मकवानपुर । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत बागमती प्रदेशबाट गीता देवकोटा र प्रेमप्रसाद दंगाल निर्वाचित भएका हुन्।
नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्। महिलातर्फ कांग्रेसकी देवकोटा र अन्य समूहबाट एमालेका दंगाल विजयी भएका हुन् ।
महिलातर्फ निर्वाचित देवकोटाले प्रदेश सभाबाट ६० मत प्राप्त गर्दै ३ हजार १ सय ८० मतभार हासिल गरिन्। स्थानीय तहबाट १६१ मतसहित ३ हजार ५९ मतभार पाएपछि उनले कुल ६ हजार २ सय ३९ मतभारसहित विजय हासिल गरिन्।
अन्य समूहबाट निर्वाचित दंगालले प्रदेश सभातर्फ ५९ मत प्राप्त गरी ३ हजार १ सय २७ मतभार पाए। स्थानीय तहतर्फ १६२ मतसहित ३ हजार ७८ मतभार प्राप्त गरेपछि उनको कुल मतभार ६ हजार २ सय ५ पुगेको थियो ।
निर्वाचनमा नेकपा र नेपाल मजदुर किसान पार्टी नेमकिपाका उम्मेदवारसहित कुल ६ जनाबीच प्रतिस्पर्धा भएको थियो । महिलातर्फ नेकपाकी उम्मेदवार सरोजकुमारी झाले २ हजार ५ सय २२ मतभार प्राप्त गरिन् भने नेमकिपाकी कविता महर्जनले १ सय ९७ मतभार पाइन्। अन्य समूहमा नेकपाका प्रेमप्रसाद सापकोटाले २ हजार ५ सय ४१ मतभार तथा नेमकिपाका विक्रम ढुकुछुले १ सय ९७ मतभार प्राप्त गरे। बागमती प्रदेश सभाका ८९ जना प्रदेश सभा सदस्य र स्थानीय तहका २२९ जना प्रमुख तथा उपप्रमुख गरी कुल ३१८ मतदाताले मतदानमा सहभागिता जनाएका थिए। प्रदेश सभातर्फ ४ हजार ७ सय १७ मतभार र स्थानीय तहतर्फ ४ हजार ३ सय ५१ मतभार खसेको थियो। कुल खसेको मतभार ९ हजार ६८ रहेको निर्वाचन कार्यालयले जनाएको छ।
मकवानपुर । बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्य चयनका लागि निर्वाचन तालिका अनुसार आज मतदान कार्य भइरहेको छ । निर्वाचन आयोगले तोकेकाे तालिकाअनुसार बिहान ९ बजेदेखि मतदान सुरु भएको छ भने दिउँसो ३ बजेसम्म मतदान गर्न सकिनेछ।
बागमती प्रदेशका लागि हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयलाई मतदानस्थल तोकिएको छ। उक्त मतदानस्थलमा २ वटा मतदान केन्द्र राखिएको निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिइन्।
देशभर राष्ट्रिय सभामा रिक्त हुने १८ सदस्यका लागि आज निर्वाचन हुँदैछ। बागमती प्रदेशमा फागुन २० गते पदावधि सकिन लागेका तत्कालीन माओवादी केन्द्रकी गंगाकुमारी बेलवासे र तत्कालीन एकीकृत समाजवादीका वेदुराम भुसालको स्थानमा नयाँ सदस्य चयन हुन लागेको हो।
बागमती प्रदेशको मतदाता संख्या ९ जना घटेर ३३८ कायम भएको छ। बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरिप्रसाद ढकालका अनुसार प्रदेश सभा सदस्य ६ जना तथा स्थानीय तहका मेयर ३ जनाले पदबाट राजीनामा दिएपछि मतदाता संख्या घटेको हो। यसअघि प्रदेश सभा ११० सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख गरी २३८ जना गरी कुल ३४८ जना मतदाता हुनुपर्नेमा अन्तिम सूचीमा ३४७ जना मतदाता सार्वजनिक गरिएको थियो। तर प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन प्रदेश सभा सदस्य ६ जना र स्थानीय तहका ३ जना प्रमुखले राजीनामा दिएपछि अब ३३८ जनाले मात्र मतदान गर्ने छन्।
राजीनामा दिने प्रदेश सभा सदस्यहरूमा काँग्रेसका १, राप्रपाका १, तत्कालिन माओवादी केन्द्रका १, तत्कालिन एकीकृत समाजवादीका १ र एमालेका २ जना रहेका छन्। त्यस्तै, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र धुलिखेल नगरपालिकाका मेयरले पनि पदबाट राजीनामा दिएका छन्।
