मकवानपुर । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सरकारका निजामति कर्मचारी, स्थानीय तहका कर्मचारी तथा अन्य सरकारीलाई मात्र खटाउने भएकाे छ । निर्वाचनमा कर्मचारी खटाउँदा अपुग भएमात्र शिक्षक तथा विद्यालय कर्मचारी मतदान केन्द्रमा खटाइने आयाेगले जनाएकाे छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, जनशक्ति व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०५९ ले सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीबाट अपुग भए मात्र शिक्षक तथा विद्यालय कर्मचारी खटाउने व्यवस्था गरेको हो । निर्देशिकाको मतदान केन्द्रमा कर्मचारी खटाउने व्यवस्थामा ‘नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहका कर्मचारी वा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार वा प्रदेश सरकारको अनुदानमा सञ्चालित संस्थाका कर्मचारी नपुग भएमा विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारीलाई खटाउने’ भनिएको छ ।
त्यस्तै विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षकलाई मतदान केन्द्रमा खटाउँदा त्यस्तो मतदान केन्द्रमा सरकारी कर्मचारी समेत समावेश गरी खटाउन निर्देशन दिइएको छ ।
मकवानपुर । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारहरूले खर्च गर्न पाउने सीमा तोकेको छ ।
आयोगले मतदाता संख्या, निर्वाचन क्षेत्रको क्षेत्रफल र मतदान केन्द्रका आधारमा क्षेत्रअनुसार खर्च निर्धारण गरेको हो । जसअनुसार मतदाताको सङ्ख्यालाई ६० प्रतिशत भार मानिएको छ । मतदान केन्द्र संख्या र निर्वाचन क्षेत्रले ओगटेको क्षेत्रलाई २०/२० प्रतिशत भार मानिएको आयोगले जनाएको छ ।
आयाेगका अनुसार मकवानपुरका प्रतिनिधि सभा १ र २ क्षेत्रका उम्म्दवारले निर्वाचनमा ३३ लाख रुपैंया खर्च गर्न पाउने भएका छन् । याे सिमा मकवानपुरका २ वटै निर्वाचन क्षेत्र सहित २६ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रका उम्मेदवारले खर्च गर्न पाउने सिमा हाे । आयाेगले ताेकेकाे खर्च सिमा मध्ये ३३ लाख रुपैंया सबैभन्दा धेरै हाे । जसमा मकवानपुर सहित ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, दोलखा, रामेछाप, काभ्रे १ र २,गोरखा १, लमजुङ, अर्घाखाँची, रोल्पा, प्युठान, दाङ १, बर्दिया १ र २, सल्यान, डोल्पा, हुम्ला, जाजरकोट, बझाङ, डोटी र बैतडीका उम्मेदवारले ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने भएका हुन् ।
आयोगको निर्णयअनुसार सबभन्दा कम काठमाडौँका ५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २५ लाख रुपैयाँ खर्च गर्न पाउने छन् । यसमा काठमाडौं १, ३, ६, ७ र क्षेत्र नम्बर ८ पर्छ । यस्तै १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले २७ लाख रुपैयाँसम्म खर्च गर्न पाउने आयोगले जनाएको छ । यसमा तेह्रथुम, पर्सा १, २ र ३, रसुवा, काठमाडौं २, ४, ५, ९ र १० भक्तपुर २, ललितपुर २ र ३, मनाङ, कास्की २ र रुकुम पूर्व छ ।
