मकवानपुर । निर्धारित समय भन्दा डेड घण्टा ढिला सुरु बागमती प्रदेश सभाको आइतबारकाे बैठकमा प्रदेश मामिला समितिकाे प्रतिवेदन प्रस्तुत गरिएकाे छ । सभामा समितिले प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि तयार पारेको प्रतिवेदन प्रस्तुत गरिएको हाे ।
प्रदेश मामिला समितिका जेष्ठ सदस्य शिवराज अधिकारीले उक्त विधेयक प्रदेश सभामा प्रस्तुत गरेका हुन् । उक्त विधेयकमाथि प्रदेश मामिला समितिको आइतबार नै बसेको बैठकमा दफाबार छलफल गरी प्रतिवेदन तयार गरिएको थियो । आइतबारकाे बैठक अपरान्ह ३ बजेकाे लागि बाेलाइए पनि ४ः३० बजे सुरु भएकाे थियाे ।
बैठककाे कारवाही सुरु भएकाे सभामुखले जानकारी दिए लगतै नेकपा एमालेका मधुसुदन पाैडेलले इजरायलमा भएकाे हमासकाे आक्रमणबाट २१ जना नेपाली हताेहाती भएकाे अवस्थामा उक्त आक्रमणमा परेका नेपालीकाे यथार्थस्थिति सार्वजनिक गर्न र घाइते भएका नेपालीकाे उपचारकाे व्यवस्था गर्न प्रदेश सरकार मार्फत संघीय सरकारकाे ध्यानाकर्षण गरेका थिए ।
समितिकाे प्रतिवदेन प्रस्तुत भएसँगै प्रदेश सभाको अर्को बैठक भोलि असोज २२ गते अपराह्न ४ बजे बस्ने गरी प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले स्थगित गरेका छन् । शुन्य तथा विशेष समय नरहेकाे आजकाे बैठक करिब ७ मिनेट बसेर सकिएकाे थियाे ।
मकवानपुर । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले चितवनको मञ्जुश्री असहाय संरक्षण केन्द्रमा आश्रित बालिकाको निःशुल्क स्वास्थ्य बीमा गरेको छ ।
विहीबार भरतपुर महानगरपालिका ११ स्थित संरक्षण केन्द्रमा आश्रित २० जना बालिकाको प्रदेश स्वास्थ्य मन्त्री उत्तम जोशीको उपस्थितिमा बीमा गरिएको हो ।
स्वास्थ्य बीमा बोर्ड नेपाल र स्वास्थ्य कार्यालय चितवनको समन्वयमा बालिकाहरुको बीमा गरिएको हो । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम अनुसार आश्रमका बालिकाहरुको बीमा गरिएको बताइएको छ ।
सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत मन्त्रालयले प्रदेश अन्तर्गतका १३ वटै जिल्लाका आश्रममा आश्रित, अपाङ्ग, सिमान्तकृत तथा लोपउन्मुख जातीहरुको निःशुल्क बीमा, महिला स्वास्थ्य स्वंसेविकाहरुलाई ५० प्रतिशत अग्रिम भुक्तानी गरी बीमाको दायरामा ल्याईरहेको मन्त्री जोशीले बताए ।
‘प्रदेश सरकारले बालिकाहरुलाई बीमाको दायरामा ल्याएर प्रशंसनीय काम गरेको छ’ आश्रमकी संरक्षक मञ्जु खाँण भनिन ‘यसले आश्रम सञ्चालनमा पनि सहज हुनेछ ।’ कार्यक्रममा स्वास्थ्य बीमा बोर्ड, स्वास्थ्य कार्यालय चितवनका प्रमुखलगायतको पनि उपस्थिती रहेको थियो ।
मकवानपुर । बागमती प्रदेश सभाकाे बुधबार बसेकाे बैठकले एक विधेयक समितिमा दफाबार छलफलको लागि पठाउन स्वीकृती प्रदान गरेको छ । बुधबारको बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई उद्योग, पर्यटन तथा वातावरण समितिमा दफाबार छलफलको लागि पठाउन स्वीकृती प्रदान गरेको हो ।
