मकवानपुर । मकवानपुर जिल्ला र सिन्धुली जिल्लालाई यातायत संजालमा जाेड्ने बागमती पुल माघबाट संचालन हुने भएकाे छ । पूर्वी मकवानपुरको बागमती गाउँपालिका र सिन्धुली जोड्ने पुल निर्माणमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले निर्माणमा चासोका साथ अनुगमन गरेका छन् ।
निरीक्षण क्रममा निर्माण कम्पनीले यातायात सञ्चालन भएको र हेटौँडा आउन सबैभन्दा छोटो दूरीको मार्ग जोडिएको जनाएको हो । ठेक्का लागेको १० वर्ष पछी पुलबाट आवतजावत गर्न पाइने भएकाे हाे । याे सँगै माघ १२ गते हेटौँडामा हुने राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशका दोलखा, रामेछाप र सिन्धुलीका जनप्रतिनिधि र प्रदेश सदस्यहरुले छोटो दूरीको बाटो हुँदै हेटौँडा आउन पाउने भएका छन् ।
अनुगमनक्रममा पुल निर्माण कम्पनी स्वच्छन्द निर्माण सेवाका जयराम लामिछानेले पुलमा सामान्य यातायात सञ्चालन हुन सक्ने बताए । लामिछानेले भने ‘यातायात सञ्चालनमा समस्या छैन, पुलमा सामान्य कालोपत्रे र पुलसँगै केही ड्याक बनाउने काम चाँडै सकिने छ । ३ वर्षसम्म अर्कै कम्पनीले काम गर्छु भनेर ढाँट्दा आफू पनि समस्यामा परेकाेमा अब काम करिब करिब सकिएको उनले बताए ।’ पुल निर्माणको लागि फाउन्डेसन नै बदल्नु परेकाले पनि निर्माणमा ढिलाइ भएको लामिछानेले बताए । पुल निर्माणका लागि चैत मसान्तसम्म म्याद थपिएको र काम सकेर वैशाख १५ गते पुल शिलान्यास गर्नका लागि हस्तान्तरण गर्न आफू तयार रहेको लामिछानेले बताए ।
‘दोलखा, रामेछाप र सिन्धुलीका जनप्रतिनिधि र प्रदेश सदस्यहरु यही छोटो बाटो हुँदै माघ १२ गते हेटौँडामा हुने राष्ट्रिय सभा निर्वाचनमा भोट हाल्न आउन सक्छन् ?’ मुख्यमन्त्रीको प्रश्नमा लामिछानेले भने, ‘कालोपत्रेका लागि १ दिन पुल बन्द हुन सक्छ, नत्र यातायात रोकिन्न ।’ मदन भण्डारी राजमार्ग अन्तर्गत बागमती नदीमा पुल निर्माणको ठेक्का लागेको १० वर्ष ६ महिना पुगेको छ । निर्माण कम्पनीले ३ वर्ष भित्र काम सक्नेगरी २०६८ असार २९ गते २० करोड ६२ लाख रुपैयाँमा सम्झौता गरेको थियो ।
मकवानपुर । नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष एवम् बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मकवानपुरको बागमती गाउँपालिकाको पार्टी कार्यालय निरीक्षण गरेका छन् ।मंगलबार पूर्वी मकवानपुरको कार्यक्रममा सहभागी हुने क्रममा मुख्यमन्त्री पाण्डेले बागमती गाउँ पार्टी कार्यालय निरीक्षण गरेका हुन् ।
