मकवानपुर । बागमती प्रदेशसभामा नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहणको मिति प्रस्ताव गरिएको छ ।
आज प्रदेश सभासचिवालयमा बसेको सर्वदलीय बैठकले आगामी १३ र १४ गते सपथ ग्रहण गर्ने कार्यक्रमको लागि प्रदेश प्रमुख समक्ष प्रस्ताव गर्ने निर्णय गरेको छ ।
१३ गते प्रदेश सभा सदस्यहरू मध्येका ज्येष्ठ सदस्य ७२ वर्षिय रामप्रसाद ढुङ्गानाले सपथ गर्ने र १४ गते प्रदेश सभाका अन्य सदस्यहरूले सपथ गर्ने मिति प्रस्ताव गरिएको मुख्यमन्त्री राजेन्द्र पाण्डेले बताए ।
प्रदेशसभा सचिवलायमा बसेको सर्वदलीय बैठकले पुस १७ गते बागमती प्रदेशको पहिलो बैठक बस्नको लागि प्रदेश प्रमुख समक्ष प्रस्ताव गरिने निर्णय समेत गरेकाे मुख्यमन्त्री पाण्डेले जानकारी दिए ।
मकवानपुर । बागमती प्रदेशसभामा नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहणको मिति र समय निर्धारण गर्ने उद्देश्यले आज सर्वदलीय बैठक बोलाइएको छ ।
आज दिनको ११ बजे प्रदेशसभा सचिवलायमा सर्वदलीय बैठक बस्न लागिएको हो ।
नवनिर्वाचित सदस्यहरूलाई शपथग्रहण गराउन सर्वदलीय बैठक बस्नको लागि प्रदेशसभाका सबै सदस्यहरुलाई सूचनाको सम्प्रेषण गरिएको सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । बागमती प्रदेशसभामा नुवाकोट जिल्लाको क्षेत्र नं २ (१) बाट प्रत्यक्षतर्फ निर्वाचित हुनुभएका ७२ वर्षिय रामप्रसाद ढुङ्गाना वर्तमान प्रदेशसभामा ज्येष्ठ सदस्य पहिचान भएका छन् । उनी नेकपा माओवादी केन्द्रका तर्फबाट प्रदेशसभाको प्रत्यक्षतर्फको विजयी भएका हुन् ।
बागमती प्रदेशसभाको हाल सभामुख र उपसभामुखको निर्वाचन नभइसकेको अवस्थामा प्रदेशसभाको ज्येष्ठ सदस्य ढुङ्गानाले केही दिनभित्रै प्रदेशप्रमुख यादव चन्द्र शर्माबाट शपथग्रहण गराएपछि प्रदेशसभाका बाँकी एक सय नौजना सदस्यहरूलाई सपथ गराउने छन् ।
मकवानपुर । नेपाली कांग्रेसले बागमती प्रदेश संसदीय दलको नेता चयनको लागि निर्वाचनमा जान निर्वाचन तालिका सार्वजनिक गरेको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय, हेटौडाले निर्वाचन समिति संयोजक चन्द्र महर्जनको हस्ताक्षरमा निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । जस अनुसार आगामी पुस १३ गते निर्वाचन हुने भएको छ ।
विस्तृत विवरण निर्वाचन तालिकामा हेर्न सक्नुहुने छ ।

मकवानपुर । बागमती प्रदेशसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको परिणामको प्रतिवेदन निर्वाचन आयोगले ७ वटै प्रदेश प्रमुख समक्ष शनिबार बुझाएकाे छ । गत मंसिर ४ गते सम्मन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम बुधबार सार्वजनिक गरेको आयोगले शनिबार प्रदेश प्रमुखलाई निर्वाचन परिणाम बुझाएसंगै सवै प्रदेशसहित बागमती प्रदेश सभाको १ सय १० सांसदको नाम टुंगो लागेको छ ।
