मकवानपुर । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को लागि जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरले स्वास्थ्यकर्मीलाई बिदामा नबस्न र जिल्ला नछोड्न आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको छ ।
बुधबार बसेको समितिको बैठकले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण तयारीका निर्णयहरू सार्वजनिक गर्दै यस्तो अनुरोध गरेको हो । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिदै गर्दा निर्वाचन लक्षित
स्वास्थ्य कार्यको लागि तयारी गरिएको हो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको अध्यक्षतामा बसेको समितिको बैठकले निर्वाचन अवधिमा सम्भावित विपद् तथा आकष्मिक अवस्थालाई मध्यनजर गर्दै जिल्लाभर स्वास्थ्य सेवा प्रणालीलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको हो।
बैठकले निर्वाचनको समयमा जिल्लाका सबै स्थानीय तहमा तत्काल परिचालन गर्न सकिने
गरी साधन स्रोतसहितको आपतकालीन स्वास्थ्य टोली तयारी अवस्थामा राख्न जनस्वास्थ्य कार्यालय मकवानपुरमार्फत सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको प्रजिअ अधिकारीले बताए । साथै जिल्लाभित्र रहेका सम्पूर्ण स्वास्थ्य संस्थाहरूलाई आवश्यक जनशक्ति तथा उपकरण तयारी अवस्थामा राख्न समेत निर्देशन दिइने भएको छ।
निर्वाचन अवधिलाई ध्यानमा राख्दै हेटौंडा अस्पताललाई पनि आवश्यक साधन स्रोतसहित तयारी अवस्थामा रहन र त्यसको विवरण जिल्ला प्रशासन कार्यालयमा माग गर्ने निर्णय गरिएको छ।
यस्तै, जिल्लाभित्र सञ्चालनमा रहेका दमकल तथा एम्बुलेन्सहरूलाई जुनसुकै समयमा प्रयोग गर्न सकिने गरी पूर्ण रूपमा चालु अवस्थामा राख्न सम्बन्धित निकायहरूलाई लेखी पठाइने भएको छ।
निर्वाचनको संवेदनशीलतालाई ध्यानमा राख्दै सो अवधिमा जिल्लाका सम्पूर्ण स्वास्थ्य जनशक्तिलाई बिदामा नबस्न र जिल्ला नछोड्न आवश्यक व्यवस्था मिलाउन जनस्वास्थ्य कार्यालय मकवानपुरमार्फत सबै स्थानीय तह तथा स्वास्थ्य संस्थाहरूलाई निर्देशन पठाउने निर्णय गरेको छ।
त्यसैगरी, विपद् व्यवस्थापन समिति अन्तर्गतका सबै निकाय तथा पदाधिकारीहरूले निर्वाचन लक्षित सम्भावित विपद्जन्य घटनाको पूर्वतयारी, उद्धार तथा व्यवस्थापनका लागि आवश्यक प्रबन्ध मिलाउने पनि निर्णय भएको छ।
निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन स्वास्थ्य क्षेत्रको तयारी अत्यन्त आवश्यक रहेकोले यस्तो तयारी गरिएको अधिकारीले बताए । “निर्वाचनको समयमा कुनै पनि आकष्मिक अवस्था सिर्जना भएमा तत्काल प्रतिक्रिया दिन सक्ने गरी स्वास्थ्य तथा उद्धार संयन्त्रलाई तयारी अवस्थामा राख्ने निर्णय गरिएको हो” प्रजिअ अधिकारीले भने ।
मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाले यातायात व्यवस्था कार्यालय अधिकृतस्तरका कर्मचारी र लेखापढी व्यवसायीलाई नियन्त्रणमा लिएकाे छ ।
यातायात व्यवस्था कार्यालय हेटौंडाका अधिकृत छैटौं तहका कर्मचारी अमृत भेटुवालले सवारी सरुवा सहमतिकाे कामकाे लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरेकाे सूचना तथा उजुरीका आधारमा उनीहरुलाई नियन्त्रणमा लिएकाे अख्तियारले जनाएकाे छ ।
अख्तियार हेटौडाकाे टोलीले बिचौलिया लेखापढी व्यवसायी खगेन्द्र पौडेलले सेवाग्राहीबाट ११ हजार ५ सय रुपैयाँ घुस/रिसवत लिएकाे अवस्थामा यातायात कार्यालय परिसरबाट मंगलबार उनीहरुलाई नियन्त्रमा लिएकाे जनाएकाे छ । उक्त रकम तथा ३ थान मोबाइल सेटसहित पौडेल र भेटवाललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विज्ञप्ति प्रकाशित गरी जनाएकाे छ ।
