विगत एक दशकयता नेपाली कांग्रेसको आर्थिक नीति र योजनाकारका रूपमा चिनिएका अर्थशास्त्री स्वर्णिम वाग्लेले कांग्रेस पार्टी नै छाडेका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ५० वर्षदेखि आफ्नो पारिवारिक विरासत गाँसिएको दल कांग्रेसबाट अलग भएको घोषणा गरेका हुन् । वाग्लेले २०७४ र गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको घोषणापत्र लेख्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
‘२०४२ सालको ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली कांग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु,’ वाग्लेले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् ।
वाग्लेले पछिल्ला वर्षमा कांग्रेस पार्टीभित्रका गतिविधि नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शिर निहुरिने अवस्था आएकाले आफू कांग्रेसबाट बाहिरिएको उल्लेख गरेका छन् ।
‘जननायक बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाइ–भाउजू–साला–भतिजाको अक्षम गिरोहमा परिणत हुने क्रममा छ ।’
‘जननायक बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाइ–भाउजू–साला–भतिजाको अक्षम गिरोहमा परिणत हुने क्रममा छ,’ उनले वर्तमान कांग्रेस नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै लेखेका छन् ।
वाग्लेले कांग्रेसमा आफूले विगत ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रूपमा रहेर आर्थिक नीति र योजना, वौद्धिक–सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा काम गरेको समेत भनेका छन् ।
उनले राष्ट्रिय योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवाले दिएको जिम्मेवारी आफूले कुशलताका साथ सम्पन्न गरेको पनि उल्लेख गरेका छन् ।
वाग्लेले अब बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्ने लक्ष्य पनि खुलाएका छन् ।
‘कांग्रेस–कम्युनिस्टका असल मानिस, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसे पनि नेपालको भलो चिताउने नेपाली मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ,’ वाग्लेले भनेका छन् ।
उनले आफू २०८० को सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुने उल्लेख गर्दै भनेका छन्, ‘सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेन्डा बोक्दै २०८० को सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु, आम निराशा चिरेर ‘यो देश बन्छ’ भन्ने आशा जगाउने हो, बनाउने नै हो । जय नेपाल ।’
रास्वपाबाट चुनाव उठने सम्भावना
राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ १ बाट प्रतिनिधिसभा उपनिर्वाचनमा उम्मेदवार बन्ने चर्चा भइरहेको बेला रास्वपाका महामन्त्री मुकुन्द ढकालले वाग्लले घण्टी चुनाव चिह्न लिएर तनहुँबाट उपनिर्वाचनमा उम्मेवदार बन्ने पुष्टि गरे ।
कांग्रेस परित्याग गरेको घोषणा गर्नुअघि वाग्नेले रास्वपासँग छलफल गरेको ढकालले दाबी गरे । वाग्लेलाई कांग्रेसले उपनिर्वाचनमा टिकट नदिने निश्चित भएपछि रास्वपा उम्मेदवार बन्ने तयारी गरेका हुन् । तनहुँ १ बाट सांसद भएका नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति भएपछि त्यहाँ १० वैशाख २०८० मा उपनिर्वाचन हुन लागेको छ । कांग्रेसले सो क्षेत्रबाट नेविसंघका पूर्व अध्यक्ष गोविन्द भट्टराईलाई टिकट दिने निर्णय गरेपछि वाग्ले बिच्किएका हुन् ।
