मकवानपुर । मकवानपुरकाे राक्सिराङ गाउँपालिकाका विपन्न चेपाङ तथा तामाङ समुदायका जाडोबाट प्रभावित ४ सय ७५ घरपरिवारलाई सोमबार न्यानो कपडा वितरण गरिएको छ। नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको सहयोगमा राक्सिराङ ४ रतुवाका विपन्न चेपाङ तथा तामाङ परिवारलाई न्यानो कपडा (कम्वल) वितरण गरिएको हाे ।
रतुवाका ४ सय ७५ घरपरिवार सँगै राक्सीराङकै सुर्योदय माविको छात्रावासका विद्यार्थीहरुलाई ४० थान न्यानो कपडा कम्वल वितरण गरिएको हाे । १ सय ८५ थान न्यानो कपडा अवस्था हेरेर स्थानीयलाई वितरण गर्ने गरी कांग्रेस राक्सिराङ गाउँपालिका सभापति बीरेन्द्र जिम्बालाई हस्तान्तरण गरिएको छ ।
‘आफूले निर्वाचन जितेपछि राक्सिराङका जनतालाई सकेकाे सहयोग गरिरहेकाे छु‘ कपडा वितरण कार्यक्रममा बोल्दै नेता बानियाँले भने– ‘आउने दिनमासमेत दिलोज्यान दिएर जनताको सेवामा लागिरहने प्रतिबद्धता व्यक्त गर्दछु ।’
न्यानो कपडा वितरण कार्यक्रममा प्रतिनिधिसभा २ का संघीय सभापति लोक मोक्तान, काठमाडौं क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति कबिर शर्मा, महाधिबेशन प्रतिनिधि उपेन्द्र कार्की, कांग्रेसका जिल्ला सदस्य एवं राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, जिल्ला सदस्य एवं राक्सीराङ ८ का वडाअध्यक्ष रामकृष्ण प्रजा, राक्सिराङ गाउँपालिका सभापति बिरेन्द्र जिम्बा, मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, राक्सिराङ गाउँपालिका उपाध्यक्ष निर्मला हिमडुङ, राक्सिराङ गाउँपालिका ४ का तरुण सभापति हिरालाल भ्लोनलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कांग्रेस राक्सिराङ गाउँपालिका ४ का वडा सभापति विकास ब्लोनको सभाध्यक्षता तथा कांग्रेस बागमती प्रदेश सभापति बानियाँको प्रमुख आतिथ्यतामा भएकाे हाे ।
मकवानपुर । मकवानपुरमा २० जना काेराेना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा जिल्लामा थप २० जनामा संक्रमण पुष्टि भएको स्वास्थय कार्यलय मकवानपुरले जनाएको छ ।
सोमबार जिल्लामा ४२ पिसिआर परीक्षणमा १३ जना र ४३ एन्टीजेन परीक्षणमा ७ जनामा गरी २० जनामा कोरोना पुष्टि भएको हो । पुष्टि हुनेहरुमा १३ जना हेटौंडा उपमहानगरपालिकाका र ७ जना मनहरी गाउँपालिका भित्रका रहेको कार्यलयले जनाएको छ । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७९ जना पुगेको छ ।
जिल्लामा सोमबार थप २ जना संक्रमितले संक्रमणलाई जितेका छन् । जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ६७ जनाको मृत्यु भएको छ ।
यसैगरी नेपालमा थप १ हजार ४ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार ४ सय २९ जनामा गरिएको परीक्षणमा १ हजार ४ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै सोहि समयमा नेपालमा थप २ सय ५५ जनाले संक्रमणलाई जितेका छन् । देशभर पछिल्लो २४ घण्टामा कोरोनाको कारण थप २ जनाको मृत्यु भएको छ । नेपालमा हाल ७ हजार ८ सय ५५ जना सक्रियस संक्रमित उपचाररत रहेका छन् ।
