मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजा र चरेशसहित ३ जनालाई पक्राउ गरेको छ । २० किलो ५ सय ग्राम लागुऔषध चरेस र १० किलो गाँजाको धुलोसहित ३ जनालाई मनहरी–८, सिमपानीबाट प्रहरीले बुधबार बिहान पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको विशेष टोली र ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा संयुक्त रुपमा खटिएको प्रहरी टोलीले मनहरी–८, सिमपानीमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको लु ३ च ९७४ नम्बरको पिकअप गाडीबाट लागूऔषध बरामद गरेको हो ।
पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–६ का ३३ वर्षीय सन्त बहादुर थिङ, २७ वर्षीय ललित बहादुर थिङ र चितवन जिल्लाको राप्ती नगरपालिका–११, भण्डराका २८ वर्षीय राम बहादुर तामाङ रहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । लागूऔषध चरेस, गाँजाको धुलो, पिकअप गाडीसहित पक्राउ परेका तीनैजनालाई थपअनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले हेटौंडा अस्पताल र स्वास्थ्य निर्देशनालयको निरीक्षण गरेका छन् । मन्त्री लामाले हेटौंडा अस्पतालको नयाँ भवन, कोभिड वार्ड, अक्सिजन प्लान्ट र सेवा प्रवाहबारे निरीक्षण गरेका थिए ।
मन्त्री लामाले अस्पताल र निर्देशनालयले कोरोना जोखिम नियन्त्रणका लागि गरेका तयारीबारे जानकारी लिएका हुन् । निरीक्षणपछि उनले कोरोना संक्रमणको जोखिम बढिरहेको भन्दै पूर्व तयारीको काम अघि बढाउन निर्देशन दिए । उनले स्वास्थ्यकर्मीहरुले कोभिडको अघिल्लो चरणमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनका लागि पनि तयारी अवस्थामा रहन निर्देशन दिए । प्रदेश सरकार कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचारका लागि प्रतिवद्ध रहेको भन्दै उनले अस्पताल टिम पनि सोही अनुसार प्रतिबद्ध हुन निर्देशन दिए । निरीक्षणका क्रममा अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा। रामचन्द्र सापकोटासहितको टोलीले अस्पतालले गरिरहेका कामहरुबारे जानकारी गराएको थियो ।
त्यस्तै, स्वास्थ्य निर्देशनालयको निरीक्षण गर्दै मन्त्री लामाले अझै पनि बागमती प्रदेशका कतिपय जिल्लामा लक्ष्य अनुसार खोप अभियान संचालन हुन नसकेको भन्दै यसका लागि प्रभावकारी ढंगले अभियान संचालन गर्न निर्देशन दिए । खोप अभियानका लागि जिल्लाका सबै स्वास्थ्य इकाईहरुले जनचेतनामुलक गतिविधि गरेर नागरिकलाई खोप अभियानमा आकर्षित गर्नुपर्नेमा मन्त्री लामाको जोड थियो । कार्यक्रममा स्वास्थ्य निर्देशनालयका प्रमुख महेश्वर श्रेष्ठ लगायतले निर्देशनालयले खोप अभियान र गरिरहेका कामहरुको बारेमा जानकारी दिएका थिए ।
मकवानपुर । मकवानपुरमा काेराेना संक्रमित ८२ जना थपिएका छन् । मकवानपुरमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दो क्रममा रहेकाेमा बुधबार एकैदिन ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।
