बागमती प्रदेशको सत्ता समीकरणमा राप्रपा निर्णायक शक्तिको रूपमा देखिएको छ। प्रदेशमा सरकार गठनका लागि आफू निर्णायक बनेपछि प्रदेश संरचना खारेजीको माग गर्दै आएको राप्रपाले मुख्यमन्त्रीमा दाबी गरेको छ।
प्रदेश संरचना खारेजीको विषयलाई चुनावी मुद्दा समेत बनाएको राप्रपाले बागमती प्रदेशको सत्ताको चावी आफ्नो पोल्टामा आएसँगै मुख्यमन्त्रीमा दाबी गरेको हो। केन्द्रमा एमालेको नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै बागमती प्रदेशमा सत्ताको चावी राप्रपाको पोल्टामा पुगेको छ।
प्रदेशमा सरकार गठन गर्न आफू निर्णायक भएकाले पनि सरकारको नेतृत्वमा आफूहरूको दाबी स्वाभाविक रहेको राप्रपा बागमती प्रदेशका संसदीय दलका नेता उद्धव थापा बताउँछन्। १३ जना प्रदेशसभा सदस्य रहेको राप्रपाको हैसियत देखाउनका लागि सरकारको नेतृत्व गर्न आवश्यक रहेको थापाको भनाइ छ।
उनले प्रदेश सरकारको नेतृत्व गर्दै यसबाट जनतालाई सुशासन दिने र पाँच वर्षमा संघीयता खारेज गर्ने दावी गरे।
प्रस्तुत छ, यसै सेरोफेरोमा केन्द्रित रहेर राप्रपा बागमती प्रदेशका संसदीय दलका नेता उद्धव थापासँग श्रीजना नेपालले गरेको कुराकानी :
बागमती प्रदेश सरकारको नेतृत्वमा तपाईंहरूले दाबी गर्नुभएको हो ?
परिस्थितिजन्य कुरालाई कसैले रोक्न सक्दो रहेनछ। अहिले केन्द्रदेखि प्रदेशसम्म हेर्दा त्यसै खालको परिस्थिति सिर्जना भएको छ। राप्रपा पनि सक्षम छ, यसले देश र जनताको पक्षमा काम गर्न सक्छ। राप्रपाले पनि अलग पहिचान सहित जनताको सरोकारसँग सम्बन्ध राख्दै जनताको मर्म बुझ्न सक्छ र सेवा दिन सक्छ भन्ने उदाहरण दिन बागमती प्रदेश सरकारको नेतृत्वमा हाम्रो दावी रहेको हो।
हिजोको दिनमा त्यही संसद्मा प्रदेश संरचना खारेजीको माग गर्नुभयो। त्यही नाराले चुनाव जित्नुभयो। अहिले प्रदेश सरकारको नेतृत्वमा दाबी गर्न सुहाउँछ ?
राप्रपाको अलग दृष्टिकोणबारे अब नेपाली जनतालाई बुझाइराख्न आवश्यक भए जस्तो लाग्दैन। राजसंस्था, हिन्दु राष्ट्र र संघीयता खारेजीका ३ वटा मुद्दामा हामी अरू पार्टीभन्दा फरक छौँ। तैपनि यिनीहरूले यो कुरा उठाएको मात्रै हो। यिनीहरू यहाँ आउनै सक्दैनन्, राप्रपाको हैसियतै छैन‚ त्यसैले विरोध मात्रै गरेको हो भन्ने खालका कुराको जवाफ दिन हामीले प्रदेश सरकारमा दाबी गरेका हौँ। हामी यस्तो गर्न सक्छौँ भनेर आफ्नो हैसियत देखाउन प्रदेश सरकारमा जान चाहन्छौँ।
हामी सुशासन भनेको के हो ? भ्रष्टाचारमुक्त बनेर सत्ता सञ्चालन कसरी गर्ने भनेर देखाउने र त्यहीँभित्रै बसेर संघीयता खारेज गर्ने काम गर्छौं। यही कुरा उठाउँदै हामी संसद्सम्म आइपुगेका छौँ, अब सरकारसम्म पुग्छौँ। प्रदेश सरकारमा रहेर हामी पाँच वर्षभित्र प्रदेश संरचना खारेज गरेर देखाउँछौँ। अहिले आमनागरिकले प्रदेश संरचना काम छैन भन्ने अवस्था राप्रपाले नै सिर्जना गरेको हो।
प्रदेशले पहिलो कार्यकालमा राम्रो काम गर्न नसकेको भएर यसको औचित्यमाथि प्रश्न उठेको हो। तपाईंहरू प्रदेश सरकारमा गएरै पाँच वर्षमै संरचना नै खारेज गर्छु भन्नुहुन्छ। भनेपछि प्रदेशमा गएर अझ नराम्रो काम गर्छौं, प्रदेशलाई अझ कमजोर पार्छौं भन्न खोज्नु भएको हो ?