वाग्लेलले आफ्नो क्षमताअनुसारको अवसर पार्टीमा नपाउने भएपछि पार्टी परित्याग गरेको नेपाली कांग्रेसका नेताहरूले पनि स्विकारेका छन् । कांग्रेसका सांसद प्रदीप पौडेलले पार्टीबाट पनि गल्ती भएको स्विकारे । ‘उनले पार्टी छाड्नेभन्दा पनि पार्टीभित्रको कमजोरी सच्चाउने अभियानलाई दह्रो बनाउने बाटो रोज्नुपथ्र्यो,’ पौडेलले भने । वाग्लेले कांग्रेसका नेता गोविन्द्रराज पोखरेललाई ह्वाट्स एपमा एउटा पठाएको सन्देशमा ‘देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको’ भनिएको छ ।
कांग्रेसको महाधिवेशनमा शेखर गगन पक्षमा खुलेर लागेको भन्दै नेपाली कांग्रेसका सभापति देउवा वाग्लेसँग रिसाएको बताइन्छ । देउवाले नै उनलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेका थिए पछिल्लो समय कांग्रेसको महासमिति सदस्यमा पनि देउवाले नै बनाएका थिए । राजधानी दैनिकबाट
सत्ता गठबन्धन आबद्ध नौ दलले सरकारमा सहभागी हुने दलको मन्त्रालयको संख्या र मन्त्रीको नाम टुंगाएका छन् । गठबन्धनमा आबद्ध ११ दलमध्ये नौ दल आजै सरकारमा सहभागी हुँदै छन् ।
नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी र आमजनता पार्टी गरी ९ दलको सहभागिता हुने भएको हो ।
नेकपा एकीकृत माजवादीका उपाध्यक्ष वेदुराम भुषालले सरकारमा ९ दल सहभागी हुने र शुक्रबार (आज) मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिए । ‘सरकारमा ९ दल सहभागी हुनेगरी मन्त्रालयको टुंगो लागेको छ, मन्त्रीको नामसमेत लगभग तय भइसकेको हुँदा शुक्रबार मन्त्रिपरिषद् विस्तार हुन्छ,’ नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष भुषालले राजधानीसँग भने ।
कांग्रेसले बिहीबार आफूले पाउने मन्त्रालयको टुंगो लागेपछि मन्त्रीको नाम पनि तय गरिसकेको छ । कांग्रेसले ८ वटा मन्त्रालय पाउने सहमति छ ।
कांग्रेस स्रोतका अनुसार उपसभापति पूर्णबहादुर खड्का सरकारमा उपप्रधानसहित सहभागी हुँदै छन् । उनकै नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुन लागेको हो । गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा, सहरी विकास, सामान्य प्रशासन, स्वास्थ्य, कानुन मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय पाएको छ ।
कांग्रेसले अर्थ मन्त्रालयमा प्रवक्ता प्रकाशशण महतलाई पठाउने यसअघि नै तय भइसकेको छ । यस्तै, सहरी मन्त्रालयमा एनपी साउद, सामान्य प्रशासनमा धनराज गुरुङ, स्वास्थ्यमा मोहन बस्नेत, कानुनमा डिगबहादुर लिम्बू र भूमि व्यवस्थामा सीता गुरुङलाई पठाउने कांग्रेसको तयारी छ ।
कांग्रेस उपसभापति खड्का र नेता रमेश रिजालको भने मन्त्रालय तय भइसकेको छैन । उनीहरूमध्ये एकले परराष्ट्र र अर्काले रक्षा मन्त्रालय सम्हाल्नेगरी सभापति शेरबहादुर देउवाले जिम्मेवारी’को निर्णय लिनेछन् । कांग्रेसले मन्त्री र मन्त्रालयको नाम तय गर्ने अधिकार सभापतिलाई दिइसकेको छ ।
यसैगरी, माओवादी केन्द्रले गृह मन्त्रालयसहित ५, एकीकृत समाजवादी र जसपाले २/२ मन्त्रालय पाउनेछ । माओवादी केन्द्रबाट हाल सरकारमा रहेका मन्त्री नै कायम रहनेछन् । यस्तै, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष वेदुराम भुषाल र उपमहासचिव प्रकाश ज्वाला मन्त्री बन्दै छन् । एकीकृत समाजवादीले भौतिक पूर्वाधार र वन मन्त्रालय पाएको छ ।