बागमती प्रदेशबाट राष्ट्रिय सभामा एक महिलासहित दुई सदस्य चयन गरिनेछ। यसका लागि महिला समूह र अन्य समूहबाट गरी ६ जनाले उम्मेदवारी दिएका छन्। महिला समूहतर्फ नेपाली कांग्रेसकी गीता देवकोटा, नेकपा की सरोजकुमारी झा र नेपाल मजदुर किसान पार्टीकी कविता महर्जन उम्मेदवार छन्। अन्य समूहतर्फ एमालेका प्रेमप्रसाद दंगाल, नेकपाका प्रेमप्रसाद सापकोटा र नेमकिपाका विक्रम डुकुछे उम्मेदवार रहेका छन्।
प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ तोकिएको छ। बागमती प्रदेशमा कुल मतभार ९ हजार ९५८ रहेको छ। मतभारका आधारमा कांग्रेस पहिलो, नवगठित नेकपा दोस्रो र एमाले तेस्रो स्थानमा रहेका छन्।
मकवानपुर । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा क्षेत्र नं. १ उम्मेदवार रामेश्वर रानाले पार्टी उत्साहपूर्वक निर्वाचनमा जुटेकाले जीत सुनिश्चित रहेको बताएका छन् ।
नेकपा एमाले हेटाैँडा ४ नं. वडाकाे कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै रानाले भने ‘हामी उत्साहित छाैँ, हामी जित्छाै ।’ हेटौंडाको ४ सहित ६ ७ र १४ नम्बर वडा काे अगुवा कार्यकर्ता भेलाबाट आफू निकै उत्साहित भएकाे र एमालेकाे जीत सुनिश्चित रहेकाे उनले बताए । उनले राष्ट्रियता, लाेकतन्त्र र संविधानकाे रक्षा र विकास र समृद्विकाे नेकपा एमाले कै शासनकालमा भएको दावी गरे । नेकपा एमालेको बहुमत आउँदा मुलुककाे आवश्यकता थप पूरा हुने उनले बताए । ‘हामी सबै प्रतिस्पर्धीसंग स्वस्थ प्रतिस्पर्धा गर्छाै, निष्पक्ष जीत निकाल्छाै’ राना भने ।
पार्टीका केन्द्रीले लेखा आयाेगका सदस्य नवीन सिग्देलले विकास र समृद्विकाे लागि निर्वाह गरेकाे भूमिकाकाे मकवानपुरमा नेकपा एमालेले दुवै सिट जित्ने निश्चित रहेकाे बताए । सबै पार्टीपङ्ति एकजुट भएर निर्वाचनमा लाग्नुपर्ने बताउदै उनले भने ‘बलियाे संगठनकाे बल र कार्यकर्ता परिचालनद्वारा पार्टीमाथी देखिएकाे चाैतर्फी आग्रमणकाे प्रतिराेध गर्नुपर्छ ।’
कार्यक्रममा जिल्ला सदस्य तथा ४ नं. वडा ईञ्चार्ज शिवहरी दाहालले निर्वाचनकाे तयारीबारे जानकारी गराएका थिए ।
मकवानपुर । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले किसानको वर्गीकरण नहुँदा वास्तविक अनुदान वितरणमा समस्या रहेको बताएका छन् ।
राष्ट्रिय कृषक समूह महासंघ नेपाल, बागमती प्रदेश कार्यसमितिद्वारा मकवानपुरको भीमफेदीमा आयोजित ‘किसान चौतारी एवं प्रथम प्रदेश परिषद भेला’ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री पौडेलले भने ‘छिट्टै किसानको वर्गीकरण प्रक्रिया टुङ्ग्याइने छ ।’
साना किसानको जीवनस्तर उकास्न प्रदेश सरकारले ‘थप पशु उपहार’ कार्यक्रम ल्याउने उनले घोषणा गरे। साना किसानलाई व्यावसायिक बनाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन् । मन्त्री पौडेलले अबको बजेट तथा कार्यक्रममा साना किसानलाई प्रत्यक्ष लाभ हुने गरी योजना समेटिने जानकारी दिए।
“एउटा गाई पालन गरेका किसानलाई थप दुई वटा गाई किनिदिने र एउटा भैंसी पालन गरेकालाई अर्को भैंसी थपिदिने कार्यक्रम ल्याउन खोजेका छौँ,” मन्त्री पौडेलले भने, “निर्वाहमुखी खेती गरिरहेका साना किसानलाई व्यावसायिकतातर्फ डोर्याउनु नै हाम्रो मुख्य लक्ष्य हो।”
