मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले आगामी मंसिर ४ गते हुने निर्वाचनमा पार्टी होइन मत फेर्न सबैलाई मतदातालाई आग्रह गरेका छन् । चुनावी प्रचारप्रसारको कार्यक्रम अन्तर्गत हेटौंडा आएका लामिछानेले ठूला राजनीतिक दलको झुटा आश्वासन धेरै हेरिएको भन्दै अब मत फेर्ने समय आएको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरको आयोजनामा मंगलबार हेटौंडामा भएको सभामा सम्बोधन गर्दै लामिछानेले भने– ‘वर्षौदेखि लागेको पार्टी छोड्नुस भन्दिन । यसपटक निर्वाचनमा पार्टी होइन मत फेरेर हेर्नुस् ।’ देशमा भएको भ्रष्टाचार अन्त्य गर्न आवश्यक रहेकोले पनि आफु राजनीतिमा आएको उनले बताए । वैदेशिक रोजगारीमा गएका यूवाहरुलाई नेपाल फर्क अभियान नै संचालन गरेर काम गरी खाने वातावरण सिर्जना गर्ने योजनासहित राष्ट्रिय स्वतन्त्र पार्टी अगाडी बढेको लामिछानेले जानकारी दिए ।
‘काम गर्न चुनाव जित्नै पर्दैन । समस्या पर्दा सबैलाई सहयोग गर्न तयार छु । समाजमा चेलिबेटीहरुमा भएको विभेद अन्त्य गर्न र अत्याचार गर्न सधै आवाज उठाईरहेको छु’ लामिछानेले भने । उनले आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी महिला उम्मेदवार उठाएको जानकारी गराउँदै आफूले हात हालेको काम अधुरो छोडेको छैन, देशमा भएका समस्याहरु स्थायी रुपमा समाधान गर्न तयार रहेको बताए ।
मकवानपुर । आसन्न निर्वाचनमा मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा क का उम्मेदवार प्रेमबहादुर पुलामी छिन्तुले विकास र परिवर्तन हेर्न बागमती गाउँपालिका आउनुपर्ने बताएका छन् । लोकतान्त्रिक–बाम गठबन्धनमा नेकपा माओवादी केन्द्रका तर्फबा उम्मेदवार रहेका छिन्तुले बागमती गाउँपालिकाकाे चुनावी सभामा बागमती गाउँपालिकामा नमुना विकास भएको बताए ।
पुलामीले पालिकाको विकासमा प्रदेश सरकार र स्थानीय सरकारले बागमती गाउँपालिकाको मुहार फेरेको उनले दावी गरे ।नेपाली राजनीतिमा गर्विलो ईतिहास भएको बागमती गाउँपालिकाको इतिहास कायम गर्न आम नागरिकलाई उनले अपिल समेत गरेका छन् । ‘हिजो व्यवस्था बदल्न गठबन्धन गर्याैं अब अवस्था बदल्नु छ‘ पुलामीले भने ‘जनतासङ्ग गरेको वाचा पूरा गर्नै पर्छ ।’ बताउनुभयो । बागमतीको विकास अझै बाँकी रहेको बताउदै पुलामीले स्थानीय जनताको आवश्यकता र मागको आधारमा विकासका योजना ल्याईने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आफ्नाे गृह गाउँ भएकाे नाताले उनले भने ‘मलाई आफ्नो परिवारको सदस्य मान्नुस्, यहाँकाे जनताको हरेक सुखदुःखमा आफू सधै सङ्गै रहने छु ।’ नेकपा माओवादी केन्द्रको बागमती प्रदेश उपाध्यक्ष समेत रहनु भएका उम्मेदवार पुलामीले प्रतिगमन ढाल्नको निम्ति गठबन्धनको आवश्यकता भएको बताए । उनले हिजो राजतन्त्र ढाल्न र आज प्रतिगमनलाई परास्त गर्न गठबन्धन गरिएको बताए ।
मकवानपुर । ४ मंशिरकाे प्रतिनिधि सभा तथा प्रदेश सभाकाे निर्वाचन नजिकिदै गर्दा मकवानपुरमा उम्मेदवारहरुले घरदैलाे तथा प्रचार प्रसारकाे कार्यक्रमलाई तीब्र पारेका छन् । हरेक दिन विहानैदेखि वेलुकासम्म नै उम्मेदवारहरु आआफ्नाे क्षेत्रका घरदैलाेमा मतदातासँगै रहने गरेका छन् ।
