मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुली कांग्रेस प्रवेश गरेका छन् ।
रास्वपा हेटौंडामा आज विशेष भेला राखेको छ । भेलाको पूर्वसन्ध्यामा उनी कांग्रेस प्रवेश गरेका हुन् । त्यसअघि जिल्ला सभापति पराजुलीले सर्लाही पुगेर कांग्रेस केन्द्रिय सभापति गगन थापासँग भेट गरेका थिए ।
पराजुलीले आफू कांग्रेसमा फर्किएको बताएका छन् । सामाजिक संजाल फेसबुकमा स्टाटस पोष्ट गर्दै उक्त कुरा पुष्टि गरेका हुन् ।
भरत पराजुलीले फेसबुकमा लेखेका छन्
सबैमा नमस्कार।
म विगत करिब ३० वर्षदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रूपमा समर्पित रहँदै आएको थिएँ। त्यसपछि २०७९ साल साउनदेखि राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भई संगठन निर्माण र विस्तारमा निरन्तर लागिपरेँ।
जहाँ रहे पनि म सधैं भुईँमान्छेको सेवकका रूपमा जनताको सेवामा समर्पित रहन प्रयासरत थिएँ। २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर क्षेत्र नं. २ जस्तो बिकट क्षेत्रबाट १२ हजारभन्दा बढी मत प्राप्त गर्नु मेरो लागि जनविश्वासको प्रमाण थियो।
तर समयक्रममा पार्टीभित्र देखिएका प्रवृत्तिहरूले मलाई गम्भीर रूपमा सोच्न बाध्य बनायो। हामीले जुन उद्देश्य, मूल्य र आदर्शका साथ पार्टीलाई बुझेका थियौं, व्यवहारमा त्यसको ठीक विपरीत अवस्था विकसित हुँदै गएको महसुस भयो। सीमित व्यक्तिहरूको प्रभाव, चाकरीवाद, आलोचनालाई अस्वीकार गर्ने संस्कार तथा आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको अवस्थाले निराश बनायो। मैले सधैं इमानदारी, निष्ठा र जनसेवाको भावनाका साथ राजनीति गरेँ। कुनै व्यक्तिको चाकरी गर्ने, व्यक्तिगत स्वार्थका लागि सम्झौता गर्ने वा आर्थिक प्रभावका आधारमा अघि बढ्ने प्रवृत्तिसँग म सहमत हुन सकिनँ।
यस निर्णयलाई कसैले अन्यथा अर्थ लगाउन सक्लान्, तर मेरो लागि मूल कुरा पार्टी स्थापना गर्दा अघि सारिएको उद्देश्य र व्यवहारबीचको अन्तर हो। जब आदर्शभन्दा फरक बाटो समातिएको महसुस भयो, तब आत्मसम्मान र मूल्यको आधारमा अलग हुने निर्णय गरेको छु।
रास्वपामा मलाई माया, साथ र विश्वास गर्ने सम्पूर्ण साथीहरूमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु। म पार्टीमा नरहँदा केही सीमित व्यक्तिहरूलाई सुखानुभूति हुन सक्ला, तर भविष्यमा कसैले पनि मेरो जस्तो नियति भोग्न नपरोस् भन्ने कामना गर्दछु।
रास्वपा पार्टीको जिल्ला सभापति पदमा रहँदा विभिन्न कोणबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण साथीहरू, शुभेच्छुकहरू तथा कार्यकर्ताहरूमा हार्दिक आभार प्रकट गर्दछु। तपाईंहरूको साथ, समर्थन र विश्वास नै मेरो राजनीतिक यात्राको बलियो आधार रहनेछ।
हाल नेतृत्व तहको मूल्यांकन गर्ने शैली र व्यवहारका आधारमा भविष्यमा पनि आफू तथा आफ्ना हितैषीहरूको उचित कदर नहुने सम्भावना देखिएको छ। साथै, यही प्रवृत्ति कायम रहे जनताको हित, कार्यकर्ताको उचित मूल्यांकन तथा संरक्षण हुन नसक्ने अवस्था देखिएकाले स्थापना कालदेखि आबद्ध रहेको पार्टीबाट आजकै मितिदेखि अलग रहने निर्णय गरेको सम्वन्धित सबैमा जानकारी गराउँदछु।
आगामी दिनहरूमा पनि म सदाझैं जनताको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछु। धन्यवाद।
मकवानपुर । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले किसानहरूले लामो समयदेखि परम्परागत रूपमा एकै किसिमको बाली लगाउँदै आएका कारण उत्पादनमा ह्रास आएको बताएका छन् ।
चितवनको भण्डारामा आयोजित मन्त्रालय मातहतका कार्यालयहरुको आर्थिक वर्ष २०८२/०८३ को अर्धवार्षिक प्रगति समीक्षा गोष्ठीको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले प्रदेश भित्र माटो परिक्षणलाई अभियानको रुपमा संचालन गरिने जानकारी दिए ।
“माटोमा अत्यधिक मात्रामा अम्लीयपन बढ्दै गएको छ, जसले उत्पादकत्व घटाएको छ,” मन्त्री पौडेलले भने, “अब माटो परीक्षणलाई अनिवार्य र अभियानकै रूपमा अघि बढाइनेछ।”