त्यस्तो होइन। हामी जतिन्जेल काम गर्छौं, राम्रो गर्छौं। प्रदेश सरकारबाट हामी राप्रपाको उपस्थितिलाई राम्रो देखाउँछौँ। हामीले सञ्चालन गरेको सरकार कस्तो हुन्छ भनेर देखाउँछौँ। भ्रष्टाचारीलाई कारबाही गर्ने काम पनि हामी गर्छौं। नीति नियमअनुसार काम गर्दै प्रदेश आवश्यक छैन भनेर खारेजीको मार्गमा पनि जान्छौँ। त्यसैले प्रदेश सरकारबाट राप्रपा कस्तो हो भनेर देखाउँदै यसलाई खारेज गर्छौं।
प्रदेशमा सुशासन कायम गर्छौं, राम्रो काम गर्छौं भन्नुहुन्छ। प्रदेशले राम्रो काम गर्न सक्ने भए खारेज चाहिँ किन?
प्रदेशबाट हामीले हाम्रो काम गर्ने तरिका देखाउने चाहिँ हो तर प्रदेशलाई खारेज गर्ने नै हो। प्रदेश संरचना यही पाँच वर्षभित्रै खारेज हुन्छ। राप्रपाले मुलुकमा संघीयता खारेज गरेरै छोड्छ।
यो त रूखको टुप्पोमा बसेर हामी फेद काट्छौँ भन्या जस्तो भएन ?
राजनीति र यो रूखको टुप्पोको कुरा मिल्दैन। सरल अंकगणितमा २ र २ जोड्दा ४ हुन्छ तर राजनीतिमा कहिलेकाहीँ २ र २ जोड्दा ५ पनि हुन्छ कहिलेकाहीँ २ र २ जोड्दा ३ पनि हुन्छ। त्यसैले यो राजनीतिक कुरा हो। त्यही अनुसार बुझेर हामीले प्रदेश खारेजीको कुरा गरेको हो।
प्रदेश सरकारमा दाबी गर्ने नै हो भने कि प्रदेश संरचना स्विकार्नुस् कि सत्ताको लोभ नगर्नुस्, हुँदैन?
यो विषयमा हामी पार्टी अध्यक्ष राजेन्द्र लिङदेनसँग छलफलमा छौँ। हामी पार्टीको निर्देशन मान्छौँ। अहिले तपाईंहरू त्यहाँ जाने कुरा छैन, अहिले सरकार बनाउन नसके नसकोस् तपाईंहरू बाहिरै बस्नुस् भन्ने आदेश आयो भने हामी सत्ता बाहिर बस्छौँ। होइन त्यहाँको स्रोत र साधन चाहिँ अर्कोले चलाउने, त्यसको शक्तिको प्रयोग चाहिँ अर्कोले गर्ने हामी चाहिँ खाली मुकदर्शक बन्ने मात्रै नगरौँ।
संसद्मा आफ्नै राम्रो उपस्थिति हुँदा अगाडि बढेर जनतालाई राप्रपाले के गर्न सक्छ भनेर देखाउने अवसरलाई उपयोग गर्दै प्रदेशलाई खारेज गर्नेतर्फ जानु भन्ने खालको कुरा पार्टीमा बनेको छ। अब अरू पार्टीको साथीहरूले हामीलाई त्यही खालको महसुस गर्छन् भने हामी उहाँहरूसँग वार्तामा बस्छौँ। उहाँहरूले हाम्रो उपस्थितिलाई महसुस गर्नुहुँदैन भने हामी सरकारमा जाँदैनौँ।
मुख्यमन्त्री नपाए प्रदेशमा सरकार गठन गर्न समर्थन गर्दैनौँ भन्न खोज्नु भएको हो ?
हामी सत्तामा नजान पनि सक्छौँ। त्यो कारण मात्रै होइन अरू कारणले पनि हामी सत्तामा नजान पनि सक्छौँ। हाम्रो उपस्थिति दलहरूले महसुस गरे भने हाम्रो समर्थन रहन्छ नत्र हामी बाहिरै बस्छौँ।
प्रदेश संरचना खारेजीको माग गर्ने तपाईंहरूले प्रदेश सरकारमा गएर कुशल काम गर्नुहुन्छ भनेर कसरी विश्वास गर्ने ?
