मकवानपुर/बागमती प्रदेश सरकारले प्रदेश सुशासन केन्द्रको निर्देशकमा बिमल पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेशको मन्त्रिपरिषको बैठकले दोलखाका
पाखरेललाई ४ बर्षका लागि निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसैगरी मंगलबार नै बसेको मन्त्रिपरिषद बैठकले सामाजिक बिकास मन्त्रालय मार्फत मदन भण्डारी फाउण्डेसनलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ । विविध सामाजिक काममा खर्च गर्ने गरी फाउण्डेशनलाई रकम दिने निर्णय भएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।
यस्तै संघीय समपुरक तथा बिषेश अनुदान तर्फका आयोजना÷ कार्यक्रमहरु प्रस्ताव गर्ने, बैकल्पिक उर्जा प्रणाली अनुदान परिचालन, दोलखाको जिलुको एकिकृत बस्तीका २ करोड ४० लाख दिने, प्रदेशका स्थानिय तहलाई सशर्त अनुदान उपलब्ध गराउन लगायतका निर्णय गरेको मन्त्री ढुंगेलले जानकारी दिए ।
मकवानपुर / प्लान नेपालको आर्थिक सहयोग तथा राडो नेपालको सामाजिक सहजिकरणमा सञ्चालित समावेशी सुरक्षित विद्यालय प्रवर्द्धन कार्यक्रमको अनुगमन गरिएको छ ।
जिल्ला समन्वय समिति मकवानपुर उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिका नगर शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमाल, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रतिनिधि उद्वब दाहाल, पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष सरिता दाहाललगायतको उपस्थितीमा कार्यक्रम लागु भएका विद्यालयहरुमा मंगलबार अनुगमन गरिएको हो । हेटौंडा उपमहानगरपालिका–१२ पान्तले स्थित बुद्ध माध्यमिक विद्यालय, हेटौंडा उपमहानगरपालिका–१४ बदेलधाप स्थित सुप्रभात आधारभूत विद्यालय र हेटौंडा उपहमानगरपालिका–५ स्थित बालज्योती माध्यमिक विद्यालयमा अनुगमन गरिएको हो ।
अनुगमन कार्यक्रममा बुद्धमाविका प्रध्यानाध्यापक किसन थापाले समावेशि सुरक्षित विद्यालय प्रवर्द्धन कार्ययक्रम अन्तरगत लागु भएका कार्यक्रमले विद्यार्थीहरुको सिकाइ उपलब्धीमा सकारात्मक सुधार आएको बताए । विद्यालयमा प्रशोधित शुद्ध पानीको व्यवस्था गर्न समस्या भइरहेकोमा संस्थाले युरोगार्डको व्यवस्था गरेपछि विद्यार्थी, शिक्षकहरु गरी झण्डै ८ सयजना लाभान्वित भएको प्रध्यानाध्यापक थापाले बताए ।

बुद्धमाविमा विद्यार्थी तथा शिक्षकको लागि शैक्षिक भ्रमण, अतितिक्त क्रियाकलाप, सरसफाइको सामग्री, छात्राहरुको लागि महिनावारी भएको समयमा आराम गर्ने कक्षाको व्यवस्थापनमा सहयोग गरिएको कार्यक्रम संयोजक राजु राउतले बताए ।
यसैगरी सुप्रभात आधारभुत विद्यालय प्रध्यानाध्याकप सीता तिवारीले संस्थाको सहयोगपछि विद्यालयको भौतिक तथा सामाजिक पाटोमा धेरै प्रगति भएको बताइन् ।
विद्यालयमा बाल क्लब गठन, नेतृत्व विकास, भुकम्पबाट बच्ने सीप सिकाई, सुरक्षित स्थानको छनौट जस्ता काम गरिएको तिवारीले बताइन् । यसैगरी विद्यालयमा बिद्युत जडान, खानेपानी, ह्वाइट बोर्डको व्यवस्था, सिलिङ फ्यानको व्यवस्थामा संस्थाले सहयोग गरेपछि विद्यालयको आकर्षण नै बढेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेक बहादुर मोक्तानले बताए ।