परीक्षणले मात्र उत्पादन वृद्धिलाई वास्तविक सहयोग पुर्याउने बताउदै उनले भने “मन्त्रालयले वितरण गर्दै आएको अनुदान प्रणालीमा ठूलो हेरफेर गरिने छ बताए ।” वितरणमुखी अनुदानले किसानलाई अल्छी बनाएको टिप्पणी गर्दै उनले अबदेखि उत्पादन, ब्याज अनुदान र नवयुवा लक्षित अनुदानलाई मात्र प्राथमिकता दिइने स्पष्ट पारे।
“उत्पादनमा आधारित नभएका अन्य सबै प्रकारका अनुदानहरु अब बन्द गरिनेछन्,” मन्त्री पौडेलले भने “हाम्रो लक्ष्य वास्तविक किसानलाई प्रोत्साहन गर्ने र कृषिमा युवा सहभागिता बढाउने हो।”
कार्यक्रममा मन्त्रालयका सचिव बैकुण्ठ अधिकारीले प्रदेश सरकारको लगानीमा निर्माण भएको धुलोदुध कारखाना सञ्चालनका लागि ठोस कार्ययोजना (मोडालिटी) आवश्यक रहेको बताए। उनले कारखाना सञ्चालनको स्पष्ट मोडालिटी तयार गर्न दुग्ध विकास बोर्डका निर्देशकलाई निर्देशनसमेत दिए ।
मन्त्रालयको वित्तीय अवस्थाप्रति चासो व्यक्त गर्दै सचिव अधिकारीले कृषि निर्देशनालयको हालसम्मको वित्तीय प्रगति सन्तोषजनक नरहेको उनको भनाइ थियो।
मन्त्रालय मातहतका कार्यालयहरूको कुल ८६ करोड रुपैयाँ बेरुजु रहेकोमा पशुपन्छी तथा मत्स्य निर्देशनालयको मात्र ३८ करोड रुपैयाँ रहेकोले तत्काल प्रभावकारी काम गर्न निर्देशन दिएका छन् ।
गोष्ठीको पहिलो जिल्ला स्थित कार्यालय र निर्देशनालयहरूले आफ्नो अर्धवार्षिक प्रगतिको प्रतिवेदन प्रस्तुत गरेका थिए। आज सोमबारसम्म चल्ने गोष्ठीमा बागमती प्रदेश मातहतका जिल्लास्थित कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, तालिम केन्द्रका प्रमुखहरू र निर्देशनालयका प्रमुखहरूको उपस्थिति रहेको छ।
मकवानपुरगढी । फागुनको पारिलो घामसँगै मकवानपुर क्षेत्र नं. १ को चुनावी माहोल तात्तिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरूको दौडधुप मात्र बढेको छैन, गाउँबस्तीमा आश र भरोसाको सञ्चार भएको छ ।
यसै क्रममा नेकपा एमालेका उम्मेदवार रामेश्वर राना जब आइतबार मकवानपुरगढीको उकालो लागे । त्यहाँ केवल भोट माग्ने औपचारिकता मात्र देखिएन । उम्मेदवार र मतदाताबीचको आत्मीय सम्बन्धका रोचक दृश्यहरू पनि देखिए ।
बिहान मकवानपुरगढी–४, सामरी कुनाबाट रानाले हात जोड्दै भने, ‘नमस्कार, म रामेश्वर राना…।’
उनको परिचय पूरा नहुँदै एक पुरुषले भने, ‘हजुरलाई नचिन्ने को छ र ? हजुर कर्मठ, इमान्दार र निष्ठावान हुनुहुन्छ । यसपालि भोट हजुरलाई नै हो, ढुक्क हुनुस् ।’
किसानको यो भनाइमा पसलबाट सामानको झोला लिएर निस्किँदै गरेका अर्का अधबैँसे पुरुषले पनि सही थपे । बिहानको यो न्यानो संवाद र मनकामना मन्दिरको दर्शनपछि सुरु भएको रानाको यात्रा ठेकीचोक हुँदै रुद्रबाटिकातर्फ लम्कियो ।
रानाको घरदैलो अभियानमा तीन फरक पुस्ताको संगम देखियो । वडा नं. ३ को भानुचोक र मक्रान्चुली हुँदै देविडाँडा पुग्दा २१ वर्षीय नवयुवा सुमन घिमिरे भेटिए । उनले उम्मेदवारलाई ढाडस दिँदै भने, ‘यसपालि मेरो र मेरो परिवारको भोट अनुभवी नेतालाई नै हो ।’ यति मात्र होइन, उनी आफैं पनि अभियानमा सामेल भए ।
टोली जब वडा नं. २ को भालुन्टार, शिखरकटेरी र कुर्ले हुँदै अघि बढ्यो । त्यही क्रममा सयौँ मतदाताबीच ७६ वर्षीय सान्तानाथ न्यौपाने भेटिए । शिखरकटेरी निवासी न्यौपानेले ज्येष्ठ नागरिकको भावना पोखे, ‘वृद्धभत्ता दिलाएर एमाले वृद्धवृद्धाको भरोसा बनेको छ, अब तपाईं सबै जनताको भरोसा बन्नेगरी काम गर्नुस् । आशिवाद, जितको शुभकामना ।’
घरदैलोको उत्कर्ष भने वडा नं. २ को ताप्लाखर्कमा देखियो । त्यहाँ पुग्दा सिंगो गाउँ नै रानाको स्वागतमा उठेको देखिन्थ्यो । स्थानीयले फूलमाला र घडा राखेर भव्य स्वागत गरे ।
स्वागत ग्रहणपछि कोणसभालाई सम्बोधन गर्दै रानाले अहिलेको राजनीतिमा चल्ने गरेको ‘नयाँ र पुरानो’ भन्ने बहसलाई निकै मार्मिक ढंगले चिरे । उनले प्रश्न गरे, ‘बुवाआमाको उमेर बढ्दैमा उहाँहरू कहिल्यै पुरानो हुनुहुन्छ र ? कपडाजस्तो नयाँ–पुरानो भनेर चेतन्शील प्राणीसँग तुलना गर्नु कत्तिको न्यायोचित हुन्छ ?’
