मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका १० स्थित आरआरएस थकाली रोधी घरमा वेटरको रुपमा काम गर्ने किशोरीकाे मृत्यु भएकाे छ ।
चितवन भरतपुर महानगरपालिका–११ की १७ वर्षीया अनिशा बिक शनिबार बिहान ६ बजेको समयमा डेरामा अचेत अवस्थामा भेटिएकी जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । अचेत अवस्थामा भेटिएकी अनिशालाई हेटौंडा अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीको नेतृत्वकाे अनुसन्धान टोलीले घटनाकाे थप अनुसन्धान गरिरहेकाे छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नं. ११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
मकवानपुरको थाहा नगरपालिका–१० का ४१ वर्षीय आश्मान गोपाली मृत अवश्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार आइतबार बिहान ६ः१५ बजेकाे समयमा गोपाली मृत अवस्थामा फेला परेका थिए । घटनास्थल वरपर रगत देखिएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमाण्डमा थप प्रहरी टोली खटाइएको थियो ।
थप अनुसन्धानका लागि बागमती प्रदेश प्रहरी कार्यालयबाट कुकुरसहितको टोलीसमेत घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ । घटना राति करिब १२ बजेतिर भएको प्रारम्भिक अनुमान छ। घटनास्थलबाट आवश्यक प्रमाण संकलन गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मकवानपुर । मकवानपुर प्रहरीले डिल्लीबजार कारागारबाट फरार कैदी बन्दीलाई हेटौंडाबाट पक्राउ गरेकाे छ । जेन्जी आन्दोलनका क्रममा डिल्लीबजार कारागारबाट फरार एक जना कैदी बन्दीलाई प्रहरीले हेटौंडाबाट पक्राउ गरेको हाे।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–५ का सीबी लामा भन्ने चन्द्रबहादुर तामाङ रहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । उनी कान्तिपुर सहकारी ठगी मुद्दामा कैद भुक्तान गरिरहेका बेला २०८२ साल भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा डिल्लीबजार कारागारबाट फरार भएकाे प्रहरीले जनाएकाे छ ।
खोजतलासका क्रममा वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले २०८३ साउन ५ गते हेटौंडा उपमहानगरपालिका–९ बाट उनलाई पक्राउ गरेकाे हो। पक्राउ परेका तामाङलाई कारागार कार्यालय भीमफेदी पठाइएको बताइएकाे छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका–६ स्थित कर्रा खोलानजिक पानी जमेको खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ ।
शनिबार दिउँसो साथीहरूसँग पौडी खेल्ने क्रममा हेटौंडा–१७ का १४ वर्षीय युकेश राई डुबेर बेपत्ता भएका थिए । सुरक्षाकर्मीले स्थानीयकाे सहयोगमा खोजीपछि युकेशलाई डुबेको स्थानमै फेला पारी उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
मकवानपुर । नवसर्जक साहित्य चाैतारी नेपालकाे ४४ औं मासिक शृङ्खलामा अनुज्ञा नेपाल र समर्पण न्याैपानेकाे संयुक्त कविता वाचन एवम् विमर्श कार्यक्रम भएकाे छ ।
भक्तपुरका अनुज्ञाले ‘म हुँ सिर्जना’, ‘म र मेराे माटाे’, ‘चरा’, ‘म बन्छु लिम्पियाधुरा’ र ‘देशै जलेकाे दिन’ शीर्षकमा फरकफरक छन्दका पाँच वटा कविता प्रस्तुत गर्नु भएकाे थियो । यसैगरी मकवानपुरका समर्पणले ‘नानीहरू ब्युँझने समय’, ‘प्रकृति : निर्विकल्प’, ‘यात्रीप्रति’, ‘चम्किला सपनाहरूकाे नाममा’, भत्कनलाई मान्छेहरू’ शीर्षकका पाँचवटा गद्य कविता वाचन गर्नु भएकाे थियो । अनुज्ञा नेपालकाे ‘हामी गर्न सक्छाैँ’ र ‘उज्यालोकाे खाेजीमा’ छन्द कविता सङ्ग्र प्रकाशित छन् भने समर्पणकाे ‘अभियुक्त समय’ नामक गद्य कविता सङ्ग्रह प्रकाशित भएको छ ।
अनुज्ञाले प्रस्तुत गरेका कविताकाे कवि पुरुषाेत्तम आचार्यले समिक्षात्मक टिप्पणी गर्नु भएकाे थियो । यस्तै समर्पणका कविताकाे कवि सुवास खनालले समिक्षा प्रस्तुत गर्नु भएकाे हाे । दुवै कविमा राम्राे सम्भावना रहेकाे ओैंल्याउनु भएकाे थियो । कविद्वयका विषयमा चाैतारीका संरक्षक एवम् परिकल्पनाकार दीपक गाैतमले जानकारी दिनु भएकाे थियो । कवि तुलसी घिमिरे एवम् कवि समालोचक निमेष निखिलले ओजपूर्ण कविता र कार्यक्रमका लागि कविद्वय बधाई दिनु भएकाे थियो ।
२५ वर्षमुनिका नवसर्जककाे नेतृत्वमा सञ्चालित चाैतारीले साेही उमेरसमूहका सशक्त नवसर्जकद्वयलाई एउटै मञ्चमा उभ्याएर कार्यक्रम आयाेजना गरिएकाे संस्थाकी महासचिव स्वस्तिका दाहालले जानकारी दिनु भयो । चाैतारीले २/२ वर्षमा राष्ट्रिय नवसर्जक उत्सव, प्रत्येक वर्ष प्रादेशिक नवसर्जक उत्सव, हरेक महिना नवसर्जक मासिक शृङ्खला आयाेजना गर्नुका साथै नियमित रूपमा हरेक वर्ष नवसर्जक कार्यशाला सञ्चालन गर्दै आएकाे छ ।
२०७७ पुसमा स्थापना भएकाे चाैतारीले २०० भन्दा बढी भाैतिक तथा भर्चुअल कार्यक्रम सम्पन्न गरिसकेकाे र आगामी दिनमा अझ सशक्त रूपमा कार्यक्रम अघि बढाउने संस्थाकी अध्यक्ष कृतिका लाैडारीले जानकारी दिइन् । नवसर्जक साहित्य चाैतारी नेपालकी अध्यक्ष कृतिका लाैडारीकाे अध्यक्षता एवम् साहित्यकार निमेष निखिलकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रमलाई महासचिव स्वस्तिका दाहालले सहजीकरण गर्नु भएकाे हाे ।