मकवानपुर । बागमती सरकारका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री एकालाल श्रेष्ठले उधोग तथा व्यापारको माध्यमबाट मारवाडी समुदायले राष्ट्रलाई योगदान पुर्याएको बताएका छन् । मारवाडी एशोसिएसन मकवानपुरको २८ औं वार्षिक साधारणसभामा उनले यस्ताे बताएका हुन् ।
मन्त्री श्रेष्ठले देशको जनसंख्या अनुसार माडवाडीकाे संख्या कम भएपनी राज्यलाई राजश्व बुझाउनेमा ठूलो हिस्सेदार रहेको बताए । ‘राज्यले सबै जातजाति र समुदायलाई समान रुपमा व्यवहार गर्दै आएकाे छ’ उनले भने । ‘नेपाल बहुजातिय बहुभाषिक राष्ट्र भएकोले यहाँ सबै जातजाति समुदायको उत्तिकै समान अधिकार छ’ उनले भने ‘कानुनतः जातीय विभेद दण्डनीय हुन्छ ।’ विशेषगरी व्यवसायिक घराना भनेर चिनिने मारवाडी समुदाय र नयाँ पिढीलाई उधोग व्यवसायको क्षेत्रमा मात्रै नभई अन्य क्षेत्रमा अघि बढ्न उनले आग्रह गरे।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईले व्यापारको क्षेत्रमा अगाडि रहेको मारवाडी समुदायले परोपकारी र सामाजिक कार्यका क्षेत्रमा खेलेको भूमिकाको प्रसंशा गरे । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देलले आफू निर्वाचित भएर आएदेखी मारवाडी समुदायलाई हरेक प्रकारको साथ र सहयोग प्रदान गर्दै आएको बताए । हेटौंडा बजारको मुख्य क्षेत्र रहेको ४ नम्बर वडामा आउने सर्वसाधारणको लागि हुप्रचौरमा निशुल्क सार्वजनिक शौचालय निर्माण गरिएकाे बताउँदै सिग्देलले भने ‘कान्तिराजपथ क्षेत्रमा निशुल्क सार्वजनिक शौचालय निर्माणको चरणमा रहेको छ ।’
साधारण सभामा जेष्ठ नागरिक ४ दम्पतीलाई सम्मान गरिएको थियो । मकवानपुर उधोग वाणिज्य संघका अध्यक्ष कृष्ण गुप्ता अग्रवाल, रुङ्टा ग्रुपका प्रमुख मुरलिधर रुङ्टा, मारवाडी महिला मञ्चकी अध्यक्ष सुनिता शर्मालगायतले कार्यक्रममा मन्तव्य राखेका थिए ।
मकवानपुर । बागमती प्रदेश सरकारले पुर्णता पाएकाे छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार नेकपा एमालेका ४ जनालाई मन्त्री नियुक्त गरेपछि सरकारले पुर्णता पाएकाे हाे ।
मुख्यमन्त्री जम्कट्टेलले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोख्रेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकालाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठलाई नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्रीहरूले मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराएका हुन् । २५ पुसमा गठित सरकारमा पठाएका तीन जना मन्त्रीलाई पुनः जिम्मेवारी दिइएकाे हाे । उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठले भने पहिलोपटक मन्त्री बन्ने अवसर पाएका हुन् ।
यो सँगै गत फागुन २३ गते नेपाली कांग्रेसका ६ मन्त्रीले राजिनामा दिएपछि रिक्त रहेकाे ६ वटा मन्त्रालयमध्ये एमालेले ५ वटा मन्त्रालयको नेतृत्व लिएकाे हाे । यसअघि १७ चैतमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भएका थिए ।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभामा विश्वासकाे मत प्राप्त गरेका छन् । सोमबारकाे प्रदेश सभा बैठकमा उनले विश्वासकाे मत प्राप्त गरेका हुन् ।
सोमबार प्रदेशसभामा उपस्थित कुल १ सय ८ सदस्यमध्ये जम्कट्टेलकाे विश्वासकाे मतकाे पक्षमा ५६ मत प्राप्त गरे । उनकाे विपक्षमा नेपाली काँग्रेसका ३७ जना सांसदले मात्रै मतदान गरे । १५ सांसद भने विश्वासकाे मत विभाजन हुँदा तटस्थ बसेकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ । जम्कट्टेललाई एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका सांसदले विश्वासको मत दिँदा कांग्रेसले मात्र विपक्षमा मतदान गरेको हो । यस्तै राप्रपा र नेमकिपाका सांसद भने तटस्थ रहे ।
केन्द्रिय सत्तासमिकरणमा एमाले प्रवेश गरी नेपाली काँग्रेस वाहिरिए पछि प्रदेश सरकारका मुख्यमन्त्री अल्पमतमा परेका थिए । बागमती प्रदेशमा नेपाली काँग्रेगका मन्त्रीले गत फागुन २३ गते राजिनामा दिदै सरकारबाट बाहिरिए पछि जम्कट्टेल अल्पमतमा परेका थिए । अल्पमतमा परेका १ महिना भित्र सभामा विश्वासकाे मत लिनु पर्ने संवैधानिक व्यवस्था भएकाेले उनले आज विश्वासकाे मत लिएका हुन् ।
