निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)भित्रको विवादलाई अब कानुनी प्रक्रियाबाटै टुंगो लगाउने भएको छ । जसपाका दुवै समूह सहमतिबाट विवाद टुंगो लगाउन असहमत भएपछि आयोग कानुनी प्रक्रियाबाटै विवाद निरुपणको प्रक्रियामा अघि बढ्ने भएको हो ।
आयोगले मंगलबार जसपाको उपेन्द्र यादवले नेतृत्व गरेको समूह र महन्थ ठाकुरले नेतृत्व गरेको समूहलाई कान्तिपथस्थित केन्द्रीय कार्यालयमा बोलाएर छलफल गरेको थियो । सो क्रममा आयोगले सहमति हुने सम्भावना भए प्रयास गर्न जसपाका नेताहरूलाई आग्रहसमेत गरेको थियो ।
तर, जसपाका दुवै समूहका नेताहरूले भने सहमतिको कुनै सम्भावना नरहेको भन्दै कानुनी प्रक्रियाबाट विवादको छिनोफानो गर्न आयोगलाई आग्रह गरेका छन् ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगले जसपाका दुवै समूहलाई बोलाएर सहमतिका लागि प्रयास गरेको तर सहमति हुने सम्भावना नरहेको जवाफ आएकाले आयोग अब कानुनअनुसार निर्णय प्रक्रियामा अघि बढ्ने जानकारी दिए ।
जसपाका दुवै समूहसँग विवादबारे आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ (४) अनुसार सहमतिको प्रयास गरेको थियो ।
‘आयोगले राजनीतिक दलसम्बन्धी कानुनअनुसार नै दुवै पक्षलाई बोलाएर सहमतिको प्रयास गरेको हो, त्यो सम्भावना देखिएन, आयोगले अब विवाद निरुपणका लागि कानुनअनुसार प्रक्रिया अघि बढाउँछ,’ आयोगका प्रवक्ता श्रेष्ठले राजधानीसँग भने ।
यसरी आयोगले प्रक्रिया अघि बढाउँदा राजनीतिक दलसम्बन्धी ऐनकै व्यवस्थाअनुसार विवाद समाधानका लागि प्रमुख आयुक्तको नेतृत्वमा आयुक्त रहने गरी इजलास गठन गर्ने तयारी आयोगले गरेको छ । इजलासमा कति जना आयुक्त बस्ने भन्ने विषयमा आयोगले टुंगो लगाउने र छिट्टै इजलास गठन हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
सहमतिका पक्षमा दुवै पक्ष सहमत नभएपछि आयोगले अब राजनीतिक दलसम्बन्धी ऐनको दफा ४५ (२) बमोजिम तत्काल कायम रहेको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त रहने इजलास गठन गरी सुनुवाइ गर्ने छ ।
यसरी गठन हुने इजलासले विवाद निरुपणका लागि दुवै पक्षसँग सुनुवाइ गर्नेछ । सुनुवाइका लागि जसपाका दुवै समूहले आआफ्ना कानुनी सहयोगीसमेत राखेर बहस पैरवी गराउन सक्नेछन् । सो व्यवस्था ऐनमा नै छ । यसरी सुनुवाइमार्फत हुने छिनोफानो पुनरावेदन अदालतले गरेको निर्णयबराबर हुने आयोगले जनाएको छ । ऐनले नै अदालतको अधिकारसरह आयोगलाई सो कार्यका लागि अधिकार दिएको छ ।
जसपामा यादव पक्ष र ठाकुर पक्षबीच लामो समयदेखि आधिकारिकताको विवाद छ । दुवै पक्षले आआफ्नै समूह आधिकारिक रहेको दाबी गर्दै आइरहेका छन् । यस्तै, दुवै समूहले एकअर्कामाथि कारबाहीसमेत गर्दै आइरहेका छन् ।
यादव पक्षले पछिल्लोपटक राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्थामा नै टेकेर आयोगमा आधिकारिकता दाबी गर्दै निवेदनसमेत दिएको थियो ।
त्यसपछि आयोगले ठाकुर पक्षलाई यादव पक्षको दाबीबारे १५ दिनभित्र जवाफ माग गरेको थियो । आयोगको सो पत्रपछि ठाकुर पक्षले जवाफ पठाएको थियो भने त्यसपछि आयोगले विवाद मिलाउने प्रयासस्वरूप सहमतिका लागि दुवै समूहलाई बोलाएको थियो । राजधानी दैनिकमा प्रकाशित समाचार साभार गरिएकाे
मकवानपुर । नेपाल आयल निगमले पेट्रोल डिजेल र मट्टितेलको मूल्य बढाएको छ। मगलबार राति १२ बजेदेखि बढेको मूल्य लागू हुने निगमले जनाएकाे छ । यस अघी निगमले २ हप्ता पहिले मूल्य बढाएकाे थियाे ।