प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ मा आयोगले प्रदेश सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचन परिणाम सहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र प्रदेश प्रमुख समक्ष बुझाउनु पर्ने व्यवस्था गरेकाे छ । गत बुधबार निर्वाचन आयाेगले प्रतिनिधि सभा र प्रदेश सभाकाे प्रत्यक्ष र समानुपातिक निर्वाचनकाे परिणाम सहितकाे प्रतिवेदन सार्वजनिक गरेकाे थियाे ।
प्रदेशकाे प्रत्यक्ष र समानुपातिक निर्वाचनकाे नतिजा अनुसार बागमती प्रदेशसभामा नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ । २०७४ मा भएको प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष ७ र समानुपातिकतर्फ १४ गरेर २१ सिटमा सिमित बन्दै तेस्रो बनेको कांग्रेस यसपटक प्रत्यक्ष २५ र समानुपातिकमा १२ गरी ३७ सिट सहित पहिलो पार्टी बनेको हो ।
२०७४ मा प्रत्यक्षमा ४२ र समानुपातिकमा १६ सिटमा विजयी हुँदै ५८ सिट सहित बहुमत प्राप्त गरेको नेकपा एमाले यसपटक प्रत्यक्ष १३ र समानुपातिक १४ गरेर २७ सिटमा विजयी हुँदै दोस्रो पार्टी बनेको छ । यसैगरी, २०७४ मा प्रदेशसभामा दोस्रो बनेको गठबन्धनको नेकपा माओवादी यसपटक २१ सिटसहित तेस्रो पार्टी बनेको छ । उसले प्रत्यक्षमा १४ र समानुपातिकमा ७ सिटमा विजयी हुँदै तेस्राे स्थान बनाएकाे हाे ।
यसअघि २०७४ मा प्रत्यक्षमा एकसिट पनि नजितेको राष्ट्रिय प्रजातन्त्र पार्टी यसपटक प्रत्यक्ष ७ र समानुपातिकमा ६ सहित १३ सिट प्राप्त गर्दै चौथो पार्टी बन्न सफल भएको छ । यता, एमालेबाट टुक्रिएर बनेको नेकपा एकीकृत समाजवादी (एस ) पार्टी ७ सिटमा खुम्चिएर पाँचौ बनेको छ । तत्कालिन एमालेबाट टुक्रिएर १२ प्रदेशसभा सदस्यसहित चौथो बनेको एस यसपटक ७ सिटमा खुम्चिएको हो । उसले प्रत्यक्षमा ५ र समानुपातिकमा २ सिट सहित पाँचाै दल बनेकाे हाे ।
यसैगरी, प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरेर नेपाल मजदुर किसान पार्टीले ३ सिट विजयी हासिल गरेकाे छ । नेमकिपा प्रत्यक्षमा १ र समानुपातिकमा २ सिटमा विजयी भएकाे हाे । यस्तै हाम्रो नेपाली पार्टीले प्रत्यक्षमा १ र समानपातिकमा १ सिट सहित २ सिट प्राप्त गरेकाे छ । कुल ११० सदस्यीय प्रदेशसभामा प्रत्यक्षबाट ६६ र समानुपातिकबाट ४४ सांसद निर्वाचित हुने व्यवस्था छ ।
योसँगै यसपटक बागमती प्रदेशसभामा ७ वटा पार्टीकाे प्रतिनिधित्व भएकाे छ । ११० प्रदेश सदस्य रहेको बागमतीमा सरकार बनाउन ५६ सिट आवश्यक पर्ने हुन्छ । यसअघि ०७४ मा एमाले एक्लैले ५८ सिट प्राप्त गर्दै स्पष्ट बहुमत प्राप्त गरेको थियो तर यसपटक कुनै पनी पार्टीले बहुमत प्राप्त गरेको छैन् । सत्ता गठनबन्धनदलले नै सरकार बनाउने अवस्था छ ।

समानुपातिकमा ८० प्रतिशत महिला
आयोगले बागमती प्रदेश प्रमुखलाई बुझाएकाे निर्वाचन प्रतिवेदन अनुसार प्रदेशको समानुपातिकमा झण्डै ८० प्रतिशत महिला निर्वाचित भएका छन् । प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६० मा प्रदेशसभामा समानुपातिक निर्वाचित प्रणालीतर्फको कुल सदर मतको १ दशमलब ४ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था छ ।
