मकवानपुर । अविरल वर्षातका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै उच्च रेड अलर्ट जारी गरिएको छ भने ब्यारेजका ५६ वटै ढोका खोलिएकाे छ ।
कोशी ब्यारेजमा पानीको बहाव ४ लाख ८६ हजार ७६० क्यूसेक रहेको जनाइएको छ । एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ । गत वर्षको असोजमा पानीको बहाव प्रतिसेकेन्ड ५ लाख ५७ हजार क्यूसेक मापन भएको थियो ।
कोशी ब्यारेजमा पानीको सतह पुल सम्म आएको छ भने सप्तरी र सुनसरी दुवै तर्फबाट आवागमनमा रोक लगाइएको छ ।
मकवानपुर । अविरल वर्षासँगैको प्रतिकुल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले १९ र २० असोज बिदा दिएको छ । सरकारले आइतबार र सोमबार बिदा दिने निर्णय गरेकाे हाे ।
सरकारी कार्यालयहरू आइतबारदेखि खुल्ने भएपनि अविरल वर्षाका कारण सडक अवरुद्ध भएकाे तथा विपद्काे अवस्था सृजना भएकाेले बिदा दिने निर्णय गरेको गृहमन्त्रालयले जनाएकाे छ । लगातार भइरहेको भारी वर्षाका कारण सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि यो निर्णय गरिएको मन्त्रालयले उल्लेख गरेको छ।
मकवानपुर । अहिले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। विशेष गरी मधेसदेखि कर्णाली प्रदेशसम्मका जिल्लाहरूमा पानी परिरहेको छ।
मौसम पूर्वानुमान महाशाखाले २० असोजसम्म पानी पर्ने अधिक सम्भावना अनुमान गरिएको छ । हाल बङ्गालको खाडीबाट आएको मनसुनी वायुको प्रभावले देशभर वर्षा भइरहेको हो। भारतको बिहार र उत्तर प्रदेश हुँदै नेपालमा प्रवेश गरेको बादलको बाहिरी घेराले पनि वर्षा गराइरहेको छ। मौसमविद्हरूले अर्को मौसमी प्रणाली पनि नेपाल प्रवेश गर्ने संकेत देखिएको बताएका छन्। उक्त प्रणालीले केही क्षेत्रमा अत्यधिक वर्षा गराउने सम्भावना रहेको उल्लेख गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका थोरै स्थानमा, साथै लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुने अनुमान छ। त्यस्तै, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा धेरै भारी वर्षा हुने सम्भावना छ।
शनिबार (आज) राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानमा, साथै मधेस र लुम्बिनी प्रदेशका तराई भू-भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना महाशाखाले जनाएको छ । पानी पार्ने बादल लुम्बिनीको पूर्वी भागदेखि कोशी प्रदेशसम्म फैलिएको छ । भारी वर्षा गराउने बादल नेपालको दक्षिणी भागमा बढी केन्द्रित छ। विशेष गरी हेटौडादेखि ललितपुर र आसपासका क्षेत्रमा मध्यम वर्षा जारी रहने पूर्वानुमान गरिएको छ।
मकवानपुर । पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरकाे हेटौंडा उवमहानगरपालिका वडा नम्बर १५ र बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ काे सिमानासुथित चुरियामाई मन्दिरको उकालोमा भएको सवारी दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएकाे छ ।
बुधबार बिहान भएकाे दुर्घटनामा घाइते ६ मध्ये २ जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ । जनकपुरबाट काठमाडौं जान आउँदै गरेको ना ७ ख ८५३७ नम्बरको बस चुरियामाई मन्दिर नजिक उकालोमा ब्रेक फेल भई पछाडि गुड्दा ना १२ प ३३६० र म.प्र. ०३–०२४ प ४४९५ नम्बरका दुई वटा मोटरसाइकललाई ठक्कर दिदाँ ६ जना घाइते भएका थिए ।
मृत्यु हुनेमा ना. १२ प ३३६० नम्बरका मोटरसाइकल चालक बाराको फेटा गाउँपालिका-१ भरवलिया बस्ने २५ वर्षीय मकेश्वर पटेल र मधेश प्रदेश ०३-०२४ प ४४९५ नम्बरको मोटरसाइकल चालक कञ्चनकुमार पटेलको श्रीमती २६ वर्षीय कविता देवी रहेकाे बारा प्रहरीले जनाएकाे छ । गम्भीर घाइते दुवैलाई प्रादेशिक अस्पताल कलैया लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएकाे छ ।
पटेलकी २२ वर्षीया श्रीमती कलिता देवी र २० महिनाकी छोरी तानेया पटेल घाइते भएका छन् । कलिता र छोरीको मकवानपुरको सहकारी अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरी जनाएकाे छ । त्यस्तै, अर्को मोटरसाइकलमा सवार पर्सा, वीरगञ्ज–३१ का मृतक कविता देवीका श्रीमान् मोटरसाइकल चालक २७ वर्षीय कञ्चनकुमार पटेल र ३ वर्षीय छोरा आयुष पटेल पनि घाइते भएका छन् । कञ्चन र आयुषको सहकारी अस्पताल मकवानपुरमा उपचार भइरहेको छ।
बस दुर्घटनापछि फरार रहेका बस चालक सर्लाही लालबन्दीका ४७ वर्षीय विश्वनाथ चौधरीलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।
