मकवानपुर । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा चुनावी अभियान चलिरहदा आफ्नो प्रतिस्पर्धी दल तथा उम्मेदवारलाई गाली गलौच गर्ने क्रम समेत देखिएको छ । अर्को दलका शिर्ष नेतालाई उछितो काढने र आफ्नो को गुणगान गाउनमै समय खर्चिदैछन उम्मेदवारहरु । निर्वाचनको मर्म र आ आफ्नो मुल मुद्दा जनतालाई बुझाउन सकेको देखिदैन ।
मकवानपुर जिल्लाको सन्दर्भमा समेत उम्मेदवारहरु मुल मुद्दामा भन्दा सतही रुपमा घरदैलो तथा सभा गर्दैछन । भातृ संघ संगठनले गरेको अन्तरक्रियामा समेत उम्मेदवारको भाषणमा समेत मुल बिषयले प्रवेश पाउदैन । मकवानपुरको हेटौंडामा भएको गठबन्धन दलको नगरस्तरीय युवा भेलामा प्रतिनिधि सभा २ का उम्मेदवार बिरोध खतिवडाले एमाले अध्यक्ष केपी ओलीलाई दासहरुको झुण्ड थुपारेको आरोप लगाए । सत्तारुढ गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य खतिवडाले एमाले अध्यक्ष ओलीसंग दासहरु मात्र रहेको छ, चुनावको नतिजापछि कोही नहुने दावी गरेका छन ।
युवा भेलामा उनले यो चुनावमा एमाले पत्तासाफ हुने बताए । ‘२ तिहाईको सरकार ढल्यो । पार्टी फुट्यो । स्थानीय निर्वाचनमा लज्जास्पद हार हुँदा पनि अझै एमाले अध्यक्षको चेत खुलेको छैन’, उनले भने, ‘ओली कम्युनिस्टको नाममा कलंक भएर निस्किए ।’ एमालेले देशद्रोही, विखण्डनकारी, दमनकारी र मन्डलेसंग एकता गरेको आरोप लगाउँदै उनले यसबाटै एमालेको नीति र विचार प्रष्ट भएको बताए ।
गठबन्धनको माहौल देखेर विरोधीहरु अत्तालिएको उनको आरोप थियो । चुनावको समयमा हुनसक्ने चलखेलको बिषयमा सतर्क रहन र मतदातालाई बुझाउन खतिवडाले युवाहरुलाई अनुरोध समेत गरे । ‘गठबन्धनको उद्देश्य सहित आफ्ना नेताहरुको पहलमा भएका राम्रा कामहरुको बिषयमा समेत जनतालाई बुझाउने कार्यमा लाग्न युवाहरुलाई अनुरोध गर्दछु’, उनले भने । गठबन्धनले हारे मुलुकमा फेरि प्रतिगमनको खतरा हुने उनको भनाई थियो ।

चुुनाव जितेपछि पनि जनतासंगै हुनेछु : डिना
सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले चुनावपछि पनि निरन्तर जनताको सुखदुःखमै रहने प्रतिबद्धता जनाएकी छिन् ।
मतदाताकोमा पुग्ने क्रममा धेरैले यसअघि जितेर गएका नेताहरु गाउँ नफर्केको गुनासो गरेको भन्दै उनले जनताको समस्या र गुनासो सुन्न कम्तिमा महिनामा एक पटक गाउँगाउँ जाने प्रतिबद्धता जनाएकी हुन् ।
लोकतान्त्रिक–बाम गठबन्धनको हेटौंडा उपमहानगरस्तरीय संयुक्त युवा भेलालाई सम्बोधन गर्दै उनले भनिन्, ‘म सांसद् बन्नका लागि मात्रै तपाईंहरुको माझ आएको होइन, समानुपातिकको सहज बाटोबाटै सांसद् बन्न सक्थें । जनताको सुखदुःखमा साथै रहन्छु, यहाँका युवामाझ रहेर काम गर्छु भनेर आएको हुँ ।’ पटक पटक मन्त्री र माननीय भएकाहरु पनि अहिले आफूसंगको प्रतिस्पर्धामा रहेको भन्दै डिनाले उनीहरुले मकवानपुरको विकासमा के गरे त्यो खोज्न अनुरोध गरिन् ।
