मकवानपुर । शनिबार हेटाैडामा अञ्जन विष्ट नगद सहित सम्मानित भएका छन् । नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरले नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य विष्टलाई नगद सहित सम्मान गरेको हो ।
शनिबार हेटौंडा भएकाे कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्र बहादुर बानियाँले लोकतान्त्रिक खेलकुद संघ मार्फत अन्जनलाई २५ हजार रुपैया नगद सहित सम्मान गरेका हुन् ।
गत असाेज ३० गते शनिबार माल्दिभ्समा सम्पन्न १३ औ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाललाई पहिलोपटक उपविजेता बनाउँन उत्कृष्ट भूमिका खेलेको भन्दै अञ्जनलाई सम्मान गरिएको हो । संघका जिल्ला अध्यक्ष सविन भट्टाचार्यको सभाध्यक्षतामा सम्मान कार्यक्रम भएको हाे । कार्यक्रममा अञ्जनका बुवा राजु विष्टलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सन्त चेपाङ, नेपाली कांग्रेस मकवानपुरका सल्लाहाकार भरत पराजुली, जिल्ला सदस्य एवम खेलकुद विभाग प्रमुख सुनिल दाहाल, जिल्ला सदस्य सुशान्त श्रेष्ठ, सुनिल अधिकारी, क्षेत्रिय सभापति यतीराज सापकोटा निवर्तमान नगरसभापति आनन्दराम पराजुली, नेविसंघका अध्यक्ष राजु खतिवडा, संघका उपाध्क्ष सर्मिला श्रेष्ठ लागयतकाे उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी अन्जन विष्ट हेटौंडामा सम्मानीत भएका छन् । सचेत नागरिक युवा समुह हेटाैडा र सामुदायिक सेवा उपकेन्द्र तथा सामुदायिक प्रहरी उपकेन्द्रले संयुक्त रुपमा मकवानपुरे फुटबल खेलाडी विष्टलाई सम्मान गरेको हो ।
१३ औं साफ च्याम्पियनसिप फुटबबल प्रतियोगितामा नेपाललाई फाइनलमा पु¥याउन उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै अन्जनलाई सम्मान गरिएको हो । अन्जनले साफकाे फाइनल खेल खेल्न नपाएपनि समुह चरणको खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपाललाई साफ च्याम्पियनशिपको फाइनलमा पु¥याएका थिए । अन्जनले देशलाई चिनाउन महत्वपूर्ण भूमिका खेलेको र मकवानपुरे नागरिक हौं भन्न गर्व अनुभव भएको सचेत नागरिक युवा समुहका अध्यक्ष शिव नारायण श्रेष्ठले बताए ।
कार्यक्रममा अन्जन विष्टका बुवा राजु विष्टलाई समेत सम्मान गरिएको थियो । यस्तै साफ फुटबलमा सहभागी नेपाली राष्ट्रिय टिमका अर्का मकवानपुरे खेलाडी सुनिल बललाई समेत सम्मान गर्ने बताइएकाे छ । शुक्रबारकाे सम्मान कार्यक्रममा सुनिल काठमाडौं रहेका कारण उनलाई अर्को पटक सम्मान गरिने सामुदायिक सेवा उपकेन्द्र तथा सामुदायिक प्रहरी उपकेन्द्र हेटौंडाका अध्यक्ष प्रदिप कंडेलले जानकारी दिए ।
मकवानपुर । सडक मर्मत गर्न उपमहानगरपालिकाकाे ध्यानाकर्षण गराइएकाे छ । सचेत नागरिक युवा समुहले हेटौंडा उपमहानगरपालिकालाई हेटाैडाकाे पारिजातपथ मर्मत गर्न ध्यानाकर्षण पत्र बुझाएको छ ।
हेटौंडा–४ परिजात पथ सडकखण्डमा रहेको खाल्डाहरु मर्मत गर्न भन्दै शुक्रबार हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामालाई ध्यानाकर्षण पत्र बुझाइएको हो । सचेत नागरिक युवा समुह हेटौंडाका अध्यक्ष शिवनारायण श्रेष्ठसहितकाे टोलीले परिजातपथकाे कर्भड हल देखि सितल महल चोकसम्मकाे सडकका खाल्डो मर्मत गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।
नेपालीहरुको महान चाड तिहार, छठ र ल्होसार जस्ता मुख्य चाडपर्वहरु नजिकिदै गर्दा यस सडक खण्डमा सवारी साधनहरुको चाप बढ्ने र सडक बिग्रिएका कारण दुर्घटना हुन सक्ने भन्दै ध्यानाकर्षण बुझाएको सचेत नागरिक युवा समुह हेटौंडाका श्रेष्ठ बताए ।

मकवानपुर । नेपाली कांग्रेस मकवानपुर सदस्य अर्जुन दाहाल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । शुक्रबार एक कार्यक्रमकाबीच पार्टीका केन्द्रीय उपाध्यक्ष केदार न्यौपानेले टिका र खादा लगाएर दाहाललाई स्वागत गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै दाहालले नेकपा एकीकृत समाजवादी पार्टी लोकतन्त्र र संविधानको रक्षाको लागि सदैव प्रतिवद्ध रहेको बताए ।