१६ महिनाको अवधिमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत दिएका हुन् । २०७९ पुस २५ गते संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्री बनेका माओवादी केन्द्र संसदीय दलका नेता जम्कट्टेलले सत्ता समीकरणमा आएको फेरबदलसँगै सोमबार तेस्राे पटक प्रदेशसभाबाट विश्वासको मत लिएका हुन् ।
विश्वासकाे मत दिन नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सोमबारकाे बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएका थिए । उनले सभामा उपस्थित भएर मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएका थिए । सत्ता समीकरणमा शनिबार मात्रै एमाले बागमती प्रदेश सरकारमा सहभागी हुदै नेता थपलिया आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका थिए ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मत सम्बन्धमा राप्रपाले तटस्थ बस्ने निर्णय गरेकाे थियाे । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने सहमति भए पछि मत दिएकाे हो । हाम्राे नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यलाई मन्त्री नियुक्त गर्दै जम्कट्टेलले आफ्नाे विश्वासकाे मतकाे सिट सुरक्षित गरेका थिए ।
सोमबारको प्रदेशसभा बैठकमा जम्कट्टेलले नेपालको संविधानको धारा १८८ को उपधारा (४) एवम् प्रदेशसभा नियमावली (पहिलो संशोधन) २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम आफूलाई संसदको विश्वासको मत भएको जाँच गर्न विश्वासको मत सम्बन्धी प्रस्ताव प्रदेशसभामा पेश गरेका थिए । सभामुख भुवन पाठकले मत विभाजनपछि निर्णयार्थ प्रस्तुत गर्दा ५६ सांसदले उनलाई मतदान गरेका हुन् ।
मुख्यमन्त्री जम्कट्टेलले पहिलो पटक २०७९ माघ ३ मा विश्वासको मत लिएका थिए । जम्कट्टेलले गत २०७९ चैत १० मा दोस्रो पटक संसदबाट विश्वासको मत प्राप्त गरेका थिए ।
मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मकवानपुरको जिल्ला अधिवेशन आगामी बैशाख १५ र १६ गते हुने भएको छ ।
पार्टीको आइतबार बसेको सचिवालय बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको हो । स्थायी कमिटी सदस्य ललित बस्नेतले पार्टीले कृयाशील सबै सदस्यलाई उचित अवसर र मौका दिने बताए ।
बैठकमा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मुनु सिग्देलले नेकपा एसका नेता तथा कार्यकर्तालाई पार्टीको नीति र विधिमा रही अधिवेशनमुखी अभियान अघि बढाउन निर्देशन दिएकी छिन् । यस्तै पार्टी जिल्ला कमिटिको विस्तारित बैठक आउँदो चैत २८ गते बस्ने पनि बैठकले निर्णय गरेको छ ।
पार्टी स्थायी कमिटी सदस्य ललित बस्नेतको प्रमुख अतिथ्यता तथा पार्टी जिल्ला अध्यक्ष विष्णुप्रसाद दाहालको अध्यक्षतामा बसेको बैठकमा पोलिटब्युरो सदस्य घनप्रसाद गौतम, केन्द्रिय सदस्य एवं पार्टी मकवानपुर इन्चार्ज मुनु सिग्देल, केन्द्रिय सदस्य राजाराम स्याङतानको आतिथ्यता थियो ।
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको विपक्षमा मतदान गर्न निर्देशन दिएको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा आईतबार काठमाडौंमा बसेको कार्यसम्पादन समितिको बैठकले आफ्नो पार्टीका सम्पूर्ण सांसदहरूलाई तटस्थ नबस्न र विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो । बैठकले नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता जमकट्टेललाई २०७९ माघ ३ गते विश्वासको मत दिएकोमा २०८० फागुन २३ मा बागमती प्रदेश सरकारबाट राजिनामा दिई बाहिरिएको थियाे ।
प्रदेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएकोले विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दललाई निर्देशन दिएको कांग्रेस बागमती प्रदेशका मुख्यसचिव राजु नेपालले जानकारी दिए । बागमती प्रदेशसभामा मुख्यमन्त्री जमकट्टेलले भोली चैत १९ गते विश्वासको मत लिन लिने गरी प्रदेश सभामा दलका सचेतक रत्न ढकालले प्रस्ताव दर्ता गराएका छन् ।
सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा नेपालको संविधानको धारा १८८ को उपधारा (२) अनुसार मुख्यमन्त्रीले प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । १ सय १० सदस्यीय बागमती प्रदेशसभामा जमकट्टेलले ५६ मत जुटाएमा उनी मुख्यमन्त्रीमा कायम रहनेछन् । बागमतीमा कांग्रेसको ३७, एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपा १३, एकीकृत समाजवादीको ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टीको २ सांसद रहेका छन् ।