मकवानपुर। हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले चालु आर्थिक वर्षलाई खानेपानी चुहावट नियन्त्रणको वर्षको रुपमा मनाउने भएको छ ।
बोर्डले शुक्रबार पत्रकार सम्मेलन गर्दै पानीको माग र आपुर्तिलाई सहज सम्बोधन गर्नको लागि चुहावट नियन्त्रणको कार्य पनि अनिवार्य भएकोले आगामी आर्थिक वर्षमा चुहावटलाई सुन्यमा झार्ने योजना बनाएको बोर्डका निमित्त कार्यकारी निर्देशक सुदर्शन ढकालले बताए । बोर्डले हेटौंडा उपमहानगरपालिका क्षेत्रमा दैनिक १ करोड ५५ लाख लिटर पानी वितरण गर्दै आएको हो ।
आर्थिक वर्ष २०७७–०७८ को प्रगति विवरण तथा २०७८–०७९ को नीति कार्यक्रम तथा बजेट कार्यक्रम प्रस्तुत गर्दै बोर्डका निमित्त कार्यकारी निर्देशक ढकालले यस्तो याेजना सुनाएका हुन् ।हेटौंडा क्षेत्रमा रहेको १ लाख ३५ हजार जनताको लागि दैनिक ६ देखि ७ घण्टासम्म पानी वितरण गरिएको ढकालले बताए ।

पानीको आपुर्ति बढाउनको लागि रिचार्ज पोखरी निर्माणको योजना अगाडि सारेको भए पनि कोरोना महामारीको कारण काम हुन नसकेको बोर्डका अध्यक्ष प्रताप विष्टले बताए । “रिचार्ज पोखरी निर्माणको लागि उपर्युक्त समय फागुन चैत र बैशाख हो, तर यही समयमा कोरोना महामारी फैलिएको कारण योजना अनुसारको काम हुन सकेन” अध्यक्ष विष्टले भने “यो वर्ष जस्तो सुकै अवस्था आएपनि रिचार्ज पोखरी निमार्ण गरिने छ ।” हेटाैंडाकाे वडा न ७ र ८ काे चुरेक्षेत्रमा रिचार्ज पाेखरी निर्माण गर्ने याेजना रहेकाे विषटले बताए ।
बोडले हेटौंडा क्षेत्रको लागि भीमफेदी गाउँपालिकाको बुङ्दलबाट सतहगत पनि र नगरक्षेत्र भित्र २१ वटा डिप बोरिङ गरी पानी वितरण गर्दै आएको छ । गत आर्थिक वर्षमा बोर्डले ९ करोड १८ लाख ७२ लाख २ सय ३८ रुपैयाँ महशुलबाट सङ्कलन गरिएको बोर्डले जनाएको छ ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले नगरवासीको लागि पानीको माग पुरा गर्न आफूहरुले हरेक वर्ष बजेट विनियोजन गर्दै आएको बताए । नगरको विकट क्षेत्रमा खानेपानीको अझै पनि समस्या भएकोले चालु आर्थिक वर्षमा यस्ता क्षेत्रहरुमा पानी विस्तार गर्ने योजनामा नगरपालिकाले बोर्डसँग समन्वय गर्ने उनले बताए ।
मकवानपुर । ‘एक पटकको सैनिक जीवनभरको सैनिक’ पुस्तक सार्वजनिक भएकाे छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले आफ्नो जीवनयात्राको आदर्श र प्रेरणादायी व्यक्तित्व बुबा अवकाशप्राप्त कर्णेल छत्रबहादुर थापाका बारेमा लेखेकाे पुस्तक सार्वजनिक गरेका हुन्।
पुस्तक बिहीबार प्रधान सेनापति पूर्णचन्द्र थापाले विमोचन गरेका हुन्। स्व.छत्रबहादुर थापा स्मृति ट्रष्टको वार्षिकोत्सवको अवसर पारेर पुस्तक सार्वजनिक गरिएको हाे । पुस्तकमा लेखक थापाले तत्कालीन नेपालको सामाजिक, सांस्कृतिक र राजनीतिक परिवेशको चित्रण गरेका छन्।
अध्यक्ष थापाले आफ्ना पिताको जीवनकालमा घटेका घटनाको बारेमा पुस्तक लेखेका हुन्। पुस्तकमा स्व. थापाको विश्वयुद्धमा सहभागिता, राणा प्रधानमन्त्री मोहनसमशेर र राजा महेन्द्रसँगको समीप्य तथा पञ्चायत कालका अनुभवहरु छन्।
मकवानपुर । बागमती प्रदेश युवा परिषदमा सदस्यहरूकाे मनाेनयन भएकाे छ । नवनियुक्त मनोनित सदस्यहरुले विहीबार शपथ ग्रहण गरेसँगै नियुक्ती भए पछी परिषद्ले पूर्णता पाएकाे छ ।
सामाजिक बिकास मन्त्रालयले प्रदेश युवा परिषदमा सदस्यहरुमा इच्छा कुमारी राउत, केदार आचार्य, राधाकृष्ण गिरी, श्याम सुन्दर शिवाकोटी, नम्रता महर्जन, बसन्त न्यौपाने, छोटी लामा, सुदिप गौतम, प्रिती श्रेष्ठ, डालिया नेपाली नियुक्त गरेको छ ।
प्रदेश युवा परिषद् ऐन २०७६ अनुसार मन्त्रालयले उपाध्यक्ष सहित युवाको हक हितको संरक्षणमा योगदान पुर्याएका कम्तीमा महिला ३ जनासहित ६ जना र उद्योग , श्रम, कृषि, खेलकुद, बिज्ञान, प्रबिधि, सुचना सञ्चार लगायत वातावरण, साहित्य तथा कलाको क्षेत्रबाट प्रतिनिधीत्व हुने गरी ४ जना र लैंगिक तथा यौनिक अल्पसँख्यक मध्येबाट १ जना गरि मनोनित ११ जना सदस्यहरु नियुक्त गर्ने व्यवस्था छ ।