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–८ स्थित तल्लो भवानीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बागमती गाउँपालिकाको फापरबारीबाट बकैया गाउँपालिकाको हात्तीसुडेतर्फ आउँदै गरेको बा प्र ३–०२–००५ प १००८ नम्बरको मोटरसाइकल सोमबार राती मदन भण्डारी लोकमार्गअन्तर्गत बागमती गाउँपालिका–८ स्थित तल्लो तल्लो भवानीमा नालामा खसेको थियो ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरको बकैया गाउँपालिका–८ बस्तीपुरका ४० वर्षीय प्रेमबहादुर गोलेको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका गोलेको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मकवानपुर । धादिङमा बस दुर्घटनामा ज्यान गुमाएका १९ जनाकै पहिचान खुलेकाे छ । सोमबार बेनिघाट रोराङ गाउँपालिका–५ भैसीगौडास्थित पृथ्वी लोकमार्गमा बस दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो।
सोमबार बिहान पोखराबाट काठमाडौंतर्फ जादैं गरेको ग १ ख १४२१ नम्बरको बस त्रिशूली नदीमा खसेर थियाे । उक्त दुर्घटनामा मृत्यु भएका १९ जनाकै सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ ।
मकवानपुर । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले किसानहरूले लामो समयदेखि परम्परागत रूपमा एकै किसिमको बाली लगाउँदै आएका कारण उत्पादनमा ह्रास आएको बताएका छन् ।
चितवनको भण्डारामा आयोजित मन्त्रालय मातहतका कार्यालयहरुको आर्थिक वर्ष २०८२/०८३ को अर्धवार्षिक प्रगति समीक्षा गोष्ठीको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले प्रदेश भित्र माटो परिक्षणलाई अभियानको रुपमा संचालन गरिने जानकारी दिए ।
“माटोमा अत्यधिक मात्रामा अम्लीयपन बढ्दै गएको छ, जसले उत्पादकत्व घटाएको छ,” मन्त्री पौडेलले भने, “अब माटो परीक्षणलाई अनिवार्य र अभियानकै रूपमा अघि बढाइनेछ।”
परीक्षणले मात्र उत्पादन वृद्धिलाई वास्तविक सहयोग पुर्याउने बताउदै उनले भने “मन्त्रालयले वितरण गर्दै आएको अनुदान प्रणालीमा ठूलो हेरफेर गरिने छ बताए ।” वितरणमुखी अनुदानले किसानलाई अल्छी बनाएको टिप्पणी गर्दै उनले अबदेखि उत्पादन, ब्याज अनुदान र नवयुवा लक्षित अनुदानलाई मात्र प्राथमिकता दिइने स्पष्ट पारे।
“उत्पादनमा आधारित नभएका अन्य सबै प्रकारका अनुदानहरु अब बन्द गरिनेछन्,” मन्त्री पौडेलले भने “हाम्रो लक्ष्य वास्तविक किसानलाई प्रोत्साहन गर्ने र कृषिमा युवा सहभागिता बढाउने हो।”
कार्यक्रममा मन्त्रालयका सचिव बैकुण्ठ अधिकारीले प्रदेश सरकारको लगानीमा निर्माण भएको धुलोदुध कारखाना सञ्चालनका लागि ठोस कार्ययोजना (मोडालिटी) आवश्यक रहेको बताए। उनले कारखाना सञ्चालनको स्पष्ट मोडालिटी तयार गर्न दुग्ध विकास बोर्डका निर्देशकलाई निर्देशनसमेत दिए ।
मन्त्रालयको वित्तीय अवस्थाप्रति चासो व्यक्त गर्दै सचिव अधिकारीले कृषि निर्देशनालयको हालसम्मको वित्तीय प्रगति सन्तोषजनक नरहेको उनको भनाइ थियो।
मन्त्रालय मातहतका कार्यालयहरूको कुल ८६ करोड रुपैयाँ बेरुजु रहेकोमा पशुपन्छी तथा मत्स्य निर्देशनालयको मात्र ३८ करोड रुपैयाँ रहेकोले तत्काल प्रभावकारी काम गर्न निर्देशन दिएका छन् ।
गोष्ठीको पहिलो जिल्ला स्थित कार्यालय र निर्देशनालयहरूले आफ्नो अर्धवार्षिक प्रगतिको प्रतिवेदन प्रस्तुत गरेका थिए। आज सोमबारसम्म चल्ने गोष्ठीमा बागमती प्रदेश मातहतका जिल्लास्थित कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, तालिम केन्द्रका प्रमुखहरू र निर्देशनालयका प्रमुखहरूको उपस्थिति रहेको छ।