यसैगरी, जसपाबाट अशोक राई र राजकिशोर यादव वा प्रदीप यादवमध्ये एक जना मन्त्री हुँदै छन् । जसपाले शिक्षा र कृषि मन्त्रालय पाएको छ । नागरिक उन्मुक्ति पार्टीले युवा तथा खेलकुद मन्त्रालय पाएको छ । सो दलबाट अध्यक्ष रञ्जिता श्रेष्ठ आफैं मन्त्री बन्दै छिन् । लोसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्दै छन् । लोसपाले श्रम मन्त्रालय पाउने गठबन्धनमा सहमति भएको छ ।
जनमत पार्टीले उद्योग मन्त्रालय पाएको छ सो दलबाट अब्दुल खान मन्त्री छन् । उनलाई खानेपानी मन्त्रालयबाट उद्योगमा सरुवा गर्ने तयारी छ । सो दलले एक राज्यमन्त्री पनि पाउनेछ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय पाएको छ । सो दलबाट महिन्द्रराय यादव मन्त्री बन्दै छन् भने आमजनता पार्टीबाट प्रभु शाह मन्त्री बन्दै छन् ।
भागबन्डामा केही मन्त्रालय हेरफेर हुने भएपछि भौतिकमन्त्री नाराणकाजी श्रेष्ठ गृह र सामान्य प्रशासनमन्त्री अमनलाल मोदी ऊर्जा मन्त्री बन्नेछन् । राजधानी दैनिकबाट
मकवानपुर । बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानूनमन्त्री गंगा नारायण श्रेष्ठलाई दिइएको छ । बागमती प्रदेश मन्त्रिपरिषद्को बुधबारको बैठकले उनलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।
प्रदेश मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाको स्थानमा श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिएको हो। नेकपा एमाले सरकारबाट बाहिरिएपछि सरकारको प्रवक्ता तोकिएको थिएन ।
बुधबारको मन्त्रिपरिषद् बैठकले विभीन्न निर्णय समेत गरेको छ । बैठकले प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षमा सिन्धुलीका प्राध्यपक डाक्टर नरविक्रम थापालाई नियुक्त गरेको छ।
यस्तै बैठकले चेपाङ समुदायका न्वागी र माझी समुदायका लदी पर्वमा समुदायगत विदा दिने पनि निर्णय गरेको छ। बैठकले वैशाख १ गते देखि बागमती प्रदेशका सरकारी कार्यालयहरुमा विद्युतिय हाजिर गर्ने निर्णयसमेत गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ।
मकवानपुर । नेकपा एमाले पार्टी, नेता एवम कार्यकर्ताहरुले आफ्नो क्षमता,सिर्जनशिलता र कार्यकुशलाकाे उपयाेग गर्दै एकताबद्ध भएर काम गरेमा एमालेकाे विजयी अभियानलाई कसैले राेक्न नसकिने एमाले बागमती प्रदेश कमिटी सदस्य देवराज रिमालले बताएका छन ।
आइतबार नेकपा एमालेकाे बागमति गाउँपालिका वडा नम्बर ८ काे वडा अधिवेशनकाे उदघाटन गर्दै रिमालले यतिबेला एमालेकाे बैरी बाहिर नभएर एमाले भित्र नै रहेकाे बताए । रिमालले भने ‘चुनाबमा अन्तरघात गरेर सिरानी च्याप्दै रमाउने आचरणलाई समाप्त पार्न मिशन ग्रासरुट अभियान सन्चालन गरिएकाे हो ।’
वडा अधिवेशनबाट अध्यक्षमा भाेजमान लाेप्चन, उपाध्यक्षमा मान बहादुर बिक,सचिवमा साजन लामा,उपसचिवमा अनुषा सिन्तान र सुर्य बुट्टे स्याङतान निर्बाचित भएका छन। यस्तै सदस्यहरुमा पदम थाेकर,पदम स्याङतान,फुचिमांयां लाेप्चन,मान बहादुर थाेकर र मिरा तितुङ्ग लगायतका निर्वाचित भएका छन।