सोही व्यवस्था अनुसार बागमती प्रदेशको प्रदेशसभामा ७ वटा राजनीतिक दलका प्रतिनिधित्व समानुपातिकबाट निर्वाचित भएका छन् । प्रदेशमा ४४ जना समानुपातिकबाट निर्वाचित भएको मध्य ३४ जना महिला निर्वाचित भएका छन् । राजनीतिक दलहरुले प्रत्यक्षतर्फ महिला उम्मेदवार उठाउन कन्जुस्याई गरेपनि समानुपातिबाट प्रदेश सभामा ७९ दशमलब ५५ प्रतिशत महिला सहभागिता रहने भएको छ । बागमती प्रदेशमा समानुपातिकमा प्राप्त कूल सदर मतको आधारमा नेकपा एमालेले १४ सिट प्राप्त गरेको छ । जसमा ९ जना महिला उम्मेदवार र ५ जना पुरुष उम्मेदवार निर्वाचित भएका छन् ।
महिलातर्फ विन्दु श्रेष्ठ, माईली तामाङ, शुक माया तामाङ, सकुन्तला श्रेष्ठ उर्मिला सुनुवार, भारती पाठक, अप्सरा चापागाई खत्री, माया कुमारी कार्की, बाल कुमारी विश्वकर्मा निर्वाचित भएका छन् । नेकपा एमालेबाट समानुपातिकमा निर्वाचित भारती पाठक र अप्सरा चापागाई मकवानपुरबाट प्रदेशसभामा विजयी भएका छन् । नेकपा एमालेले प्राप्त गरेको समानुपातिकको सिट मध्य ६४ दशमलब २९ प्रतिशत महिलालाई निर्वाचित भएकाे छ ।
त्यसैगरी, नेपाली कांग्रेसले बागमती प्रदेशमा समानुपातिकतर्फ प्राप्त सदर मतको आधारमा कुल १२ सिट प्राप्त गरेको छ । जसमा ११ जना महिला र एक जना मात्र पुरुषलाई निर्वाचित भएका छन् । नेपाली कांग्रेसको तर्फबाट समिता खड्गी, लक्ष्मी देवी श्रेष्ठ, गीता गुरुङ, यमुना देवी श्रेष्ठ, याङगकीला शेर्पा, माया श्रेष्ठ, उर्मिला नेपाल, मिना पराजुली, शान्ता ढकाल, विनु रायमाझी पौडेल, सुना परियार प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । जसमा लक्ष्मी श्रेष्ठ मकवानपुरबाट प्रतिनिधित्व र्दै प्रदेशसभामा प्रवेश गरेकी हुन् ।
यता नेकपा माओवादी केन्द्र समानुपातिकतर्फ ७ सिट प्राप्त गरेको छ । नेकपा माओवादी केन्द्रले ५ जना महिला र २ जना पुरुषलाई प्रतिनिधित्व गराएको छ । माओवादी केन्द्रले उर्मिला कुमारी, भुवन केशरी श्रेष्ठ, शुष्पा भुजेल न्यौपाने, अमृता नेपाल, रुकु चौलागाई, इश्वर सापकोटा र देवेन्द्र श्रेष्ठलाई समानुपातिक सदस्यमा प्रतिनिधित्व गराएको छ । त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टिले प्रदेश सभामा समानुपातिकतर्फ ६ सिट प्राप्त गरेको छ । राप्रपाको तर्फबाट कुमारी तामाङ, आशा लामा, धनेश्वरी प्रजापति, मोनिका श्रेष्ठ, लक्ष्मी घिमिरे गरी ५ जना महिला निर्वाचित भएका छन् ।
नेकपा एकीकृत समाजवादीलाई प्रदेश सभामा २ सिट मात्र प्राप्त भएको छ । जसमा ओम कुमारी श्रेष्ठ र मायादेवी शर्मा समानुपातिक सदस्यमा निर्वाचित भएका छन् । यस्तै, नेपाल मजदुर किसान पार्टीले प्राप्त गरेको २ सिट नै महिलाले पाएका छन् । नेपाल मजदुर किसान पार्टीबाट सृजना सायजू, गिता काफ्ले सदस्य भएका छन् । हाम्रो नेपाली पार्टीले प्राप्त गरेको एक सिटमा सरिता खड्गी निर्वाचित भएकी छिन् ।