‘चुनावमा मत नपुगेपनि हामी निरन्तर मकवानपुरको विकास र यहाँका जनताको सुखदुःखमा साथै छौं’, उनले भनिन्, ‘यसपटक गठबन्धनका उम्मेदवारलाई जिताउनुहोस् त्यसपछिको ५ बर्ष हेर्नुहोस् ।’ मतदातालाई सचेत गराउने र जनतालाई सही तरिकाले गठबन्धनको पक्षमा भोट हाल्न लगाउन युवाहरुको महत्वपूर्ण भूमिका हुने उनकोे भनाई थियो ।
आफूहरु गठबन्धनको साझा उम्मेदवार भएकोले चुनावपछि पनि साझा भएरै काम गर्ने प्रतिबद्धता डिनाले जनाइन् । बजारको समस्या समाधान, कलकारखाना स्थापना, रोजगारीको सृजना गर्ने डिनाले योजना सुनाइन् । गर्व गर्न लायक प्रदेश राजधानी बनाउने उनको भनाई थियो ।

बोलेको कुरा पूरा नभए अर्को पटक आउँदैनौं : पराजुली
लोकतान्त्रिक–बाम गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ का उम्मेदवार कांग्रेसका नेता आनन्दराम पराजुलीले ‘हामी जे बोल्छौं, त्यो पूरा गर्छौं, गर्न नसक्ने काम बोल्दैनौं भनेका छन् । युवा भेलामा उनले भने, ‘तपाईंहरुको काम गर्न, सेवा गर्न आएका हौं । बोलेको कुरा पूरा गर्न सकेनौं भने अर्को पटक हात जोडेर आउँदैनौं । हामी काममा विश्वास गर्छौं ।’
एमालेले जनमतको अपमान गरेकाेले अहिले उसँग कुनै एजेण्डा नै नभएको आरोप समेत पराजुलीले लगाएका छन् ।एजेण्डाविहीन एमालेले अहिले गठबन्धन भत्काउन अनेक षड्यन्त्र गरिहेको बताए । युवा भेलामा उनले मकवानपुरको क्षेत्र नम्बर १ का एमालेका नेता कार्यकर्ता समेत गठबन्धनलाई मतदान गर्न तयार रहेको दावी गरे ।
‘एमालेका असली नेता कार्यकर्ताहरु अहिले पीडामा छन् । एमालेमा बर्षौं काम गरेका नेताहरुलाई पाखा लगाएर व्यवस्था विरोधीलाई टिकट दिएको छ’, पराजुलीले भने, ‘हामी साझा उम्मेदवार हौं, साझा भएरै काम गर्नेछौं । एमालेको पनि काम गर्छौं ।’ निर्वाचनको समयमा जनतामाझ गरेको प्रतिबद्धता पूरा गर्न नसके अर्को पटक भोट माग्नै नआउने उनको भनाई थियो ।
पछिल्लो समय आर्थिक प्रलोभन देखाउँदै केही उम्मेदवार गाउँ डुलिरहेको जानकारीमा आएको भन्दै उनले अहिले पैसा बाँड्नेले पछि भ्रष्टाचार गर्ने भएकोले सतर्क रहन अनुरोध गरे । जागरुक युवाहरुले अब परिवर्तनको पक्षमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने र मतदान गर्न लगाउनुपर्ने उनले सुझाव दिए ।
तरुण दलका नेता सुशील सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मानकुमारी नेपाली पाख्रीन, कांग्रेस मकवानपुर सचिव ईश्वर पाठक, युवा संघ केन्द्रीय सचिवालय सदस्य कविन पन्त, वाइसीएल जिल्ला अध्यक्ष लवराज ठकुरी, युवा संघ नगर इन्चार्ज सफल अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
मकवानपुर । मकवानपुर क्षेत्र नम्बर १ प्रदेश सभा (क) का उम्मेद्बार कमल बिष्टले नेकपा एमाले विकास र समृद्धिको सम्बाहक भएको बताएका छन । एमाले देशको पक्षमा निरन्तर पहरेदार गर्ने पार्टी भएकोले नेकपा एमालेलाई जिताउन आग्रह गर्दै नेकपा एमालेको विकल्प नभएको उनले बताए ।