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाइएको निगमले जनाएको छ। अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय २९, डिजेल तथा मट्टितेलको प्रतिलिटर १ सय १२ रुपैयाँ कायम भएको छ।
यसअघि असार ९ गते निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। भारतबाट आउने मूल्य नै बढेकाले समायोजन गरिएको निगमले जनाएको छ ।

देशभर मनसुनी वायुको प्रभाव रहेकोले केही स्थानमा हल्कादेखि मध्यम बर्षा भइरहेकाे जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल देशभर सामान्य देखि पुर्ण बदली रहेको छ। प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको महाशाखाले जानकारी दिएकाे छ।
असार २३ गते बुधबार देशका अधिकांश भूभागहरूमा सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरुमा तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक वा दुई स्थान धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १ बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका का एक वा दुई स्थान धेरै भारी वर्षाको सम्भावना रहेकोले उक्त प्रदेशहरुको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु समेत माैसम पूर्वानुमान महाशाखाले आग्रह गरेकाे छ ।
देशभर कोरोना भाइरस संक्रमणविरुद्ध खोप लगाउन योग्य २ करोड ९ लाख ९६ हजार ८ सय ९ जना नागरिक खोपको प्रतीक्षामा छन् । स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणअनुसार अनुमानित २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाइनेछ ।
जसअन्तर्गत अहिलेसम्म ७ लाख ५९ हजार ९ सय ५४ जनाले खोपको दुवै मात्रा (पहिलो र दोस्रो) लगाएका छन् । २६ लाख ११ हजार ८ सय ७ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । १३ लाख ५० हजार ज्येष्ठ नागरिक र अन्य उमेर समूहकाले पहिलो मात्रा लगाएको तीन महिना बित्नै लाग्दा पनि दोस्रो मात्रा लगाउन पाएका छैनन् । उनीहरूका लागि सरकारले एस्टे«जेनेकाको खोप लगाउने निर्णय गरिसकेको छ ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार अब क्रमिक रूपमा खोप आपूर्ति हुँदै जाने र एक महिनाभित्र एस्ट्रजेनेकाको खोप पनि नेपाल भित्रिनेछ । स्वास्थ्य मन्त्रालयले कोभ्याक्स फ्यासिलिटीमार्फत जोन्सन एन्ड जोन्सन खोप आउने जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘कोभ्याक्समार्फत १० लाख डोज खोप आउने भएको छ ।
हामिले सकारात्मक जवाफ पाएका छौं ।’ हालसम्म कोभ्याक्स फ्यासिलिटीमार्फत ३ लाख ४८ हजार मात्रा खोप आएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले २४ असारदेखि खोप आपूर्ति सुरु भई तत्पश्चात् साप्ताहिक रूपमा विभिन्न चरणमार्फत खोप आपूर्ति गर्ने तयारी भएको बताए ।
स्वास्थ्य मन्त्रालयका अनुसार गाभी कोभ्याक्स फ्यासिलिटीबाट समेत थप खोप प्राप्त हुने बताएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा ४२ लाख ४८ हजार मात्रा खोप भित्रिएको छ । यसरी हेर्दा हालसम्म ३३ लाख ६४ हजार ५१ मात्रा खोप उपयोग भइसकेको देखिन्छ ।

यस्तै, सरकारले चीनबाट १५ दिनभित्र ४० लाख डोज कोभिड—१९ विरुद्धको भेरोसेल खोप ल्याउँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका अनुसार नेपाल वायु सेवा निगमको वाइडबडीले चीनबाट ४० लाख डोज खोप नेपाल आउँदै छ ।