चुनावी प्रचार प्रसारमा हरेक गाउँ तथा बस्ती पुग्ने गरेका उम्मेदवार तथा दलका नेताहरुले निर्वाचन पछी नाक मुख नदेखाउने गरेकाे आराेप स्थानीय मतदाताहरुले लगाउने गरेका छन् । तर मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर–२ मा नेकपा एमालेका उम्मेदवार महेश कुमार वतौला र क्षेत्र नम्बर–२ को प्रदेशसभा (ख) मा उम्मेदवारी दिएका विष्णु प्रसाद ढकालले चुनाव जितेपछी जनताका हरेक समस्यामासँगै रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिनिधि सभा क्षेत्र नम्बर २ अन्तर्गतका कार्यक्रममा उनीहरुले जनतासँगै रहने प्रतिवद्धता व्यकत गर्ने गरेका छन् । साेमबार मकवानपुरकाे भीमफेदी गिाउँपालिकामा घरदैलो तथा सभामा दुवै जना उम्मेदवारहरुले चुनाव जितेर गएपछी काठमाडौं र हेटौंडा केन्द्रीत भन्दा पनि यस क्षेत्रका नागरिकका हरेक समस्यामा सधै हातेमालो गरेर अगाडी बढ्ने बताएका हुन् ।
बर्तौला र ढकालले भीमफेदी गाउँपालिका वडा नम्बर–१ को किसेडी, २ नम्बर वडाको कालिकाटार, ३ नम्बर वडाको केरावारी, ४ नम्बर वडाको चिउरी बगैचा लगायतका क्षेत्रमा घरदैलो र टोल टोलमा भएका सभालाई सम्बाेधन गर्दा स्थानीय वासिन्दाहरुले अघिल्ला निर्वाचनमा विजयी भएका उम्मेदवारहरु जितपछी आफ्ना क्षेत्रमा खासै नफर्किएको तथा विकास निर्माण र जनताकाे आधारभूत आवश्यकतामा समेत ध्यान नदिएकाे बताएका थिए । अहिलेका उम्मेदवारहरु चुनावका बेलामा घरमा आएर समस्या सुन्न आए जसरीनै नियमित आउने र स्थानीयका समस्या समाधान गर्न पहल गर्ने हाे भने मात्र मतदान गर्ने समेत प्रतिवद्धता जनाएका छन् ।

युवा उम्मेदवार गाउँ पुग्दा फुलमालाले स्वागत
मकवानपुर निर्वाचन क्षेत्र नं. २ को एमाले तर्फबाट प्रतिनिधि सभा सदस्य युवा उम्मेदवार महेश बर्तौला मकवानपुरगढी गाउँपालिकाका गाउँ पुग्दा स्थानियले फुलमालाले स्वागत गरेका छन् । स्थानीयले युवा उम्मेदवार माथि बिकास, समृद्धि र परिवर्तनको अपेक्षा राखेका छन् । आफ्नाे क्षेत्रबाट पटक पटक सांसद हुनुभएका बिरोध खतिवडा जसरी नहराउन आग्रह समेत गरेका छन् । नेकपा एकीकृत समाजवादीका खतिवडा उक्त क्षेत्रबाट गठबन्धनका तर्फबाट उम्मेदवार छन् ।
युवा उम्मेदवार बर्तौलाले मकवानपुर गढी गाउँपालिका क्षेत्रको आमभन्ज्याङ्ग, डुम्रेकुना, सुकौरा र बुढिचौरमा चुनावी सभामा सम्बोधन गरेका थिए । बर्तौलाले स्थानीयबासी समक्ष आफूले देश र जनताको पक्षमा काम गर्ने बताए । जनताको बिश्वास जोगाइराख्ने र जनताको चाहना बिपरित कुनै काम नगर्ने समेत उनले बिश्वास दिलाएका थिए । उम्मेदवार बर्तौलाले आफुले चुनाव जितेर सहिद बासुदेव मार्ग र बस्ती संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।
नेकपा एमालेकाे विद्यार्थी संगठन अनेरास्ववियुमा लामो समय बिद्यार्थी राजनिती गरेर अहिले पार्टी राजनितिमा सक्रिय रहेका बर्तौला उम्मेदवार मनाेनयन गरे पछी मकवानपुरगढी ६ कञ्चनथलीमा रहेकाे जनआन्दालनका मकवानपुरे शहीद वासुदेव घिमिरेकाे घर पुगी उनका पिताबाट आशिर्वाद लिएका थिए ।
