मकवानपुर । सहिद दिवसको अवसरमा सोमबार रक्तदान कार्यक्रम भएको छ । हेटौंडाको बुद्धचोकमा भएकाे रक्तदान ३० जनाले रक्तदान गरेको रक्तसंचार केन्द्र हेटौंडा शाखाले जनाएकाे छ ।
अनेरास्ववियु जिल्ला कमिटी मकवानपुरको आयोजना तथा रक्तसंचार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएकाे हो । रक्तदान कार्यक्रम अनेरास्ववियु जिल्ला कमिटी मकवानपुरका अध्यक्ष भुवन मैनालीको सभाध्यक्षता तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा भएको थियो । सहिद दिवसको अवसर भएकाे रक्तदानमा मैनालीले रगतको अभाव हुन नदिन र बिरामीको सेवामा सहयोग पुर्याउन कार्यक्रम आयाेजना गरिएकाे बताए ।
कार्यक्रममा बागमती प्रदेशका श्रम तथा रोजगार मन्त्री एकलाल श्रेष्ठ, प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौलागाई लगायतको उपस्थिति रहेको थियो । यसैगरि आइतबार नै नर्सिङ दिवसको अवसरमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आयोजना गरेकाे रक्दान कार्यक्रममा २१ जनाले रक्तदान गरेको रक्तसंचार केन्द्र हेटौंडाले जनाएकाे छ ।
मकवानपुर । मकवानपुरकाे हेटाैडामा लागूऔषधको लतमा लागेकालाई तालिम सचालन गरिएकाे छ । लागुऔषधकाे लत पछि सुधार केन्द्रमा रहेका युवालाई लक्षित गर्दै हेटौंडामा विद्युत जडान तालिम सुरु भएको हाे ।
हेटौंडा उपमहानगरपालिकाको सहयोगमा व्यवसायीक तथा सीप विकास तालिम केन्द्र र मकवानपुर रिकभरी समूहले सञ्चालन गरेको तालिमको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले उद्घाटन गरेकी हुन् ।
नगर प्रमुख लामाले बिद्युत जडान तालिममा लागेकालाई रोजगारीको व्यवस्था मिलाउनका लागि उपमहानगरपालिका तयार रहेको बताइन् । रिकभरी समूह अध्यक्ष सुरज बिक्रम राणाको सभाध्यक्षतामा तीन महिने तालिम उद्घाटन कार्यक्रम भएकाे हाे ।
सुधार केन्द्रमा रहेका ३६ जना मध्ये २० जना तालिममा सहभागी छन् । व्यवसायीक तथा सिप विकास तालिम केन्द्रका शम्भु आचार्यले प्रशिक्षण दिनेछन्।
मकवानपुर । निर्माण व्यवसायी संघ मकवानपुरको अध्यक्षमा बालगोपाल कंडेलले उम्मेदवारी घोषणा गरेका छन् । संघको माघ २८ र २९ गते हुने अधिवेशनले नयाँ नेतृत्व चयन समेत गर्ने भएकोले कडेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।
संघको २३ औं साधारणसभा तथा ११ औं अधिवेशनबाट नेतृत्व गर्ने लक्ष्यसहित उनले आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै अध्यक्ष पदमा उम्मेदवारी रहने बताएका हुन् । कडेल संघको वर्तमान कार्यसमितिको प्रथम उपाध्यक्ष समेत हुन ।
‘निर्माण व्यवसायीको क्षेत्रमा रहेको समस्या बारे म अवगत नै छु । अहिले देशव्यापी रुपमा रहेको आर्थिक मन्दीबाट हाम्रो पेशा पनि अछुतो रहेको छैन’, कंडेल भने, ‘ निर्माणको क्रममा राज्यबाट हुने असहयोग, कच्चा पदार्थको अभाव, निर्माण सामग्रीको बढ्दो मूल्यवृद्धिको मारमा हामी सधैं परिरहेका छौं ।’
लामो समयदेखि निर्माण व्यवसायमै आबद्ध रहँदै आएकोले मैले यस क्षेत्रको समस्या र सम्भावनालाई नजिकबाट बुझेको छु । निर्माण व्यवसाय क्षेत्रको समस्या समाधान गर्दै यस पेशालाई थप मर्यादित र जिम्मेवार बनाउने प्रतिबद्धता व्यक्त गर्दछु ।’ उनले उम्मेदवारी घोषणा गर्दै भने ।
२०५२ सालदेखि निर्माण व्यवसाय क्षेत्रमा संलग्न रहेका कंडेल २०५८ सालमा निर्माण व्यवसायी संघको कार्यसमिति सदस्य भएका थिए । कंडेलले हालसम्म तृतीय, द्वितीय र प्रथम उपाध्यक्ष पदमा रहेर काम गरिसकेका छन् । उनले सहयोगका लागि निर्माण व्यवसायीमा अपिल समेत गरेका छन् । कंडेल हाल मेरिना कन्स्ट्रक्सन कम्पनी प्रालिका अध्यक्ष हुन् ।
कंडेलले सहमतिमा नेतृत्व चयन हुने सम्भावनाका कारण प्यानल घोषणा नगरिएको र सहमति नभएको खण्डमा चुनावमा जान आफू तयार रहेको बताए । संघको अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।
