मकवानपुर । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ। कोशी, लुम्बिनी, कर्णाली प्रदेशको केही स्थान तथा मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
मंगलबार दिउँसो देशभर साधरणतया बादल लाग्नेछ। देशको हिमाली र तराई भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। देशका पहाडी भूभागका धेरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
मंगलबार राति देशभर साधरणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग साथै मधेस प्रदेशका धेरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कर्णाली प्रदेशका पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा मधेस प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आह्वान गरेको सर्वदलीय बैठक बसेकाे छ। वर्तमान राजनीतिक अवस्थाको समीक्षा गर्दै प्रदेशमा देखिएको राजनीतिक अन्योल अन्त्य गर्ने उद्देश्यले मुख्यमन्त्री बानियाँले सर्वदलीय बैठक आह्वान गरेका थिए।
सोमबार प्रदेश सुशासन केन्द्र, ललितपुरमा बसेकाे बैठकमा प्रदेशको पछिल्लो राजनीतिक अवस्था र सरकारको भविष्यबारे छलफल भएकाे छ।प्रदेशमा देखिएको राजनीतिकअस्तिरतालाई अन्त्य गर्ने गरी संवाद अघि बढाइएको बैठकमा बदलिँदो राजनीतिक परिस्थिति, प्रदेश सरकारको निरन्तरता तथा सम्भावित राजनीतिक सहमतिका विषयमा विभिन्न दलका नेताहरूबीच छलफल भएकाे हाे ।
मुख्यमन्त्री बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान राजनैतिक गतिरोध अन्त्यका लागि कि त आफूलाई समर्थन गर्नु पर्ने वा अन्य दललाई बहुमत पुर्याउन दलहरुसँग आग्रह गरेका छन् । नेकपा एमालेले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएपछि अन्यौलताको अवस्था सिर्जना भएकाले आफूलाई नै समर्थन गरेर अघि बढ्न वा यथाशिघ्र बहुमत पुर्याएर नयाँ सरकार गठनका लागि दलहरुलाई आग्रह गरेका हुन् ।
‘नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले बहुमत पुर्याए मार्ग प्रशस्त गर्न तयार छु’ उनले भने ‘हालसम्म दुई दलले बहुमत पुर्याउन नसकेपछि अस्थिरता चिर्दै निकासका लागि सर्वदलीय बैठक बोलाइएकाे हाे ।’ अहिलेको अवस्थाले प्रदेश सरकारलाई अनिर्णयको बन्दी बनाएको तर्फ मुख्यमन्त्री बानियाँले चिन्ता व्यक्त गर्दै दुई दलबाट बहुमत सिद्ध गर्न नसकिरहेको अवस्थामा आफूलाई नै समर्थन गरे चाँडो भन्दा चाँडो विश्वासको मत लिएर प्रदेशमा राजनैतिक स्थिरता दिने समेत दलहरुलाई अनुरोध गरेका थिए ।
उनले चालु आर्थिक बर्षको नीति, कार्यक्रम तथा बजेट पारित भईसकेको अवस्थामा यसलाई कार्यान्वयन गरेर नागरिकको आकांक्षा पूरा गर्न आफु नेतृत्वको सरकार तत्पर रहेको समेत बताए । मुख्यमन्त्री बानियाँले नेकपा एमालेलाई पनि समर्थन फिर्ताबारे पुनर्विचार गरी पुनः समर्थन दिन आग्रह गरेका थिए । अन्य दललाई राजनैतिक अन्यौलताको अन्त्यका लागि आफूलाई सहयोग गर्न आग्रह गर्दै सरकारमा नगएपनि समर्थन गरेर अघि बढ्न सकिनेतर्फ समेत दलहरुको ध्यानाकर्षण गराएका थिए । बानियाँले संसदमा रहेका सबै दललाई समर्थनका लागि लिखित अनुरोध समेत गरेका थिए ।
मुख्यमन्त्री बानियाँलाई मार्ग प्रशस्त गर्न आग्रह
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। त्यसयता प्रदेशको नयाँ राजनीतिक समीकरणबारे विभिन्न दलबीच छलफल चलिरहेका बेला सोमबारकाे सर्वदलीय बैठकलाई प्रदेशको राजनीतिक निकास खोज्ने प्रयासका रूपमा हेरिएको छ।
तर, बागमती प्रदेशको सर्वदलीय बैठकमा नयाँ समीकरणलाई सरकार बनाउन सहज वातावरण बनाइदिन बाम गठबन्धन दलहरूले आग्रह गरेका छन् । सर्वदलीय बैठकमा उपस्थित बाम गठबन्धनका दलहरूले मुख्यमन्त्री बानियाँलाई नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् ।
नेकपा संसदीय दलका नेता शालिकराम जमकट्टेल, एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया लगायतले मुख्यमन्त्री बानियाँलाई मार्ग प्रशस्त गर्न अल्पमतको सरकारको आयु मात्र बढाउने काम नगर्न आग्रह गरेका थिए ।