असोज १४ गते सदनमा पेश भएको उक्त विधेयक संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले वातावरण समिति पठाइयोस् भनि प्रस्ताव पेश गरेका थिए । सदनमा मन्त्री महर्जनले पेश गरेको सो विधेयकलाई दफाबार छलफलका लागि समितिमा पठाउने प्रस्तावलाई सभामुख पाठकले निर्णयार्थ पेश गरेका थिए । सभामुखले निर्णयार्थ पेश गरेको उक्त प्रस्ताव सर्वसम्मत रुपमा स्वीकृत भएकाे थिाये । अब उद्योग पर्यटन तथा वातावरण समितिमा छलफल भई संशोधन भए साेसहित पारित गरी प्रतिवेदन सहित पुनः सदनमा पेश गरिने व्यवस्था छ ।
यसैबीच बागमती प्रदेशसभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ । बुधबार बसेको प्रदेशसभामा सभामुख भुवनकुमार पाठकले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका हुन् । यस अघी अवरुद्ध हुदै आएकाे प्रदेशसभा बैठक बुधबार सञ्चालन भएकाे हाे ।
प्रदेशसभाको बैठकमा विवादित विधेयक पेश गर्ने तयारी भएपछि सोमबारदेखि प्रमुख प्रतिपक्षकाे अवराेधले सदन चल्न सकेको थिएन । प्रदेश प्रमुख कार्यालयबाट पुनर्विचारका लागि फिर्ता भएको चिठ्ठा विधेयक सदनमा पेश गर्ने तयारी सोमबारकाे बैठकमा भएकाे थियाे । तर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले विरोध जनाउँदै बैठक सञ्चालनमा अवरोध गरेका थिए ।
एमालेको अवरोधका कारण सोमबार र मंगलबार बैठक संचालन हुन सकेन भने बुधबार प्रदेशसभा सचिवालयले चिठ्ठा विधेयक कार्यसूचीबाट हटाएसँगै बैठक संचालन भएको थियो । छाेटाे समय संचालन भएकाे प्रदेश सभाकाे बुधबारकाे बैठकपमा सभामुले अर्को सूचना नभएसम्मका लागि प्रदेश सभाकाे बैठक स्थगित गरिएको छन् ।
मकवानपुर । हेटौंडामा वृहत नागरिक सम्मेलन हुने भएको छ । सरकारलाई खबरदारी गर्न वृहत नागरिक सम्मेलन गर्न लागिएको हो ।
गैर सरकारी संस्था महासंघ बागमती प्रदेशको साधारणसभाका अवसर पारेर हेटौंडामा प्रदेश स्तरीय वृहत नागरिक सम्मेलन गरिने भएको हो । मंगलबार हेटौंडामा जिल्लाका विभिन्न संघसस्थामा आवद्ध नागरिक समाजका अगुवाहरुको भेलामा असोज २१ गते नागरिक सम्मेलन गर्ने र यसको तयारीबारे छलफल भएको थियो ।
गैसस महासंघ बागमती प्रदेशको आयोजनामा हुने नागरिक सम्मेलनमा प्रदेशभरीका विभिन्न संघसंस्थाका करीब पाँच सय पेशाकर्मीहरुको सहभागीता रहने अध्यक्ष आरती पाठकले जानकारी दिइन ।
छलफलमा गैसस केन्दीय सचिव बुद्धशरण लामाले नागरिकहरुको आवाज बुलन्द बनाउने कार्यक्रमको उद्देश्य रहेको बताए । सम्मेलनमा नागरिक समाजका अगुवाहरु केदार खड्का,गौरी प्रधान लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
सम्मेलनमा बालबालिका, मानवअधिकार, सुशासन, दीगो विकास लक्ष्य लगायतका विषयहरुमा छलफल हुने सरकारलाई खबरदारी गर्ने र आफना आवाजहरुलाई बुलन्द गराउने अध्यक्ष पाठकले जानकारी दिइन ।