जिल्लामा पछिल्लो २४ घण्टामा १ सय ४५ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका ५४ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी थाहानगरपालिकाका १ जना र मनहरी गाउँपालिकाका २७ जनामा कोरोना पुष्टि भएको छ । यससँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको कूल संख्या १५ हजार ७ सय ८४ जना पुगेको छ ।
यस्तै, जिल्लामा पछिल्लो २४ घण्टामा ३ जना संक्रमणमुक्त भएका छन् भने १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । संक्रमणमुक्त हुने ३ जना र संक्रमणका कारण मृत्यु हुने १ जना हेटौंडा उपमहानगरपालिकाका भित्रका रहेकाे बताइएकाे छ । यससँगै जिल्लामा हालसम्म संक्रमणमुक्त हुनेको कूल संख्या १५ हजार ३ सय ३३ जना पुगेका छन् ।
यस्तै, जिल्लामा हालसम्म संक्रमणका कारण १ सय ६८ जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिकाका १ सय २० जना, थाहानगरपालिकाका ९ जना, मकवानपुरगढीका ५ जना, बागमतीका ४ जना, कैलाशका २ जना, मनहरीका १४, भीमफेदीका ७, बकैयाका ५ जना र राक्सिराङ गाउँपालिकाका २ जनाको मृत्यु भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने कोरोना संक्रमणका कारण हालसम्म कुनै पनि व्यक्तिको मृत्यु नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर । मकवानपुर जिल्ला र सिन्धुली जिल्लालाई यातायत संजालमा जाेड्ने बागमती पुल माघबाट संचालन हुने भएकाे छ । पूर्वी मकवानपुरको बागमती गाउँपालिका र सिन्धुली जोड्ने पुल निर्माणमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले निर्माणमा चासोका साथ अनुगमन गरेका छन् ।
निरीक्षण क्रममा निर्माण कम्पनीले यातायात सञ्चालन भएको र हेटौँडा आउन सबैभन्दा छोटो दूरीको मार्ग जोडिएको जनाएको हो । ठेक्का लागेको १० वर्ष पछी पुलबाट आवतजावत गर्न पाइने भएकाे हाे । याे सँगै माघ १२ गते हेटौँडामा हुने राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशका दोलखा, रामेछाप र सिन्धुलीका जनप्रतिनिधि र प्रदेश सदस्यहरुले छोटो दूरीको बाटो हुँदै हेटौँडा आउन पाउने भएका छन् ।
अनुगमनक्रममा पुल निर्माण कम्पनी स्वच्छन्द निर्माण सेवाका जयराम लामिछानेले पुलमा सामान्य यातायात सञ्चालन हुन सक्ने बताए । लामिछानेले भने ‘यातायात सञ्चालनमा समस्या छैन, पुलमा सामान्य कालोपत्रे र पुलसँगै केही ड्याक बनाउने काम चाँडै सकिने छ । ३ वर्षसम्म अर्कै कम्पनीले काम गर्छु भनेर ढाँट्दा आफू पनि समस्यामा परेकाेमा अब काम करिब करिब सकिएको उनले बताए ।’ पुल निर्माणको लागि फाउन्डेसन नै बदल्नु परेकाले पनि निर्माणमा ढिलाइ भएको लामिछानेले बताए । पुल निर्माणका लागि चैत मसान्तसम्म म्याद थपिएको र काम सकेर वैशाख १५ गते पुल शिलान्यास गर्नका लागि हस्तान्तरण गर्न आफू तयार रहेको लामिछानेले बताए ।
