मकवानपुर । मकवानपुरको थाहा नगरपालिका जिल्लाकै उत्कृष्ट स्थानीय तहकाे रूपमा पुरस्कृत भएकाे छ । जिल्लाको १० स्थानीयतह मध्ये उत्कृष्ट कार्यसम्पादन गरेकोमा थाहा नगर प्रथम भएको हाे ।
जिल्ला समन्वय समितिले गरेको कार्य प्रगतिको मुल्यांकनको आधारमा मकवानपुरको थाहा नगर तेस्रो पटक प्रथम भएको हो । यस्तै जिल्लाको मनहरी गाउँपालिका दोस्रो भएको छ भने बकैयाँ गाउँपालिका तेस्रो भएको छ । जिल्ला समन्वय समिति मकवानपुरले आज छैठौं जिल्ला सभामा प्रथम, द्धितिय र तृतीय हुने ३ स्थानीय तहका प्रमुख/उपप्रमुखलाई सम्मानपत्र प्रदान गरेको छ।
जिल्ला सभाका प्रमुख अतिथि रहनुभएका बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले थाहा नगरका प्रमुख लबशेर विष्ट, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती र बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेलाई सम्मान पत्र प्रदान गरेका थिए । यसैगरी जिल्ला समन्वय समितिले आफ्नो छैठौं जिल्ला सभामा जिल्लाका विभिन्न संघ संस्था तथा व्यक्तिलाई समेत सम्मान गरेको छ ।
तेस्राे पटक पनि प्रथम भएपछि पारदर्शि रूपमा काम गर्ने प्रेरणा मिलेकाे थाहा नगरका प्रमुख लवशेर विष्टले प्रतिकृया दिए ।
मकवानपुर / बागमती प्रदेश युवा परिषद्को कार्यालयको आयोजना तथा जिल्ला युवा समिती मकवानपुरको संयोजनमा हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषदले रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । रक्तदान कार्यक्रमको बागमती प्रदेशका सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले युवाहरु मानविय सेवामा समर्पित हुँदै देश विकासको महान अभियानको नेतृत्व गर्नुपर्ने बताइन् । उनले युवाहरुको सर्वाङ्गिण विकास र परिचालन गर्नको लागि युवा परिषदको स्थापना गरीएको बताउँदै युवा वर्गको समुचित विकास, परिचालन र सहभगितामा नै सीप, पुँजी र प्रविधिका साथै युवाशक्तिलाई समयको गतिसँगै परिचालन गर्न परिषदलाई निर्देशन दिइन् ।
जिल्ला युवा समिती मकवानपुरका अध्यक्ष शिबहरि दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईं, मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठानका रजिस्ट्रार राजेश प्रसाईं, सदस्य उत्सब चौलागाईं, नेपाल रेडक्रस सोसाइटी मकवानपुरका कोषाध्यक्ष पिताम्बर बास्तोलाल लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रममा ३३ जना रक्तदाताहरुले रक्तदान गरेको जिल्ला युवा समिती मकवानपुरका अध्यक्ष दाहालले जानकारी दिए ।
“खाद्य प्रणालीमा रुपान्तरण,मानव र भुमण्डलीय स्वास्थ्यको लागि युवा नवप्रवर्तन “भन्ने नारा सहित यस बर्षको अन्तर्राष्ट्रिय युवा दिवस मनाइदैछ ।
मकवानपुर। हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले चालु आर्थिक वर्षलाई खानेपानी चुहावट नियन्त्रणको वर्षको रुपमा मनाउने भएको छ ।
बोर्डले शुक्रबार पत्रकार सम्मेलन गर्दै पानीको माग र आपुर्तिलाई सहज सम्बोधन गर्नको लागि चुहावट नियन्त्रणको कार्य पनि अनिवार्य भएकोले आगामी आर्थिक वर्षमा चुहावटलाई सुन्यमा झार्ने योजना बनाएको बोर्डका निमित्त कार्यकारी निर्देशक सुदर्शन ढकालले बताए । बोर्डले हेटौंडा उपमहानगरपालिका क्षेत्रमा दैनिक १ करोड ५५ लाख लिटर पानी वितरण गर्दै आएको हो ।