६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले २९ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् । यो सूचीमा झापा १ र ४ , मोरङ ४, ५ र ६, सुनसरी ३ र ४, उदयपुर २, सप्तरी २, ३ र ४, सिराहा १,२,३ र ४, धनुषा १,२,३ र ४, महोत्तरी १, २, ३ र ४, सर्लाही २ र ४, रौतहट १,२,३ र ४, बारा २,३ र ४, पर्सा ४, नुवाकोट २, भक्तपुर १, चितवन २, गोरखा २, कास्की १, स्याङ्जा २, मुस्ताङ, बागलुङ २, गुल्मी २, पाल्पा १ र २, रुपन्देही २, ३ र ४, कपिलवस्तु ३, बाँके २ र ३, नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम १ र २, दैलेख १ र २, अछाम १ र २, कैलाली १, २, ३ र ५, कञ्चनपुर १, २ र ३ पर्छन् ।
५२ वटा निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूले ३१ लाख रुपैयाँसम्म चुनावमा खर्च गर्न पाउनेछन् । जसमा इलाम १ र २, झापा २, ३ र ५, भोजपुर, धनकुटा, मोरङ १, २ र ३, सुनसरी १ र २, ओखलढुङ्गा, उदयपुर १, सर्लाही १ र ३, बारा १, सिन्धुली १ र २, धादिङ १ र २, नुवाकोट १, सिन्धुपाल्चोक १ र २, चितवन १ र ३, कास्की ३, तनहुँ २, स्याङ्जा १, नवलपरासी बर्दघाट सुस्ता पूर्व १ र २, म्याग्दी १, पर्वत १, गुल्मी १, रुपन्देही १ र ५, कपिलवस्तु १ र २, दाङ २ र ३, बाँके १, मुगु, जुम्ला, कालीकोट, सुर्खेत १ र २, रुकुम पश्चिम, बाजुरा, कैलाली ४, दार्चुला र डडेलधुरा छन् ।
समानुपातिकको हकमा दलहरूले पेस गरेको बन्दसूचीमा सूचिकृत सङ्ख्याअनुसार प्रति उम्मेदवार २ लाख खर्च गर्न पाइनेछ ।
यसै गरी प्रदेश सभा तर्फ निर्वाचन खर्च न्यूनतम १५ लाख देखि अधिकतम २३ लाखसम्म ताेकेकाे छ । मकवानपुर जिल्लाकाे प्रतिनिधिसभा १ प्रदेश सभा १, प्रतिनिधि सभा २ प्रदेश सभा १ र प्रदेश सभा २ काे उम्मेदवार निर्वाचन क्षेत्रकाे खर्च सिमा २१ लाख निर्धारण गरिएकाे छ । यस्तै गरी मकवानपुरकाे प्रतिनिधिसभा १ प्रदेशसभा २ काे उम्मेदवार निर्वाचन क्षेत्रकाे खर्च सिमा १७ लाख ताेकिएकाे निर्वाचन आयाेगले आइतबार प्रकाशित गरेकाे विज्ञप्तिमा जनाइएकाे छ ।
प्रदेशसभाका समानुपातिक उम्मेदवारहरूको हकमा १ लाख ५० हजार चुनाव खर्च निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वचान खर्चकाे विज्ञप्ति
मकवानपुर । निर्वाचन आयोगले असोज १२ गते बुधबारबाट निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ । आयाेगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको आचारसंहिता बुधबारदेखि लागू गर्ने निर्णय गरेको हो ।
निर्वाचन आयोगको मंगलबार बसेको बैठकले भोलि १२ असोजदेखि निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने निर्णय गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको छु,’ निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले भने ।
राजनीतिक दल तथा उम्मेदवारहरूलाई ६० बुँदे निर्देशन