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ मास्टरचोकबाट अवैध लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा सुनसरी घर भई हाल हेटौंड–९ मास्टरचोकस्थित शंकर केसीको घरमा डेरा गरी बस्ने २५ वर्षीय बिशाल बिक, २० वर्षीय राज खत्री, २३ वर्षीय रोमन थापा मगर, २१ वर्षीय निरन राई, २२ वर्षीय प्रजेन महर्जन र हेटांैडा–१० बस्ने १८ वर्षीय सुमित कुमार बानियाँ रहेका छन् ।
उनीहरुलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले उक्त घरमा बस्ने बिशाल विकको कोठा चेकजाँच गर्दा नाइट्राजेपाम ९७ ट्याब्लेट, नेमाडोल १४८ क्यापसुल, स्टगन १६ ट्याब्लेट, सिओना २ १२ ट्याब्लेट र १६ ग्राम गाँजा बरामद गरेपछि निजहरुलाई पक्राउ गरेको प्रहरी निरीक्षक सापकोटाले बताए ।
पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको मकवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुर । बागमती प्रदेशको मुख्यन्यायधिवक्तामा श्यामनारायण श्रेष्ठ नियुक्त भएका छन् ।बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम सिफारिसमा श्रेष्ठलाई मुख्यन्यायधिवक्तामा नियुक्त गरेका हुन् ।
धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका-२ हटिया निवासी श्रेष्ठलाई सोमबार उच्च अदालत पाटनका मुख्यन्यायाधीश नृपध्वज निरौलाले पद तथा गोपनियताको सपथ गराएका हुन् । संविधान अनुसार मुख्यमन्त्रीले चाहेको अवधिसम्म आफ्नो पदमा बहाल रहने मुख्य न्यायाधिवक्ता प्रदेश सरकारकाे मुख्य कानुनी सल्लाहकार समेत हुनेछ ।
सपथ ग्रहण कार्यक्रममा प्रदेशका मुख्यमन्त्री पाण्डे, आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेल, आन्तरिक मामिला तथा कानूनमन्त्री कृण्णप्रसाद शर्मा खनाल, स्वास्थ्यमन्त्री निमा लामा, कृषि तथा पशुपन्छी मन्त्री बसुन्धरा हुमागाईं लगायतको उपस्थिति थियो ।
- अनिल पराजुली
करिव ३ बर्षपछि स्वदेश फर्कने तयारीमा रहेका गोर्खाका बिनोद श्रेष्ठ अहिले कतारमै रोकिएका छन् । उनी रोजगारीका लागि कतार पुगेको लामो समय भईसक्दा पनि स्वदेश फर्कने मेलोमेसो मिलेन् । रोजगारीमा गएको दोश्रो बर्ष घर बिदामा आउने तयारी गरेका उनी कोरोना कहरका कारण रोकिएका थिए भने यसपालि पनि जसोतसो कम्पनीबाट बिदा मिलाएर आउने तयारी गरेका श्रेष्ठ उतै रोकिएका छन् । घर बिदामा आउनका लागि किनमेल र प्याकिङ सबै भ्याएर तयारी गरेका उनी पिसिआर रिपोर्ट पोजेटिभ आएपछि कतारमै रोकिएका हुन् । डिसेम्बर ३ तारिक स्वदेश फर्कन टिकट काटेका श्रेष्ठले ३७ दिनको बिदा र हवाई टिकट समेत क्यान्सिल गर्न प¥यो । उनी अहिले क्वारेन्टाइनमा छन् ।
त्यस्तै गोर्खाकै सन्तोष श्रेष्ठ पनि घर आउने तयारीमा थिए । उनको बिदा पनि मिलि सकेको थियो । उनी पनि कोरोना पोजेटिभ भएपछि अहिले कतारमै रोकिएका छन् । घर परिवार संग भेट्ने इच्छा कोरोनाले रोकेको छ । उनीहरु जस्तै अहिले धेरै श्रमिकहरु कोरोना बढेपछि धमाधम पोजेटिभ देखिएकाले उतै रोकिन बाध्य भएका हुन् ।
