मकवानपुर । मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाे निर्वाचन आयोगले जनाएकाे छ । निर्वाचनमा देशभर १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले आफ्नाे मताधिकार प्रयाेग गर्ने भएका छन् । उनीहरुले १० हजार ८ सय ९२ मतदान स्थलमा रहेका २२ हजार २ सय २७ मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्ने आयाेगले जानकारी दिएकाे छ ।
यसैगरी १४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब ४ लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने निर्वाचन आयाेगले विहीबार गरेका पत्रकार सम्मेलनमा बताएकाे छ । निर्वाचनमा प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि २ हजार ४ सय १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । यसैगरी प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ २ हजार १ सय ९९ उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा कायम गरिएको आयाेगले बताएकाे छ ।
प्रदेश सभातर्फ पहिलो हुने निर्वाचिन हुने निर्वाचन प्रणालीका लागि ३ हजार २ सय २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेकाेमा प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ३ हजार ७ सय ८ जना उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा कायम रहेकाे बताइएकाे छ । यसरी आसन्न निर्वाचनमा प्रतिनिधि तथा प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि कूल ५ हजार ६ सय ३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेकाेमा प्रतिनिधि तथा प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ५ हजार ९ सय ७ उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा कायम गरिएको छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि ३ करोड ९९ लाख ६२ हजार ५ सय मतपत्र र प्रतिनिधि सभा तथा प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीका लागि ४ करोड ६ लाख ५ हजार गरी कूल ८ करोड ५ लाख ६७ हजार ५ सय मतपत्र सम्बन्धित जिल्जामा पठाइसेकाे आयाेगले जनाएकाे हाे ।
मंसिर ४ काे निर्वाचनसम्बन्धी काम कारवाहीको पर्यवेक्षणद्वारा निर्वाचनको विश्वसनीयता अभिवृद्धि गर्न भारत, भुटान, बंगलादेश र माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त र श्रीलंका र दक्षिण कोरियाका निर्वाचन आयुक्तसहितको टोलीले निर्वाचन पर्यवेक्षण गर्ने भएका छन् । नेपालस्थित १८ वटा कुटनीतिक नियोगहरूबाट समेत मतदानको दिनको अवलोकन गरिने भएको छ । अनुमति प्राप्त ४४ वटा राष्ट्रिय संस्थाबाट ७ हजार २ सय ७ र २ वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना गरी ७ हजार २ सय १९ जनालाई आयोगले पर्यवेक्षण परिचय पत्र उपलब्ध गराएकाे जनाएकाे छ । पर्यवेक्षकहरूले प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित प्रणालीको १ सय ६५ निर्वाचन क्षेत्र र प्रदेश सभाको पहिलो हुने निर्वाचित निर्वाचन प्रणालीको ३ सय ३० वटै निर्वाचन क्षेत्रमा निर्वाचन पर्यवेक्षण गर्ने छन् ।
मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब २ लाख ४६ हजार ९ सय ६० कर्मचारी एवं आवश्यकता अनुसारका सुरक्षाकर्मी मतदान स्थलमा पुगिसकेकाे आयाेगकाे दावी छ । मतदान केन्द्रमा पुगेका मतदान अधिकृतबाट सर्वपक्षीय बैठक राख्ने, मतदान केन्द्रको क्षेत्र तोक्ने, प्रचारप्रसार गर्न निषेध गरेको सूचना प्रकाशन गर्ने, शान्ति भंग गर्न निषेध गरेको सूचना प्रकाशन गर्ने, मादक पदार्थ निषेध गर्ने तथा हातहतियार लिएर हिँडन वा प्रयोग गर्न नदिने लगायत विषयमा आवश्यक तयारी विहीबारबाटै सुरु गर्ने समेत आयाेगले पत्रकार सम्मेलनमा जनाएकाे हाे ।
त्यसैगरी आगामी दुई दिनभित्र मतदानमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट मतदान केन्द्रको निर्माण कार्य सम्पन्न हुनेछ । मतदान केन्द्र निर्माण गर्दा लैंगिक समावेशी, अपांगता मैत्री तथा सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, बिरामी र अशक्त मतदाताका लागि सहज हुने गरी बनाउन आवश्यक निर्देशन दिइएको छ । मतदान शुरू हुने दिन भन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण तथा सेवन गर्ने/गराउने कार्यलाई पूर्ण रूपले निधेष गर्ने व्यवस्था मिलाउन जिल्ला आचारसंहिता अनुगमन समिति र स्थानीय प्रशासनलाई सक्रिय बनाइएको आयाेग बताउँछ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, अन्य सरकारी निकायका स्थानीय तहमा रहेका कार्यालय तथा निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई मदिरा बिक्री वितरण, ओसार पसार तथा सेवन गर्ने/गराउने कार्यको सूक्ष्म अनुगमन गरी आवश्यक कारवाहीको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ । मतदान हुने दिन भन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी तथा मस्तिस्क मन्थन लगायतका कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नपाइने आयाेगले जनाएकाे छ ।
त्यसैगरी यस अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोष्ट वा शेयर गर्न वा गराउन समेत नपाइने व्यवस्था छ । त्यसैले आयोगले सामाजिक सञ्जाल तथा अनलाइनमार्फत गरिएका निर्वाचन प्रचारप्रसार सम्बन्धी विज्ञापन हटाउन निर्देशन दिइसकेको छ भने यस्ता विज्ञापनको अनुगमन गर्न विज्ञापन बोर्डलाई निर्देशन दिइएको छ ।
कसैले कसैलाई धाक, धम्की, डर वा त्रास देखाई वा अन्य कुनै किसिमले अनुचित प्रभावमा पारी कुनै निर्वाचन क्षेत्र वा मतदान केन्द्रमा निर्वाचनको कुनै काम वा मतदानको कामको निष्पक्षता र स्वतन्त्रतामा असर पु¥याउने काम गरेमा निर्वाचनको काममा खटिएका कर्मचारी, सुुरक्षाकर्मी, अनुगमनकर्ता, पर्यवेक्षक वा जो कोहीले आफ्नो कर्तव्य सम्झी सूचना दिन, त्यस्तो कार्य रोक्न वा कानून बमोजिम कारवाही गर्न विशेष निर्देशन समेत आयाेगले दिइएको छ ।