‘दोलखा, रामेछाप र सिन्धुलीका जनप्रतिनिधि र प्रदेश सदस्यहरु यही छोटो बाटो हुँदै माघ १२ गते हेटौँडामा हुने राष्ट्रिय सभा निर्वाचनमा भोट हाल्न आउन सक्छन् ?’ मुख्यमन्त्रीको प्रश्नमा लामिछानेले भने, ‘कालोपत्रेका लागि १ दिन पुल बन्द हुन सक्छ, नत्र यातायात रोकिन्न ।’ मदन भण्डारी राजमार्ग अन्तर्गत बागमती नदीमा पुल निर्माणको ठेक्का लागेको १० वर्ष ६ महिना पुगेको छ । निर्माण कम्पनीले ३ वर्ष भित्र काम सक्नेगरी २०६८ असार २९ गते २० करोड ६२ लाख रुपैयाँमा सम्झौता गरेको थियो ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१८ हर्नामाडीमा भक्तबहादुर श्रेष्ठको शालिक अनाबरण गरिएकाे छ । २ दशक बढी भूमिगत जीवन बिताएका भक्तबहादुर श्रेष्ठ ‘शेरसिंह’को अर्धकदको शालिक हर्नामाडी गुम्बाडाँडा स्थित श्यामप्रसाद स्मृति प्रतिष्ठान परिषरमा मंगलबार अनावरण गरिएको हाे ।
हेटाैडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले शालिक अनावरण गर्दै भक्तबहादुर आफूहरुकाे गुरु रहेकाेले श्रेष्ठकाे देहबसान भएकै दिनमा शालिक अनावरण गर्न पाउँदा अत्यन्त खुसी लागेको बताए । स्वर्गिय श्रेष्ठको शालिक निर्माण र फाउण्डेशन निर्माणका लागि हेटौंडा उपमहानगरपालिका र बागमती प्रदेश सरकारले सहयोग गरेको थियो ।
कार्यक्रममा हेटौंडा–१८ का वडा अध्यक्ष अनिल बानियाँले भक्तबहादुरको शालिक आफ्नो वडामा राख्न पाउँदा अत्यन्तै खुसी लागेको बताए । कार्यक्रममा गुम्बाडाँडा व्यावस्थापन समितिका अध्यक्ष हर्क रम्तेल, बागमती प्रदेश पत्रकार महासंघका निवर्तमान अध्यक्ष प्रताप विष्ठ, भक्तबहादुरका भतिज दिनेश श्रेष्ठ लगायतकाले उनकाे योगदानको चर्चा गरेका थिए ।
भक्तबहादुर श्रेष्ठ ‘शेरसिंह’ संक्षिप्त जीवनी
१९९० असोज ३ गते मकवानपुरगढीमा जन्मिएका श्रेष्ठको मृत्यु २०६८ पुस २७ गते भएकाे थियाे । दुई दशकभन्दा बढी समय भूमिगत जीवन बिताएका श्रेष्ठले २००७ सालदेखि मकवानपुरगढीमा स्वग्राम सुधार जनसंगठन परिषद् गठन गरेर गाउँको शोषण, अत्याचार र जातीय विभेदविरुद्धका काम अगाडि बढाएका थिए । परिषद्ले गाउँमा जुवातास खेल्न बन्द गरायो । गाउँलाई साक्षर बनाउन प्रौढ शिक्षा सञ्चालन गर्यो । साथै सानातिना झैझगडा मिलाउन र न्यायनिसाफका लागि पनि परिषद् लाग्यो । पुस्तकालय स्थापना गर्यो । यसरी परिषद्ले गाउँलेहरूको मन जित्न थाल्यो ।
विभिन्न धारामा विभाजित कम्युनिस्ट नेता मोहनविक्रम सिंह, मोहन वैध, निर्मल लामा, प्रचण्ड, सीपी गजुरेल, नारायणकाजी श्रेष्ठ, नेत्रविक्रम चन्द, ईश्वरी दाहाल, रामबहादुर थापालगायत सँगोलमा भएको बेलामै नेकपा चौथो महाधिवेशनको महामन्त्री थिए— भक्तबहादुर श्रेष्ठ ‘शेरसिंह’ ।