यसैबीच निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुन तथा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि राजनीतिक दल तथा उम्मेदवारहरूलाई ६० बुँदे निर्देशन जारी गरेको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै ६० बुँदे निर्देशन दिइएको जानकारी गराएका छन् ।
आचार संहिता
निर्देशन
आगामी ४ मंसिरका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूची विषयले कांग्रेसभित्र खैलाबैला मच्चिएको छ ।
संस्थापन पक्षले ‘एकलौटी रूपमा आयोगमा उम्मेदवारको बन्दसूची बुझाएको’ भन्दै कांग्रेसभित्रको डा. शेखर कोइरालाले नेतृत्व गरेको संस्थापन इतर पक्ष असन्तुष्ट बनेको हो । सो समूहका दोस्रो तहका नेताले ‘सभापतिको एकलौटी निर्णयविरुद्ध विद्रोह गर्नेदेखि पार्टी केन्द्रीय कार्यालयमा धर्ना बस्ने’सम्मको कार्यक्रम तयारी गरेका छन् ।
सभापति शेरबहादुर देउवाले गत २ असोजमा समानुपातिकतर्फको उम्मेदवार बन्दसूची आयोगमा पठाएका थिए । सो सूचीमा आफ्ना समूहका नेतालाई कमजोर स्थान दिएको र संख्यामासमेत हेपेको भन्दै इतर पक्ष रुष्ट रहँदै आएको छ । इतर पक्षले ‘आयोगमा बुझाइएको सूची नसच्याइए पार्टीभित्र विद्रोह गर्ने’सम्मको चेतावनी दिँदै आएको छ ।
इतर पक्षको दोस्रो तहका नेताको सोमबार ठमेलमा बसेको बैठकले ‘पार्टी नेतृत्वलाई दबाब दिन’ भन्दै केन्द्रीय कार्यालयमा धर्ना बस्नेगरी कार्यक्रम तय गरेको छ ।
भेलाले ‘समान हक र न्यायका लागि नेतृत्वलाई दबाब दिन आन्दोलन घोषणा गरेको’ नेता जगदीशनरसिंह केसीले जानकारी दिए । उनका अनुसार समानुपातिक बन्दसूची सच्याएर आफ्नो समूहका नेताका नाम समावेशका लागि दबाब दिन भोलि बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना कार्यक्रम तय गरिएको हो ।
यसैगरी, बिहीबार दोस्रो तहका नेताले इतर समूहका पहिलो तहका नेतासँग छलफल गर्ने कार्यक्रम तोकिएको छ । संघीय र प्रतिनिधिसभा निर्वाचनको टिकट वितरण गर्दा ४० प्रतिशत भाग पाउनुपर्ने माग गर्दै इतर समूहका दोस्रो तहका नेताले दबाबमूलक कार्यक्रम गर्दै आएका छन् ।
उनीहरूले शुक्रबारसम्म पनि माग सुनुवाइ नभए कठोर निर्णय लिनेसमेत चेतावनी दिएका छन् । तर, ‘कठोर निर्णय कस्तो हुने ?’ भन्ने’ खुलाइएको छैन ।
इतर पक्षले सभापतिले पार्टी सञ्चालनमा एकलौटी गरेको, निर्वाचन मुखमा इतर पक्षलाई बेवास्ता गरेको र टिकट वितरण प्रक्रिया र छलफलमा पनि मनोमानी गरेको आरोप लगाउँदै आएको छ ।
सो पक्षले गत शनिबार राजधानीमा आफ्ना पक्षका नेतालाई भेला गरेर ‘आगामी निर्वाचनमा विद्रोह हुने’सम्मको चेतावनी दिएको थियो । यसअघिसमेत इतर पक्षले ‘सभापति देउवाले पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाका नेतृत्वमा एकलौटी गरेको’ भन्दै आपत्ति जनाउँदै आएको थियो । राजधानी दैनिकबाट
प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय मधेस दौडाहामा छन् । ओलीको मधेस दौडाहाका क्रममा उनले धमाधम मधेसवादी दलका प्रभावशाली नेतालाई एमालेमा भित्र्याउने कामसमेत गरिरहेका छन् ।