यो कुरा हामीले चुनाव जाँदाखेरी भनेका थियौँ। भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानुसरह हो। अहिले यो मुलुकको सबैभन्दा ठूलो समस्या भनेकै भ्रष्टाचार हो। यसलाई नियन्त्रण गर्नु नै सबैभन्दा ठूलो उपलब्धि हो। हामी बेइमानी गर्दैनौँ। सबभन्दा ठूलो कुरा भनेकै हामी भ्रष्टाचार गर्दैनौँ। हामी बेथिति र अनियमिततालाई खोतलेर राम्रोसँग काम गर्छौं। thahakhabar.com बाट
मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी एमाले बागमती प्रदेश संसदिय दलको नेतामा जगन्नाथ थपलिया (जेएन ) चयन भएका छन ।
नेकपा एमाले केन्द्रिय सदस्य समेत रहेका थपलिया सर्वसम्मत रुपमा दलको नेता चयन भएका हुन । आज बागमती प्रदेश संसदियदलको कार्यालयमा बसेको बैठकले उनलाई दलको नेतामा चयन गरेको हो ।
चितवन निर्वाचन क्षेत्र नम्बर १ को १ बाट निर्वाचित थपलिया पार्टी अध्यक्ष केपि शर्मा ओलि निकट हुन । सतारुढ घटक एमाले प्रदेशसभाको दोस्रो ठूलो दल हो । बागमती सरकारको नेतृत्व एमालेले पाउँदा मुख्यमन्त्री थपलिया हुने पक्का भएको छ ।
संसदिय दलको नेता चयन गर्न बोलाईएको बैठकमा पार्टी उपाध्यक्ष अष्टलक्ष्मि शाक्य ,स्थायीकमिटी सदस्य एवम बागमती प्रदेश ईन्चार्ज काशिनाथ अधिकारी , पोलिट्ब्युरो सदस्य एवम बागमती प्रदेश सह ईन्चार्ज आनन्द पोखरेल केन्द्रिय सल्लाहकार एवम बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेल लगाएत नेताहरु उपस्थित थिए ।
मकवानपुर । बागमती प्रदेश सभामा आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदीय दलको नेता चयन गर्दैछ ।
एमालेको संसदीय दलको नेता चयन गर्नका लागि ११ बजेका लागि बैठक बोलाइएको छ । त्यसपछी नेता चयन गर्ने तयारी गरिएको छ । एमाले संसदीय दलको बैठकबाट सर्ब सहमतीमा दलको नेता चुनिने पार्टी जनाएको छ । एमालेका केन्द्रीय सदस्य समेत रहेका जगन्नाथ थपलीया संसदीय दलको नेता चयन गर्ने तयारी भएको एमालेका छ । थपलिया चितवनबाट निर्वाचित प्रदेश सांसद हुन् ।
प्रदेशका सांसदहरुको छलफल र केन्द्रको निर्देशन बमोजिम संसदीय दलको नेता चयन गर्ने भएकाले अहिले सम्मको अवस्थामा दलको नेतामा थपलीया हुने लगभग पक्का भएको एमालेका नेताहरु नेकपा एमाले बागमती प्रदेश कमिटीले जनाएको छ ।
हाल सम्म एमालेले बागमती प्रदेश सरकारको नेतृत्व पनि गर्ने केन्द्रमा सहमती भएको छ । त्यसैले एमालेले आज संसदीय दलको नेता चयन गरेपछी प्रदेशको मुख्यमन्त्री बन्ने बाटो पनि खुल्ला रहने छ ।
आजै दिउसो २ बजेका लागि प्रदेशसभा सचिवालयमा १०९ जना प्रदेश सांसदहरूको सपथग्रहण कार्यक्रम गर्ने तयारी गरेको छ । त्यसभन्दा अगाडी संसदीय दलको नेता चयन भइसक्ने र सपथग्रहण कार्यक्रममा सहभागि हुने एमाले मकवानपुरका अध्यक्ष तथा प्रदेशसभाका सदस्य एकालाल श्रेष्ठले बताए ।
मकवानपुर ।बागमती प्रदेश संसदमा नेपाली काँग्रेसबाट संसदीय दलको नेताको रुपमा बहादुर सिं लामा चयन भएका छन् ।
उनले कुल ३७ मध्ये २१ मत पाएका थिए । उनका निकटत प्रतिपर्धि इन्द्रबहादुर बानियाँलाई १६ मत प्राप्त भएको थियो ।मुख्यमन्त्रीको प्रमुख दाबेदार बानियाँले अन्ततः संसदीय दलको नेतामा नै पराजित हुनुपरेको छ ।
