मकवानपुर । लर्डबुद्ध एजुकेसन फाउन्डेसन (एलबिइएफ) र द एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (एक्यान)बीच एक समारोहमा शैक्षिक सहकार्यका लागि समझदारी भएको छ । शुक्रबार एलबिइएफका अध्यक्ष पंकज जालान र एक्यानका अध्यक्ष आनन्द शर्माले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
समझदारी अनुसार लर्डबुद्ध एजुकेसन फाउन्डेसन अन्तर्गतको कलेज फर प्रोफेसनल स्टडिजमा सञ्चालित मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटीको ‘एमबिए’ कार्यक्रममा अध्ययन गर्ने एक्यानका सदस्यलाई ट्युसन फीमा २५ प्रतिशत छात्रवृत्ति उपलब्ध हुनेछ । छात्रवृत्ति एक्यानको सिफारिसको आधारमा उपलब्ध गराइने छ ।
एमबिए कार्यक्रम वर्किङ प्रोफेसनलका लागि विकेन्ड मोडमा सञ्चालित रहेको कलेजले जनाएको छ । विकेन्ड मोडमा विद्यार्थीहरुले शुक्रबार र शनिबार मात्रै कलेज आउनुपर्ने हुन्छ । शुक्रबार बेलुका ४ः३० देखि ८ः३० बजेसम्म र शनिबार विहान ८ः०० देखि बेलुका ४ः०० बजेसम्म कक्षा सञ्चालन हुनेछ । शनिबार कलेजले दिउँसो खाना पनि उपलब्ध गराउने जनाएको छ ।
लर्डबुद्ध एजुकेसन फाउन्डेसनमा अध्ययनरत विद्यार्थीलाई एसिया प्यासिफिक युनिभर्सिटीका ११ वटा अनलाइन लाइब्रेरीमा पहुँच उपलब्ध हुनेछ ।
काठमाडौंको मैतीदेवीस्थित नेपालकै पहिलो आइटी कलेज लर्डबुद्ध एजुकेसन फाउन्डेसन एसिया प्यासिफिक युनिभर्सिटीको सम्बन्धन प्राप्त संस्था हो । लर्डबुद्धबाट हालसम्म आठ हजारभन्दा बढी व्यक्तिले सूचना प्रविधि, व्यवस्थापन लगायतका अन्य विधामा स्नातक र स्नातकोत्तर तहको शिक्षा प्राप्त गरिसकेका छन् । नेपाल सरकार शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले एलबिइएफलाई यी कार्यक्रमहरु सञ्चालन गर्ने अनुमति प्रदान गरेकोे छ भने त्रिभुवन विश्वविद्यालयले समकक्षता प्रदान गरेको छ ।
एक्यान र एलबिइएफको समझदारीले हाल सिए उत्तीर्ण गरी स्नातकोत्तर अध्ययन गर्न चाहने तर त्रिभुवन विश्वविद्यालयले प्रोफेसनल कोर्सलाई दिँदै आएको समकक्षता स्थगित गरेको कारणले यस शैक्षिक सत्रमा उक्त मौका नपाउने चार्टर्ड एकाउन्टेन्टहरुलाई अध्ययनको ढोका खोलेको छ ।
मकवानपुर । मकवानपुर जिल्लाका स्थानीय तहकाे शिक्षा अधिकारीहरुले अन्तरस्थानीय तह कार्यसम्पादनका विषयमा छलफल गरेका छन् । स्थानीय तहकाे शिक्षा क्षाेत्रका कार्य अनुभव आदानप्रदान, समन्वय र सहकार्य मार्फत प्रभावकारी रूपमा काम गर्न हेटौंडा उपमहानगरपालिकामा शुक्रबार अनौपचारिक कार्यक्रम गरिएकाे हाे ।
संविधानकाे व्यवस्था अनुसार स्थानीय तहलाइ शिक्षाकाे अधिकार प्राप्त भए पछी मकवानपुरका स्थानीय तहमा भएका शिक्षा क्षेत्रका कार्यहरूकाे अनुभव आदानप्रदान, समन्वय र सहकार्य गरी प्रभावकारी रूपमा कसरी काम गर्न सकिन्छ साे बारेमा अनाैपचारिक छलफल गरिएको हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालले जानकारी दिए ।
थाहा नगरपालिकाको शिक्षा शाखाका प्रमुख शोभाकर रेग्मीको प्रस्तावमा अनौपचारिक छलफलको प्रयास भएको र आगामी दिनमा नियमित छलफल र अनुभव आदानप्रदानको अभ्यासलाई नियमित गर्ने सहमति भएको रिमालले बताए ।
पालिकाहरूका शिक्षा शाखामा अनुभवी सँगै नयाँ कर्मचारी कार्यरत रहेका कारण आपसमा अनुभव आदानप्रदान गर्दा शिक्षाका कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्न सकिने अपेक्षा गरिएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका निमित्त प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