बागमती प्रदेशको प्रदेश सभातर्फ ११० जना निर्वाचित भएकाेमा पुरुष ७० जना (६३ दशमलव ६३ प्रतिशत) र महिला ४० जना (३६ दशमलव ३७ प्रतिशत) निर्वाचित भएका छन्। बागमती प्रदेश सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ३५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४० राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए । प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ पुरुष ५८८ र महिला ८० गरी कूल ६६८ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो भने समानुपातिक निर्वाचन प्रणालीमा कूल ७५४ जना उम्मेदवारको अन्तिम बन्द सूची कायम गरिएको थियो ।
प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि बागमती प्रदेशमा महिला १७ लाख ३३ हजार ३७८, पुरुष १७ लाख ३८ हजार ८७ र अन्य २७ गरी कूल ३४ लाख ७१ हजार ४९२ मतदाता कायम रहेका थिए । निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ २१ लाख ४ हजार ५७८ (६० दशमलव ६२ प्रतिशत) मतदान भएको थियो जसमध्ये २० लाख २७ हजार ६४९ (९६ दशमलव ३४ प्रतिशत) मत सदर भएको थियो भने ७६ हजार ९३८ (३ दशमलव ६६) प्रतिशत मत बदर भएको थियो । सोही सभाको समानुपातिक निर्वाचनमा २० लाख ९९ हजार १०७ (६० दशमलव ४७ प्रतिशत) मतदान भएको थियो जसमध्ये १९ लाख ७३ हजार ४७४ (९४ दशमलव ०१ प्रतिशत) मत सदर भएको थियो भने १ लाख २५ हजार ६३३ ( ५ दशमलव ९९ प्रतिशत) मत बदर भएको थियो ।
३३ राजनीतिक दलकाे धराैटी जफत
बागमती प्रदेश सभा अन्तरगत ३३ वटा राजनीतिक दलकाे धरौटी भएकाे छ । प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्थाबमोजिम प्रदेश सभातर्फ बन्दसूची पेश गर्ने दलमध्ये बागमती प्रदेशमा ३३ वटा राजनीतिक दलको धरौटी जफत भएको छ ।
यसैगरी प्रदेशमा १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने पुरुष उम्मेदवार ४ सय १७ र महिला उम्मेदवार ६७ जना गरी कूल ४ सय ८४ जनाको धरौटी जफत भएको छ । प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० मा प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको १ दशमलव ५ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था छ । सो व्यवस्था अनुसार बागमती प्रदेशमा ७ वटा राजनीतिक दलको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश सभामा प्रतिनिधित्व भएको छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा ३७ वटा राष्ट्रिय संस्थाका ७ हजार ५ सय ५३ र २ वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना पर्यवेक्षकबाट निर्वाचन पर्यवेक्षण भएको समेत प्रदेश प्रमुखलाई बुझाइएकाे निर्वाचन प्रतिवेदनमा उल्लेख छ । यसैगरी, भारत, भुटान, बंगलादेश, माल्दिभ्स र दक्षिण कोरियाका निर्वाचन व्यवस्थापन गर्ने निकायका प्रमुख तथा पदाधिकारीहरू, जापानका विदेश राज्यमन्त्री र नेपालस्थित १८ वटा कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरूले समेत निर्वाचनको पर्यवेक्षण तथा अवलोकन गरेका थिए ।
