मकवानपुर । नेकपा (एकीकृत समावादी) को केन्द्रीय कमिटीमा मकवानपुरका ४ नेता समेटिएका छन् ।
नेकपा एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीमा मकवानपुरबाट केदार न्यौपाने, विरोध खतिवडा, ललित बस्नेत र मुनु सिग्देल केन्द्रीय कमिटीमा समेटिएका हुन् । हालै बसेको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले मकवानपुरका चारै नेतालाई विभिन्न जिम्मेवारी समेत दिएकाे छ ।
न्यौपानेलाई पार्टी उपाध्यक्ष एवम् बागमती प्रदेश इञ्चार्जकाे जिम्मेवारी दिइएकाे छ भने प्रतिनिधि सभा सदस्य समेत रहेका खतिवडा स्थायी कमिटी सदस्य भएका छन् । पार्टी सरकारमा सहभागी भए खतिवडा यसपटक मन्त्री हुने समेत पक्कापक्की भएकाे बताइएकाे छ । एमालेको मजदुर संगठनका प्रभावशाली नेता तथा एमालेका पूर्व केन्द्रीय सदस्य ललित बस्नेत एकीकृत समाजवादीमा पोलिट ब्युरो सदस्य भएका छन् । उनलाई मकवानपुर इञ्चार्जको भूमिका पनि दिइएको छ ।
यस्तै, एमाले मकवानपुर अध्यक्ष रहनु भएका मुनु सिग्देल एकीकृत समाजवादीको केन्द्रीय सदस्य तथा मकवानपुर सहइञ्चार्ज हुन भने बागमती प्रदेश सभामा एकीकृत समाजवादीको प्रमुख सचेतक पनि रहेकी छिन् ।
मकवानपुर । नेकपा (एकीकृत समावादी) पार्टी मकवानपुरले सचिवालय र विभाग गठन गरेको छ । आइतबार बसेको पार्टीको पहिलो जिल्ला कमिटी बैठकले पार्टीकाे कामलाई चुस्तदुरुस्त बनाउन पदाधिकारीसहितको सचिवालय गठन गरेको हो ।
अध्यक्ष श्रीधर पोखरेल, उपाध्यक्ष मीना लामा, सचिव विष्णु दाहाल, उपसचिव जीवन लामा, कार्यालय सचिव तिलक अधिकारीसहित सदस्यहरु रहेको ४९ सदस्यीय सचिवालय गठन गरेको पार्टीले जनाएकाे छ ।
यस्तै, पार्टीको प्रचार विभाग प्रमुखमा रामकुमार एलन र आर्थिक विभाग प्रमुखमा टीपी रुपाखेतीलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
यसैबीच नेकपा (एकीकृत समावादी) मकवानपुरले असोज २५ गते बडादशैँ, दीपावली, नेपाल सम्वत् अवसर पारेर हेटौँडा शुभकामना आदानप्रदान तथा चियापान गर्ने भएको छ ।
असाेज ९ गते आइतबार हेटौँडामा बसेको पार्टीको पहिलो बैठकले नेपालीहरुकाे चाड बडादशैँ लगायतका मुख्य पर्वकाे अवसर पारेर शुभकामना आदानप्रदान तथा चियापान गर्ने निर्णय गरेको हो ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष श्रीधर पोखरेलको अध्यक्षता एवम् पार्टी स्थायी कमिटी सदस्य विरोध खतिवडाको प्रमुख आतिथ्यतामा बैठक भएको हो ।
मकवानपुर । नेपाली कांग्रेस बागमती गाउँपालिकाको सभापतिमा फणिन्द्र तिमल्सिना निर्वाचित भएका छन् । शनिबार भएको कांग्रेसको गाउँ अधिवेशनबाट तिमल्सिना निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्वन्दी दिल्ली प्रसाद घोरासाइनीलाई १४ मतले पराजित गरेका हुन् ।
