मकवानपुर/ मकवानपुर जिल्लामा बुधबार ३ जनाको मृत्यु भएको छ । २ छुट्टाछुट्टै दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ भने १ जनाले झुण्डीएर आत्त्महत्या गरेका छन् ।
मकवानपुरको बकैयामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको र पानीमा डुबेर एक जनाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । बकैया गाउँपालिका–९ का ३४ वर्षीय बद्रीलाल वाइवाको आज बुधबार खानेपानीको मुहानमा डुबेर ज्यान गएको हो । प्रहरीका अनुसार वाइबाको शव घरबाट दुई किलोमिटर पर हर्कपुरस्थित खानेपानी मुहानमा डुबेको अवस्थामा फेला परेको थियो ।
वाइवाको मृत्युबारे थप अनुसन्धान जारीरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले जानकारी बताए ।
यसैगरी जिल्लाको बकैया गाउँपालिकामै बुधबार भएको ट्र्याक्टर दुर्घटनामा परी एक जना बालकको ज्यान गएको छ । दुर्घटनामा सोही ट्र्याक्टरमा सवार हेटौँडा उपमहानगरपालिका १७ का १३ वर्षीय दिलसन माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्र्याक्टर चालक सोही ठाउँका १८ वर्षीय सुनिल माझी र बकैया ७ भिरकोटका ५८ वर्षीय योगेन्द्र माझी घाइते भएको प्रहरी निरीक्षक गजमेरले बताए।
हेटौँडाबाट सिमेन्ट बोकेर बकैयातर्फ जाँदै गरेको ना ६ त ४५३५ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकको भित्तामा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । धरान चतरा मार्ग भनिने मदन भण्डारी राजमार्गअन्तर्गत बकैया ५ को तीनतलेमा दुर्घटना भएको थियो । घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी हेटौंडा उपमहानगरपालिका १६ हटियामा एक व्यक्तिको शव फेला परेको छ। रुखमा पासो लगाएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उक्त शव सोही स्थानका अन्दाजी ५० वर्षीय रामकृष्ण बलामीको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बलामीको शब आफ्नै घरबाट ५० मिटर पूर्वमा बकाइनोको रुखमा पासो लगाई झुण्डिएको अवस्थामा आज बुधबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको हो ।
मकवानपुर /पोखरा स्थित हेमराज पहारी स्मृति प्रतिष्ठानले मकवानपुरको अग्रेणी साहित्यिक संस्था झरना साहित्य परिवारलाई पुरस्कृत गरेको छ । हेमराज पहाडी स्मृती पुरस्कार २०७७ बाट झरना समाजलाई नगद १ लाख राशि सहितकाे पुरस्कार प्रदान गरेकाे हाे ।
देशभरका साहित्यिक संस्था तथा व्यक्तिहरुबाट झरना साहित्य समाज मकवानपुरलाई छनौट पुरस्कार छनाैट समिति संयाेजक हरिदेवी काेइरालाले बताइन् ।
मकवानपुरको छतिवनमा रहेर विगत २८ वर्षदेखि नेपाली भाषा र साहित्यको उन्नयनमा यस परिवारले पु-याउँदै अाएको योगदानलाई मुल्याङ्क गर्दै पुरस्कार प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ । जनस्तरबाट स्थापित र सञ्चालित परिवारले हालसम्म २ सय ६१ वटा मासिक साहित्य शृङ्खला सञ्चालन गरिसहेको परिवारका अध्यक्ष दीपक गौतमले बताए । यसैगरी झरनाले ३४ अङकसम्म ‘झरना’ अर्धवार्षिक साहित्यिक पत्रिका प्रकाशन गरिसकेको छ । १ सयभन्दा बढी अग्रज तथा युवा साहित्यकारहरूको सम्मान तथ अभिनन्दन, कृति प्रकाशन कोष मार्फत साहित्यिक कृति प्रकाशन, पछिल्लो ६ वर्षदेखि सिर्जनशील नयाँ पस्ता निर्माण अभियान अन्तर्गत ५० भन्दा बढी विद्यालय तथा क्याम्पसहरूमा काव्य प्रशिक्षण, बालसाहित्य समिति गठन र परिचालन, विधाविशेष साहित्य श्रृङ्खला सञ्चालन गरेको छ ।

विभिन्न व्यक्ति, संस्था र स्थानका नामका ८ वटा पुरस्कारहरूको स्थापना र वितरण गर्दै मकवानपुर जिल्लाका निकटदेखि विकट गाउँसम्म कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष गौतमले बताए । झरना साहित्य परिवारले विभिन्न क्षेत्र, उमेर र विधाका स्रष्टालाई साझा छहारी प्रदान गरेर नेपाली बाङ्मययको समग्र पक्षलाई सबल र सक्षम बनाउने काममा सेतुको भूमिका निर्वाह गरे वापत यस परिवारलाई २०७७ सालको हेमराज पहारी स्मृति पुरस्कार प्रदान गरिएको पुरस्कार छनौट समिति संयोजक कोइरालाले बताइन् ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले झरना साहित्य परिवारका पूर्व अध्यक्ष उद्दब सापकोटा, वर्तमान अध्यक्ष दीपक गौतम, अन्य पदाधिकारी, सदस्यहरुलाई सयुक्त रुपमा पुरस्कार र ताम्रपत्र हस्तान्तरण गरेका थिए । नेपाली भाषा सहित्यको वाङ्मयको संरक्षणमा लागि परेको संस्थालाई पुरस्कृत गर्ने आवसर प्राप्त भएको भन्दै हेमराज पहारी स्मृति प्रतिष्ठान अध्यक्ष रीता न्यौपानेले खुसी व्यक्त गरिन् ।
मकवानपुर । हेटाैडा उपमहानगरपािलका नगर खेलकुद परिषद्काे अायाेजनामा हेटाैडामा जारी मेयरकप फुटबलमा शनिबार भएकाे खेलमा ९ र १९ नम्बर वडा विजयी भएको छ ।