सरकारले चीनको सिनोफार्म कम्पनीसँग खरिद गरेको कोरोना भाइरसविरुद्धको खोप नेपाल वायुसेवा निगमले तीनवटा उडानमार्फत ल्याउन थालेको छ । निगमले खोप ल्याउन कार्गो उडानको तालिका तय गरिसकेको छ ।
वायुसेवा निगमको उडान तालिकाअनुसार पहिलो उडान यही जुलाइ ८ (असार २४ गते) मा हुनेछ । यस्तै, दोस्रो र तेस्रो उडान क्रमशः जुलाई १५ (असार ३१) र जुलाई २२ (साउन ७)मा हुने तय भएको छ । नेपालले चीनको सिनोभ्याकबाट भेरोसेल खोपको ४० लाख डोज ननडिस्क्लोजेबल एग्रिमेन्ट गरेर खरिद गर्न लागेको हो । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार ४ अर्ब ८९ करोड रुपैयाँभित्र रहेर चीनबाट भेरोसिल खोप खरिद प्रक्रिया अघि बढाइएको थियो ।
स्वास्थ्य मन्त्रालयले चीनबाट प्राप्त भएको भेरोसिल खोप प्राथमिकता सूचीका आधारमा लगाउने भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा.तारानाथ पोखरेलका अनुसार अबको प्राथमिकतामा ६० वर्षमुनिका नागरिक पर्नेछन् । कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणमा ५५ वर्ष र माथिका नागरिक, ४० देखि ५४ वर्षको उमेर समूहमध्ये तोकिएका दीर्घ रोग भएका व्यक्ति पर्छन् ।
यस्तै, वैदेशिक रोजगारबाट नेपाल फर्केका र नेपालमा रहेका शरणार्थीहरूमध्ये दीर्घ रोगी भएका व्यक्ति पनि दोस्रो प्राथमिकताको सूचीमा पर्छन् । ६० वर्षमाथिका केहीले अझै खोपको पहिलो मात्रा नलगाएको भन्दै उनीहरू पनि प्राथमिकतामा पर्ने स्वास्थ्य सेवा विभागले जनाएको छ । हालसम्म पहिलो प्राथमिकतामा रहेका मध्ये अधिकांशले खोप लगाइसकेका छन् । अब दोस्रो प्राथमिकतामा रहेकालाई क्रमबद्ध रूपमा खोप लगाउने स्वास्थ्य मन्त्रालयको योजना छ ।
यस्तै, सोमबार देशभर थप २ हजार ६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ४ सय ९९ जनामा पीसीआर परीक्षण गर्दा १ हजार ७ सय ४५ र ४ हजार २८ एन्टिजेन परीक्षण गर्दा ८ सय ७७ जनामा संक्रमण पुष्टि भएको हो ।
सोमबार देशभर थप २३ संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार २ सय ४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पौडेलले संक्रमितको संख्या घटेको देखिए पनि जोखिम कायम नै रहेको बताए । राजधानी दैनिक पत्रिकामा छापिएकाे खबर साभार गरिएकाे
देशमा मनसुनी वायुको प्रभाव रहेकोले सामान्य देखि पूर्ण बदली रहेकाे छ । हाल प्रदेश २ र बागमति प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्य देखि पूर्ण बदली रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार हाल प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देश भरका प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन समेत माैसम पूर्वानुमान महाशाखाले अनुरोध गरेकाे छ ।
माैसम पूर्वानुमान महाशाखाका अनुसार आगामी ३ दिनको मौसम पूर्वानुमान
असार २२ गते मंगलबार कर्णाली तथा सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहि देशका बांकी भूभागहरूमा सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक/दुई स्थानमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।
असार २३ गते बुधबार देशका अधिकांश भूभागहरूमा सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र लुम्बीनी प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
असार २४ गते विहीबार देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बीनी प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।