त्यसैगरी, प्रदेशमा प्रत्यक्षतर्फ २ सय ८० महिला र २ हजार ९ सय ४३ पुरुष र अन्य एक गरी ३ हजार २ सय २४ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो । समानुपातिकतर्फ महिला १ हजार ५ सय ११ र पुरुष २ हजार १ सय ९७ गरी कूल ३ हजार ७ सय ८ जनाको अन्तिम बन्द सूची कायम गरिएको आयोगले जनाएको छ ।
प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६० को व्यवस्था अनुसार प्रदेश–१ मा ६ वटा, मधेश प्रदेशमा १० वटा, बागमती प्रदेशमा ७ वटा, गण्डकी प्रदेशमा ७ वटा, लुम्बिनी प्रदेशमा १० वटा, कर्णाली प्रदेशमा ६ वटा र सुदुरपश्चिम प्रदेशमा ६ वटा राजनीतिक दलको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश सभामा प्रतिनिधित्व भएको जनाएको छ ।
यि हुन बागमती प्रदेशका सांसदहरु
नेपाली कांग्रेस
१. कुन्दनराज काफ्ले
२. रामकुमार पहाडी
३. छेत्र बहादुर बम्जन
४. इन्द्रबहादुर बानियाँ
५. प्रभात तामाङ
६. मदु कुमार श्रेष्ठ
७. गोविन्द लम्साल
८. रमेश कुमार महत
९. बहादुर सिंह लामा
१०. दिपेन्द्र श्रेष्ठ
११. सुरज चन्द्र लामिछाने
१२. छिरिङ दोर्जे लामा
१३. बिमल ठकुरी
१४. श्रीराम लामिछाने
१५. श्याम बहादुर खड्का
१६. हरिप्रभा खड्की
१७. पुकार महर्जन
१८. सुरेश श्रेष्ठ
१९. मीनकृष्ण महर्जन
२०. रामकृष्ण चित्रकार
२१. तिर्थबहादुर लामा
२२. कञ्चन चन्द्र वादे
२३. मसिना खड्का
२४. कृष्ण कुमार तामाङ
२५. उत्तम जोशी
२६. समिता खड्की श्रेष्ठ
२७. लक्ष्मीदेवी श्रेष्ठ
२८. गीता गुरुङ
२९. यमुनादवी श्रेष्ठ
३०. याङ्गकिला शेर्पा रुइत
३१. माया श्रेष्ठ
३२. शिवराज अधिकारी
३३. उर्मिला नेपाल
३४. मीना पोखरेल
३५. शान्ता ढकाल
३६. विनु रायमाझी पौडेल
३७. सुना परियार
नेकपा एमाले
१. भरतबहादुर केसी
२. एकालाल श्रेष्ठ
३. जयराम थापा
४. अमन कुमार मास्के
५. प्रकाश श्रेष्ठ
६. केशव प्रसाद पोखरेल
७. किरण थापामगर
८. मधुसुदन पौडेल
९. रामेश्वर श्रेष्ठ
१०. रघुनाथ महर्जन
११. प्रेमभक्त महर्जन
१२. जगनाथ थपिलया
१३. कृष्ण प्रसाद सिलवाल
१४. बिन्दु श्रेष्ठ
१५. माइली तामाङ
१६. सुकुमाया तामाङ
१७. शकुन्तला श्रेष्ठ राजभण्डारी
१८. उर्मिला सुनुवार
१९. आनन्दकुमार श्रेष्ठ
२०. ज्ञानबहादुर तामाङ
२१. ठूला थामी
२२. भारती कुमारी
२३. अप्सरा चापागाईँ
२४. मायाकुमारी कार्की
२५. दिनेशचन्द्र देवकोटा
२६. हरिप्रसाद सापकोटा
२७. बालकुमारी विश्वकर्मा
माओवादी केन्द्र
१. युवराज चौलागाईँ
२. तारा नारायण श्रेष्ठ
३. मातृका प्रसाद भट्टराई
४. गंगा नारायण श्रेष्ठ
५. प्रेम बहादुर पुलामी
६. कुमारी मोक्तान
७. इन्द्र प्रसाद गोतामे
८. शालिकराम जम्कट्टेल
९. राधिका तामाङ
१०. रामप्रसाद ढुंगाना
११. रत्नप्रसाद ढकाल
१२. युवराज दुलाल
१३. सरल सहयात्री पौडेल
१४. ठाकुर प्रसाद ढकाल
१५. देवेन्द्र श्रेष्ठ
१६. उर्मिलाकुमारी लामा
१७. सुष्मा भुजेल
१८. डोल्मा थामी
१९. ईश्वर सापकोटा
२०. अमृता नेपाल
२१. रुकु चौलागाईँ
राष्ट्रिय प्रजातन्त्र पार्टी
१. डम्बर तामाङ
२. सुनिल के.सी
३. राजु विष्ट
४. राजेन्द्र प्रजापति
५. उद्वव थापा
६. नुरज बज्राचार्य
७. गिर बहादुर तामाङ