आर्थिक वर्ष २०७७–०७८ को प्रगति विवरण तथा २०७८–०७९ को नीति कार्यक्रम तथा बजेट कार्यक्रम प्रस्तुत गर्दै बोर्डका निमित्त कार्यकारी निर्देशक ढकालले यस्तो याेजना सुनाएका हुन् ।हेटौंडा क्षेत्रमा रहेको १ लाख ३५ हजार जनताको लागि दैनिक ६ देखि ७ घण्टासम्म पानी वितरण गरिएको ढकालले बताए ।

पानीको आपुर्ति बढाउनको लागि रिचार्ज पोखरी निर्माणको योजना अगाडि सारेको भए पनि कोरोना महामारीको कारण काम हुन नसकेको बोर्डका अध्यक्ष प्रताप विष्टले बताए । “रिचार्ज पोखरी निर्माणको लागि उपर्युक्त समय फागुन चैत र बैशाख हो, तर यही समयमा कोरोना महामारी फैलिएको कारण योजना अनुसारको काम हुन सकेन” अध्यक्ष विष्टले भने “यो वर्ष जस्तो सुकै अवस्था आएपनि रिचार्ज पोखरी निमार्ण गरिने छ ।” हेटाैंडाकाे वडा न ७ र ८ काे चुरेक्षेत्रमा रिचार्ज पाेखरी निर्माण गर्ने याेजना रहेकाे विषटले बताए ।
बोडले हेटौंडा क्षेत्रको लागि भीमफेदी गाउँपालिकाको बुङ्दलबाट सतहगत पनि र नगरक्षेत्र भित्र २१ वटा डिप बोरिङ गरी पानी वितरण गर्दै आएको छ । गत आर्थिक वर्षमा बोर्डले ९ करोड १८ लाख ७२ लाख २ सय ३८ रुपैयाँ महशुलबाट सङ्कलन गरिएको बोर्डले जनाएको छ ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले नगरवासीको लागि पानीको माग पुरा गर्न आफूहरुले हरेक वर्ष बजेट विनियोजन गर्दै आएको बताए । नगरको विकट क्षेत्रमा खानेपानीको अझै पनि समस्या भएकोले चालु आर्थिक वर्षमा यस्ता क्षेत्रहरुमा पानी विस्तार गर्ने योजनामा नगरपालिकाले बोर्डसँग समन्वय गर्ने उनले बताए ।
मकवानपुर । बलात्कारपछि हत्या गरेको आशंका गरिएको बालिकाको परिवारलाई नगद र खाद्यान्न सहयोग गरिएको छ । पूर्वी मकवानपुर बागमती ७ की मृतक ४ स्वर्गीय रुविना पाख्रिनको परिवारलाई सहयोगीहरुबाट प्राप्त नगद ३१ हजार ५० रुपैंया र खाद्यान्न सहयोग गरिएको हो ।
आर्थिक रुपमा विपन्न रहेको परिवारलाइ बागमती प्रदेशकी निवर्तमान प्रदेश प्रमुख एवं माईती नेपालकी अध्यक्ष अनुराधा कोईरालाबाट प्राप्त १० हजार र जगत टिभीबाट संकलित २१ हजार ५० रुपैंया हस्तान्तरण गरिएको थियो । यस्तै हाल जापानमा रहेका मकवानपुरकी चेलीहरु शर्मिला लामा र प्रिया व्लोनबाट ५ बोरा चामल, तेल १ कार्टुन र मसला तथा अनुराधा कोईरालाबाट प्राप्त एक बोरा चामल, नुन, तेल, चना प्रदान गरिएको थियो ।
नगद सहयोग गर्नेमा जापानमै रहेका नेपालको पहिलो स्याटेलाइट निर्माता हरिश श्रेष्ठबाट ३ हजार, पोखराकी सुशिला श्रेष्ठबाट ३ हजार, मकवानपुरगढीकी गोमा लामाबाट २ हजार ५ सय साथै हेटौंडाकी रश्मी बस्नेत, फापरबारीका भीम परियार, बुढीचौर घर भई हाल दक्षिण कोरियामा रहेका गिरिजा न्यौपानेबाट जनही २ हजारसहित १३ जनाले सहयोग गरेका थिए ।
मकवानपुरको पूर्वी क्षेत्र वागमती गाउँपालिका ७, लामिटारस्थित रुविनाको घरमा पुगेर आमा सीतामायाँ पाख्रिन र बुवा शेरबहादुर पाख्रिनलाई नगद र खाद्यान्न सहयोग गरिएको हो । माईती नेपालकी मकवानपुर कार्यक्रम संयोजक मायाँ लामा, मन लामा र जगत टिभीका संचालक अशोकसुजन श्रेष्ठले नगद र खाद्यान्न हस्तान्तरण गरेका थिए ।