शनिबार बकैयामा भएको चुनावी सभा र विद्यार्थी भेलामा बोल्दै जनताको बिश्वास पाउने बताउँदै एमालेको जितलाई कसैले रोक्न नसक्ने बिष्टले बताए । एमालेको सरकारले निरन्तर अडान लिएका कारण लोकतन्त्र र गणतन्त्रका लागि नेकपा एमालेलाई जिताउनु पर्ने बिष्टको भनाई थियो । स्वाधिनता, समृद्धि र बिकास चाहने हो भने नेकपा एमालेले चुनावमा बिजयी बनाउन उनले मतदातालाई आग्रह गरे । उनले परमादेश सरकारले एमाले विरुद्ध सबै जाल झेल र षड्यन्त्र गरेको बताउदै नेकपा एमालेलाई विजयी बनाएमा विकास समृद्धिका बाँकि काम एमालेले पुरा गर्ने बताए ।
राष्ट्रियता जोगाउने र नजोगाउनेका बिच युद्ध र आन्दोलन मंसिर ४ गते हुने भन्दै राष्ट्रियता जोगाउने एमालेलाई बिजयी बनाउन उनले आग्रह गरे । कार्यक्रममा एमाले केन्द्रिय कमिटी सदस्य कृष्ण प्रसाद दाहाल, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, बागमती प्रदेश कमिटी सदस्य श्रीधर पोख्रेल, देबराज रीमाल, प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापा, नारायण सापकोटा, जिल्ला उपसचिव हिदम लामा, जिल्ला सचिवालय सदस्य मदन दाहाल, दिपक खड्का धरम लामा, कृष्ण चौलागाईं, नरहरी महतलगायत सहभागी हुनुहुन्थ्यो ।
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार दीपक बहादुर सिंहले आफु भत्ता खान टोपी ढल्काउन र मन्त्री बन्न मात्रै सांसदमा जान नखोजेको बताएका हुन् ।
चुनावी प्रचार प्रसारको घरदैलो तथा कोण सभा गर्दै हेटौंडा ४ र ८ नम्बरमा उम्मेद्बार सिंहले आफु जनताको प्रतिनिधि भएर जनताको सेवा गर्नको निमित्त ससदमा जान खोजेको बताएका हुन् । राप्रपा केन्द्रीय सदस्य रहेका सिंहले पार्टीमा अनेक संकट आउँदा चट्टान बनि उभिएको र हेटौंडाको विकासको निमित्त सँधै आवाज उठाउँदै आएको बताए । उनले स्थानीय तहमा जस्तो कुनै पनि कमजोरी नगरी कार्यकर्ताहरुलाई मतदान गर्ने शिक्षा देखि राजेन्द्र लिङ्देनले गरेका राम्रा कामको प्रचार गर्न आग्रह गरे।
यसपटक चुनाव जित्ने धेरै आधारहरु भएको भन्दै बर्तमान अवस्थाबाट जनतालाई बचाउन सके चुनाव जित्ने निश्चित भएको सिंहको भनाई थियो । उनले आफुले चुनाव जितेर गएको अवस्थामा जनताको हित हुने नीति निर्माण गर्न पहल गर्ने , युवा र विद्यार्थीहरुको विषयमा आवाज उठाउँने र मकवानपुरको विकासमा आहोरात्र खट्ने समेत बताए ।
मकवानपुर । मंशिर ४ को निर्वाचनमा उम्मेदवारहरु घरदैलो तथा प्रचार प्रसारमा ब्यस्त रहेका छन । मकवानपुर जिल्लाको २ प्रतिनिधि सभा र ४ प्रदेश सभा निर्वाचन क्षेत्रमा चुनावी प्रतिस्पर्धा रोचक बन्ने आकलन गरिएको छ । राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने नेताहरुको कारण रोचक हुने निर्वाचनमा उम्मेदवार भने एजेन्डा बिहिन प्रचार प्रसारमा ब्यस्त देखिन्छन ।
स्थानीय आबश्यकता र मतदाताको इच्छा एका तर्फ रहेको सन्दर्भमा उम्मेदवारहरु पार्टी वा पार्टी नेताको बखान गर्न कि त प्रतिस्पर्धी उम्मेदवारलाई गाली गर्नै समय खर्चिरहेका छन ।