मतदानको दिनभन्दा अगाडि र मतदान सम्पन्न भएपछि अन्तिम नतिजा नआउँदासम्म निहीत राजनीतिक स्वार्थले निर्वाचनको निष्ठालाई आघात पुर्याउने गरी देशभित्र र बाहिरबाट सामाजिक सञ्जालमार्फत फैलिन सक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिका कारण निर्वाचन व्यवस्थापन तथा सञ्चालन प्रभावित हुन सक्नेतर्फ आयोग सचेत रहेको समेत जनाएकाे छ । सामाजिक सञ्जालमार्फत मिथ्या सूचना, दुष्प्रचार एवं द्वेषपूर्ण अभिव्यक्तिका माध्यमबाट निर्वाचनको निष्ठामाथि प्रश्न उठाउने अवस्था आउन नदिन आयोग संवेदनशील रहेकाे बताइएकाे छ ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित, पारदर्शी एवं विश्वसनीय बनाउन आयोगले आवश्यक सुरक्षा प्रबन्ध मिलाइसकेको जनाएकाे छ । निर्वाचन बिथोल्ने वा बहिष्कार गर्ने, बुथ कब्जा गर्ने, मतदातालाई मतदानको अवसरबाट वञ्चित गर्ने, डर, धाक, धम्की दिने लगायतका कार्यहरू गरी निर्वाचनको स्वच्छतामा असर पुर्याउने कुनै पनि गतिविधिहरू रोक्न आवश्यक सुरक्षा रणनीतिसहित सुरक्षाकर्मी परिचालन गरिएको आयाेगले जनाएकाे छ । निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मीसहित तीन घेराको सुरक्षा व्यवस्थाका अतिरिक्त ३० मिनेटभित्र पुग्न सक्ने गरी पर्याप्त सुरक्षाकर्मीको रिजर्भ फोर्सको व्यवस्था गरिएको आयाेगले जानकारी दिएकाे छ । निर्वाचन सुरक्षा जोखिमका आधारमा आवश्यकता अनुसार सुरक्षा गस्ती परिचालन तथा क्षेत्रगत संवेदनशीलतालाई मध्यनजर गरी पर्याप्त मात्रामा अधिकार सम्पन्न घुम्ती टोली परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।
‘आयोगले निर्वाचनको सञ्चालन र व्यवस्थापनसम्बन्धी सम्पूर्ण व्यवस्थापकीय कार्य सम्पन्न गरिसकेको छ’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने ‘आवश्यक सुरक्षा व्यवस्था मिलाइ सकिएकाले मतदाताहरूलाई कसैको डर, धाकधम्की, प्रलोभनमा नपरी आफूलाई मन परेको राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन चिन्हमा मतदान गरी आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गर्दछु ।’
मकवानपुर । चुनावी प्रचार प्रसारमा रहेका उम्मेदवारहरु मतदाताको घरदैलोमा रहदा उनिहरुले स्थानीय उम्मेदवारलाई जिताउन लागि पर्ने बताउने गरेका छन ।
शहर केन्द्रित राजनीति गर्ने नेताले गाउँको समस्या समाधान गर्न नसक्ने भन्दै मतदाताहरुले स्थानीय उम्मेदवारलाई जिताउनु पर्ने बताउदै आएका छन् ।
बुधबार राक्सिराङका मतदाताहरुको समेत मकवानपुर क्षेत्र नम्बर २ प्रदेश सभा ख का उम्मेदवार लाल बहादुर थापालाई जिताउने बताएका छन । थापा त्यहाँका स्थानीय नेता हुन ।
राक्सिराङका अधिकाँश मतदाताले थापाको प्रसार प्रसारमा गाउँका आवश्यकता पुरा गर्ने नेता चाहिएको बताएका थिए । उनीहरूले यसपटक आफूले रोजे जस्तो नेता थापा पाएको बताएका छन् । नेकपा एमालेका तर्फबाट उम्मेदवार थापा घरदैलोमा रहदा स्थानीयले भने गाउँको बिकास गर्न र आबश्यकता पुरा गर्न नभुल्नु ।
‘म यहिको स्थानिय पनि हुँ मलाई यहाँको माया छ र समस्या सबै थाहा छ,म विकास गर्न आएको हुँ’ जवाफमा थापाले भने- आफू विजय पश्चात पहिलेका नेताको जस्तो गल्ती गर्दिन र सरकारबाट गाउँको विकासका लागि योजनाहरु ल्याउने छु ।’
गाउँलाई उत्पादन जोड्दै ग्रामिण सडकको निर्माण र स्तरोन्नती गरेर गाउँका उत्पादन शहरमा पुर्याउने ब्यबस्था मिलाउने र यसले केहि हदसम्म बेरोजगारी हुने थापाले बताए । साथै आफूले ग्रामीण समस्या तथा समाधानको लागि सधै लागि पर्ने समेत उनले प्रतिबद्धता ब्यक्त गरे ।