झण्डै ९ महिनाअघि मंसीर ३ गते साँझ रुविनाको रगतले लतपतिएको नग्न अवस्थामा शव भेटिएपछि बलात्कार र हत्या भएको अनुमान गरिएको थियो । रुविनाको बलात्कार र हत्या गरेको आरोपमा आफन्त नातापर्ने स्थानीय एक किशोरमाथि मकवानपुर जिल्ला अदालतमा मुद्धा चलिरहेको बताईएको छ ।
यसअघि रुविनाको परिवारलाई वागमती गाउँपालिकाबाट ५० हजार, पाख्रिन समाज चितवनबाट ५५ हजार, गाउँलेहरुबाट ३५ हजार, मञ्जुश्री असहाय संरक्षण केन्द्र मकवानपुरबाट १५ हजार रुपैंया लगायतले आर्थिक सहयोग गरेको परिवारले जनाएको छ । आफ्नो खेतमा उत्पादित अन्नले छ महिनामात्र खान पुग्ने भएकाले ज्याला मजदुरी गर्नुपर्ने अवस्था रहेकोले थप सहयोगको अपेक्षा गरेका छन् ।
मकवानपुर । मकवानपुर ५४ जना काेराेना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा थप ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइ थपिएकाे हाे ।
बुधबार १ सय १७ जनाको पीसीआर परीक्षणमा ४९ जना र २२ जनाकाे एन्टीजेन परीक्षणबाट ५ जना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । कार्यलयका अनुसार पुष्टि हुनेहरुमा सबैभन्दा बढी ४५ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । यसैगरि थाहा नगरका ३ जना,बागमती,मनहरी र भीमफेदीगाउँपालिकाका २/२ जना रहेका छन् । यो संगै जिल्लामा हालसम्म १४ हजार १ सय २२ जनामा कोरोना पुष्टि भएको छ ।
यसैगरि पछिल्लो २४ घण्टामा ७२ जनाले कोरोना संक्रमण निकाे भएका छन् । यो संगै जिल्लामा हालसम्म १२ हजार ९ सय ७ जनाले कोरोना निकाे भएका छन् ।
यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा हेटौंडा-७ का ७० वर्षीय र भीमफेदी-१ का ६१ वर्षीय पुरुष रहेका छन् । उनिहरु दुबैजनाको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । हेटौंडा-७ का पुरूषमा साउन १९ गते कोरोना पुष्टी भएको र साउन २० गते उपचारको लागि हेटौंडा अस्पतालमा भर्ना भएकोमा मंगलबार मृत्यु भएको कार्यलयले जनाएको छ ।
यसैगरि भीमफेदी-१ का ६१ वर्षीय पुरुषमा साउन ९ गते कोरोना पु्ष्टि भएको र साउन १० गते उपचारको लागि हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो । उनको आज बिहान उपचारको क्रममा मृत्यु भएको कार्यलयले जनाएको छ ।
यो संगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संखया १ सय ५२ पुगेको छ । जसमा हेटौंडा उपमहानगरपालिका का १ सय ९ जना, मनहरी गाउँपालिकाका ११ जना, थाहा नगरपालिकाका ९ जना, भीमफेदी गाउँपालिकाका ६ जना, मकवानपुरगढी गाउँपालिकाका ५ जना, बागमती र बकैया गाउँपालिकाका ४/४ जना, कैलाश र राक्सिराङ गाउँपालिकाका २/२ जना रहेका छन् ।
जिल्लामा हाल १ हजार १९ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा ९ सय ७३ जना घरमा र ४६ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
नेपालमा थपिए ३ हजार ४ सय ८१ जना काेराेना संक्रमित
नेपालमा ३ हजार ४ सय ८१ जना काेराेना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
१६ हजार ६ सय ५६ जनाको परीक्षण गर्दा ३ हजार ४ सय ८१ जना काेराेनाे भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ८ सय ८५ जना कोरोना संक्रमण निकाे भएका छन् । साेही समयमा कोरोनाको कारण ३० जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १० हजार १ सय ८० पुगेको स्वास्थ् मन्त्रालयकाे तथ्याङमा उल्लेख छ ।