मकवानपुर । प्रदेश लोक सेवा आयोग बागमती प्रदेशले बागमती प्रदेशका पालिकाहरूकाे प्रशासकनीक र प्राविधिक तर्फ अधिकृत स्तर छैठौँ तहका १ सय ७४ कर्मचारीका माग गरेकाे छ । आयोगकाे हेटाैडा कार्यालयले माघ १२ गते साेमबार उक्त पदमा दरखास्त आह्वान गरेको छ । आयोगले एक सय ४९ जना खुला तर्फ र २५ जना बढुवातर्फका कर्मचारी माग गरेको हो ।
बागमती प्रदेशको प्रदेश लोकसेवा आयोगले अधिकृत स्तरका कर्मचारीका लागि पहिलोपटक विज्ञापन गरेको हो । यसअघि चौथो र पाँचौं तहका कर्मचारीका लागि विज्ञापन गरेको थियो । प्रदेशका विभिन्न पालिकामा गरेर अधिकृत स्तरका १ सय ७४ जना कर्मचारी माग गरिएको प्रदेश लोक सेवा आयोग हेटौंडाले जनाएको छ । प्रदेशका विभिन्न स्थानीय तहले विभिन्न पदका लागि कर्मचारी माग गरे पछी ती सङ्ख्यामा कर्मचारी माग गरिएको प्रदेश लोकसेवा आयोगका निमित्त सचिव भोला दाहालले जानकारी दिए।
आयोगले प्रशासनतर्फ ५९ जना र बाँकी सबै प्राविधिकतर्फका कर्मचारी माग गरिएको छ । लेखातर्फका ६ जना, शिक्षामा ६ जना, तथ्याङ्कमा १ जना, सिभिल इन्जिनियरतर्फका १४ जना, बिल्डिङतर्फका इन्जिनियर २ जना, वातावरण इन्जिनियर १ जना, कृषि प्रसारमा २५ जना, कृषि बागवानीमा १ जना, कृषि बालीसंरक्षणमा २ जना, पोल्टी डेरी डेभलपमेन्टमा ९ जना, मत्स्यमा १ जना, भेटेरिनरीमा १९ जना, कृषि एग्रीमा १ जना कर्मचारी माग गरिएको छ ।
मकवानपुर / प्लान नेपालको आर्थिक सहयोग तथा राडो नेपालको सामाजिक सहजिकरणमा सञ्चालित समावेशी सुरक्षित विद्यालय प्रवर्द्धन कार्यक्रमको अनुगमन गरिएको छ ।
जिल्ला समन्वय समिति मकवानपुर उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिका नगर शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमाल, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रतिनिधि उद्वब दाहाल, पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष सरिता दाहाललगायतको उपस्थितीमा कार्यक्रम लागु भएका विद्यालयहरुमा मंगलबार अनुगमन गरिएको हो । हेटौंडा उपमहानगरपालिका–१२ पान्तले स्थित बुद्ध माध्यमिक विद्यालय, हेटौंडा उपमहानगरपालिका–१४ बदेलधाप स्थित सुप्रभात आधारभूत विद्यालय र हेटौंडा उपहमानगरपालिका–५ स्थित बालज्योती माध्यमिक विद्यालयमा अनुगमन गरिएको हो ।
अनुगमन कार्यक्रममा बुद्धमाविका प्रध्यानाध्यापक किसन थापाले समावेशि सुरक्षित विद्यालय प्रवर्द्धन कार्ययक्रम अन्तरगत लागु भएका कार्यक्रमले विद्यार्थीहरुको सिकाइ उपलब्धीमा सकारात्मक सुधार आएको बताए । विद्यालयमा प्रशोधित शुद्ध पानीको व्यवस्था गर्न समस्या भइरहेकोमा संस्थाले युरोगार्डको व्यवस्था गरेपछि विद्यार्थी, शिक्षकहरु गरी झण्डै ८ सयजना लाभान्वित भएको प्रध्यानाध्यापक थापाले बताए ।

बुद्धमाविमा विद्यार्थी तथा शिक्षकको लागि शैक्षिक भ्रमण, अतितिक्त क्रियाकलाप, सरसफाइको सामग्री, छात्राहरुको लागि महिनावारी भएको समयमा आराम गर्ने कक्षाको व्यवस्थापनमा सहयोग गरिएको कार्यक्रम संयोजक राजु राउतले बताए ।
यसैगरी सुप्रभात आधारभुत विद्यालय प्रध्यानाध्याकप सीता तिवारीले संस्थाको सहयोगपछि विद्यालयको भौतिक तथा सामाजिक पाटोमा धेरै प्रगति भएको बताइन् ।
विद्यालयमा बाल क्लब गठन, नेतृत्व विकास, भुकम्पबाट बच्ने सीप सिकाई, सुरक्षित स्थानको छनौट जस्ता काम गरिएको तिवारीले बताइन् । यसैगरी विद्यालयमा बिद्युत जडान, खानेपानी, ह्वाइट बोर्डको व्यवस्था, सिलिङ फ्यानको व्यवस्थामा संस्थाले सहयोग गरेपछि विद्यालयको आकर्षण नै बढेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेक बहादुर मोक्तानले बताए ।