मकवानपुर । प्रतिनिधिसभा क्षेत्र नं २ का एमाले उम्मेदवार महेश बतौलाले युवाले अवसर पाँउदा काम गर्न सक्ने प्रमाणित गर्ने बताएका छन । आफू पहिलोपटक युवाहरुको प्रतिनिधित्व गर्दे निर्वाचनमा होमिएकोले युवाहरुले अवसर पाउँदा काम गर्न सक्छन भन्ने प्रमाणित गरेर देखाउने बताएका हुन ।
बुधवार नेकपा एमाले मनहरी गाउँपालिका कमिटीले ज्यामिरेमा आयोजना गरेको चुनावी कार्यक्रममा बतौलाले मकवानपुरमा लामो समयपछि पहिलो पटक युवाले निर्वाचनमा प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गरेको बताउदै उक्त अवसरलाई सदुपयोग गरि देखिने र जनताले महसुस गर्ने गरि काम गर्ने बताएका हुन ।
बर्तौलाले गठबन्धनका उम्मेदवारलाई लक्षित गर्दै भने एउटै नेता लामो समयदेखि मकवानपुर क्षेत्र नं २ बाट निर्वाचित हुदै आएता पनि जनताको समस्या जहाँको त्यही रहेको बताए । आफू निर्वाचत भए पश्चात जनताका हरेक समस्या समधान गर्ने जनता संगै रहने बताए ।
‘मनहरी गाउँपालिकाका जनताले लामो समयदेखि मध्यवर्ती क्षेत्रको त्रुटीपुर्ण कानूनका कारण समस्या भोगिरहेछन’ उनले भने नीतिगत निर्णय गरी समस्या समाधानको पहल गर्छु ।’ यस्तै यस क्षेत्रका सय जना ट्रयाक्टर व्यवसायीहरुले निकुञ्जका कर्मचारीको कारण
आफ्नो व्यवसाय राम्रोसंग गर्न नपाएको बताउदै बालुवा भर्ने, बालुवा चाल्ने, गिट्टी भर्ने लगाएत समान्य परिवारको जनताले पनि राम्रोसंग गरिखान नपाएकोमा दुख ब्यक्त गरे ।
आफनो क्षेत्रमा लामो समयदेखि रहेको यस्ता जनजीविकाका समस्याको अन्त्य गर्दै दिर्घकालिन रुपमा समाधानको लागि काम गर्ने बर्तौलाको भनाइ रहेको थियो । समस्या रहेको क्षेत्रमा सुधार आवश्यक रहेकोले आफुँ विजयी भएपछि यहि क्षेत्रबाट काम गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरे । कार्यक्रममा एमाले नेता कार्यकर्ता लगाएत जनताको उत्साहजनक सहभागिता रहेको थियो ।
मकवानपुर । नेकपा एमाले मकवानपुर अध्यक्ष हुन् एकलाल श्रेष्ठ । पहिलाे चुनावी मैदानबाटै दाैड जित्ने तयारीमा रहेका उनी मङ्सिर ४ गते हुने प्रतिनिध सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा पहिलोपटक उम्मेदवार रहेका छन् । मकवानपुरकाे क्षेत्र नम्बर १ प्रदेश सभा ख का उम्मेदवार श्रेष्ठ जनप्रतिनिधि बन्न चुनावी प्रचार प्रसारकाे दाैडधुपमा छन् ।
२०४४ सालदेखि विधिवत रुपमा कम्युनिस्ट राजनीतिमा प्रवेश गरेका एकालाल श्रेष्ठ मकवानपुर तथा हेटौंडाबासीका लागि कुनै नौलो नाम हैन । बुवा भिमलाल श्रेष्ठ र आमा चन्द्रकुमारी श्रेष्ठको जेठाे छाेरा एकलालकाे जन्म २०२७ साल साउन १७ गते भएकाे हाे । एकालाल पूर्णलालिन राजनीति र समाजसेवामा समर्पित छन् । हेटौंडाको सिद्धार्थ माविमा कक्षा ८ मा पढ्दै गर्दा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको सदस्यता लिएर २०४४ सालबाट राजनीतिमा पाइला राखे ।