दैनिक ३ हजार संक्रमित
कतारको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३६ हजार २३८ जनाको कोरोना परिक्षण गर्दा ३ हजार ४८७ जनामा कोरोना संक्रमण देखिएको हो । जसमध्ये २ हजार ७९४ कतारमै रहेका र ६ सय ९३ जना अन्य देशबाट आएका यात्रुहरु रहेको तथ्याङक छ । कतारमा कोरोना संक्रमित मध्ये ५ सय ३२ जनालाई अस्पतालमा राखेर उपचार भईरहेको छ भने पछिल्लो २४ घण्टामा ५३ जना अस्पताल भर्ना भएका छन । त्यस्तै आइसियूमा राखेर ४८ जनाको उपचार भईरहेको मध्ये पछिल्लो २४ घण्टामा ७ जना थपिएको कतारबाट प्रकाशित हुने गल्फ टाइम्सले जनाएको छ ।
हालसम्म कतारमा ३२ लाख २३ हजार ८ सय ७७ जनाको कोरोना परिक्षण गर्दा २ लाख ६६ हजार ९ सय ६२ जनामा कोरोना संक्रमण फेला परेको थियो । यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार हाल सम्म २ लाख ४७ हजार ५ सय ५३ जना निको भएर घर फर्किएका छन् भने पछिल्लो २४ घण्टामा ४११ जना निको भएका थिए । १८ हजार ७ सय ९१ जना कोरोना संक्रमित बिरामीहरुलाई क्वारेन्टाइनमा राखेर उपचार भईरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कतारमा कोरोना भाइरस संक्रमणका कारण ६१८ जनाले ज्यान गुमाईसकेका छन् ।
त्यस्तै हाल सम्म ५२ लाख ७५ हजार ६५९ डोज खोप कतारमा लगाईएको कतारको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ । कतारले ३ लाख ३१ हजार ४ सय ३७ बुस्टर डोज लगाएको छ, यो संगै कतारमा रहेका जम्मा जनसंख्या मध्ये ८६ दशमलव ४ प्रतिशतले दुई डोज खोप लगाइएका छन् । कतारले पछिल्लो २४ घण्टामा ७ हजार १ सय ९ जनालाई खोप लगाएको तथ्याङ्क छ । कतारले फाइजर, बायोटेक र मोर्डना खोप लगाएको हो ।
कतार सरकारले कोभिड–१९ बाट बच्नका लागि सामाजिक दुरी कायम गर्न, अनिवार्य रुपमा माक्स प्रयोग गर्न तथा मोवाइल एप एथेराज पनि अनिवार्य गरेको छ । पछिल्लो समय कतारमा कोरोना संक्रमितको संख्या भने बढ्दैै गएको तथ्याङक छ । संक्रमित मध्ये अधिकांश आप्रवासी नागरिकहरु रहेका छन् भने उनीहरुको राष्ट्रियता खुलाइएको छैन । कतारमा हाल करिव ३ लाख ५१ हजार नेपालीहरु कार्यरत रहेको नेपाली राजदूतावास दोहा कतारको तथ्याङक छ ।
कोरोना बढेपछि थप प्रतिबन्ध
कतारमा कोरोना भाइरसको तेस्रो लहर सुरु भए संगै स्वास्थ्य मन्त्रालयले विभिन्न क्षेत्रमा पुन प्रतिवन्ध लगाएको छ । कतारबाट प्रकाशित हुने क्यू एन खबरका अनुसार कोरोना संक्रमण रोक्न कतारको मन्त्रीपरिषदको बैठकले जनवरी ८ शनिबार २०२२ देखि लागू हुनेगरी प्रतिबन्धका निर्णय गरेको थियो । कतार सरकारले मास्कर सेनिटाइजरको प्रयोग, एहतराजको प्रयोग, कम्तीमा १ मिटरको दुरी कायम, निजि सवारीमा चालक सहित चार जना भन्दा बस्न नपाउने, सामाजिक भेलामा खुला स्थानमा खोप लगाएका १५ जना र बन्द स्थानमा १० जना सम्म भेला हुन पाउने उल्लेख गरेको छ ।
त्यस्तै एक मिटरको दुरी कायम गरि शुक्रवारको प्राधर्ना गर्न पाउने, १२ वर्ष भन्दा मुनिका बालबालिकालाई प्रवेश नदिइने र शौचालय र धारा बन्द हुनुपर्ने, खुला स्थानमा भएको होटेल वा बिबाह हलमा ८० र बन्द हलमा ४० जना सम्मले बिबाह पार्टी गर्न पाउने, सबैले खोप लगाएको हुनुपर्ने उल्लेख छ ।