विद्यालयमा कक्षा १ देखि ८ सम्म गरी १ सय १३ जना विद्यार्थी रहेका छन् । पाँचजना महिला शिक्षक मात्रै रहेको यो विद्यालयमा तामाङ समुदायको मात्रै बालबालिकाहरु अध्ययनरत छन् ।
यसैगरी अनुगमन कार्यक्रममा बालज्योती माविका प्रध्यानाध्यपक भरतप्रसाद अर्यालले पनि संस्थाको सहयोगपछि विद्यालयको समाजिक तथा भौतिक क्षेत्रमा धेरै सुधार आएको बताए । बालज्योति माविमा छात्रामैत्री शौचालय निर्माण, शुद्ध पानीको व्यवस्थापन, प्राथमिक उपचारको लागि आवश्यक सामग्री, अतिरिक्त क्रियाकलापमा सहयोग गरिएको थियो ।
१८ जना दृष्टि विहिन छात्रछात्राहरु समेत अध्ययनरत यो विद्यालयमा दृष्टि विहिनहरुको अध्ययनमा सहयोग आवश्यक भएको राडो नेपालका सामाजिक सहजकर्ता राजु लम्सालले बताए । अनुगमन कार्यक्रममा सहभागी जिल्ला समन्वय समिति मकवानपुर उपप्रमुख पुडासैनी, नगर शिक्षा विकास महाशाखा प्रमुख रिमाल,जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रतिनिधि दाहाललगायतले विद्यालयको आवश्यकतालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकारबाट प्रदान गरीने सहयोग र गैरसरकारी संस्थाहरुले गर्ने सहयोगमा आपसी समन्वय भएका दोहोरापना नहुने र उपलब्धी प्रभावकारी हुने बताए ।
आगामी दिनमा विद्यालय र विद्यार्थीहरुको आवश्यकतालाई सम्बोधन गर्ने गरी काम गर्दा स्थानीय तहका जनप्रतिनिधिहरुसँग अनिवार्य रुपमा समन्वय गर्न पनि अनुगमनमा सहभागीहरुले सुझाव दिएका थिए । ३ वर्षको लागि सञ्चालित समावेशि सुरक्षित विद्यालय प्रवर्द्धन कार्यक्रम जनवरीको अन्त्यमा सकिदै छ । स्रोत केन्द्रले ताेकेको विद्यालयमा विद्यालयको आवश्यकता अनुसार काम गरिएको कार्यक्रमका सामाजिक सहजकर्ता लम्सालले बताए ।
मकवानपुरका / मानव अधिकारको संरक्षण र सम्बर्द्धनका लागि मानव अधिकारकर्मी तथा सञ्चारकर्मीबीच साझेदारी बैठक हेटौंडामा गरिएको छ ।
इन्सेक बागमती प्रदेशको आयोजनामा विहिबार हेटौंडामा आयोजना गरिएको साझेदारी बैठकमा पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष प्रताप बिष्टले पत्रकार जगत र आमनागरिक समाजको हक अधिकारको सवालमा अधिकारकर्मी र सञ्चारकर्मी एकजुट हुनुपर्ने बताए ।
बैठकमा मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको सन्जाल संयोजक आरती पाठकले सचेतनाको सवालको पाटो सशक्त बनाउन पर्ने बताइन् । यसैगरी सञ्चारकर्मीहरुले राजनीति इस्युलाई मात्रै ध्यान दिएर अधिकारको सवाल बिर्सनु नहुने इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमले बताए । अधिकारकर्मीलाई समस्या हुदा र सञ्चारकर्मीलाई समस्या हुँदा आपसमा सहकार्य जरुरी रहेको उनलेे बताए । कोरोनाको कारण शिक्षा, स्वास्थ, खाद्य अधिकारको पक्षमा गर्नुपर्ने काम धेरै बाँकी रहेको उनले बताए ।

कार्यक्रममा शिक्षाको लागि साझा अभियानका प्रकाश खतिवडाले शिक्षाको अधिकारको सवाल उठाउनु पर्ने बताए । यसैगरी सञ्चारकर्मी बालकृष्ण अधिकारीले पछिल्लो राजनीतिक घटनाक्रमका कारण मानव अधिकार अतिक्रमीत भएको बताए । कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारु मगरले नागरिकमा सूचनाको पहुँच अझै कमजोर भएको बताए । प्रबिधिको कारण मानवीय गोपनियताको सवाल कमजोर बन्दै आएको उनले बताए ।
यसैगरी कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका बासु खतिवडाले उपभोक्ताको अधिकार सशक्त हुन नसकेको बताए ।