मकवानपुर । छठ पर्वअन्तर्गत व्रतालुले शनिवार विहान देशभर विभिन्न पोखरी, नदी, इनार, कृतिम जलासयलगायतको पानीको स्रोत भएको ठाउँबाट उदाउँदो सूर्यलाई अर्घ दिएर यसपालीकाे छठकाे समापन गरेका छन् । कोरोनाको महामारीका कारण कतिपयले भने यसपालि घरको आँगन तथा खाली स्थानमा कृत्रिम जलाशय बनाएर सूर्यको पूजा आराधना गरेका छन् । कतिपय ठाउँमा भने जलाशयमा नै पुगेर सामूहिक रुपमा नै छठ पर्व मनाएका छन् ।
विशेषतः तराई समुदायको पर्वको रुपमा बुझ्दै आएतापनि पछिल्ला केही वर्षयता पहाडी समुदायको पनि उत्तिकै उपस्थिती देख्ने गरिन्छ यो पर्वमा । पहाडी समुदायले पनि छठ पूजालाई परम्पराकै रुपमा लिन थालेका छन् । यसैले पनि पछिल्लो समय सामाजिक सद्भाव अभिवृद्धि गर्ने पर्वको रुपमा मानिदै आएको छ छठ पर्वलाई । पहिला मिथिलाञ्चलमा मात्र सीमित रहेको छठ पर्व २०६२/०६३ को आन्दोलनपछि पहाडी क्षेत्र र अन्यत्र पनि लोकप्रिय हुँदै गएको छ । २०६४ सालमा छट पर्वकाे लागि काठमाडाैकाे रानीपाेखरी पहिलाे पटक खुला भएकाे थियाे । यस पटक काेराेना प्रभावकाे कारण पहाडी समुदायमा यसकाे राैनक कम देखिएकाे हाे ।

कोरोना भाइरस (कोभिड–१९) को प्रभावको कारण सागरमा भव्य व्यवस्थापनका साथ मनाइने छठ पूजा पनि प्रभावित भएको छ । मकवानपुर जिल्ला प्रशासनले सागरमा भिडभाड गरेर पूजामा सहभागी नहुनको लागि आग्रह गरेपछि पूजा व्यवस्थापन समितिले सागरमा कुनै तयारी गरेको थिएन । प्रतिघरबाट एक जना व्रतालु र एक जना सहयोगी मात्रै आफ्नै व्यवस्थापनमा सागर गएर छठकाे पूजा गरिएकाे छ । हेटाैडाकाे राप्ती तटमा व्रतालुहरूकाे उपस्थिति समेत न्यून देखिएकाे थियाे ।
सागरमा नपुगि छठ पूजाको अर्थ नै नहुने भएकाेले सामुहिक मनाउन नपाउने भए पछी कतिपय व्रतालुले अाफ्नै घरमा कृतिम जलाशयकाे सागर बनाइ पुजा गरेका छन् । शुक्रबार अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि राति जलाशय, नदी, तलाउ–किनारमा अर्घ दिइएका सामग्रीहरू कतिपयले घरमै ल्याएर फेरि आज बिहान झिसमिसमै घाटमा पुर्याउने गर्छन् भने कतिपयले त्यहीँ राखेर रातभर नाचगान र रमाइलो गर्छन् । आज कात्तिक शुक्ल सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पूजा समापन भएको मानिन्छ ।
छठ पर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो । छठ पर्व महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि सङ्कल्प गरिन्छ, जो यसको महत्वपूर्ण पक्ष हो । अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समानरूपमा र जीवनकै पाटोको रूपमा लिइनु हो । सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ ।

मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ । व्रतालुले पोखरी तथा वनाइएका कृतिम जलासयमा दुवै हत्केलामा पिठार र सिन्दूर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उत्पादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्घ अर्पण गरेका थिए । अर्धमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेँडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन रहेको छ ।
छठमा धनी, गरिब, कथित तल्ला र माथिल्ला जाति एकै ठाउँमा उपस्थित भई पूजा गरिने भएकाेले सबै समान हुने सन्देश दिन्छ । आफ्नै गाउँघरका खेतबारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु यो पर्वको थप मौलिक विशेषता हो । कोरोना सङ्क्रमण त्रासको कारण भीडभाड हुने भएकाेले पाेखरी जलासय वा तलावमा जम्मा भएर छठ नमनाउन प्रशासनले अाग्रह गरेकाे भए पनि भए पनि तराइका जिल्लामा सिङ्गारिएका पोखरी र तलाउमा नवबस्त्रमा सजिएका श्रद्धालुको भीड पनि दर्शनीय रहेको थियो । प्रायः छठका व्रतालुहरू घरमै अस्थायी सागर बनाएर सुर्यकाे उपासना गरी पर्व मनाएका थिए ।
कोरोना महामारीका कारण यसपालि पोहोर परारको जस्तो रौनक नभए पनि व्रतालुले विधि पूर्वक पूजा आराधना गरेका छन् । सहरी क्षेत्रमा सामूहिक रुपमा छठ मनाउनेहरुले केही स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरे पनि ग्रामिण क्षेत्रमा मापदण्ड पालना भएको छैन ।
मकवानपुर । पछिल्लो २४ घण्टामा थप ५ हजार ३ सय ६४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ९१ हजार २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यसअघि विहीबारसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ८५ हजार ६३८ रहेको थियो। नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ९८ पुगेको छ।
