मकवानपुर । नेकपा एमाले बागमती प्रदेश कमिटी अधिवेशन आगमी असोजमा हुने भएकाे छ । अधिवेश असाेज ८ र ९ गते हुने मिति तय भए पनि स्थान भने तय भएकाे छैन।
हालकाे बागमती प्रदेश कमिटीका सदस्यलाई जिल्ला र पालिका स्तरमा जिम्मेवारी दिने तथा प्रदेश कमिटीकाे आकार समेत घटाएर सानो आकारको कमिटी बनाउने तयारी गरिएकाे बुझिएकाे छ । एमाले केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार गण्डकी प्रदेशको मिति तोक्न बाँकी छ । बाँकी प्रदेशले अधिवेशनको मिति तय गरिसकेका छन् ।
यसैगरी कोशी प्रदेशको अधिवेशन असोज १२ र १३ गते हुनेछ भने मधेश प्रदेशले असोज ५ र ६ गते अधिवेशन गर्ने भएकाे छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले भदौभित्रै अधिवेशन गर्ने निर्णय गरेको छ । भदौ १६ र १७ गते लुम्बिनी, भदौ २२ र २३ गते सुदूरपश्चिम प्रदेशले अधिवेशनको मिति तोकेको छ ।
प्रदेश अधिवेशनमा १ सय संगठित सदस्य बराबर १ जना प्रतिनिधि हुने व्यवस्था रहेकाे छ । प्रतिनिधि मध्ये ३३ प्रतिशत महिला अनिवार्य गर्ने, उत्पीडित समुदाय र मजदुरलाई कोटाबाट प्रतिनिधिमा ल्याउने तयारी गरिएकाे एमालेले जनाएकाे छ ।
प्रतिनिधि प्रक्रियाको चयन १५ साउनमा एमाले संगठन विभागले अभिलेखीकरण गर्ने सदस्यताको आधारमा हुनेछ । ‘पार्टी सदस्यको अन्तिम नामावली तयार भएपछि त्यही आधारमा अधिवेशनको प्रतिनिधि चयन र प्रतिनिधि छनोट हुनेछ’, कार्यालय सचिव अधिकारी भने ।
एमालेले आगामी एक वर्षभित्रै प्रदेश, जिल्ला र पालिका अधिवेशन गर्ने तालिका तय गरेको छ । त्यसअनुसार, सवैभन्दा पहिले प्रदेश अधिवेशन गर्ने तयारी एमालले थालेकाे हाे । प्रदेशपछि जिल्ला र पालिका तहको अधिवेशन हुनेछ । त्यसका लागि एमालेले फरक भूगोलका नेताहरुलाई जिल्ला इन्चार्ज बनाएर पठाएको छ भने प्रदेशको इन्चार्ज पार्टी सचिवहरुलाई जिम्मा दिएको छ ।
नेपाली कांग्रेसको कन्द्रीय कार्यसमितिको बैठक मंगलबारबाट सुरु भएको छ । सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो । पहिलोपटक फेसबुकमार्फत् प्रत्यक्ष प्रसारण गरेर सुरु गरिएको बैठकमा महामन्त्री गगनकुमार थापाले आउँदो १५ भदौभित्र कार्यकाल सकिएका भ्रातृ संस्थाको तदर्थ समिति गठन गर्ने र ६ महिनाभित्र महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।
नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल मुस्लिम संघ, नेपाल ठाकुर संघ र नेपाल दलित संघको कार्यकाल सकिएको छ । उक्त संस्थाको १५ भदौभित्र समिति भदौ १५ भित्र बनाउने महामन्त्री थापाले प्रस्ताव गरेकाक हुन् ।
यसैगरी उननले नेपाल विद्यार्थी संघ लगायतका भ्रातृ संगठनलाई ६ महिनाभित्र अधिवेशन गरिसक्ने गरी १५ भदौभित्र पूर्णता दिने पनि प्रस्ताव गरेका छन् ।
सात लाख सदस्य बनाउन कांग्रेसको एकवर्षे अभियान
पहिलोपटक फेसबुकमार्फत् प्रत्यक्ष प्रसारण गरेर सुरु गरिएको बैठकमा महामन्त्री गगन थापाले ‘घर–घर जाऔँ, पार्टी सदस्य बनाऔँ’ अभियान चलाउने प्रस्ताव गरेका छन् । १ साउन २०८० देखि ३१ असार २०८१ सम्म एकवर्षे उक्त अभिभानले पार्टीको संगठन विस्तार र सुदृढीकरणका लागि नयाँ व्यक्तिलाई पार्टीमा आवद्ध गर्न सकिने भन्दै उनले यस अभियान कम्तिमा पाँचदेखि सात लाख पार्टी सदस्य बनाउने उद्देश्यसाथ गरिने जानकारी दिए ।
कांग्रेसमा २२ विभाग थप्ने महामन्त्री थापाको प्रस्ताव
बैठकमा महामन्त्री गगन थापाले २२ नयाँ विभाग थप गर्ने प्रस्ताव गरेका हुन् । उक्त प्रस्ताव पारित भएमा कांग्रेसमा ७० वटा विभाग हुनेछ । बैठकमा महामन्त्री थापाले गरेको नयाँ प्रस्तावित विभागहरुमा न्याय तथा मानवअधिकार विभाग, नवीनतम प्रविधि र नवप्रवर्तन समन्वय विभाग, सामाजिक–सांस्कृतिक अभियान विभाग, विकास तथा पूर्वाधार विभाग, सुशासन विभाग, सहकारी विभाग, उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभाग विकास विभाग, विपद् व्यवस्थापन विभाग, ऊर्जा तथा जलस्रोत विभाग, युवा तथा किशोर–किशोरी विभाग, भूपू प्रहरी विभाग, ज्येष्ठ नागरिक समन्वय विभाग, जलवायु परिवर्तन र वातावरणी सन्तुलन सरोकार विभाग र पूर्वआप्रवासी समन्वय विभाग रहेका छन् । राजधानीडेली डटकमबाट