अधिवेशनमा एमाले बागमती प्रदेश सदस्य पदमा पाैडेल,जिल्ला सचिवालय सदस्य शर्मिला बिक,जिल्ला सदस्य मंगल रखाल,राजकुमार तिमल्सिनाले मन्त्यब्य ब्यक्त गर्नुहुँदै बलियाे एमालेले बाट मात्र लाेकतन्त्र र जनजिविकाको आन्दोलन बलियाे बन्ने बताएका थिए ।
मकवानपुर । नेपाली कांग्रेसका उपसभापति एवं संघीय सांसद धनराज गुरुङले मुलुकको राजनितिक, सामाजिक र आर्थिक पक्ष सवल बनाउँन शिक्षकहरुको ठूलो महत्व रहेको बताएका छन् । बागमती प्रदेशको राजधानी हेटौंडामा शनिवारबाट सुरु भएको नेपाल शिक्षक संघ बागमती प्रदेशको दोस्रो अधिवेशन उद्घाटन गर्दै गुरुङले यस्तो बताएका हुन् ।
उनले संघीय शिक्षा ऐन छिटोभन्दा छिटो ल्याउन पहल गर्ने प्रतिवद्धता जनाउदै शिक्षकलाई गम्भीर भएर काम गर्न आग्रह समेत गरे । पुस्ता निर्माणमा शिक्षकहरुकै हात हुने भएकाले त्यसतर्फ पनि सचेत रहनु पर्ने उनले बताए । उपसभापति गुरुङले सामुदायीक विद्यालयहरुमा पनि राम्रो पढाई हुन्छ भन्ने उदाहरण प्रस्तुत गर्न शिक्षक संघका साथीहरुले दत्तचित्त भएर काम गर्नुपर्ने बताए । उनले राम्रो भएको सामुदायिक विद्यालयलाई पछ्याउने काम गर्न शिक्षकहरुलाई अनुरोध गरे । हरेक पालिकाले अब एउटा नमुना विद्यालय बनाउनुपर्ने उनको सुझाब दिएका छन् ।
उनले पाठ्यक्रमबाट नैतिक शिक्षा हटाउँदा मुलुक भ्रष्टाचारतिर गएको दावी गरे । नैतिकवान मानिसहरुको कमी भएको तर्फ संकेत गर्दै उनले नेताहरुले पाठ्यक्रमबाट नैतिक शिक्षा झिकेर नथन्काइदिएको भए यति धेरै भ्रष्टाचार नहुने तर्क गरे ।
जिम्मेवारी बोध नगर्दा देश संकटबाट बाहिर आउँदैनः इन्द्र बहदुर बाँनिया
यसैबीच नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले सबैले आफनो काम अनुसारको जिम्मेवारी बोध नगर्ने हो भने अझैपनि देशलाई संकटबाट बाहिर ल्याउँन नसकिने दावी गरे ।
नेपाल शिक्षक संघ बागमती प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै सभापति बाँनियाले शिक्षकहरुलाई आफूले बोकेको गहन जिम्मेवारीबाट पछि नहट्न र समाज परिवर्तनको अगुवाइलाई अझ प्रभावकारी र शसक्त बनाउँद निरन्तरता दिन आग्रह गरे ।
उनले अधिवेशनले नयाँ नेतृत्वको चयन गर्ने भएकाले गुटउपगुटबाट बाहिर निस्किएर नयाँ नेतृत्व चयन गर्न सुझाव दिए । आफू सधै शिक्षकहरुको साथमा रहेको उल्लेख गर्दै नेता बानियाँले सबै किसिमका सहयोगका लागि सदैव तत्पर रहेको प्रतिवद्धता समेत जनाएका छन् ।
नेपाल शिक्षक संघ बागमती प्रदेशका सभापति नारायण तिमल्सिनाको सभाध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसद श्यामकुमार घिमिरे, शिक्षक संघका केन्द्रीय अध्यक्ष राजेन्द्रराज पौडेल, कांग्रेस केन्द्रीय सदस्य कुन्दनराज काफ्ले, बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँ प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव रामशरण सापकोटा, शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेश प्रसाद हुमागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
शनिवार र आइतबार दुईदिनसम्म चल्ने अधिवेशनले प्रदेशको नयाँ कार्यसमिति चयन गर्ने छ । अधिवेशनले आगामी चार वर्षका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव लगायतका ३७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । अधिवेशनमा बागमती प्रदेशका १३ जिल्लाका ४ सयभन्दा बढी प्रतिनिधि सहभागी हुन हेटौँडामा जम्मा भएका छन् ।