मकवानपुर । हेटौंडाकै पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुर १०१ दशमलव ३ मेगाहर्जको १३ औं बार्षिकोत्सवमा सप्ताहव्यापी कार्यक्रम आयोजना हुने भएको छ । रेडियो माघ १६ गतेबाट १३ औं बर्षमा प्रवेश गर्दैछ । साेही अवसर पारेर विविध कार्यक्रम गरी बार्षिकोत्सवमा मनाउन लागिएकाे रेडियाे संचालक समितिले जनाएकाे छ ।
गत बर्षहरुमा झैं यस बर्षपनि माघ १६ गतेदेखि २२ गतेसम्म विविध सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी बार्षिकोत्सव मनाउन लागिएको रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीले जानकारी दिए । १६ गते रेडियोमै सहिद दिवसको सन्दर्भमा रचना वाचन तथा अन्तरक्रिया, १७ गते श्रीमद् भागवत ज्ञान सञ्चार बृद्धाश्रम हेटौंडा १७ मा खाद्यान्न सहयोग, १८ गते रेडियोकै प्राङ्गणमा रक्तदान, १९ गते बालअधिकार विषयक विद्यालयस्तरीय कविता प्रतियोगिता हुनेछ ।
यस्तै माघ २० र २१ गते रेडियो मकवानपुर कप फुटसल प्रतियोगिता, २१ गते शनिबार मनहरी गाउँपालिका ४ मा बृहत निःशुल्क स्वास्थ्य शिविर र २२ गते बार्षिकोत्सव समापन तथा दुईजनालाई सामुदायिक सम्मान र पुरस्कार वितरण कार्यक्रम हुने पराजुलीले बताए । कविता प्रतियोगिताको विजेताले क्रमशः नगद १० हजार, ७ हजार र ५ हजार सहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै रेडियो मकवानपुर कप फुटसलको विजेता र उपविजेतालाई नगदसहित पुरस्कारको व्यवस्था रहेको रेडियो मकवानपुरका प्रवन्ध निर्देशक आशिष दुलालले जानकारी दिए । रेडियोले बार्षिकोत्सवको अवसरमा दुईजनालाई जनही नगद १० हजार सहित सामुदायिक सम्मान र तीजको सन्दर्भमा दुई महिलालाई जनही नगद १० हजार रुपैयाँसहित जागरुक महिला सम्मान प्रदान गर्दै आएको छ ।
दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो मकवानपुरको बार्षिकोत्सव समापन सहकारीको स्थापनाको दिन हुनेछ ।
मकवानपुर । सिकाईलाई केन्द्रबिन्दु मानेर प्रबिधिमैत्री पठनपाठन आवश्यकता रहेकाे बताइएकाे छ । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्न विद्यालयका प्रधानाध्यापकसँग हेटाैडामा भएकाे अन्तरक्रियामा सामाजिक विकास मन्त्रालयका सचिव रामशरण सापकोटाले उक्त कुरा बताएका हुन् ।
सापकाेटाले प्रविधिमैत्रीसँगै विद्यालयमा विद्यार्थी केन्द्रित सिकाईलाई केन्द्रबिन्दु मानेर पाठ्यक्रममा आधारित शिक्षणमा जोड दिन समेत आग्रह गरेका छन् । शिक्षा विकास तथा समन्वय ईकाई हेटौंडाको आयोजनामा गरिएको अन्तरक्रियामा प्रधानाध्यापकका सम्बन्धमा ऐन, नियमावली तथा निर्देशिकामा भएका ब्यवस्थाहरु, विद्यालयमा देखिएका चुनौती, विद्यालय शिक्षाको गुणस्तर सुधारका उपाय सम्बन्धमा अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रममा शिक्षा विकास निर्देशनालयका निर्देशक पूर्णबहादुर दर्जीले सामुदायिक विद्यालयका प्रधानाध्यापक सक्रिय भएमा विद्यालयकाे शिक्षामा सुधार ल्याउन सकिने बताए। शिक्षा क्षेत्रमा लामाे समय काम गरी सेवानिबृत्त भएका डा. तोयानाथ खनालले सहजीकरण गरेकाे अन्तरक्रियामा राट्रिय शिक्षानीति २०७६, विद्यालय शिक्षा सम्बन्धी नीतिगत चुनौती, विद्यालय शिक्षामा सुधारका उपायका बारेमा बिभिन्न जिल्लामा भएका अभ्यासकाे जानकारी गराएका थिए ।
कार्यक्रममा डिभिजन बनकार्यालय राप्तीका प्रमुख बिष्णुप्रसादआचार्यले संरक्षण शिक्षासम्बन्धी वन कार्यालय राप्ती, मनहरीले प्रकाशन गरेको वातावरण शिक्षा पुस्तककाे जानकारी दिंदै सो पुस्तकलाई सबै विद्यालयमा पठनपाठन गर्न आग्रह गरेका थिए । मकवानपुरलाई सालकको जिल्लाका रुपमा परिचित गराउन र सालक संरक्षणमा बालबालिकामार्फत् अभिभावकसम्म जानुपर्ने आचार्यले बताए ।
शिक्षा विकास तथा समन्वय ईकाई हेटाैडाका प्रमुख दिनानाथ गौतमको सभाध्यक्षता र जिल्ला समन्वय समितिकाअध्यक्ष ललित घलानको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमतीका उपसचिव बद्री बहादुर पाठक, राष्ट्रिय परीक्षा बोर्ड हेटौंडा प्रमुख कृष्णप्रसाद घिमिरे, हेटाैडा उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गंगाधर रिमाल र मकवानपुरका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।