पञ्चायत कालमा राजनीति गर्न पक्कै पनि सहज थिएन तर पनि त्यो चुनौतीपूर्ण अवस्थाको सामना गर्दै उनी निरन्तर राजनीतिमा सकृय रहे । २०४५ सालमा अनेरास्ववियु जिल्ला कमिटी सदस्य क्रमशः सचिव, उपाध्यक्ष हुँदै २०५२ सालमा अनेरास्ववियुको जिल्ला कमिटी अध्यक्ष बन्न सफल भए । जिल्ला अध्यक्षको जिम्मेवारी पाउनु पनि निरन्तर विद्यार्थी राजनीतिमा उर्जाशिल भएर लागेको प्रतिफल रहेकाे उनी बताउँछन् । हेटौंडामा नै जन्मिएका एकालालले पछिल्लो समयमा देशमा भैरहेको धेरै राजनीतिक उथलपुथल नजिकबाट नियाल्ने अवसर पनि पाए । राजनितीलाई व्यवसाय हैन सेवा बनाउनुपर्छ भावना उनीमा विद्यार्थीकालदेखि नै जागृत थियो ।
निरंकुश निर्दलीय पञ्चायत विरुद्ध २०४६ सालमा भएको आन्दोलनमा श्रेष्ठले पनि सक्रीय भएर भाग लिएका थिए । उनीसँग हेटौंडामा हुने हरेक आन्दोलनमा अग्रपंक्तिकाे माेर्चा सम्हालेकाे अनुभव छ । विद्यार्थीको नेतृत्व गर्दै आन्दोलनमा लागिरहँदा उनले जेलजीवनको पनि सामना गर्नुपरेको थियो । यी यावत कुराहरु सम्झिदा जहिले पनि देश जोगाउनको लागि हरेक कुराको सामना गर्न सक्नुपर्छ भन्ने उर्जा प्राप्त हुने उनी बताउँछन् । अनेरास्ववियुको मकवानपुरको अध्यक्ष हुँदैगर्दा दुई कार्यकाल केन्द्रीय सदस्य, सचिवालय सदस्य समेत हुने मौका पाए । केन्द्रिय सचिवालय सदस्य भएपछि केन्द्रिय राजनीतिमा पनि उनको सम्पर्क बढ्दै गयो ।
एकलालसँगै त्यसबेला विद्यार्थी राजनीति सँगै गरेका ठाकुर गैरे, भानुभक्त ढकाल, शेरधन राई, विशाल भट्टराई, खिमलाल भट्टराई, योगेश भट्टराईहरु लगायतका नेताहरू एमालेकाे केन्द्रिय तहामा नै छन् । विभिन्न आरोह अवरोहलाई छिचोल्दै एकालाल अहिले नेकपा एमाले मकवानपुर जिल्ला कमिटी अध्यक्षको जिम्मेवारीमा छन् । तत्कालीन समयमा अनेरास्ववियुको मध्यमाञ्चल प्रमुख समेत भएर काम गरेका श्रेषठले २०४८ सालमा एमालेको पार्टी सङ्गठित सदस्यता प्राप्त गरी नेकपा एमालेको राजनीतिमा पाइला टेकेका हुन् ।
२०४९ सालमा तत्कालीन हेटौंडा नगरपालिका वडा नम्बर १ को नेकपा एमाले पार्टी कमिटीको पहिलो अध्यक्ष हुने सौभाग्य पनि उनकै नाममा छ । २०५० सालमा हेटौंडा नगर कमिटीको सदस्य हुदै २०६१ सालमा एमाले मकवानपुरको जिल्ला कमिटी सदस्य भएका थिए । पार्टी राजनीतिमा धैर्य र संयमता अपनाए अवसर आउँछ भन्ने उनको मनमा लागिरह्यो । २०६२–०६३ को मकवानपुरको आन्दोलनमा सक्रीय रुपमा सहभागि हुँदै गर्दा उनले ठाउँठाउँको आन्दोलनको नेतृत्व गरेका थिए ।
त्यसरी आन्दोलनको अगुवाइ गर्दा पटक–पटक सरकारले दमन गरी पक्राउ समेत गरेको थियो । निरन्तर नेकपा एमालेकै विभिन्न क्षेत्रमा सक्रीय एकालाल २०७२ सालमा नेकपा एमाले मकवानपुरको सचिव भए । नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेकपा बनेपछि भएका विभिन्न घटनाक्रमलाई नजिकबाट अवलोकन गरेका एकालाल पार्टीलाई सङ्कट परेको अवस्थामा नेतृत्व लिएर २०७७ साल पुस २५ गते पार्टीको अध्यक्ष बने । त्यसको एकवर्षपछि पुन २०७८ साल पुस २५ गते भएको नेकपा एमालेको जिल्ला अधिवेशनबाट एमाले मकवानपुरको अध्यक्षका रुपमा निर्वाचित भए एकलाल ।