मकवानपुर । संघीयता खारेजीलाई पहिलाे प्राथमिकतामा राखेर आवाज उठाउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार गुन्जन बहादुर न्याैपानेले बताएका छन् । मकवानपुर क्षेत्र नम्बर १ को प्रदेश सभा ‘ख’ का उम्मेदवार न्यौपानेले निर्वाचनको लागि ७ बुँदे संकल्प सार्वजनिक गर्दै आफू नष्ट हुन्छु तर भ्रष्ट हुन्न भनेका छन् ।
उम्मेदवार न्यौपानेले सोमबार हेटौंडामा आयाेजना गरेका पत्रकार सम्मेलनमा सात बुदे संकल्प सहितकाे घेाषणा पत्र समेत जारी गरेका छन् । सम्मेलनमा न्याैपानेले याैनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय पनि अरु सरह मानव भयकाेले उनिहरुकाे व्यक्तित्व विकास गर्ने बताए ।
उम्मेदवार गुञ्जनले आफू लामो समयदेखि धार्मीक र सामाजिक कार्यमा सक्रिय रहेको बताए । २०४७ सालदेखि राजनीतिमा सक्रिय रहेको बताउँदै उनले पहिलो पटक उम्मेदवारी दिएकाे बताएका छन् । यसअघि लामो समयदेखि पार्टीको जिम्मेवारीमा रहँदा संसदकाे उम्मेदवार बन्ने अवसर नपाएकोमा यसपटक पार्टीले दिएकाे अवसरकाे सदुपयाेग गर्ने बताए । आफू सांसद बन्नको लागि नभइ जनताको काम गर्नको लागि उम्मेदवार बनेको बताए ।
चुनावी प्रचार प्रसारकाे क्रममा आफ्नाे क्षेत्रमा घरदैलो कार्यक्रम गर्दा यसअघी निर्वाचनमा जितेका प्रतिनिधिहरुले आश्वासन मात्र दिएकाे तर विकास निर्माणका कार्य नगरेकाे जनगुनासो गर्ने गरेकाे समेत न्याैपानेले बताए । पहिलाे पटक उम्मेदवार बनेकाेमा हारजीत जे भए पनि अर्को पटक यही पदमा उम्मेदवार नबन्ने समेत उनले कार्यक्रममा उद्घाेष गरे ।
गुञ्जनले सार्वजनिक गरेको ७ संकल्पः
१. सर्वसुलभ सुविधा सम्पन्न हेटौडा अस्पताल स्तरोन्नतिमा पहिलो अठोट् । सर्वसुलभ प्राविधिक समेतका विश्वविद्यालय निःशुल्क +२ सम्म विद्यालयका लागि नीति निर्माणमा जोड ।
२. बेरोजगारलाई सीप र प्रशिक्षण । हेटौंडाका औद्योगिक क्षेत्रमा मकवानपुरको लगानी, मकवानपुरेलाई रोजगारी । सबै जातजाति, भाषाभाषीको हितमा राज्यको चासो र लगानी। यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायहरुको विकासमा पहलकदमी।
३) खुला क्षेत्र सहितको स्मार्ट, अपाङ्गमैत्री, प्रदुषण नियन्त्रित मकवानपुर । तामाङ सहित सबै जातिको लिपि भाषा अध्ययन प्रतिष्ठान बनाउने । समृद्ध नेपाली सभ्यता विश्वमा चिनाउने ।
४) उद्यमशिलता बिकास बैंक स्थापना र कम ब्याजदर तथा सहज ऋण लगानी। मकवानपुरका नागरिक सबैको उद्यम र आयमा बृद्धि ।
५) संघियता खारेजीमा पहल र बेथिति बिरुद्धको पहरेदारी। मितव्ययी लोककल्याणकारी सरकार सञ्चालन नगरे राप्रपाको खबरदारी।
६) वन जंगल, सार्वजनिक जग्गा र नदी तट क्षेत्रबाट आम्दानी । समृद्धिको लागि कृषिमा मुलुकको प्राविधिक र प्रारम्भिक लगानी। सम्पूर्ण धार्मिक क्षेत्रको संरक्षण बिकास हाम्रो जिम्मेवारी ।
(७) स्वस्थ्य, शिक्षित, सुखि र समृद्ध मकवानपुर । योग, आयुर्वेद र प्राकृतिक उपचार पद्वतिलाई जोड । निःशुल्क दिर्घरोग परीक्षण राष्ट्रको अभिभारा । दिर्घरोगीलाई औषधि निःशुल्क लाभान्वित जनता सारा ।