वैदेशिक रोजगारीमा जाने युवालाई रोक्न बागमती प्रदेश सरकारले विशेष प्रोत्साहन कार्यक्रम ल्याएको उनले बताए। ‘डिप्लोमा’ सम्म अध्ययन गरेका युवाहरू व्यावसायिक कृषिमा लागेमा प्रदेश सरकारले ८ देखि १० लाख रुपैयाँसम्म प्रोत्साहन अनुदान दिइरहेको जानकारी गराउँदै उनले युवाहरूलाई स्वदेशमै उद्यमी बन्न आह्वान गरे । “नयाँ पुस्ताको आकर्षण विदेश मात्र हुनु दुःखद हो। कृषि प्राविधिक शिक्षा पढेर व्यावसायिक कर्ममा लाग्ने युवालाई सरकारले ठुलो राशिको अनुदानमार्फत सहयोग गरिरहेको छ,” मन्त्री पौडेलले भने ।
महासंघ प्रदेश अध्यक्ष विजय लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा साना किसानका समस्या, कृषि प्रविधिमा पहुँच र आगामी नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयमा छलफल भएको थियो। बागमती प्रदेशका १३ वटै जिल्लाका प्रतिनिधिहरूको कार्यक्रममा सहभागिता रहेको थियो। (more…)
मकवानपुर । सरकारले बिहीकारकाे मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेकाे मन्त्रिपरिषद् बैठककाे निर्णय सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले शुक्रबार सार्वजनिक गरेका हुन् ।
सरकारले २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानविन गरी प्रतिवेदन पेश गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेकाे छ ।
अन्य के के छन् ? सरकारका निर्णयहरु:
- सिद्धार्थ राजमार्ग (बुटवल–पोखरा खण्ड) सुधार आयोजनाको तयारीका लागि एशियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने ।
- तोकिएको उद्योग व्यवसायको क्षेत्रमा स्वचालित मार्ग (अटोमेटिक रूट) बाट हुने विदेशी लगानीको माथिल्लो सीमा हटाउन स्वीकृति दिने ।
- भारतको नयाँ दिल्लीमा २०८२ माघ २२ देखि २४ गतेसम्म सञ्चालन हुने पहिलो साउथ एशियन एग्रोफरेस्ट्री एण्ड ट्रेस आउटसाइड फरेस्ट कन्फ्रेन्समा कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदनप्रसाद परियार र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रलाई सहभागी हुन स्वीकृति दिने ।
- २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानविन गरी प्रतिवेदन पेश गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने ।
- नेपाल सरकारको प्रतिनिधित्व गर्दै २०८२ पुस १५ देखि १७ गतेसम्म बंगलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको अन्त्येष्टि समारोहमा सहभागी हुनुभएका माननीय परराष्ट्र मन्त्रीको बंगलादेश भ्रमण समर्थन गर्ने ।
- नेपाल सरकारको नाममा दर्ता रहेको भक्तपुर जिल्लामा रहेको पाँच रोपनी जग्गा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको कार्यालय भवन निर्माण गर्ने प्रयोजनका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई उपयोग गर्न स्वीकृति दिने ।
- नेपाल सरकारको नाममा दर्ता स्रेस्ता कायम रहेको काभ्रेपलाञ्चोक जिल्लामा रहेको एक रोपनी जग्गा खानेपानी तथा सरसफाई डिभिजन नं. ३, सिन्धुपाल्चोकलाई उपयोग गर्न स्वीकृति दिने।
- मिति २०८१–११–२७ मा प्रतिनिधि सभाबाट पारित मोन्ट्रियल प्रोटोकलको किगाली संशोधनलाई मिति २०८१–११–२७ गतेको अतिरिक्ताङ्क गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृति प्रदान गर्ने।
- गृहमन्त्रीलाई नेपाल सरकारको प्रवक्ता तोक्ने ।