मकवानपुर । हेटाैडामा अन्य पार्टी परित्याग गरी १ सय ५ जना नेकपा एमालेमा प्रवेश गरेका छ । उनीहरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाली कांग्रेस तथा अन्य दलहरु परित्याग गरी एमाले प्रवेश गरेका हुन् ।
शनिवार हेटौँडामा भएको कार्यक्रममा राप्रपा हेटौँडा उपमहानगर वडा नंबर ८ का सचिव विजय खतिवडा, तरुण दलका वडा सदस्य विधान कार्की, दिपेन्द्र मोक्तान, कांग्रेस कार्यकर्ता तथा ब्यवसायी बलराम थापा, अर्जुन खतिवडा, रोशन कार्की, माओवादी केन्द्रका सरोजकुमार कार्की, राजु मोक्तान, राप्रपाका राजु गिरी, सपना गिरी, निशा कार्की लगायत १ सय ५ जना एमालेमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीलाई वागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणी पौडेल, एमालेकी केन्द्रीय सदस्य जुनेली श्रेष्ठ, वडा नंब ८ का वडा अध्यक्ष गोपाल श्रेष्ठ लगायतले स्वागत गरेका थिए ।
मकवानपुर । नेकपा माओवादी केन्द्र थाहा नगरपालिका अध्यक्षमा विनोद लामा थिङ निर्वाचित भएका छन् । शनिवार सम्पन्न निर्वाचनमा अर्का उम्मेदवार अरुण रायमाझीलाई पराजित गर्दै थिङ निर्वाचित भएका हुन् ।
थिङले ३१ मत पाउँदा रायमाझीले २८ मत प्राप्त गरेका थिए । ५९ मतदातामा सबैले मतदान गरेका थिए । कार्यसमितिकै सदस्यहरुले मतदान गर्ने गरी शनिवार अध्यक्ष पदको लागि निर्वाचन भएको हो ।
नेकपा विभाजनपछि भएको प्रथम सम्मेलन अन्तरगत माओवादी केन्द्रले थाहा नगरपालिकामा गएको मंसिर ११ गते ५९ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको थियो । अब अन्य पदाधिकारीको छनौट बैठकले गर्ने सहमति भएको छ ।
मकवानपुर । नेपाली कांग्रेस मकवानपुर सहित १६ जिल्लाकाे अधिवेशन आउँदाे फागुन १३ गते हुने भएकाे छ । कांग्रेसले अधिवेशन गर्न बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने भएको छ ।
यसअघि माघ १५ गतेका लागि तोकेर स्थगित भएका १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने कांग्रेसको केन्द्रीय निर्वाचन समितिको शुक्रबार बसेको बैठकले निर्णय गरेको हो ।
कांग्रेसको मकवानपुर सहित सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछामकाे जिल्ला अधिवेशन हुन बाँकी छ ।
मकवानपुर । योङ कम्युनिष्ट लिग (वाइसीएल) मकवानपुरको संयोजकमा लवराज ठकुरी चयन भएका छन् । नेकपा माओवादी केन्द्र निकट वाइसीयल बागमती प्रदेश कमिटिको बैठकले ठकुरीलाई मकवानपुर संयोजक चयन गरेको हो ।
यस अघि वाइसीयल मकवानपुरको सचिव रहेका ३८ वर्षीय ठकुरी वाइसीयलको बिभिन्न जिम्मेवारीमा एक दशकदेखि सक्रिय रहदै आएका छन् । संयोजक चयन भएपछि ठकुरीले भ्रष्टाचार र अनियमितताको सुक्ष्म ढंगले नियमन गर्दै यस बिरुद्ध अभियान सञ्चालन गरिने बताए । साथै राजनीतिक र सामाजिक क्षेत्रमा वाइसीएललाई सक्रिय बनाइने उनले बताए ।
वाइसीयल बागमती प्रदेश कमिटिको बैठकले वाइसिएल मकवानपुरको सचिवमा अरुण मोक्तानलाई चयन गरेको छ । त्यस्तै केन्द्रीय कृषि तथा उत्पादन विभागमा सानुबावु मोक्तान, शिक्षा, स्वास्थ्य तथा विज्ञान प्रविधि विभागमा दिनेश बानियाँ, खेलकुद विभागमा आलोक लामा, अनुशासन विभागमा सरोज पाख्रिन, जनमुक्ति सेना विभागमा सुनिल बयलकोटीलाई सिफारिस गरेको छ ।
प्रदेश आयोजक कमिटीमा जिल्ला संयोजक ठकुरीसँगै मकवानपुरका किरण मोक्तान, अबिनाश गजुरेल, शोभासिं ठकुरी घिमिरे, बिष्णु नेगी, प्रकाश थापा, जगदीश दाहाल, बिरध्वाज थिङ, दीपक थिङ, दिपेन्द्र अधिकारी र कमल अर्याललाई चयन गरिएको छ ।
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निवर्तमान अध्यक्ष कमल थापालाई पार्टी परित्याग गर्ने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ ।
थापाले आज मङ्गलवार हेटाैंडामा पत्रकार सम्मेलन गर्दै पार्टीबाट अलग भएको घोषणा गरेका थिए । थापाकाे पार्टीबाट अलग हुने घाेषणा लगत्तै बसेको राप्रपाको बैठकले थापाको निर्णयप्रति दुःख व्यक्त गर्दै निर्णय पुनर्विचार गर्न आग्रह गरेको हो ।राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा थापालाई आफ्नो निर्णयप्रति पुनर्विचार गर्न आग्रह गर्दै पार्टी सैद्धान्तिक अवधारणा र कार्यदिशामा अविचलित रहेको उल्लेख छ ।
‘राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग हुने भनी गरिएको घोषणाप्रति दुःख प्रकट गर्दछौँ । पार्टीबाट अलग हुने निर्णयमा पुनर्विचार गर्न राप्रपा अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