सभापति तिमल्सिनाले कूल खसेको १ सय ५१ मत मध्ये ७५ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्दी घोरासाइनीले ६१ मत प्राप्त गरेका थिए । १ मत भने बदर भएको र केही मतदाता निर्वाचन प्रक्रियामा सहभागि नभएको मतदान अधिकृत राजेश प्रसाद घिमिरेले जानकारी दिए ।
त्यसैगरी उपसभापतिमा जगतबहादुर लामा र मंगललाल वाइवा तथा सचिवमा सुदिप पाख्रिन र सिरित कुमार राई निर्वाचित भएको जनाइएको छ । सहसचिवमा भानु सोराली मगर र बीरबहादुर थोकर सर्वसम्मत चयन भएका हुन् ।
त्यस्तै कुल ५१ सदस्यीय गाउँ समितिका लागि शनिबार भएको निर्वाचन कार्यक्रमबाट तिमल्सिनाको नेतृत्वमा ४५ सदस्य चयन भएका छन् । बाँकीलाई कार्यसमितिको पहिलो बैठकबाट मनोनित गरिने जनाइएको छ ।
मकवानपुर । नेपाली कांग्रेस हेटौंडा नगर सभापतिमा उत्सव इटेनी विजयी भएका छन् । इटेनीकाे प्यानलले नै जीत हासिल गरेको छ। शनिबार सम्पन्न हेटौंडा उपमहानगरको अधिवेशनले हेटौंडा नगर सभापतिमा इटेनी र अन्य पदका इटेनी प्यानलकै उम्मेदवार विजयी भएका हुन्।
उनले सभापतिका अर्का उम्मेदवार महेन्द्र राउतलाई पराजित गरी विजयी बनेका हुन। नगर सभापति इटेनीले २ सय ८४ मत प्राप्त गर्दा अर्का उम्मेदवार महेन्द्र राउतले १ सय ३२ मत प्राप्त गरेका छन।
उपसभापतिमा इटेनी प्यानलबाट उम्मेदवार रहेका डोल्मा स्याङ्बोले २ सय ५७ र रामकृष्ण कोइरालाले ३ सय मत प्राप्त गरी विजयी बनेका हुन,अर्का उपसभापतिका उम्मेदवार ज्योती कोइराला १ सय २६ शेशन गोले ९३ ले प्राप्त गरेका छन।
त्यसैगरी सचिवमा सविन न्यौपानेले २ सय ९७ मत र हर्क रत्नलामाले २ सय २२ मत प्राप्त गरी विजयी भएका छन। सचिवका अर्का उम्मेदवार कुमार पोखरेलले १ सय ६३ गंगा प्रसाद पौडेलले १ सय १० मत प्राप्त गरेका थिए ।
त्यसैगरी सहसचिवमा निगम श्रेष्ठले २ सय ५८ मत र विकास बानियाँले २ सय ६५ मत प्राप्त गरी विजयी हुँदा सहसचिवका अर्का उम्मेदवार अञ्जनी पराजुलीले १ सय ५७ मत , र राजकुमार जोशीले ८४ मत प्राप्त गरेका छन। ४ सय २३ क्षेत्रीय प्रतिनिधिले मतदान गर्ने नगर अधिवेशनमा ४ सय २१ मत मात्र खसेको थियो।
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी समाजवादी मकवानपुरले केदारनाथ दुलालको नेतृत्वमा ३५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको छ । शनिबार हेटौडामा भएको जिल्ला कमिटी घोषणाबाट लामो समय कम्युनिष्ट राजनिती गरेका नेकपा माओबादी केन्द्रका नेता बालकृष्ण चौलागाईं केन्द्रिय सदस्यमा मनोनीत भएका छन् ।
कार्यक्रम्मा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी समाजवादीका केन्द्रिय संयोजक राजु कार्की तथा बिशेष अतिथिमा नेकपा समाजवादी प्रवक्ता मानबहादुर तामाङ,बागमती प्रदेश इन्चार्ज इन्द्र प्रसाद तिमल्सिना,दुई नम्बर प्रदेश इन्चार्ज बद्री यादव,श्याम प्रसाद दहाल, माधव दाहाल तथा युवा नेता राजेन्द्र पुडासैनीको उपस्थिति रहेको थियो ।
जिल्ला कमिटीको जिम्मेवारी आगामी बैठकबाट टुङ्गो लागाउने जिल्ला इन्चार्ज दुलालले बताएका छन ।