विद्यालयमा कक्षा १ देखि ८ सम्म गरी १ सय १३ जना विद्यार्थी रहेका छन् । पाँचजना महिला शिक्षक मात्रै रहेको यो विद्यालयमा तामाङ समुदायको मात्रै बालबालिकाहरु अध्ययनरत छन् ।
यसैगरी अनुगमन कार्यक्रममा बालज्योती माविका प्रध्यानाध्यपक भरतप्रसाद अर्यालले पनि संस्थाको सहयोगपछि विद्यालयको समाजिक तथा भौतिक क्षेत्रमा धेरै सुधार आएको बताए । बालज्योति माविमा छात्रामैत्री शौचालय निर्माण, शुद्ध पानीको व्यवस्थापन, प्राथमिक उपचारको लागि आवश्यक सामग्री, अतिरिक्त क्रियाकलापमा सहयोग गरिएको थियो ।
१८ जना दृष्टि विहिन छात्रछात्राहरु समेत अध्ययनरत यो विद्यालयमा दृष्टि विहिनहरुको अध्ययनमा सहयोग आवश्यक भएको राडो नेपालका सामाजिक सहजकर्ता राजु लम्सालले बताए । अनुगमन कार्यक्रममा सहभागी जिल्ला समन्वय समिति मकवानपुर उपप्रमुख पुडासैनी, नगर शिक्षा विकास महाशाखा प्रमुख रिमाल,जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रतिनिधि दाहाललगायतले विद्यालयको आवश्यकतालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकारबाट प्रदान गरीने सहयोग र गैरसरकारी संस्थाहरुले गर्ने सहयोगमा आपसी समन्वय भएका दोहोरापना नहुने र उपलब्धी प्रभावकारी हुने बताए ।
आगामी दिनमा विद्यालय र विद्यार्थीहरुको आवश्यकतालाई सम्बोधन गर्ने गरी काम गर्दा स्थानीय तहका जनप्रतिनिधिहरुसँग अनिवार्य रुपमा समन्वय गर्न पनि अनुगमनमा सहभागीहरुले सुझाव दिएका थिए । ३ वर्षको लागि सञ्चालित समावेशि सुरक्षित विद्यालय प्रवर्द्धन कार्यक्रम जनवरीको अन्त्यमा सकिदै छ । स्रोत केन्द्रले ताेकेको विद्यालयमा विद्यालयको आवश्यकता अनुसार काम गरिएको कार्यक्रमका सामाजिक सहजकर्ता लम्सालले बताए ।
मकवानपुर/मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाले स्थानीय विषयवस्तुहरु समाबेश गरेर तय पारेको पाठ्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले नवौ गाउँसभाको अवसरमा पाठ्यक्रम सार्वजनिक गरिएको हो ।
स्थानीयतालाई प्राथमिकता दिने दुईथरि बिषयलाई उजागर गरिएको छ । सोमबार दिउँसो बागमती प्रदेश सभाका सदस्य ओमबहादुर ग्लानको प्रमुख आतिथ्यतामा भएको गाउँसभामा स्थानीय भाषामा रेकर्ड गरिएका अडियो नागरिक बडापत्र सार्वजनिक गरियो । प्रमुख अतिथि ग्लानले सार्बजनिक गरेका हुन् । पाठ्यक्रममा चेपाङ, तामाङ र पर्वत खस भाषाका अडियोको सहायताबाट नागरिक बडापत्रमार्फत सेवाग्राहीहरुले सहज रुपमा सेवाका सम्बन्धमा जानकारी लिन सक्ने विश्वास गाउँपालिकाले गरेको अध्यक्ष राजकुमार मल्लले बताए ।