४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि प्रयोग हुने अधिकांश निर्वाचन सामग्री विदेशबाटै आयात भएको छ । निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि केन्द्र र जिल्लाबाट गरी निर्वाचनका लागि ७२ प्रकारका निर्वाचन सामग्री खरिद गरेको छ । जसमध्ये अधिकांश विदेशबाट आयात भएका छन् ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगले केन्द्रीय कार्यालयमार्फत बोलपत्रबाट ५७ प्रकारका तथा जिल्ला तहबाट १५ प्रकारका गरी ७२ प्रकारका निर्वाचन सामग्री खरिद गरेको हो । तीमध्ये धेरैजसो विदेशबाटै ल्याइएका छन् ।
७२ प्रकारका निर्वाचन सामग्री
आयोगले मतपेटिका उत्तरी छिमेकी मुलुक चीनबाट ल्याएको हो । यसैगरी, सियो, लाह छाप भारतबाट ल्याइएको छ । धेरैजसो स्टेसनरीका सामग्री आयोगले भारतबाट खरिद गरेको छ ।
आयोगले निर्वाचन प्रयोजनमा छपाइसम्बन्धी (मतपेटिका स्टिकर र परिचयपत्र), मतपेटिका, छपाइसम्बन्धी (पोलबुक तथा कार्ड), लाह छाप, सुरक्षण सिल, रबर म्याट, स्वस्तिक छाप (रबर र पित्तल), स्ट्याप्लर मेसिन, स्ट्याप्लर पिन, छेकबार, स्ट्याम्प प्याड र मसी, मार्कर, सिसा कलम, सोसर, प्लास्टिक थैलो र बोरा, फोटोकपी पेपर, स्केल तथा कैंची, जेलपेन (कालो र रातो), मार्कर पेन, पन्चिङ मेसिन, कार्ड होल्डर, सलाई, धागो, ग्लुस्टिक तथा कोरा कपडा, डोरी, सियो, खापसियो, मैनबत्तीलगायतका सामग्री खरिद गरेको छ ।
१ लाख बढी मतपेटिका प्रयोग हुने
मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा १ लाखभन्दा बढी मतपेटिका प्रयोग हुने भएको छ । निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि ५५ हजार थान नयाँ मतपेटिका खरिद गरेको छ भने बाँकी पुरानै जगेडा मतपेटिकालाई प्रयोग गर्ने तयारी गरेको हो ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आसन्न निर्वाचनमा १ लाख २० हजार थान मतपेटिकाको प्रयोग हुने जानकारी दिए ।
उनका अनुसार आयोगले निर्वाचनका लागि स्थायी मतदान स्थल १० हजार ८ सय ९२ र मतदान केन्द्र २२ हजार २ सय २७ निर्धारण गरेकाले प्रत्येक मतदान केन्द्रमा कम्तीमा चारदेखि बढीमा पाँचवटा मतपेटिका पठाइनेछ । यसैगरी, केही मतपेटिकालाई आयोगले जगेडासमेत राख्नेछ ।
आयोगले निर्वाचनका लागि ८ करोड ३ लाख ९४ हजार ५ सय थान मतपत्र छपाइ गरेर धमाधम ढुवानी गरिरहेको छ । आयोगका अनुसार प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणालीका लागि कुल १ करोड ९८ लाख ७१ हजार थान प्रदेश सभातर्फ प्रत्यक्षका लागि १ करोड ९९ लाख १८ हजार ५ सय थान मतपत्र छापिएको छ ।
यसैगरी, प्रतिनिधि सभातर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि २ करोड ४ लाख २१ हजार थान र प्रदेशसभाको समानुपातिकतर्फका लागि २ करोड १ लाख ८४ हजार थान मतपत्र छपाइ भएको हो । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र आयोगले सबै जिल्लामा पठाइसकेको छ ।
निर्वाचनका लागि कुल मतदाता १ करोड ७९ लाख ८८ हजार ५ सय ७० कायम भएका छन् । जसमा पुरुष मतदाता ९१ लाख ४० हजार ८ सय ६ जना तथा महिला मतदाता ८८ लाख ४७ हजार ५ सय ७९ जना कायम छन् । यसैगरी, अन्य मतदाता १ सय ८५ जना छन् । राजधानी दैनिकबाट