८. कुमारी तामाङ
९. आशा लामा
१०. धनेश्वरी प्रजापति
११. मोनिका श्रेष्ठ
१२. भुवनकुमार पाठक
१३. लक्ष्मी घिमिरे
एकीकृत समाजवादी
१. वसन्त प्रसाद मानन्धर
२. रमा आलेमगर
३. राजेन्द्रमान श्रेष्ठ
४. लक्ष्मण लम्साल
५. कृष्ण प्रसाद खनाल
६. ओमकुमारी श्रेष्ठ
७. मायादेवी शर्मा
नेपाल मजदुर किसान पार्टी
१. सिर्जना सायजू
२. गीता काफ्ले
३. सुरेन्द्रराज गोसाईँ
हाम्रो नेपाल पार्टी
१. शैलेन्द्रमान बज्राचार्य
२. सरिता खड्गी
मकवानपुर । गत मंसिरमा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको सम्पूर्ण मत परिणाम आइसकेको छ । निर्वाचन आयाेगले आज समानुपातिक तर्फकाे समेत विजयी सांसदकाे घाेषणा गर्ने भएकाे छ । दलहरुले समानुपातिकतर्फको सूची निर्वाचन आयोगमा पठाइसकेका छन् । दलहरुले समानुपातिक सूची सच्याएर पठाइसकेपछि आयोगले सम्पूर्ण सांसदहरुको नाम राष्ट्रपति समक्ष बुझाउने छ । आयाेगले सम्पूर्ण निर्वाचन परिणाम घाेषणा गरी जानकारी गराए पछि प्रदेश सभाकाे बैठक प्रक्रिया र प्रदेश सरकार गठनकाे प्रक्रिया अघि बढ्छ ।
प्रदेश सभामुख चयन नहुन्जेलसम्म ज्येष्ठ सदस्यले गर्नेछन् प्रदेश सभा बैठकको अध्यक्षता
प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेश सभाका सदस्यहरुले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्ने व्यवस्था संविधानकाे धारा १८२ काे उपधार १ मा रहेकाे छ । सभामुख चयन नहुन्जेल प्रदेश सभामा प्रतिनिधित्व गर्ने जेष्ठ सदस्यले सभाको अध्यक्षता गर्ने संवैधानिक व्यवस्था रहेकाे छ । प्रदेश सभा सचिवालयले उमेरका आधारमा सबैभन्दा पहिला ज्येष्ठ सदस्यको पहिचान गर्छ । ज्येष्ठ सदस्यको पहिचान भएपछि ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखबाट शपथग्रहण गराउने कार्यक्रमको तयारीका लागि प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाइन्छ । ज्येष्ठ सदस्यले शपथग्रहण गरिसकेपछि ज्येष्ठ सदस्यबाट अन्य सभाका सदस्यहरुलाई शपथग्रहण गराउन प्रदेश सभा सचिवालयले सम्पूर्ण दल र सदस्यहरुमा सूचना जारी गर्छ । शपथ ग्रहणपछि सम्बन्धित दलहरुसँग सम्पर्क स्थापित गर्ने र दलहरुलाई संसदीय दलका कार्यालय उपलब्ध गराउने काम प्रदेश सभा सचिवालयको हुन्छ ।
सबै दलहरुसँगको सम्पर्क स्थापित गरिसकेपछि सर्वदलीय बैठकको तयारी र व्यवस्थापनका काम पनि प्रदेश सभा सचिवालयले गर्नेछ । पहिलो सर्वदलीय बैठकमा सबै दलको प्रतिनिधि रहने गरी बैठक बोलाउने र बैठकमा आगामी प्रदेश सभाको पहिलो बैठकको एजेण्डा के–के हुने ? के कस्ता विषयहरु लैजाने ? भन्ने बारेमा छलफल र निर्णय हुन्छ । साथै सोही सर्वदलीय बैठकमा नै सभाको अध्यक्षता गर्ने अध्यक्ष मण्डल चयन हुनेछ ।