सोही अबसरमा गाउँपालिकाले कक्षा ५ सम्मका लागि तयार पारेको स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक पनि सार्वजनिक गरिएको थियो । गाउँसभाको उद्घाटन सत्रमा मन्तब्य राख्दै प्रमुख अतिथि सांसद ग्लानले राक्सिराङ गाउँपालिकाको विकासका लागि सबै राजनीतिक पार्टी, सरोकारवाला निकायहरुले साथ दिइरहेको बताए । उनले सबैको सहयोगले मात्र विकास सम्भव हुने भएकाले गाउँपालिकाले गरिरहेका सिर्जनात्मक कामहरुले नागरिकहरुमा सन्तुष्टि देखिएको समेत बताए ।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का इन्चार्ज बनस्तम थिङले आलोचनात्मक टिप्पणी गरे । उनले सबै वडामा समानुपातिक ढंगको विकास जरुरी रहेको बताए । आफ्नो पार्टी नेपाली काँग्रेसका सभापतिले भने झैँ समग्र राम्रो काम भएको छ भन्ने निचोडमा नपुगेको उनको भनाई थियो ।
उनीभन्दा अघि मन्तब्य राख्ने नेपाली काँग्रेस सभापति बीरेन्द्र जिम्बाले भने जनप्रतिनिधि आएपछि राक्सिराङको मुहार फेरिएको दाबी गरे । उनले खासगरी मोटरबाटो निर्माणमा गाउँपालिकाले देखाएको अग्रसरता प्रशंसनीय रहेको बताए ।
कार्यक्रममा वडाध्यक्ष बाबुलाल स्याङ्तानले राक्सिराङमा गाडी पुगेपनि गाडीको हुडमा
राखेर बजारमा बेच्न लैजाने कृषि उपजको उत्पादनमा जोड दिनुपर्ने बताए । ‘गाडीको हुडमा
राखेर दुई चार क्रेट गोलभेँडा र काउली मनहरीतिर जान थाल्यो भने मात्रै राक्सिराङ समृद्ध हुन्छ’, स्याङ्तानले भने ‘अन्यथा हामी उफ्रिएर मात्रै पनि हुन्न ।’
अर्का वडाध्यक्ष तथा प्रबक्ता रामकृष्ण प्रजाले राक्सिराङ गाउँपालिकाले सुशासन कायम गर्दै समग्र विकास निर्माणको नेतृत्व लिइरहेको बताए । शिक्षक महासंघको तर्फबाट अध्यक्ष मिथुन रुम्बाले शिक्षा क्षेत्रको सुधारका लागि बजेट सदैब अपूरो रहेको बताए । समाजसेवी चित्रबहादुर थापाले गाउँपालिकाले गरेको सुधारका कामहरुको प्रशंसा गरे ।
कार्यक्रममा उत्कृष्ट काम गर्ने कर्मचारीहरु, शिक्षक, उपभोक्ता समितिका पदाधिकारीहरु, विभिन्न संघसंस्थाहरु, कृषि तथा पशु फर्म सञ्चालकहरुलाई प्रशंसापत्रसहित सम्मान प्रदान गरिएको थियो । प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले सञ्चालन गरे । उद्घाटन समारोहमा स्वागत उपाध्यक्ष निर्मला हिमडुङले स्वागत गरेकी थिइन् ।
मकवानपुर/ मकवानपुर जिल्लाकाे राक्सिराङ गाउँपालिकाकाे नवौ गाउँसभा साेमबार गरिएकाे छ । गाउँपालिका अध्यक्ष राजकुमार मल्लकाे अध्यक्षतामा भएकाे गाउँसभाले मकवानपुरका २ जना पत्रकारहरूलाइ सम्मानित गरेकाे छ ।
गाउँपालिकाले साेही अवसरमा पश्चिम मकवानपुरको मनहरीमा रही क्रियाशील सञ्चारकर्मी शिवकुमार काशी र पत्रकार श्रीराम अर्जुनलाई सम्मान गरेको छ । नगद र प्रशंसापत्रसहित सञ्चारकर्मी काशी र अर्जुनलाई बागमती प्रदेश सभा सदस्य ओमबहादुर ग्लान, गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष निर्मला हिमडुङसहितले सम्मान र नगद प्रदान गरेका थिए ।

राक्सिराङ गाउँपालिकाको चेपाङ समुदाय र अन्य सामाजिक सुधारका विषयमा योगदान गरेको भन्दै काशिलाई सम्मान गरिएको हो । २०५८ सालदेखि पत्रकारितामा निरन्तर लागिरहेका काशी हाल रेडियो मनहरी एफएमका स्टेशन म्यानेजर, मनहरी लाइभ डटकमका सम्पादक र थाहादर्शन साप्ताहिक पत्रिकाका सम्पादक हुन् । यसैगरी पत्रकार अर्जुन मकवानपुरगढी साप्ताहिकका सहसम्पादक, इमेज टेलिभिजनका जिल्ला संवाददाता तथा सिधा खबर अनलाइका सम्पादक हुन् ।