यस्तै नेपाल बुद्धीचाल संघको केन्द्रिय कमिटीको विभिन्न जिम्मेवारीमा रही महासचिब हुँदै २०७२ चैत्र १३ गते केन्द्रीय अध्यक्षका रुपमा चयन भए । बुद्धिचाल खेलमा राम्रो अनुभव रहेका एकालालले नेपालमा पनि यो खेलको राम्रो आकर्षक छ भन्ने विदेशमा चिनाउने काम गरे । नेपालका बुद्धिचाल खेलका सन्दर्भमा नेपालका धेरै जिल्लाका साथै विभिन्न देशहरुमा समेत उनले नेपालको प्रतिनिधित्व गराउन सफल भएका छन् । एसियायी चेस महासङ्घको अध्यक्षको सल्लाहकार सन २०१८ देखि हालसम्म , विश्व बुद्धिचाल महासङ्घको बिकास आयोगको सदस्य सन् २०१५–२०१८ सम्म काम गरेर अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा पनि आफ्नो अनुभव सङ्गालेका छन् ।
निर्माण ब्यवसायी महासङ्घ मकवानपुरको दुई कार्याकाल महासचिव, मकवानपुर उद्योग वाणिज्य सङ्घको सल्लाहकार भैसकेका छन् एकालाल । यस्तै मकवानपुरको पुस्तकालय स्थापना एबम सामुदायिक बनहरुको अभियानमा समेत उनी जोडीएका छन् । यस्तै राजनीतिक अभियान सँगै सहकारी अभियानमा पनि उनी जोडिएका छन् । सहकारी संस्थाहरुको विभिन्न भूमिकामा गाँसिएका एकालालमा आजसम्म कुनै दाग लागेको छैन । श्रीलंका, नर्बे, अजरबैजान, जर्जिया, युएइ, बंगलादेश र भारतलगायतका देशहरु भ्रमण गरेका उनले विदेशी नीति र विकालाई पनि नियाल्ने मौका पाएका छन् ।
लामो समय राजनीति र समाजसेवामा सक्रिय एकालालमा युवा जोश छ अनि जाँगर छ । जनप्रतिनिधिका लागि पहिलोपटक प्रतिस्पर्धामा उत्रिए पनि उनिसँग अन्य धेरै कुराको अनुभव छ । सामाजिक, आर्थिक र खेलकुद क्षेत्रमा जोडिएका उनमा केही नयाँ गर्ने उत्साह छ । यो उत्साहलाई कायम राख्न हामी हेटौंडाबासीको एकालाललाई अमुल्य साथ रहने विश्वासका साथ उनी मकवानपुर क्षेत्र नम्बर १ को (ख) बाट नेकपा एमालेको तर्फबाट प्रदेश सभा सदस्यको उम्मेदवार बनेकाे बताउँछन् ।

मकवानपुर । नेकपा (एकीकृत समाजवादी)का स्थायी समिति सदस्य बिराेध खतिवडाले संबिधानको रक्षा गर्न गठबन्धनको आवश्यकता रहेकाे बताएका छन् । मकवानपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार खतिवडा समानुपातिक, समाबेशीता, धर्म निरपेक्षता, संघीयता र गणतन्त्रलाई संस्थागत गरेको संविधानकाे रक्षा गर्न गठबन्धनकाे जीत आवश्यक रहेकाे बताएका छन् ।
मकवानपुरको थाहा नगरपालिकामा बाम लोकतान्त्रिक गठबन्धनको चुनावी सभामा संबिधानको र लोकतन्त्रको रक्षाको लागि गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्दै खतिवडाले गठबन्धन सरकार बनेपछि यस क्षेत्रको बिकासका लागि बजेटमै समेटेर काम गरिने बताए ।
मंगलबार भएको सभामा नेकपा (माओबादी केन्द्र)की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चार्ज कुमारी मोक्तानले आफू प्रदेश सरकारमा रहँदा सरकारको तर्फबाट यस क्षेत्रमा बिकासका योजनाहरुले प्राथमिकता पाएकाे बताइन् । मकवानपुर २ प्रदेश सभा क उम्मेदवार मोक्तानले आफ्नो प्राथमिकतामा यस क्षेत्रको सडक, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत रहेकाे बताइन् । आफ्नाे क्षेत्रकाे बिकासको लागि प्रतिबद्ध भएको बताउँदै उनले स्थायी र प्रभावकारी बिकास गर्नको लागि आफू लगायत गठबन्धनका उम्मेदवारलाई मतदान गरी बिजयी गराउन अनुरोध गरिन् ।