शनिबार राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले चुनावी सभामा एमाले अध्यक्ष केपी ओलीको खुलेर प्रशंशा गरेका छन । एमालेको सूर्य चिन्हबाट मकवानपुरको क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा उम्मेदवार थापाले एमाले अध्यक्ष के पी ओली राष्ट्रियता बोक्न सक्ने आँटीलो नेता भएको बताए । नाकाबन्दीको समयमा लिएको चट्टानी अडान र राष्ट्रियताको सवालमा लिएका ऐतिहासिक निर्णयका आधारमा एमाले अध्यक्ष ओली राष्ट्रवादी नेता भएको थापाले बताए ।
शनिबार क्षेत्र नम्बर १ अन्तरगत्को बकैया गाउँपालिकामा आयोजीत चुनावी सभा र भेलामा थापाले केपी ओलीजस्तो एउटा दृढ आडन र राष्ट्रवादी सोच भएको नेतालेमात्र देशलाई संकटबाट मुक्त तुल्याउन सक्ने बताए । एक समय सरकारमा रहेर संगै काम गरेको बताउँदै उनले उक्त समयमा आफूहरुले राष्ट्र र राष्ट्रियताको सबालमा गरेका काम अहिले पनि सम्झन लायक रहेको बताए । थापाले भने ‘केपी ओलीसँग एउटै सरकारमा रहेर काम गर्ने अवसर पाएको थिएँ । हामीले भारतले गरेको नाकाबन्दीलाई परास्त गर्न सफल भयौँ ।’
थापाले ओलीले सरकारमा रहेका बेला गरेका गरेका दुई वटा कामका लागि ओलीलाई सधैँ देशले सम्झिने बताए । मधेशमा देखा परेको पृथकताबादी आन्दोलन र विप्लवलाई शान्तिपूर्ण वार्तामा ल्याउने काम ओली गरेको उनले बताए। त्यसैगरी लिम्पियाधुरा लिपुलेकसहितको नक्सा ल्याएर ओलीले देशलाई गुन लगाएको समेत उनले जानकारी दिए । त्यसै राष्ट्रवादी शक्तिले आउदो चुनाव जित्नुपर्ने उनले बताए ।
अहिलेको निर्वाचनले बिदेशीको इसारामा चल्ने कठपुतली सरकार बन्नबाट रोकेर राष्ट्रवादी सरकार गठन गर्ने अभिभारा एमाले नेतृत्वलाई दिने थापाको भनाई थियो ।
मकवानपुर । मंशिर ४ गते हुने निर्वाचनमा नेपाल परिवारदलले मकवानपुर जिल्लामा नेकपा एमालेलाई सहयाेग गर्ने भएकाे छ । एमालेबाट जिल्लामा उम्मेदवार बनेका प्रतिनिधिसभा तथा प्रदेश सभाका ६ जना उम्मेदवारलाई सहयोग गर्ने दलले जनाएकाे छ ।
शनिबार परिवार दलका तर्फबाट जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य हरि बहादुर लोप्चनले पत्रकार सम्मेलन मार्फत आफ्नो पार्टीले प्रतिनिधीसभा र प्रदेशसभा तर्फ एमालेका उम्मेदवारलाई मतदान गर्ने बताए । परिवार दलभित्र आवद्ध रहेका र बाहिर समेत रहेका आम नागरिकलाई एमाले नै राष्ट्रियताको पक्षमा उभिएको पार्टी भएकाले मतदान गर्न लोप्चनले आग्रह समेत गरेका छन् । परिवार दलले मकवानपुरमा एमालेका उम्मेदवारलाई सहयाेग गर्ने कदम सकारात्मक रहेको एमाले मकवानपुर प्रचार विभाग प्रमुख धुर्व प्रसाद चौलागाईले बताए ।
निर्वाचनमा एमाले तर्फबाट प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा कमल थापा, क्षेत्र नम्बर–१ प्रदेशसभा क मा कमल विष्ट, प्रदेश सभा ख मा एकालाल श्रेष्ठ, क्षेत्र नम्बर–२ मा महेश कुमार बर्तौला, क्षेत्र नम्बर–२ प्रदेश सभा क मा विष्णु प्रसाद ढकाल र प्रदेश सभा ख मा लाल बहादुर थापा उम्मेदवार रहेका छन् ।