सर्वदलीय बैठकमा प्रदेशसभाको पहिलो बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने कि नगर्ने ? भन्ने बारेमा निर्णय हुनेछ । साथै सोही बैठकमा नै दलहरुलाई सिट प्लान बारेमा पनि जानकारी प्रदेश सभासचिवालयले गराउँछ । प्रदेश सरकारले प्रदेश प्रमुख समक्ष प्रदेश सभा बैठक आह्वानका लागि पत्र पठाउने व्यवस्था रहेकाे छ । प्रदेश प्रमुख कार्यालयले संसद आह्वानको पत्र संसद सचिवालयमा पठाइसकेपछि संसदमा ज्येष्ठ सदस्यले पढेर सुनाउनु पर्नेछ । संसद् आह्वानको पत्र पढेर सुनाइसकेपछि ज्येष्ठ सदस्य अध्यक्षबाट सदस्यहरुको स्वागत हुन्छ ।
त्यसपछी दलका नेताहरुले बोल्ने निर्णय सर्वदलीय बैठकमा तय भएमा दलका नेताहरुले सम्बोधन गर्नेछन । आगामी दिनमा सभामुख, उपसभामुखको निर्वाचन नभएसम्मका लागि बैठकको अध्यक्षता गर्ने अध्यक्ष मण्डलको पनि सँगै चयन हुने र सोही बैठकमा यस बीचमा प्रदेश सरकारबाट कुनै अध्यादेशहरु जारी भएका भए ती अध्यादेशहरु पनि पहिलो बैठकमा पेस गर्नुपर्ने हुन्छ । दलहरुले सहमतिबाट सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउने कुरा सर्वदलीय बैठकमा नै टुंगो लागेको खण्डमा भने पहिलो बैठकबाट नै सभामुखको निर्वाचनको प्रक्रिया प्रारम्भ हुनेछ । संसदको पहिलो बैठकमा नै आगामी बैठकको बारेमा पनि जानकारी गराइने व्यवस्था रहेकाे छ ।
यस्तो हुन्छ प्रदेश सभामुखको निर्वाचन प्रक्रिया
त्यस्तै संविधानकाे धारा १८२ काे उपधारा १ मा प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र प्रदेश सभाका सदस्यहरूले आफूमध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्नेछ भन्ने व्यवस्था रहेकाे छ ।
प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रदेश सभाको बैठकको अध्यक्षता उपस्थित सदस्य मध्ये उमेरको हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था रहेकाे छ । प्रदेश प्रमुखले प्रदेश सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिन भित्र प्रदेश सभाको अधिवेशन आव्हान गर्ने व्यवस्था संविधानकाे धारा १८३ले गरेकाे छ । पहिलाे बैठक आव्हान गरेपछि संविधान बमोजिम प्रदेश प्रमुखले समय समयमा अन्य अधिवेशन आव्हान गर्ने वयवस्था रहेकाे छ ।
ज्येष्ठ सदस्यकाे अध्यक्षतामा हुने प्रदेश सभाको बैठकबाट सभामुखको निर्वाचनको मिति तोक्ने व्यवस्था रहेकाे छ । सम्भवतः पहिलो बैठकबाट नै सभामुख र उपसभामुुखको निर्वाचनको मिति तोकिन सक्छ । प्रदेश सभाकाे बैठकबाट निर्वाचनको मिति निर्धारण भएपछि सभामुखको निर्वाचनसम्बन्धी कार्यतालिका प्रकाशन गर्न प्रदेशसभा सचिवालयका सचिवलाई निर्देशन दिने व्यवस्था रहेकाे छ । त्यसपछि मात्रै प्रदेश सभा सचिवालयका सचिवले सभामुखको निर्वाचनसम्बन्धी कार्यतालिका प्रकाशन गर्ने छन् ।
सभामुखकाे निर्वाचनको दिन कुनै सदस्यले कुनै अर्को सदस्यलाई सभामुखको निर्वाचन गरियोस् भनेर प्रस्ताव पेस गर्नुपर्ने हुन्छ । निर्वाचनको दिन कुनै सदस्यले कुनै अर्को सदस्यलाई सभामुखको निर्वाचन गरियोस् भनेर प्रस्ताव पेस गरेको भए त्यस्तो प्रस्तावक र समर्थक सदस्यहरुले संसदमा बोल्नुपर्ने हुन्छ । त्यस्ता प्रस्तावक र समर्थक सदस्यले पालैपालो बोलिसकेपछि ती प्रस्तावलाई निर्णयार्थ पेस गरिने प्रावधान छ । एक भन्दा बढी प्रस्ताव आए दर्ता क्रम अनुसार पालैपालो निर्णयार्थ पेस गरिनेछ । प्रस्तावमाथि निर्णय गर्न बैठकमा मत विभाजन पनि गरिन्छ । एक मात्र प्रस्ताव आए मत विभाजनमा लैजानु पर्दैन । त्यसपछि सभामुखको निर्वाचन प्रक्रिया प्रारम्भ हुनेछ । निर्वाचन सकिएपछि निर्वाचित सभामुखको घोषणा ज्येष्ठ सदस्यले गर्नेछन ।