पछिल्लो समय जनता समाजवादी पार्टी नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का प्रभावशाली नेता, पूर्वमन्त्री, पूर्वसांसद, पूर्वपालिका प्रमुखसहित जिल्लामा शक्तिशाली मानिएका नेतालाई एमालेमा भित्र्याउन ओली सफल देखिएका छन् ।
मधेस प्रदेशको राजधानी जनकपुरधाममा ओलीको बाक्लो आउजाउ भएको देखिन्छ । शनिबार नै धनुषाको तीन कौरियामा पुगेर उनले लोसपाका निवर्तमान सांसद एवं सचेतक उमाशंकर अरगरियालाई एमालेमा प्रवेश गराए ।
त्यसअघि, उनले लोसपा, जसपाका अन्य प्रभावशाली नेतालाई एमालेमा भित्र्याइसकेका छन् । हृदयेश त्रिपाठीको तत्कालीन ‘स्वतन्त्र राजनीतिक समूह’बाट सांसद भएका वृजेशकुमार गुप्ता, जसपाका सांसदद्वय अमृता अग्रहरी र रुही नाज एमाले प्रवेश गरिसकेको एमाले स्थायी कमिटीका सदस्य प्रभु साहले बताए । ओलीसँगै साहसमेत मधेसवादी दलका नेतालाई एमालेमा भित्र्याउने आन्तरिक रणनीति तय गर्दै अघि बढेको देखिन्छ ।
प्रतिनिधिसभाका निवर्तमान सांसदमध्ये वृजेशकुमार गुप्ता २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सूर्य चिह्न लिएर स्वतन्त्रका तर्फबाट कपिलवस्तु– २ बाट निर्वाचित भएका थिए । यसैगरी, जसपाका केन्द्रीय कार्यकारिणी समितिका सदस्य रहेकी अग्रहरी र रुही नाज समानुपातिकबाट प्रतिनिधिसभाका सदस्य भएका थिए । उता, लोसपाका केन्द्रीय सदस्य तथा मधेस प्रदेशसभाका निवर्तमान सांसद प्रल्हाद गिरीसमेत एमाले प्रवेश गरेका छन् ।
‘त्रिपाठी समूह’बाटै लुम्बिनी प्रदेश संसद्मा कपिलवस्तु– २ ‘ख’बाट जितेका धर्मबहादुर श्रीवास्तव पनि एमालेमै प्रवेश गरिसकेका छन् । जसपाकी मधेस प्रदेश सांसद डा रिना यादव केही समयअघि एमालेमा प्रवेश गरेकी हुन् । प्रदेश विकास संसदीय समिति सभापति भइसकेकी उनी तत्कालीन राजपाबाट समानुपातिक सांसद भएकी थिइन् ।
यसैगरी, जसपाकै लुम्बिनी प्रदेश सांसद विजयबहादुर यादव पनि एमाले प्रवेश गरेका छन् । प्रभावशाली नेतामा जसपाका केन्द्रीय सदस्य मंगलप्रसाद गुप्ता सबैभन्दा पहिले एमालेमा प्रवेश गरेका थिए । त्यसपछि जसपाबाटै वीरगन्ज महानगरका तत्कालीन प्रमुख विजय सरावगी, जसपाका नेता पशुपति दयाल मिश्र, रामकुमार दीक्षित, पूर्वमन्त्री खोभारी राय, संघीय परिषद् सदस्यद्वय भोला मिश्र र अमरेन्द्रकुमार झा, लोसपाका केन्द्रीय सदस्य डा रामबाबु तिवारी, गौरका पूर्वप्रमुख अजयकुमार गुप्ता, माओवादी केन्द्रका नेता तथा पूर्वराज्यमन्त्री रामसिंह यादव र कांग्रेसका पूर्वजिल्ला उपसभापति दिनानाथ साहसहितका नेता एमालेमा प्रवेश गरिसकेका छन् ।
यसैगरी, जसपाका नेता तथा लक्ष्मीपुर पतारी गाउँपालिकाका पूर्व अध्यक्ष रामबलभ साह, एकीकृत समाजवादीका मुस्लिम इत्तेहाद संघका केन्द्रीय सदस्य सेख मोफिद, युवा संघ गौर नगर कमिटीका अध्यक्ष मोहम्मद इमरान र मोहम्मद जियाउल हक एमालेमा प्रवेश गरेका थिए । यसैगरी, लोसपाबाट संविधानसभा सदस्य भएका चन्दन साहसमेत एमाले प्रवेश गर्ने नेता हुन् ।