निरीक्षणक्रममा पार्टीका गाउँ कमिटी इञ्चार्ज खड्गबहादुर पुलामी, अध्यक्ष धनपति तिमिल्सिना, युवा संघ अध्यक्ष नवराज खनाल प्रयासलगायतले स्वागत गरेका थिए । अध्यक्ष तिमिल्सिनाले बागमती गाउँपालिकामा २०३२ सालदेखि नापी भएर पनि जनताले पूर्जा पाउन नसकेको लगायतका गाउँको समस्या मुख्यमन्त्रीलाई अवगत गराएका थिए । मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारबाट हुन सक्ने सहयोग गरिने बताए ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१८ हर्नामाडीमा भक्तबहादुर श्रेष्ठको शालिक अनाबरण गरिएकाे छ । २ दशक बढी भूमिगत जीवन बिताएका भक्तबहादुर श्रेष्ठ ‘शेरसिंह’को अर्धकदको शालिक हर्नामाडी गुम्बाडाँडा स्थित श्यामप्रसाद स्मृति प्रतिष्ठान परिषरमा मंगलबार अनावरण गरिएको हाे ।
हेटाैडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले शालिक अनावरण गर्दै भक्तबहादुर आफूहरुकाे गुरु रहेकाेले श्रेष्ठकाे देहबसान भएकै दिनमा शालिक अनावरण गर्न पाउँदा अत्यन्त खुसी लागेको बताए । स्वर्गिय श्रेष्ठको शालिक निर्माण र फाउण्डेशन निर्माणका लागि हेटौंडा उपमहानगरपालिका र बागमती प्रदेश सरकारले सहयोग गरेको थियो ।
कार्यक्रममा हेटौंडा–१८ का वडा अध्यक्ष अनिल बानियाँले भक्तबहादुरको शालिक आफ्नो वडामा राख्न पाउँदा अत्यन्तै खुसी लागेको बताए । कार्यक्रममा गुम्बाडाँडा व्यावस्थापन समितिका अध्यक्ष हर्क रम्तेल, बागमती प्रदेश पत्रकार महासंघका निवर्तमान अध्यक्ष प्रताप विष्ठ, भक्तबहादुरका भतिज दिनेश श्रेष्ठ लगायतकाले उनकाे योगदानको चर्चा गरेका थिए ।
भक्तबहादुर श्रेष्ठ ‘शेरसिंह’ संक्षिप्त जीवनी
१९९० असोज ३ गते मकवानपुरगढीमा जन्मिएका श्रेष्ठको मृत्यु २०६८ पुस २७ गते भएकाे थियाे । दुई दशकभन्दा बढी समय भूमिगत जीवन बिताएका श्रेष्ठले २००७ सालदेखि मकवानपुरगढीमा स्वग्राम सुधार जनसंगठन परिषद् गठन गरेर गाउँको शोषण, अत्याचार र जातीय विभेदविरुद्धका काम अगाडि बढाएका थिए । परिषद्ले गाउँमा जुवातास खेल्न बन्द गरायो । गाउँलाई साक्षर बनाउन प्रौढ शिक्षा सञ्चालन गर्यो । साथै सानातिना झैझगडा मिलाउन र न्यायनिसाफका लागि पनि परिषद् लाग्यो । पुस्तकालय स्थापना गर्यो । यसरी परिषद्ले गाउँलेहरूको मन जित्न थाल्यो ।
विभिन्न धारामा विभाजित कम्युनिस्ट नेता मोहनविक्रम सिंह, मोहन वैध, निर्मल लामा, प्रचण्ड, सीपी गजुरेल, नारायणकाजी श्रेष्ठ, नेत्रविक्रम चन्द, ईश्वरी दाहाल, रामबहादुर थापालगायत सँगोलमा भएको बेलामै नेकपा चौथो महाधिवेशनको महामन्त्री थिए— भक्तबहादुर श्रेष्ठ ‘शेरसिंह’ ।
परिषद्ले २०१० सालमा किसानको मोहियानी हक कायम गर्ने, पर्ती जमिन सुकुम्बासी र किसानहरूलाई वितरण गर्ने र छाक काटेर कर्जा नतिर्ने अभियान चलायो । यस अभियानले यस क्षेत्रका बासिन्दालाई जागरुक बनाउनुका साथै सामन्तहरूविरुद्ध घृणा उत्पन्न गरायो । श्रेष्ठकै अगुवाइमा २०१२ सालमा साबिकको हटिया गगटेमा सय बिघा जमिनमा बस्ती बसाउने काम भएको थियो । किसान आन्दोलनबाटै उनी कम्युनिस्ट पार्टीको महामन्त्री बन्न सफल भए ।