सम्मानपछि दुबै जना पत्रकारहरूले सम्मानकाे कारण कार्यक्षत्रमा खट्नकाे लागि थप उत्साह भरिएको र जिम्मेवारीबोध भएको बताए ।
मकवानपुर/ हेटौंडा उपमहानगरपालिकाले आठौ नगरसभाले केही योजनाहरु परिवर्तन गर्नुका साथै कानुनहरु समेत संसोधन गरेको छ । आइतबार उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको अध्यक्षतामा भएको नगर सभाले विभिन्न वडाहरुबाट संशोधनका लागि प्रस्तावित तथा नगर कार्यपालिकाबाट नगर सभामा स्वीकृतिका लागि पेश भएका अनुसुची बमोजिमका योजना तथा कार्यक्रमहरु संशोधन स्वीकृति गरिएको हो ।
उपमहानगरपालिकाको विधायन समितिबाट प्रस्ताव गरिएको वन विकास सम्वन्धि विधेयक, २०७७ नगर कार्यपालिकाबाट निर्णय भई स्वीकृतिको लागि सिफारिस भएको थियो । नगर सभामा स्वीकृतिका लागि पेश भएका विषयगत क्षेत्रहरुमा विनियोजन भएको योजना तथा कार्यक्रमहरु संशोधन सहितको स्वीकृति गरिएको छ । उपमहानगरपालिकाको अन्तरगत तथा
सूचिकरण समितिबाट विभिन्न मितिमा पदपुर्ति सम्बन्धि भएको निर्णय अनुमोदन गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको कार्यालय भवन निर्माणमा लाग्ने नक्सापास दस्तुर छुट गर्ने निर्णय भएको छ । असुल उपर गर्नु पर्ने बेरुजुलाई असुल उपर र नियमित तथा म्याद नाघेका पेश्कीहरुलाई फस्याैट सम्बन्धी कार्य गर्न कार्यदल गठन गरी कार्य अगाडि बढाउन नगर कार्यपालिकालाई निर्देशन दिने निर्णय भएको मेयर महतले बताए ।
गत असारमा सम्पन्न भएको नगर सभाबाट अख्तियारी प्राप्त गरी नगर प्रमुख स्तरीय निर्णयबाट सञ्चालन भएका अनुसुची ‘घ’ बमोजिमका योजना तथा कार्यक्रमहरु अनुमोदन गरिएको छ । यस उपमहानगरपालिकाबाट भए गरेको पूर्वाधार निर्माण एवम् कार्यक्रमहरुको मंसिर मसान्तसम्म नगरस्तरीय योजना तथा कार्यक्रमहरुका फरफरक समितिबाट फरफरकका लागि सिफारिस भएको निर्णय अनुमोदन गरिएको छ ।
१२७ योजनामा कार्यान्वयनमा आठौ नगरसभा बैठकमा चालु आर्थिक वर्ष र आउँदो आर्थिक वर्षमा गरिने कामका विषयमा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामाले जानकारी गराएकी थिईन् ।
पुर्वाधार क्षेत्र तर्फको चालु आर्थिक वर्षको स्वीकृत ४ सय २९ वटा कार्यक्रमहरु मध्ये १ सय २७ वटा योजनाहरु सम्झौता भई कार्यान्वयनमा गएको बताइन् । सडक पूर्वाधार तर्फ ३७ वटा स्ल्याव ढलान सम्पन्न भई १२ किमी स्ल्याव ढलान सडक निर्माण भएको लामाले बता जानकारी दिइन् । हाल ९० वटा चालु अवस्थामा र ३ सय २ वटा योजनाहरु सम्झौताको चरणमा रहेको उनले नगरसभामा जानकारी दिएकी थिईन् ।
उपमहानगरपालिकाको गौरवका आयोजनाहरुको रुपमा रहेका वडा नंम्बर ४, ५ र ८ को मध्य भागमा रहेको कर्रा कोरीडोर योजनाको प्रथम चरणको कार्य सम्पन्न भएको भन्दै वडा नम्बर १० मा रहेको एकिकृत बस टर्मिनल निर्माणको लागि निर्माण व्यवसायी सँग सम्झौता समेत भईसकेको बताएकी हुन् ।