यस्तै, लोसपा केन्द्रीय सदस्य अरबिन्द साह, सर्लाही जिल्ला समन्वय समितिका पूर्वप्रमुख मेथुर चौधरी र मलंगवा नगरपालिकाका पूर्वनगरप्रमुख निरशल साह, एकीकृत समाजवादीका धनुषा जिल्ला अध्यक्ष सोमप्रसाद शर्मा, नेपाली कांग्रेसबाट गाउँपालिकाका पूर्व उपाध्यक्ष तथा नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि किरणदेवी गुप्ता, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं गाउँपालिकाका पूर्व अध्यक्ष निरराज गिरी पनि एमालेमा प्रवेश गरेका थिए ।
यी नेतासँगै सोही पार्टीका सयौं नेतासमेत एमाले पार्टी प्रवेश गरेको एमाले केन्द्रीय सदस्य एवं कार्यालय सचिव डा भीष्म अधिकारीले बताए । एमालेमा प्रवेशको लहर देखेर अध्यक्ष ओली उत्साहित भएका छन् । विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्न थालेपछि आगामी निर्वाचनमा विपक्षी दलको गठबन्धन निर्माण गरेर सरकार सञ्चालन गर्नेमा अध्यक्ष ओली ढुक्क छन् ।
एमाले पोलिटब्युरो सदस्य एवं प्रचार विभागका उपप्रमुख विष्णु रिजालले पछिल्लो समय विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेको लहर चलेको बताए । जिल्लादेखि केन्द्रीय कार्यालयसम्म दिनहँु पार्टी परिवेशको कार्यक्रम भइरहेको उनले बताए ।
एमालेबाट विद्रोह गरी गठन भएको एकीकृत समाजवादीका नेताहरू एमालेमा प्रवेश गर्न थालेपछि अध्यक्ष ओलीले आगामी चुनावसम्ममा एकीकृत समाजवादीमा कार्यकर्ता नै नरहने ठोकुवा गर्दै आएका छन् ।
गत महिना पोखरामा नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै ओलीले चुनावसम्ममा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल कार्यकर्ताविहीन हुने दाबी गरेका थिए । ‘तपाईंहरूलाई यो भविष्यवाणी मिल्दैन कि भन्ने लाग्यो होला, नोट गरेर राख्नुस् । चुनावसम्ममा माधव नेपालसँग आपूmबाहेक कार्यकर्ता नै रहँदैनन्’ ओलीले भनेका थिए ।
एमालेको ध्यान गठबन्धनतर्फ
विभिन्न पार्टीबाट नेता कार्यकर्ता एमालेमा भित्र्याउँदै एमालेलाई थप शक्तिशाली बनाउने योजनामा ओली छन् ।
आगामी निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनलाई परास्त गर्न एमालेले भित्रभित्रै विपक्षी दलको गठबन्धन निर्माणमा सक्रिय रहेको छ ।
एमालेले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल), जनता प्रगतिशील पार्टी नेपाल (जप्रपा), तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)सहितका दलसँग चुनावी गठबन्धन बनाउने आन्तरिक गृहकार्यमा जुटेको छ ।
सत्तारूढ नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा) र राष्ट्रिय जनमोर्चाको पाँच दलीय गठबन्धन रहेको छ । पाँच दलीय गठबन्धन अहिले सिट बाँडफाँटको आन्तरिक छलफलमा व्यस्त छ ।
एमाले अध्यक्ष ओली आफंै गठबन्धन निर्माणका लागि आन्तरिक छलफलमा छन् । एमाले स्रोतका अनुसार अध्यक्ष ओलीले लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जप्रपा अध्यक्ष हृदयेश त्रिपाठी, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतका नेतासँग छुट्टाछुट्टै छलफल गरिरहेका छन् । राजधानी दैनिकबाट