सामाजिक बिकास मन्त्रालयमा मन्त्री सरस्वती बस्नेतले परिषदका मनोनित सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन् । ‘अबको आवश्यकता स्वरोजगार युवा भएकोले युवालाई स्वरोजगारमुखी चिन्तनका साथ कार्यगर्न रअघि बढ्नु पर्छ’ सपथ ग्रहण पछीकाे कार्यक्रममा मन्त्री बस्नेतले भनिन् प्रदेशका सबै जिल्लाका युवाहरुको समस्यालाई समेट्ने गरी काम गर्नुस ।’
गएको असार ४ गते परिषद्को उपाध्यक्षमा सन्तोष चौलागाई नियुक्त हुनुभएको भएपनि सदस्यहरुको नियुक्ति नहुँदा परिषद्ले पूर्णता पाउन सकेको थिएन । सामाजिक बिकास राज्यमन्त्री डा. रामकुमार अधिकारी लगायत मन्त्रालयका कर्मचारीहरुको उपस्थितिमा भएको शपथ कार्यक्रम भएको थियो । यसअघि विहीबार नै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलद्धारा परिषद्को कार्यालय उद्घाटन भएकाे थियाे ।
मकवानपुर । मनसुनी न्युन चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेकोले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेकाे छ । मनसुनी न्युन चापिय रेखा नेपालकाे नजिक भएकाेले आगामी ३ दिन भारी बर्षाकाे सम्भावना रहेकाे छ ।
अहिले प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएकाे छ ।
प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ । ‘पहाडी भू- भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ। महाशाखाबाट जारी बुलेटिनमा भनिएको छ ।’
आगामी ३ दिनकाे माैसम पूर्वानुमान
साउन २८ गते बिहीबार दिउँसो देशका अधिकांश स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार राती प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।
साउन २९ गते शुक्रबार प्रदेश नं १, बागमती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।
साउन ३० गते शनिबार प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।
मकवानपुर । बलात्कारपछि हत्या गरेको आशंका गरिएको बालिकाको परिवारलाई नगद र खाद्यान्न सहयोग गरिएको छ । पूर्वी मकवानपुर बागमती ७ की मृतक ४ स्वर्गीय रुविना पाख्रिनको परिवारलाई सहयोगीहरुबाट प्राप्त नगद ३१ हजार ५० रुपैंया र खाद्यान्न सहयोग गरिएको हो ।
आर्थिक रुपमा विपन्न रहेको परिवारलाइ बागमती प्रदेशकी निवर्तमान प्रदेश प्रमुख एवं माईती नेपालकी अध्यक्ष अनुराधा कोईरालाबाट प्राप्त १० हजार र जगत टिभीबाट संकलित २१ हजार ५० रुपैंया हस्तान्तरण गरिएको थियो । यस्तै हाल जापानमा रहेका मकवानपुरकी चेलीहरु शर्मिला लामा र प्रिया व्लोनबाट ५ बोरा चामल, तेल १ कार्टुन र मसला तथा अनुराधा कोईरालाबाट प्राप्त एक बोरा चामल, नुन, तेल, चना प्रदान गरिएको थियो ।
नगद सहयोग गर्नेमा जापानमै रहेका नेपालको पहिलो स्याटेलाइट निर्माता हरिश श्रेष्ठबाट ३ हजार, पोखराकी सुशिला श्रेष्ठबाट ३ हजार, मकवानपुरगढीकी गोमा लामाबाट २ हजार ५ सय साथै हेटौंडाकी रश्मी बस्नेत, फापरबारीका भीम परियार, बुढीचौर घर भई हाल दक्षिण कोरियामा रहेका गिरिजा न्यौपानेबाट जनही २ हजारसहित १३ जनाले सहयोग गरेका थिए ।
मकवानपुरको पूर्वी क्षेत्र वागमती गाउँपालिका ७, लामिटारस्थित रुविनाको घरमा पुगेर आमा सीतामायाँ पाख्रिन र बुवा शेरबहादुर पाख्रिनलाई नगद र खाद्यान्न सहयोग गरिएको हो । माईती नेपालकी मकवानपुर कार्यक्रम संयोजक मायाँ लामा, मन लामा र जगत टिभीका संचालक अशोकसुजन श्रेष्ठले नगद र खाद्यान्न हस्तान्तरण गरेका थिए ।
झण्डै ९ महिनाअघि मंसीर ३ गते साँझ रुविनाको रगतले लतपतिएको नग्न अवस्थामा शव भेटिएपछि बलात्कार र हत्या भएको अनुमान गरिएको थियो । रुविनाको बलात्कार र हत्या गरेको आरोपमा आफन्त नातापर्ने स्थानीय एक किशोरमाथि मकवानपुर जिल्ला अदालतमा मुद्धा चलिरहेको बताईएको छ ।
यसअघि रुविनाको परिवारलाई वागमती गाउँपालिकाबाट ५० हजार, पाख्रिन समाज चितवनबाट ५५ हजार, गाउँलेहरुबाट ३५ हजार, मञ्जुश्री असहाय संरक्षण केन्द्र मकवानपुरबाट १५ हजार रुपैंया लगायतले आर्थिक सहयोग गरेको परिवारले जनाएको छ । आफ्नो खेतमा उत्पादित अन्नले छ महिनामात्र खान पुग्ने भएकाले ज्याला मजदुरी गर्नुपर्ने अवस्था रहेकोले थप सहयोगको अपेक्षा गरेका छन् ।