त्यस्तै एकै परिवारको १२ जना सम्म एउटै डुंगामा बस्न पाउने, अन्यमा १५ जना सम्म बस्न पाउने, २.६० प्रतिशत क्षमतामा मात्रै मेट्रो चलाउन पाउने, धूम्रपान कक्ष बन्द गर्नुपर्ने, खानेकुरामा पनि रोक लगाएको छ । ड्राइभिङ स्कुल ५० प्रतिशत क्षमतामा मात्र खोल्न पाउने निणर्य गरेको छ भने हरेक क्षेमा सहभागिता जनाउनले खोप अनिवार्य लगाएको हुनुपर्ने उल्लेख छ ।
विद्यालय तथा किन्डरगार्डेन २७ जनवरीसम्म अनलाइन मार्फत सन्चालन गर्नुपर्ने । अत्यावश्यक केन्द्रमा ५ भागको १ भाग मात्र सन्चालन गर्न पाउने, नर्सरी र सबै प्राइभेट ट्रेनिङ सेन्टर ५० प्रतिशत मात्र खोल्न पाउने, बढीमा ५० जना विद्यार्थी राख्न पाउने निर्णय गरिएको छ ।
सार्वजनिक पार्क,बिच र कर्नेशमा एकै परिवारका बाहेक अन्य १५ जनासम्म मात्र भेला हुन पाउने, निजि बिचमा ७५ प्रतिशत सम्मले प्रवेश पाउने, .स्वास्थ्य मन्त्रालयबाट स्वीकृति प्राप्त स्थानीय तथा अन्तर्राष्ट्रिय खेलकुद बिना रोकतोक अभ्यास गर्न पाउने, स्वास्थ्य मन्त्रालयबाट स्वीकृति प्राप्त स्थानीय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा खुला क्षेत्रमा ५० र बन्द क्षेत्रमा ३० प्रतिशत खोप लगाएक दर्शक राखेर खेलाउन पाउने, अन्य स्थानीय तथा कुनैपनि निजि खेलकुद प्रतियोगिता गर्न नपाउने उल्लेख छ ।
मल ७५ प्रतिशत र फुड कोर्ट ३० प्रतिशत क्षमतामा सन्चालन गर्न पाउने, खोप नलगाएका व्यक्तिलाई प्रवेश नदिइने, कतार किल्न प्रोग्रामबाट मान्यता प्राप्त रेस्टुरेन्ट र क्याफे ७५ प्रतिशत क्षमतामा सन्चालन गर्न पाउने,अन्यले ४० प्रतिशत क्षमतामा सन्चालन गर्न पाउने, शुक ७५ प्रतिशत क्षमतामा मात्र सन्चालन गर्न पाउने, हुक्का प्रयोगमा रोक, होलसेल मार्केट ७५ प्रतिशत क्षमतामा सन्चालन गर्न पाउने, जिम तथा हेल्थ क्लब ५० प्रतिशत क्षमतामा सन्चालन गर्न पाउने, सावर,चेन्जिङ रुम,जाकुजी र सौना बन्द गर्नुपर्ने, खुला स्विमिङ पुल र वाटर पार्क ७५ र बन्द ५० प्रतिशत क्षमतामा मात्र सन्चालन गर्न पाउने, सरसफाइ क्षेत्र पुर्ण रुपमा सन्चालन हुने, कार्य क्षेत्र पुर्ण रुपमा सन्चालन गर्न पाउने, मिटिङमा बढीमा १५ जना बस्न पाउने, सिनेमा तथा थिएटर ५० प्रतिशत क्षमतामा सन्चालन गर्न पाउने र सबै दर्शक र स्टाफले खोप लगाएको हुनुपर्ने कतार सरकारले निणृय गर्णय गरेको हो ।
त्यस्तै सैलुन ५० प्रतिशत क्षमतामा सन्चालन गर्न पाउने, सभा समारोह र संस्कृतिक कार्यक्रम खुला क्षेत्रमा ५० र बन्द क्षेत्रमा ३० प्रतिशत क्षमतामा सन्चालन गर्न पाउने र कार्यक्रम गर्न मन्त्रालयको सिफारिस चाहिने उल्लेख छ भने हरेक क्षेत्रमा सहभागि हुनेले अनिवार्य खोप लगाएको हुनुपर्ने क्यू एन खबरले जनाएको छ ।
यात्रा नीति परिवर्तन