राप्रपाका नेता उद्धव थापाले आफूहरू अनिर्णयको बन्दी नबन्ने र छिट्टै निकास दिने बताएका थिए । नेपाल मजदुर किसान पार्टीका नेता सुरेन्द्र गोसाईंले आफ्नो पार्टी सरकार बनाउने खेलमा नरहेको र संसद्मा हुने मतदानको प्रक्रियामा सहभागी भएर उपयुक्त निर्णय लिने बताएका थिए । हाम्रो नेपाली पार्टीका नेता शैलेन्द्र बज्राचार्यले ठुला दलहरूको आन्तरिक विवादले सरकार सञ्चालनमा असर परेको बताए।
बैठकमा सहभागी अन्य नेताहरूले प्रदेश सरकारलाई लामो समय अनिर्णयको बन्दी बनाउन नहुनेमा जोड दिएका थिए । बैठकमा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री बहादुर सिं लामा, एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, नेकपा संसदीय दलका नेता शालिकराम जम्कट्टेल, राप्रपाका नेता उद्धव थापा, नेपाल मजदुर किसान पार्टीका नेता सुरेन्द्र गोसाईं, हाम्रो नेपाली पार्टीका नेता शैलेन्द्र बज्राचार्य, नेकपाका रत्न ढकाल, नेकपा एमालेका नेता मधुसुदन पौडेललगायतकाे सहभागिता रहेकाे थियाे ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका १० स्थित आरआरएस थकाली रोधी घरमा वेटरको रुपमा काम गर्ने किशोरीकाे मृत्यु भएकाे छ ।
चितवन भरतपुर महानगरपालिका–११ की १७ वर्षीया अनिशा बिक शनिबार बिहान ६ बजेको समयमा डेरामा अचेत अवस्थामा भेटिएकी जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । अचेत अवस्थामा भेटिएकी अनिशालाई हेटौंडा अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीको नेतृत्वकाे अनुसन्धान टोलीले घटनाकाे थप अनुसन्धान गरिरहेकाे छ ।
सामाजिक सद्भाव कायम राखौं, द्वन्द्वबाट समाधान संभव छैन
सुनसरीको कप्तानगन्ज घटनालाई लिएरमा भएको दुई समुदायबीचको भडपको असर अन्य जिल्लामा पर्न थालेको छ । सिरहाको गोलबजारमा गोली लागेर एक जनाको मृत्यु भएको छ।
बिहीबार दिउँसो प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय, सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए। मृतकको सनाखत भएको छैन। प्रदर्शनकारीले मृतकको सडकमै राखेर प्रदर्शन गरिरहेका छन्। उनीहरूले सुरक्षाकर्मीलाई शव उठाउन दिएका छैनन्। प्रहरीले भने गोली नचलाएको दाबी गरेको छ। प्रहरीले हवाई फायर र टियर ग्यास मात्रै प्रयोग गरेको सहायक प्रमुख जिल्ला अधिकारी बरालको भनाइ छ।
सिरहामा दुई पक्षबीच झडप हुँदा दुई जना घाइते भएका छन् भने जनकपुरमा पनि कर्फ्यू जारी गरिएको छ । सिराहामा स्थिति अशान्त बनेसँगै स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । प्रदर्शनका क्रममा झडप हुने स्थिति आएपछि सुरक्षाकर्मीले हवाई फायर गरेको थियो ।
कर्फ्यु आदेश जारी भए पनि प्रदर्शन जारी छ । आगजनी र तोडफोड हुन थालेपछि प्रहरीले गोली चलाएको छ । प्रदर्शनका क्रममा दुई जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि स्थानीय अस्पताल पुर्याइएको छ ।
आजै प्रदर्शनकारीले एक मोटरसाइकल ग्यारेजका मोटरसाइकल निकालेर आगजनीसमेत गरेका थिए । आगजनीका कारण ११ वटा मोटरसाइकल नष्ट भएको प्रहरीले जनाएको छ ।
यता प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुर उपमहानगरपालिकाभित्र कर्फ्यू आदेश जारी गरेको छ। प्रशासनले बिहीबार दिउँसो साढे ३ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको हो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जनकपुरधाम उपमहानगरपालिकासबै भाग, लक्ष्मीनिया गाउँपालिका र नगराईन नगरपालिका क्षेत्रका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको बताए ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नं. ११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
मकवानपुरको थाहा नगरपालिका–१० का ४१ वर्षीय आश्मान गोपाली मृत अवश्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार आइतबार बिहान ६ः१५ बजेकाे समयमा गोपाली मृत अवस्थामा फेला परेका थिए । घटनास्थल वरपर रगत देखिएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमाण्डमा थप प्रहरी टोली खटाइएको थियो ।
थप अनुसन्धानका लागि बागमती प्रदेश प्रहरी कार्यालयबाट कुकुरसहितको टोलीसमेत घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ । घटना राति करिब १२ बजेतिर भएको प्रारम्भिक अनुमान छ। घटनास्थलबाट आवश्यक प्रमाण संकलन गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।