यसबाहेक, गाउँकै विद्यालयमा अंग्रेजी, गणित र नेपाली विषय पढाउँथे, उनी । उनको अक्षर अत्यन्त सुन्दर र पढाउने कला पनि राम्रो थियो । त्यति बेलाका उनका विद्यार्थी दिनेश श्रेष्ठ भन्छन्— ‘साहिँला बाले बुझ्ने गरी पढाउनुहुन्थ्यो ।’ उनलाई गाउँलेहरूले ‘माडसाब’ र ‘साहिँला बा’ भनेर सम्बोधन गर्थ्ये । २०११ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका श्रेष्ठ पटक–पटक गरी ८ वर्ष जेल परे ।
जब उनी चौथो महाधिवेशनको महामन्त्री बने तबदेखि पञ्चायती शासकले व्यापक खोजी गर्न थाल्यो । त्यही क्रममा २०४० सालमा पक्राउ पनि परे । त्यति बेला उनले लामै समय जेलमा बस्नुपरेको थियो । सरल जीवनशैलीका श्रेष्ठ व्यावहारिक र दूरदर्शी नेता थिए । भद्रगोल जेलबाट दिएको प्रवेशिका परीक्षामा उनी प्रथम श्रेणीमा उत्तीर्ण भएका थिए । यसबाहेक श्रेष्ठको औपचारिक शिक्षा भने थिएन । अनाैपचारिक लेख्न–पढ्न भने गरिरहे । उनीसँग वीरगन्ज जेलमा बसेका विरोध खतिवडा भन्छन्, ‘अरूले एक पन्ना पढ्दा श्रेष्ठ काका १० पाना पढिसक्थे, जेलमा सबै साथी सुतेपछि रातभरि पढ्ने–लेख्ने गर्थे ।’
यस्तै जाँगरका कारण श्रेष्ठले राजनीतिक, आर्थिक र सांस्कृतिक विषयमा अनेक पुस्तक लेखे । जेल बस्दा कार्ल मार्क्सको ‘पुँजी’ को नेपालीमा उल्था पनि गरेका थिए । अंग्रेजी र हिन्दी भाषामा उनको दखल थियो । केहीअघि मोहनविक्रम सिंहले कम्युनिस्ट आन्दोलनको शीर्ष नेताहरूमध्येका एक श्रेष्ठ भएको बताएका थिए । हुन पनि, उनका सहयात्री सिंहले शीर्ष भन्ने आधार छन्— एक त उनी कम्युनिस्ट आन्दोलनको सुरुआती चरणदेखि नै सक्रिय थिए, अर्को यसै आन्दोलनमा जीवन बिताए । साहित्यमा पनि उनको दखल थियो । बेलाबेलामा कविताबाट आफ्ना विचार सार्वजनिक गर्थे पनि ।
एकै गाउँमा जन्मेका सँगैसँगै समाज सुधार र राजनीतिकर्म गर्दै आएका बद्रीप्रसाद खतिवडाले श्रेष्ठले नेपाली वामपन्थी आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याए पनि उनको उचित मूल्यांकन हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् । सरकारको नेतृत्वमा पटक–पटक वामपन्थीहरू पुगे तर उनका बारे चासोचिन्ता लिएनन् ।
उनको जीवन खुला किताबजस्तो थियो । परिवर्तनका लागि जीवन उत्सर्ग गरेका श्रेष्ठमा व्यक्तिगत लालसा अलिकति पनि थिएन । उनले राजनीतिलाई कमाईखाने भाँडो कहिल्यै बनाएनन् । ‘सादा जीवन र उच्च विचार’ को भावनाबाट अलिकति पनि विचलित नभई बाँचे । कथनी र करनीमा एउटै आदर्श सँगालेका श्रेष्ठ परिवर्तनकारीका निम्ति प्रेरणाको स्रोत हुन् । मृत्यु भएको एक दशकपछि उनको अर्धकदको सालिक जन्मेको गाउँनजिकै अनावरण गरिएकाे छ ।