मकवानपुर । बागमती प्रदेशमामा पेश भएको राष्ट्रभाषा विधेयक सम्बन्धी प्रदेश सभा सदस्यसँग छलफल गरिएको छ ।
राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च, नेवाःदेय् दबु स्वनिगः विशेष प्रदेश र नेपाल तामाङ घेदुङ बागमती प्रदेशले सभा सदस्यसंग मंगलबार संयुक्त छलफल गरिएको हो ।
छलफलमा प्रदेशसभामा प्रस्तुत बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा बनेको विधेयक २०८० को व्यबस्था, संशोधनको व्यहोरा, संशोधनको कारण र आधारहरुसहितको संशोधन प्रस्तावबारे सान्दर्भिकता र आवश्यकताबारे प्रस्तुती समेत गरिएको थियो ।
बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले छोटो समयमा धेरै मिहेनत गरेर भाषा सम्बन्धी विधेयक ल्याएको बताउइन् । “हामीले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा बनेको विधेयक २ महिना भित्रै बनायौ,’ उनले भनिन्, “जाति, भाषा, सामाजिक मोर्चा/संस्थासँग छलफल गरेर सुझाब लियौ र संस्थागतसँगै व्यक्तिगत सुझाव लिएर डेढ महिनामा खाका बनायौ ।”
भाषा विधेयकलाई पूर्णता दिन लिपीको कुरा चलेको भन्दै उनले त्यसलाई भाषा कानूनभित्र राखेर जाँदा राम्रो हुने जिकिर गरिन् । विधेयक सदनमा पेश भएपछि संसद र पास भएपछि राज्यको सम्पति बन्ने भन्दै भावी पुस्ताले गर्व लायक बन्नेमा उनको जोड थियो ।
प्रदेशकी पूर्व उपसभामुख राधिका तामाङले भाषा विधेयकलाई पूर्ण बनाउने र प्रभावकारी बनाउने सरकार, सांसद, आदिवासी जनजाति संघसंस्था र अगुवासँगै प्रदेशवासीको जिम्मेवारी रहेको बताइन् । प्रदेशको भाषाबारे सोचाई साँघुरो बनाउन नहुने भन्दै उनले फराकिलो सोच बनाएर अघि बढे भाषाको कार्यान्वयन र विकास हुने दाबी गरिन् । आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले भाषा ऐन बनाउँदा सरल भाषामा बनाइने बताए ।
प्रदेश सभा सदस्य सरल सहयात्रीले विद्यालयमा भाषा पढ्ने वातावरण बनेमा भाषा दीर्घकालिन रुपमा संरक्षण हुने भन्दै भाषा आयोगले सरलिकरण गर्नुपर्ने तर्क गरे । अर्का सदस्य श्रीराम लामिछानेले भाषा संरक्षणसँगै आर्थिक, सांस्कृतिक र रहनसहनलाई पनि भाषा कानूनमा समेट्न सके समृद्धिमा सहयोग पुग्ने बताए । यसैगरी प्रेमभक्त श्रेष्ठले आउँदो पुस्ताका लागि रंजना लिपीबारे सचेतना जगाउन भाषा कानूनमा ब्यवस्था गर्नुपर्ने बताए ।
सभा सदस्य रमा आले मगरले ऐन बनाउनु स्वागत योग्य भएपनि नेवार र तामाङसँगै सुरेल, ह्यायु, सुनुवार लगायतको भाषाको संरक्षणमा पनि कानूनमा व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
भाषा आयोगका सदस्य अमृत योन्जन, भाषा विज्ञ प्रा. डा. ओमकारेश्वर श्रेष्ठ, अधिबक्ताद्वय शंकर लिम्बु र नरेश श्रेष्ठ तथा नेवाः देय् दबु स्वनिगः उपत्यका प्रदेश सदस्य श्रीकृष्ण महर्जनले कार्यपत्र प्रस्तुत गरेका थिए ।