मकवानपुर । निर्वाचन आयाेगले ३९ राजनीतिक दललाई जरिवाना ताेकेकाे छ । आयाेगले लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई जरिवाना ताेकेकाे हाे । निर्वाचन आयाेगमा दर्ता भएका मध्ये २१ राजनीतिक दलले आर्थिक वर्ष २०७८/०७९ को लेखा परीक्षण प्रतिवेदन निर्वाचन आयोगमा समयमा नै नबुझाएकाे हाे । निर्वाचन आयोगका अनुसार दर्ता भएका १ सय १२ राजनीतिक दलमध्ये २१ वटाले तोकिएको समयमा लेखा परीक्षण प्रतिवेदन बुझाएका छैनन् ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४१ अनुसार दलहरुले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र लेखापरीक्षण गराउनुपर्ने र त्यसको एक महिनाभित्र लेखापरीक्षण प्रतिवेदन आयोगमा बुझाउनुपर्ने व्यवस्था छ । तर ती दलले समयमा लेखापरीक्षण प्रतिवेदन नबुझाएपछि आयोगले स्पष्टीकरण सोधेको थियो ।
आयाेगले स्पष्टीकरण साेधेपछि ४ वटा दलले तोकेको समय भन्दा ढिलो स्पष्टीकरण पेश गरे भने आठ वटा दलले भने स्पष्टीकरण पनि पेश गरेनन् । यसैगरी ५ वटा राजनीतिक दलले भने दुई आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन नै नबुझाएकाे आयाेगद्वारा साेमबार जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण प्रतिवेदन नबुझाउने १६ मध्ये सोधेको स्पष्टीकरण समयमा नै बुझाउने चार वटा दललाई १५/१५ हजार र बाँकी १२ वटा दललाई २०/२० हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
लगातार दुई आर्थिक वर्षसम्म लेखा परीक्षण प्रतिवेदन नबुझाउने ५ मध्ये दुई दलले स्पष्टीकरण पेश गरे तर लेखापरीक्षण प्रतिवेदन बुझाएनन् । ३ वटा दलले स्पष्टीकरण समेत दिएनन् । स्पष्टीकरण दिएका दुई वटा दललाई आयोगले १५/१५ हजार र स्पष्टीकरण नबुझाउने तीन वटा दललाई २०/२० हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा १ सय १२ वटा राजनीतिक दल दर्ता भएका थिए । तीमध्ये ८२ वटा राजनीतिक दलले समयमै लेखा परीक्षण प्रतिवेदन बुझाए भने ९ वटा राजनीतिक दलले भने ढिलो गरी लेखा परीक्षण प्रतिवेदन बुझाएका थिए । ढिलो लेखापरीक्षण प्रतिवेदन बुझाउने दललाई भने आयोगले स्पष्टीकरण सोधेको हाे ।
काठमाडाैं । संघीय संसदका दुवै सदनकाे बैठक आज बस्दैछ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे तथा राष्ट्रिय सभाको बैठक बिहान सवा ११ बजे बस्ने संघीय संसद सचिवालयले जनाएकाे छ ।
प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको जानकारी गराउने, केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई अनुमति माग्ने प्रस्तावमाथि ज्ञानबहादुर शाही, प्रेम सुवाल, सोविता गौतम, सुमना श्रेष्ठ लगायतबाट प्राप्त विरोधको सूचनालाई निर्णयतार्थ प्रस्तुत गरिने कार्यसूची रहेकाे छ ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० पेस गर्ने र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रिय सभाका उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने समेत कार्यसूची बताइएकाे छ ।
त्यस्तै राष्ट्रिय सभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक विधेयक, २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, आर्थिक विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, राष्ट्र ऋण उठाउने विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएकाे छ ।
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश समिति संगठन विभाग प्रमुखमा रामचन्द्र अर्याल (माईकल) मनोनित भएका छन् ।आइतबार कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले माइकललाई संगठन विभाग प्रमुखमा मनाेनित गरेकाे हुन् ।
नेपालीका कांग्रेसको विधानको दफा १३ काे उपदफा ६(झ) बमोजिम माईकल संगठन विभाग प्रमुखमा मनोनित भएका हुन् । काँग्रेस मकवानपुरका पूर्व पार्टी सभापति माइकल कांग्रेस महासमिति सदस्यसमेत हुन् ।
त्यसैगरी, सभापति बानियाँले कांग्रेस बागमतीको कार्यसमिति सदस्यमा प्रदीप कोइरालालाई मनोनित गरेका छन् । कांग्रेस मकवानपुरका निवर्तमान प्रवक्तासमेत रहेका उनलाई कांग्रेसको विधानकाे दफा १३ काे उपदफा १०(झ) बमोजिम सदस्यमा मनोनित गरिएको हो ।