मकवानपुर । मकवानपुरकाे राक्सिराङ गाउँपालिकाका विपन्न चेपाङ तथा तामाङ समुदायका जाडोबाट प्रभावित ४ सय ७५ घरपरिवारलाई सोमबार न्यानो कपडा वितरण गरिएको छ। नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको सहयोगमा राक्सिराङ ४ रतुवाका विपन्न चेपाङ तथा तामाङ परिवारलाई न्यानो कपडा (कम्वल) वितरण गरिएको हाे ।
रतुवाका ४ सय ७५ घरपरिवार सँगै राक्सीराङकै सुर्योदय माविको छात्रावासका विद्यार्थीहरुलाई ४० थान न्यानो कपडा कम्वल वितरण गरिएको हाे । १ सय ८५ थान न्यानो कपडा अवस्था हेरेर स्थानीयलाई वितरण गर्ने गरी कांग्रेस राक्सिराङ गाउँपालिका सभापति बीरेन्द्र जिम्बालाई हस्तान्तरण गरिएको छ ।
‘आफूले निर्वाचन जितेपछि राक्सिराङका जनतालाई सकेकाे सहयोग गरिरहेकाे छु‘ कपडा वितरण कार्यक्रममा बोल्दै नेता बानियाँले भने– ‘आउने दिनमासमेत दिलोज्यान दिएर जनताको सेवामा लागिरहने प्रतिबद्धता व्यक्त गर्दछु ।’
न्यानो कपडा वितरण कार्यक्रममा प्रतिनिधिसभा २ का संघीय सभापति लोक मोक्तान, काठमाडौं क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति कबिर शर्मा, महाधिबेशन प्रतिनिधि उपेन्द्र कार्की, कांग्रेसका जिल्ला सदस्य एवं राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, जिल्ला सदस्य एवं राक्सीराङ ८ का वडाअध्यक्ष रामकृष्ण प्रजा, राक्सिराङ गाउँपालिका सभापति बिरेन्द्र जिम्बा, मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, राक्सिराङ गाउँपालिका उपाध्यक्ष निर्मला हिमडुङ, राक्सिराङ गाउँपालिका ४ का तरुण सभापति हिरालाल भ्लोनलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कांग्रेस राक्सिराङ गाउँपालिका ४ का वडा सभापति विकास ब्लोनको सभाध्यक्षता तथा कांग्रेस बागमती प्रदेश सभापति बानियाँको प्रमुख आतिथ्यतामा भएकाे हाे ।
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ मास्टरचोकबाट अवैध लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा सुनसरी घर भई हाल हेटौंड–९ मास्टरचोकस्थित शंकर केसीको घरमा डेरा गरी बस्ने २५ वर्षीय बिशाल बिक, २० वर्षीय राज खत्री, २३ वर्षीय रोमन थापा मगर, २१ वर्षीय निरन राई, २२ वर्षीय प्रजेन महर्जन र हेटांैडा–१० बस्ने १८ वर्षीय सुमित कुमार बानियाँ रहेका छन् ।
उनीहरुलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले उक्त घरमा बस्ने बिशाल विकको कोठा चेकजाँच गर्दा नाइट्राजेपाम ९७ ट्याब्लेट, नेमाडोल १४८ क्यापसुल, स्टगन १६ ट्याब्लेट, सिओना २ १२ ट्याब्लेट र १६ ग्राम गाँजा बरामद गरेपछि निजहरुलाई पक्राउ गरेको प्रहरी निरीक्षक सापकोटाले बताए ।
पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको मकवानपुर प्रहरीले जनाएको छ ।