‘नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेकाहरु अवसरभन्दा माथि उठ्नु भएको छ । त्यसकारण म प्रभावित भएँ ।’ उनले भने । उनले आफु कांग्रेसमा रहँदा पनि देश जनता र पार्टीप्रति इमान्दार भएको बताउँदै अब नेकपा एकीकृत समाजवादीमार्फत् जनताको घर दैलोसम्म पुग्ने बताए । अवसर नपाएर पार्टी त्यागेको आरोप आफुमाथि भएपनि त्यसमा सत्यता नभएको उनले बताए । कांग्रेसमा रहँदा सहयोग गर्ने सबैलाई उनले धन्यवाद समेत दिए ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज ललित बस्नेत, केन्द्रीय सदस्य एवम् मकवानपुर सह–इन्चार्ज मुनु सिग्देल र सुर्यचन्द्र न्यौपानेलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम नेकपा (एस) मकवानपुर अध्यक्ष श्रीधर पोखरेलको सभाध्यक्षतामा भएको हो ।
मकवानपुर । मकवानपुर प्रहरीले विभिन्न मुद्दामा फैसला बमाेजिम कैद तथा जरिवाना भुक्तान नगरेका ८ जना प्रतिवादी पक्राउ गरेकाे छ । मकवानपुर जिल्ला अदालतकाे विभिन्न मितिकाे फैसलाले चेकअनादर मुद्दाका ३ जना, सवारी ज्यान मुद्दाका २ जना , लागुऔषध मुद्दाका २ जना र बैदेशिक रोजगार न्यायाधिकरणकाे फैसलाले वैदेशिक राेजगार ठगी मुद्दाका १ जना समेत गरी ८ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेकाे हाे ।
मकवानपुर जिल्ला अदालतको २०७८ बैशाक १६ गतेको फैसलाले चेक अनादर मुद्दामा २ हजार जरिवाना तोकिएका फरार प्रतिवादी हेटाैडा उपमहानगरपालिका वडा नम्बर १२ का २३ वर्षिय उमेश वि.क. २२ वर्षिय श्याम वि.क. र २२ वर्षिय विशाल भन्ने हरि वि.क. पक्राउ परेका छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा १२ बाट पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
यसैगरी मकवानपुर जिल्ला अदालतको २०६८ चैत २६ गतेको फैसलाले सवारी ज्यान मुद्दामा १ महिना ३ दिन कैद र २ हजार जरिवाना तोकिएका फरार प्रतिवादी बसामाडी १ नेवारपानी हाल हेटाैडा उपमहानगरपालिका १९ बस्ने वर्ष ३१ लक्ष्मण बहादुर गोले पक्राउ परेका छन् । गाेलेलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटाैडा १९ (बसामाडी) बाट पक्राउ गरिएकाे प्रहरी निरीक्षक दासले बताए ।
यस्तै मकवानपुर जिल्ला अदालतको २०७६ मंशिर १० गतेको फैसलाले सवारी ज्यान मुद्दामा ४ महिना ३ दिन कैद सजाय भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी हेटौडा उपमहानगरपालिका वडा नं. १५ बस्ने वर्ष २४ को प्रदिप प्रजा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा वडा नं. १५ स्थितबाट प्रजालाई पक्राउ गरिएकाे प्रहरीले जानकारी दिएकाे छ ।
बैदेशिक रोजगार न्यायाधिकरणको २०७६ बैशाक १७ गतेको फैसलाले बैदेशिक रोजगार ठगी मुद्धामा १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी मनहरी गाउँपालिका वडा नं. ३ हाँडीखोला घर भई हाल जिल्ला काठमाडौं २६ बस्ने वर्ष ४९ कुमार प्रसाद पौडेल पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मनहरी ३ बाट पाैडेललाई पक्राउ गरिएकाे हाे ।
मकवानपुर जिल्ला अदालतको २०७७ चैत ९ गतेको फैसलाले लागुऔषध मुद्धामा ७ महिना १३ दिन कैद भुक्तान गर्न बाँकी फरार प्रतिवादी हेटौडा उपमहानगरपालिका वडा नं. १५ बस्ने बर्ष ५८ को राम बहादुर बल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा १५ स्थितबाट बललाई पक्राउ गरिएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
यसैगरी निमित्त प्रवक्ता दासका अनुसार मकवानपुर जिल्ला अदालतको २०७७ फागुन २६ गतेको फैसलाले लागुऔषध मुद्धामा १ बर्ष ११ महिना ७ दिन कैद भुक्तान गर्न बाँकी फरार प्रतिवादी मकवानपुरगढी गाउँपालिका वडा नं. ४ बस्ने बर्ष ६८ को बिष्णु लाल रुम्बा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुरगढी ४ स्थितबाट रूम्बालाई पक्राउ गरिएकाे हाे ।
पक्राउ परेका ८ जनालाई आवश्यक कारवाहीको लागि कार्तिक ४ गते जिल्ला अदालत मकवानपुर उपस्थित गराईएको समेत मकवानपुर प्रहरीले जनाकारी दिएकाे छ ।