परिषद्ले २०१० सालमा किसानको मोहियानी हक कायम गर्ने, पर्ती जमिन सुकुम्बासी र किसानहरूलाई वितरण गर्ने र छाक काटेर कर्जा नतिर्ने अभियान चलायो । यस अभियानले यस क्षेत्रका बासिन्दालाई जागरुक बनाउनुका साथै सामन्तहरूविरुद्ध घृणा उत्पन्न गरायो । श्रेष्ठकै अगुवाइमा २०१२ सालमा साबिकको हटिया गगटेमा सय बिघा जमिनमा बस्ती बसाउने काम भएको थियो । किसान आन्दोलनबाटै उनी कम्युनिस्ट पार्टीको महामन्त्री बन्न सफल भए ।
यसबाहेक, गाउँकै विद्यालयमा अंग्रेजी, गणित र नेपाली विषय पढाउँथे, उनी । उनको अक्षर अत्यन्त सुन्दर र पढाउने कला पनि राम्रो थियो । त्यति बेलाका उनका विद्यार्थी दिनेश श्रेष्ठ भन्छन्— ‘साहिँला बाले बुझ्ने गरी पढाउनुहुन्थ्यो ।’ उनलाई गाउँलेहरूले ‘माडसाब’ र ‘साहिँला बा’ भनेर सम्बोधन गर्थ्ये । २०११ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका श्रेष्ठ पटक–पटक गरी ८ वर्ष जेल परे ।
जब उनी चौथो महाधिवेशनको महामन्त्री बने तबदेखि पञ्चायती शासकले व्यापक खोजी गर्न थाल्यो । त्यही क्रममा २०४० सालमा पक्राउ पनि परे । त्यति बेला उनले लामै समय जेलमा बस्नुपरेको थियो । सरल जीवनशैलीका श्रेष्ठ व्यावहारिक र दूरदर्शी नेता थिए । भद्रगोल जेलबाट दिएको प्रवेशिका परीक्षामा उनी प्रथम श्रेणीमा उत्तीर्ण भएका थिए । यसबाहेक श्रेष्ठको औपचारिक शिक्षा भने थिएन । अनाैपचारिक लेख्न–पढ्न भने गरिरहे । उनीसँग वीरगन्ज जेलमा बसेका विरोध खतिवडा भन्छन्, ‘अरूले एक पन्ना पढ्दा श्रेष्ठ काका १० पाना पढिसक्थे, जेलमा सबै साथी सुतेपछि रातभरि पढ्ने–लेख्ने गर्थे ।’
यस्तै जाँगरका कारण श्रेष्ठले राजनीतिक, आर्थिक र सांस्कृतिक विषयमा अनेक पुस्तक लेखे । जेल बस्दा कार्ल मार्क्सको ‘पुँजी’ को नेपालीमा उल्था पनि गरेका थिए । अंग्रेजी र हिन्दी भाषामा उनको दखल थियो । केहीअघि मोहनविक्रम सिंहले कम्युनिस्ट आन्दोलनको शीर्ष नेताहरूमध्येका एक श्रेष्ठ भएको बताएका थिए । हुन पनि, उनका सहयात्री सिंहले शीर्ष भन्ने आधार छन्— एक त उनी कम्युनिस्ट आन्दोलनको सुरुआती चरणदेखि नै सक्रिय थिए, अर्को यसै आन्दोलनमा जीवन बिताए । साहित्यमा पनि उनको दखल थियो । बेलाबेलामा कविताबाट आफ्ना विचार सार्वजनिक गर्थे पनि ।
एकै गाउँमा जन्मेका सँगैसँगै समाज सुधार र राजनीतिकर्म गर्दै आएका बद्रीप्रसाद खतिवडाले श्रेष्ठले नेपाली वामपन्थी आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याए पनि उनको उचित मूल्यांकन हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् । सरकारको नेतृत्वमा पटक–पटक वामपन्थीहरू पुगे तर उनका बारे चासोचिन्ता लिएनन् ।
उनको जीवन खुला किताबजस्तो थियो । परिवर्तनका लागि जीवन उत्सर्ग गरेका श्रेष्ठमा व्यक्तिगत लालसा अलिकति पनि थिएन । उनले राजनीतिलाई कमाईखाने भाँडो कहिल्यै बनाएनन् । ‘सादा जीवन र उच्च विचार’ को भावनाबाट अलिकति पनि विचलित नभई बाँचे । कथनी र करनीमा एउटै आदर्श सँगालेका श्रेष्ठ परिवर्तनकारीका निम्ति प्रेरणाको स्रोत हुन् । मृत्यु भएको एक दशकपछि उनको अर्धकदको सालिक जन्मेको गाउँनजिकै अनावरण गरिएकाे छ ।