यस्ताै पछिल्लो २४ घण्टामा १ हजार ९ सय ४५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३ सय ४० नमुना परीक्षण गर्दा २ हजार ७ सय ४० महिला र १ हजार २ सय ५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको मन्त्रालयले जानकारी दिएकाे छ ।
यसै गरी मकवानपुरमा सक्रिय संक्रमितको संख्या ४ सय ८० पुगेको हो । जसमा ४ सय ७२ जना घरमै होम आइसोलेसन र ८ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरका अनुसार जिल्लामा हालसम्म ३ हजार ४ सय ३९ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएकामा हालसम्म २ हजार ९ सय २६ जना संक्रमण मुक्त भएका छन् । जिल्लामा हालसम्म २९ जना कोरोना संक्रमणको २९ जनाले ज्यान गुमाएका छन् ।
शुक्रबार हेटौंडा उपमहानगरपालिका वडा नंबर ५ की ६४ वर्षीया वृद्वाकाे काेराेनाकाे कारण मृत्यु भए सँगै हेटौंडामा कोरोनाको कारण २२ जनाको मृत्यु भएको छ भने जिल्लामा मृत्यु हुनेकाे संख्षा २९ पुगेकाे हाे । जिल्लाकाे थाहा नगरपालिका,मनहरी र बकैया गाँउपालिकाका २/२ जना संक्रमितको मृत्यु भएको छ । यसैगरी बागमती गाउँपालिकाका एक संक्रमितको मृत्यु भएको छ ।
मकवानपुर / मकवानपुर जिल्लाकाे बागमति गाउँपालिकामा एक जना बालिकाकाे शव भेटीएकाे छ । बागमति गाउँपालिकाको वडा नंबर ७ को लामिटारमा ४ वर्षीया बालिका रुविना पाख्रिनको शव फेला परेकाे हाे ।
हिजाे बुधबार साँझबाट बेखर भएकी बालिकाकाे केही घण्टामै शव फेला परेकाे हाे । बालिकाको हत्या भएको आशंका गरिएकाे छ । वडा अध्यक्ष दिल्लीप्रसाद घोरसाईनीका अनुसार बालिका साँझ ६ बजे बाट हराएकी थिइन् भने १ घण्टामै मृत भेटिएकी थिइन् ।
शरिरको विभिन्न भागमा चोटपटक देखिएकाे घाेरसाइनीले बताए । बालिकाको शव पोस्टमर्टमको लागि हेटौंडा पठाईएको उनले बताए ।
मकवानपुर । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) सचिवालय बैठक सकिएको छ।
बुधवार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पुनः १० दिनपछि बस्ने गरी निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । कात्तिक २८ को सचिवालय बैठकमा प्रस्तुत भएका प्रस्ताव तथा पत्रमाथि छलफल गर्न बुधबारलाई बैठक तय भएको थियो ।
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टै राजनीतिक प्रस्ताव पेस गर्ने भएका छन् । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठकाअनुसार अध्यक्ष ओलीको प्रस्ताव समेतलाई ध्यानमा राखेर सचिवालय बैठक १० दिनका लागि स्थगित भएको छ । आगामी १३ गते ओलीले प्रस्ताव पेस गरेपछि सचिवालयमा सबै प्रस्तावमाथि छलफल हुनेछ ।
यस्तै मंशिर १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छ ।
मकवानपुर । बितेको २४ घण्टामा ५ सय २ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । ३ हजार १ सय १२ जनाको पीसीआर परीक्षण हुँदा उक्त संख्यामा संक्रमित पुष्टि भएकाे हाे । हिन्दु नेपालीको चाड तिहार भएका कारण परीक्षण घटेको हो मन्त्रालयले बताएकाे छ ।
यस्तै मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २ हजार ८ सय ७८ जना काेराेना संक्रमणमुक्त भएका छन् भने थप १७ जनाको मृत्यु भएको छ ।
यससँगै देशभर कोरोना भाइरस संक्रमितको जम्मा संख्या २ लाख ११ हजार ४ सय ७५ पुगेको छ भने निको हुनेको संख्या १ लाख ७९ हजार २ सय ४२ पुगेको छ । हालसम्म कोरोना निको हुने दर ८४.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै देशभर मृत्यु हुनेको कुल संख्या १ हजार २ सय ४७ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३० हजार ९ सय ८६ पुगेको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ३९ जना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा १ सय ४६ महिला र १ सय ९३ पुरुष रहेका छन् ।
यस्तै हालसम्म मकवानपुरमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ३ हजार ३ सय ९८ जना रहेका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा थप ९ जना संक्रमित थपिए संगै संक्रमितको संख्या ३ हजार ३ सय ९८ पुगेको हो ।
जिल्लामा काेराेना पुष्टि भएका संक्रमितमा हालसम्म २ हजार ७ सय ९१ जना संक्रमण मुक्त भएका जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएकाे छ । जिल्लामा काेराेना संक्रमित १९ जना आइसोलेसन र ५ सय ५८ जना संक्रमित हाेम आइसोलेसनमा उपचाररत रहेका छन् ।
मकवानपुरमा हालसम्म कोरोनाको कारण २८ जना को ज्यान गएको छ ।पछिल्लो २४ घण्टामा जिल्लाका २ जना संक्रमितको ज्यान गए संगै ज्यान जानेको संख्या २८ पुगेको हो ।