अफ्रिकामा कोभिङ–१९ को नयाँ डरलाग्दो ओमिक्रोन भेरिएन्ट देखापरेपछि कतार लगायत विभिन्न मुलुकले यात्रा नीति परिवर्तन गरेको छ । डिसेम्बरदेखि अति जोखिमपूर्ण देशबाट कतार आउने यात्रुको लागि सरकारले क्वारेन्टाइनको नियम परिवर्तन गरेको हो । अति जोखिमपूर्ण देशमा दक्षिण अफ्रिका, नामिबिया, जिम्बावे, इजिप्ट, लेसोथो, इस्वातिनी र बोत्स्वाना परेको छ । यी देशबाट आउने खोप लगाएका वा नलगाएका दुबै यात्रुले कतारमा ७ दिनको क्वारेन्टाइन बस्नुपर्नेछ । कतारको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको स्थितिलाई मध्यनजर गर्दै हरियो, रातो, जोखिमपूर्ण र अति जोखिमपूर्ण वर्ग छुट्टयाएको छ ।
त्यस्तै नेपाली यात्रुको लागि क्वारेन्टाइनको नियममा कुनै परिवर्तन भएको छैन । नेपाल अझै जोखिमपूर्ण वर्गमा छ । हालसम्म कतार आउने खोप लगाएका यात्रुले दुई दिन र नलगाएका यात्रुले सात दिनको क्वारेन्टाइन बस्नुपर्ने नियम छ । नेपालीको लागि कतार आउन एहतराजको वेबसाईटमा विवरण दर्ता (नयाँ आउनेहरुले मात्र), स्वास्थ्य मन्त्रालयको प्रतिबद्धता फारम, होटेल बुकिङ, श्रम स्वीकृति÷हवाई टिकट÷७२ घन्टा भित्रको पिसिआर रिपोर्ट र कतार आईसकेपछि एहतेराज एप चाहिने उल्लेख छ ।
नियम पालना गरौं
कतारमा केहि सातादेखि कोरोना संक्रमणदर बढेको भन्दै नेपाल पत्रकार महासंघ कतार शाखा अध्यक्ष करिम बक्स मियाले कतार सरकारले लागू गरेका नियमहरु अनिवार्य रुपमा पालना गर्न सबै नेपाली समुदायलाई सामाजिक संजाल मार्फत आग्रह गरेका छन् ।
कतार सरकारले ३१ डिसेम्बरदेखि माक्स अनिवार्य, भिंडभाड नगर्न र भिंडभाडयुक्त क्षेत्रमा नजान, स्वास्थ्यमापदण्डको पालना गर्न गरेको निर्णय सबैले पालना गर्नुपर्ने उल्लेख गरेका छन् । उनले कोरोना संक्रमण पूनः सामान्य अवस्थामा न फर्किएसम्म सार्वजनिक समारोह तथा घुमघामलाई अल्पविराम दिने निर्णय लिनु नै बुद्दिमतता हुने सुझाव दिएका छन् ।
मियालेले कतारबाट स्वदेश (नेपाल) विदामा जाने श्रमिकहरुलाई पनि पूनर्विचार गर्न आग्रह गरेका छन् । पछिल्लो समय कतारमा बढ्दो कोरोना संक्रमणका कारण पिसिआर रिपोर्ट आउन ढिला हुँदा धेरै श्रमिकको हवाई उडान तथा टिकट गुम्ने गरेको उल्लेख छ । यात्रा गर्ने मितिसम्म पिसिआर रिपोर्ट न आउने र उडान छुट्न पुग्ने तथा हवाई टिकटको पैसा गुम्ने अवस्था आउने भएकाले विदामा जानै पर्ने अवस्था भएमा हवाई टिकट लिंदा उडान मिति परिवर्तन गर्न सम्भव भएका उडान रोज्न उनले सुझाव दिएका छन् ।
विश्वव्यापी रूपमा फैलदो कोरोनाको तेस्रो लहर र ओमिक्रोनको कारण र अधिकतम ७२ घण्टे म्याद भित्र पिसिआर गरेको नेगेटिभ रिपोर्टको अनिवार्य शर्तका कारण खाडी मुलुकमा रहेका नेपालीहरुले क्षति व्यहोर्नु परेको उनले बताएका छन् । कतार लगायत खाडी राष्ट्रमा समेत ओमिक्रोन र कोरोनाको तेस्रो लहर ह्वात्तै बढेको कारण पिसिआर रिपोर्ट आउन ढिला हुने गरेको छ ।
पीसीआर रिपोर्टको अनिश्चितताको कारण धेरै नेपालीहरुको उडान छुट्ने र हवाई टिकटको पैसा समेत फिर्ता नहुने (कोल्याप्स) भएकाले ७२ घण्टे मापदण्ड तथा यात्रा नीति परिमार्जन गर्न उनले नेपाल सरकारलाई सुझाव समेत दिएका छन् ।