हेटौंडा—४ स्थित हुप्रचौरमा शनिबार भएको पहिलो खेलमा वडा नम्बर ९ ले वडा नम्बर १७ लाई सडनडेथमा ६–५ गोलअन्तरले पराजित गरेको हो । निर्धारित समय खेल २–२ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा पनि ५–५ गोलको बराबरी हुँदा खेल सडनडेथमा पुगेको थियो । खेलमा वडा नम्बर ९ का तर्फबाट डेभिड रुम्बा र पूर्ण श्रेष्ठले एक–एक गोल गरे । वडा नम्बर १७ का लागि २ गोल गरेका समीर थोकर म्यान अफ द म्याच घोषित भए पनि टिमलाई जिताउन भने सकेनन् ।
यस्तै शनिबार भएको दोस्रो खेलमा वडा नम्बर १९ ले वडा नम्बर १६ लाई १–० गोलले पराजित गरेको छ । वडा नम्बर १९ लाई जित दिलाउन अजय थोकरले निर्णायक गोल गरे । थोकर म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिताको विजेताले नगद दुईलाख रुपैयाँ र उपविजेताले नगद एकलाख रुपैयाँ प्राप्त गर्नेछन् । फागुन २४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका सर्वोत्कृट खेलाडी र उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई समेत विधागत रुपमा नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
मकवानपुर । बागमती प्रदेशको राजधानी रहेको हेटौंडा उपमहानगरपालिकामा वडास्तरीय मेयरकप सुरु भएको छ । शुक्रबारबाट हेटौंडा–४ को हुप्रचौरमा सुरु भएको हो । मेयर कपको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका हुन् ।
उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले बागमती प्रदेश सरकारले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको बताएका थिए । पौडेलले गौरिटार रंगशालाको निर्माण काम भईरहेको बताएका हुन् ।
प्रतियोगिताको उद्घाटन खेलमा हेटौंडा–११ ले १ नम्बर वडालाई ४–० गोलअन्तरले पराजित गरेको छ। विजेता टोलीको तर्फबाट ललित चौलागाईं र सुमित प्रधानले दुई/दुई गोल गरेका थिए । प्रतियोगितामा १९ वटा टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले नगद दुईलाख रुपैयाँ र उपविजेताले नगद एकलाख रुपैयाँ प्राप्त गर्नेछन् । फागुन २४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका सर्वोत्कृट खेलाडी र उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई समेत विधागत रुपमा नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

हेटौंडाका नगर प्रमुख हरिबहादुर महतको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभाका सदस्य जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, फुटबल संघ मकवानपरका बागमती प्रदेश अध्यक्ष राजेन्द्र श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, मकवानपुर फुटबल संघका अध्यक्ष टिकाराम लामा, खेलकुद विकास समिति हेटौंडाका अध्यक्ष चन्द्र शाहीलगायतको आतिथ्यता थियो ।
मकवानपुर । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको २४ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभामा वन समूहले गत वर्षझैं विभिन्न विधामा ८ जनालाई सम्मानित गरेको छ ।
सम्मानित हुनेमा समूहका निवर्तमान अध्यक्ष विष्णुप्रसाद न्यौपाने, वन प्राविधिक तर्फ डिभिजन वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत अच्युतप्रसाद उपाध्याय, पत्रकार तर्फ प्रदेश दैनिकका सम्पादक विजय पौडेल, कर्मचारी तर्फ समूहका कार्यालय सचिव भीमसेन पौडेल, ज्येष्ठ उपभोक्ता तर्फ युदुमाया दुलाल, कोषादत्त दुलाल, साधारणसभामा बढि उपभोक्ता उपस्थित गराउने कार्यसमिति सदस्य केशव धिताल र काठ चिरानी तथा ढुवानी गर्ने अर्जुन सापकोटालाई नगद सहित सम्मान गरिएको थियो ।
वन समूहका अध्यक्ष कृष्ण विडारीले संस्थागत प्रतिवेदन, सचिव नानीमाया रुम्वाले समुहको प्रगति प्रतिवेदन,कोषाध्यक्ष बसन्त अधिकारीले चालु आव ०७७ ०७८ का लागि करीव ६० लाखको अनुमानित आयव्यय विवरणको प्रतिवेदन प्रस्तुत गरेका थिए । सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष कृष्ण विडारीको सभाध्यक्षतामा सभा भएको हो ।
कार्यक्रममा हेटौंडा ६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाई, मकवानपुरगढी–३ का वडा अध्यक्ष भागवत घिमिरे, हेटौडा–६ का वडा सदस्य राजकुमार बास्तोला, फेकोफन मकवानपुर अध्यक्ष साधुराम चौलागाई, सव डिभिजन वन कार्यालय,हेटौडाकी सहायक वन अधिकृत गायत्री शर्मा,स्थानिय वन महासंघ हेटौंडाका अध्यक्ष शम्भु न्यौपाने, चुच्चेखोला सामुदायिक वन समूहका अध्यक्ष अर्जुनप्रसाद दाहाल, कामधेनु बहुउद्धेश्यीय सहकारीका अध्यक्ष उदय विडारी,जनकल्याण साकोसका अध्यक्ष हिमाल पौडेल, वशंगोपाल माविका प्रधानाध्यापक रमेश लामिछाने लगायत टोलविकास, विभिन्न विद्यालय, वन समुह, सहकारी संस्थाहरुका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।