संसदीय दलको नेता बन्नका लागि पार्टी केन्द्रिय सदस्य बहादुरसिं लामा र प्रदेश सभापति इन्द्रबहादुर बाँनियाका बीच प्रतिस्पर्धा भएको थियो ।
बागमती प्रदेशमा कांग्रेसको ३७ जना सांसद छन् । दलको नेता बन्नका लागि १९ जना सांसदको समर्थन आवश्यक थियो ।
लामा निकट स्रोतका अनुसार सभापति शेरबहादुर देउवाले पार्टी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना, पार्टी प्रवक्ता डा प्रकाशशरण महत, नेताहरू मोहनबहादुर बस्नेत, मोहन आचार्य, मदन कृष्ण श्रेष्ठ खटाएका थिए । डा शंशाक कोइरालाले पार्टी केन्द्रीय सदस्य उर्मिला थापालाई पठाएका थिए।
उम्मेदवार बानियाँलाई गगन थापाले प्रत्यक्ष सहयोग गरेको बताईएको थियो । थापाको नातामा ससुरा पर्ने नुवाकोटकै जगदिशश्वर नरसिंह केसी बानियाँका लागि खटिएका छन् । बानियाँलाई प्रकाशमान सिंहले पनि सहयोगमा थियो।
प्रदेश सांसदमध्ये ३ जना केन्द्रीय सदस्य र दुई जना पार्टी जिल्ला सभापति रहेका थिए । जसमध्ये उम्मेदवार लामा आफैं केन्द्रीय सदस्य हुन् भने उनका प्रस्तावक कुन्दनराज काफ्ने र समर्थकमा उर्मिला केसी नेपाल छन् । प्रदेश सांसद बनेका २ वटा सभापतिमध्ये काभ्रेको तिर्थबहादुर लामा र नुवाकोटका रमेशकुमार महत लामाका समर्थक थिए । लामाको पक्षमा ललितपुरका प्रभावशाली नेता रामकृष्ण चित्रकार पनि साथमा थियो ।
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभामा संसदीय दलको नेता चुन्नको लागि आज मतदान कार्यक्रम हुँदैछ ।
आज विहान १० बजेसम्म उम्मेदवारको लागि दरखास्त समय तोकिएको थियो । जसमा उम्मेदवारको रुपमा काँग्रेसका प्रदेश साभपति इन्द्र बहादुर बानियाँ र केन्द्रीय सदस्य बहादुर सिं लामाले उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँको उम्मेदवारी दर्ताका लागि संसद प्रभात तामाङ प्रस्तावक रहेका छन् भने समर्थकमा छिरिङ दोर्जे लामा रहेका छन् । त्यसैगरि लामाको दर्ताका लागि प्रस्तावक कुन्दनराज काफ्ले र समर्थक उर्मिला नेपाल, तिर्थ बहादुर लामा , रमेश कुमार महत र रामकृष्ण चित्रकार रहेका छन ।

संसदीय दलको नेताको निर्वाचनका लागि कांग्रेस बागमती प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन गरि चुनावी कार्यक्रम संचालन गरिरहेको छ ।
दिउँसो २ देखि ३ बजेसम्म मतदान हुने कार्यक्रम तालिका रहेको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय परिसरमा निर्वाचन सम्बन्धी कार्यक्रम भइरहेको छ ।
बागमती प्रदेशमा कांग्रेसको ३७ जना सांसद छन् । दलको नेता बन्नका लागि १९ जना सांसदको समर्थन आवश्यक पर्दछ । दुवै पक्षले आ आफ्नो पक्षको तयारी तीब्र पारेका छन् । हिजो मंगलबार लामा र बानियाले आफूपक्षीय सांसदहरुको हेटौंडामा छुट्टा छुट्टै भेला आयोजना गरी आफ्नो शक्ति प्रर्दशन गरेका छन् ।
लामा र बानियाँले निर्वाचनको अघिल्लो दिनबाटै शक्ति प्रदर्शन गरेको र अनावश्यक भोज गरेकोमा भने कार्यकताहरुले नकारात्मक रुपमा टिप्पणी गरेका छन् ।
बानियाँले मकवानपुर २ को २ बाट र लामाले नुवाकोट २ को २ बाट गत मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य २०७९ को निर्वाचनमा बागमती प्रदेश सभा सदस्य जितेका थिए ।