उनले थपे, ‘अब हामीले सही मूल्यांकन गर्ने बेला आएको छ । नविनतम् सोच र विचारलाई व्यवहारिक बनाउन सके मात्रै समृद्ध समाज निर्माण हुन्छ, म त्यसैमा प्रतिबद्ध छु ।’
रानाको व्यक्तित्व र लामो राजनीतिक योगदानको प्रभाव पनि अभियानमा देखियो । सभाको अन्त्यमा लामो समय अर्को पार्टीमा सक्रिय रहेका शंकर थिङ नेपाली कम्युनिष्ट पार्टी परित्याग गरी एमालेमा प्रवेश गरे । थिङले भने, ‘लामो समय राजनीतिमा लागेर सामाजिक रुपान्तरणमा लाग्नु भएको छ, अब तपाईं जत्तिको मान्छे नै अवसर पाउनुपर्छ ।’
ताप्लाखर्कको न्यानो स्वागतपछि टोली जितपुरभञ्ज्याङ पुग्यो । त्यहाँ पनि मतदातासँग प्रत्यक्ष संवाद गर्दै रानाले ‘सूर्य’ मा मतदान गर्न आग्रह गरे । बिहान सामरी कुनाबाट सुरु भएको यात्रा जितपुरभञ्ज्याङ पुग्दा साँझ पर्न लागेको थियो, तर उम्मेदवार र मतदाता दुबैमा उत्साहको कमी देखिएन ।
एमाले प्रचारप्रसार समितिका अनुसार रामेश्वरको सोमबारको घरदैलो कार्यक्रम हेटौंडा उपमहानगरपालिका वडा नं.१७ र १८ लागि तय भएको छ ।
मकवानपुर । धादिङमा साेमबार बिहान भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।
पृथ्वी राजमार्ग अन्तरगत बेनिघाट रोराङ गाउँपालिका–५ भैंसिगौडामा सोमबार बिहान पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस त्रिशूली नदीमा खसेर हो ।
बिहान करिब १: ३० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस आदमघाटबाट उद्धारका लागि टोली खटिएको छ । यस्तै विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट गोताखोरसहितको विशेष उद्धार टोली परिचालन गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । नेपाल प्रहरी र नेपाली सेनाको टोली समेत उद्धारमा खटिएको बताइएको छ ।
प्रहरीका अनुसार मृत्यु भएका १७ जनाको शव घटनास्थलमै रहेको छ । घाइते २४ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ । मृतकको सनाखत हुन बाँकी छ । दुर्घटनाको कारण खुलेको छैन । घटनास्थलमा तीन वटै सुरक्षा निकायको समन्वयमा उद्धारको काम भइरहेको छ ।
घाइतेहरुको विवरण:

मकवानपुर । फागुन २१ को निर्वाचन लक्षित गर्दै ३ दिन बिदा दिन निर्वाचन आयोगले सरकार समक्ष माग गरेको छ । आइतबार सरकारलाई पत्र लेखेर आयोगले चुनावमा ३ दिन बिदा दिन सिफारिस गरेको हाे ।
‘निर्वाचनमा मतदाताकाे उत्साहजनक सहभागिता बढाउने उद्देश्यले फाुन २०,२१ र २२ गते सार्वजनिक बिदा गर्न निर्वाचन आयाेगले नेपाल सरकारलाई सिफारिस गरेकाे छ’ प्रवक्ता नारायणप्रसाद भट्टराईले भने । आयोगले माग गरेकाे ३ दिन बिदाको निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्नेछ ।