिन कैद भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी साविक हाँडीखोला ८ बस्ने वर्ष ५७ को चन्द्र बहादुर राना मगर लाई पक्राउ गरी मकवानपुर जिल्ला अदालतमा पेश गरी कैद भुक्तानको लागी कारागार कार्यालय भिमफेदी मकवानपुर पठाईएको रिमालले जानकारी दिए।
मकवानपुर । राष्ट्रिय कविता वाचन प्रतियोगितामा आधुनिक राष्ट्रिय माविका छात्रा वर्षा महतो विजेता बनेकी छन् । अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा ८ मार्चका दिन भर्चुअल माध्यमबाट आयोजित कविता वाचन प्रतियोगितामा सहभागी सातै प्रदेशका अन्य प्रतिस्पर्धीलाई पछि पार्दै वर्षाले उपाधि हात पारेकी हुन् ।
“नेतृत्वमा महिलाः कोभिड–१९ पछिको विश्वमा समान अवसर” भन्ने विषयमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा महिलाको संघर्ष, महिला नेतृत्व, कोभिड–१९ को विपदमा महिलाले खेलेको भूमिका आदि विषयमा विद्यार्थीहरुले कविता वाचन गरेका थिए । प्रस्तुत कवितामा मूल्यांकन गर्दै आधुनिककी महतोलाई निर्णायकहरुको टोलीले बिजेता घोषित गरेको हो । निर्णायकहरुमा चर्चित कवि योगेन्द्र यादव, बिमला तुम्खेवा र दीपक रौनियार थिए । महतोको कविता “नारी नई छै केक्रो पर भारि”ले महिलाहरुलाई बोझ होइन बरु सशक्तिकरणको रुपमा चित्रित गरेको निर्णायकको ठहर छ ।
यस्तै जन नमुना माध्यमिक विद्यालय कर्णाली प्रदेशकी पूजा पाठकले महिलाको सुरक्षा, सम्मान र रोजगरः समृद्ध नेपालको आधार” शिर्षकको कविताबाट द्वितीय स्थान हासिल गरिन् । अमर माध्यमिक विद्यालय गण्डकी प्रदेशकी सृजना सापकोटा “नेतृत्व हो नारी को” र दमकदा नवदीप माध्यमिक विद्यालय लुम्बिनी प्रदेशकी सपना भण्डारीले “नेपाल र नारी” शिर्षकको कविताका लागि तेस्रो पुरस्कार हात पारे । शीर्ष तीन विजेताहरुका लागि रचनात्मक क्षमता बृद्धि गराउन कार्यशालामा सहभागी गराइने आयोजकले जनाएको छ ।
कार्यक्रममा मन्तव्य दिँदै यूएनडीपीका आवासीय प्रतिनिधि आयनी मेडागोंगोदा लेबले भने, “हामी रातो बंगाला फाउण्डेशनका साथ युवा कविहरुलाई रचनात्मक क्षमतामा प्रोत्साहित गर्न र लैंगिक समानता सहित समाजको मानसिकता परिवर्तनका लागि प्रोत्साहित गर्न पाउँदा खुसी छौं ।” त्यसैगरी रातो बंगला फाउण्डेशनका अध्यक्ष शान्ता दीक्षितले बाल्यकालको विकासको आवश्यकता र बालबालिकालाई शुरुवाती चरणदेखि नै लैंगिक समानताको बारेमा शिक्षित गराउनुपर्नेमा जोड दिए ।
प्रदेश १ अन्तर्गत जलकल्याण माध्यमिक विद्यालयकी यसोदा सुवेदी र जनता माध्यमिक विद्यालयका नागेन्द्र धिमाल, प्रदेश २ अन्तर्गत जनता मोडल टेक्निकल माध्यमिक विद्यालयका प्रीति ठाकुर र महुन्यल माध्यमिक विद्यालय सुदुरपश्चिम प्रदशकी ललिता जोशी प्रतियोगिताको फाइनलमा पुगेका थिए । विद्यार्थीहरुलाई कविता मार्फत रचनात्मक रुपले आफ्नो विचार व्यक्त गर्न र लैंगिक समानतामा चेतना जगाउन प्रोत्साहित गर्ने उद्देश्यका साथ युएनडिपी र रातो बंगला फाउण्डेशनले प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा सातै प्रदेशका विद्यार्थीहरुले भाग लिएका थिए ।
मकवानपुर । १ सय ११ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा पुरुष पदयात्रा भएकाे छ । लैङ्गिक समानताको लागि पुरुष सहभागिता संजाल नेपालको आयोजना र मानब अधिकार संरक्षण तथा मानब बेचबिखन बिरुद्धको संजालका साथै स्थानिय संध सस्थाहरुको समन्वय र सहकार्यमा पुरुष पदयात्रा गरिएकाे हाे ।
लैङ्गिक समानता तथा मानब अधिकारको क्षेत्रमा कृयशिल संघ सस्थाको पुरुष प्रतिनिधिहरुको सहभागिता रहेको पदयात्रा हेटौडाको सितल महल चोकबाट शुरु भई कपुर कम्प्लेक्स, मेनरोड हुदै बुद्ध चोकमा पुगि कोण सभामा परिणत भएको थियो । मेन ईंगेज एलायन्सको केन्द्रिय परिषदका सदस्य प्रकाश खतिवडाको सभाध्यक्षता तथा बागमति प्रदेश सभा सदस्य माननिय जुनेली श्रेष्ठज्यूको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ईन्सेकका बागमति प्रदेश संयोजक कृष्ण गौतम, यौनिक तथा लैङ्गिक अल्पसंख्यक संजालका किरण थापा, हामी दाजुभाइका अध्यक्ष सन्जोग ठकुरी, ग्रामिण महिला सेवा केन्द्रका कार्यक्रम संयोजक दिप न्यौपाने, नारी सीप सृजना केन्द्रकी अध्यक्ष सरस्वती बर्तौला, सिबिन नेपालका कार्यक्रम संयोजक झबिन्द्र ज्ञवाली लगायतले कार्यक्रममा महिला माथि हुने हिंसाको बिरुद्ध तथा लैङ्गिक समानताको लागि पुरुषको भूमिकाको महत्व बारेमा चर्चा गरेका थिए ।
उक्त कार्यक्रममा प्रमुख अतिथि माननिय जुनेली श्रेष्ठले लैङ्गिक समानताको लागि पुरुषको भूमिका अपरिहार्य भएको बताइन् । प्रकाश खतिवडाको संयोजकत्वमा कमल फुयाल, चिरन्जीबि पौडेल, झबिन्द्र ज्ञवाली, दिप न्यौपाने, कुमारी बाईबा, किरण थापा, जमुना तितुङ् निशा लामा, सुरेश श्रेष्ठ, राम मिजार, दिगम्बर रुपाचा र बुद्ध लामा सहितको तेह्र सदस्य रहने गरि मेन ईगेज एलायन्स जिल्ला कार्यसमिति मकवानपुर गठन भएको माननीय जुनेली श्रेष्ठले औपचारिक घोषणा गरेकि छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नवगठित संजालका अध्यक्ष प्रकाश खतिवडाले यो अभियानमा एकजुट हुनको लागि आह्वान गरे । कोण सभा पश्चात बुद्ध चोकमा द्धिप प्रज्वलन गरि कार्यक्रम सम्पन्न गरिएको नारी सीप सृजना केन्द्रका कार्यकारी निर्देशक चिरञ्जिबी पौडेलले बताए ।