यसरी चुनिन्छ मुख्यमन्त्री
प्रतिनिधि सभाको बैठकबाट नै मुख्यमन्त्रीको निर्वाचन प्रक्रिया पनि अघि बढ्छ । संविधानको धारा १६८ को उपधारा १ बमोजिम प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्नेछ । र, निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषदको गठन हुनेछ । तर यो निर्वाचनबाट कुनै एक दलको मात्र स्पष्ट बहुमत नपुगेकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेस सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेकाे छ ।
प्रदेश सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संविधानकाे धारा १६८ काे उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरु भएको दलको संसदीय नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेकाे छ। संविधानको धारा १६८ को उपधारा ४ मा उपधारा २ वा ३ बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नु पर्नेछ ।
बैठकमा सदस्यको आसनको व्यवस्था
कुनै पनि पार्टीबाट प्रदेश सभामा निर्वाचित सदस्यका लागि पहिलो बैठक वा त्यसपछिका अरु बैठकको आसन छुट्टै हुने भन्ने व्यवस्था नरहेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । पहिलो बैठकबाट नै सचिवालयले दलहरुसँग सम्पर्क स्थापित गरेर दलहरुकै राय, सल्लाह बमोजिम नै सत्तापक्ष, प्रतिपक्ष रहने सिटहरुको व्यवस्था गर्नेछ । सम्भव भएसम्म सबै दलहरुको कम्तीमा एक जना सदस्य अगाडि रहने गरी सचिवालयले सिटको व्यवस्थापन गर्नेछ । दलका नेताहरु सबैलाई अघि राख्ने गरी व्यवस्थापन गर्ने भनेपनि संसद् भवन साँघुरो भएका कारण व्यवस्थापनमा कठिनाइ हुने सचिवालयको भनाइ छ ।
बागमती प्रदेश सभा अधिवेशनको तयारी सकियोः सचिव खड्का
बागमती प्रदेशसभा सचिवालयले संसद्को नयाँ अधिवेशनकाे सबै तयारी पूरा गरेको जनाएको छ । नवनिर्वाचित सांसदहरूको स्वागत, शपथ ग्रहण, सभामुख र उपसभामुखको निर्वाचन कार्यतालिका तथा प्रदेशसभाको पहिलो बैठकको सम्भावित कार्यसूची तय गर्नेबारे सचिवालयले सबै तयारी सकेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले बताए । कर्मचारी अभाव रहे पनि प्रदेशसभा भवनको रङरोगन तथा मर्मत, संसदीय समिति, दलको कार्यालय, चमेना गृह, मिडिया सेन्टरको स्थापना तथा सुरक्षाकर्मीको ब्यारेक व्यवस्थापनको काम सकिएको सचिव खड्काले जानकारी दिए ।
‘निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रदेश सभातर्फको निर्वाचनको अन्तिम परिणाम बुझाए पछि आयोगले अन्तिम परिणाम औपचारिक रूपमा सचिवालयलाई हस्तान्तरण गर्छ । त्यससँगै सांसदको शपथ ग्रहण, प्रदेशसभा बैठक र नयाँ सरकार गठन प्रक्रिया सुरु हुने खड्काले बताउछन ।