मकवानपुर । नेकपा एमालेकाे संसाेधित विधान अनुसार ४ नेतालाई एमालेको केन्द्रीय सदस्य बन्ने ढोका बन्द भएकाे छ । एमालेले नयाँ विधानमा महाधिवेशन प्रतिनिधि र केन्द्रीय सदस्य बन्ने योग्यता तोकेपछि आगामी दशौं महाधिवेशनमा अन्य पार्टी परित्याग गर्दै विभिन्न समयमा एमाले प्रवेश गरेका ती नेताहरु केन्द्रीय सदस्य बन्न नपाउने गरी ढोका बन्द भएको हो ।
एमाले केन्द्रीय सदस्य बन्ने ढोका बन्द हुनेमा एमाले अध्यक्ष केपी शर्मा ओली निकट रहेकी नेतृ कोमल वली, जसपाबाट एमाले प्रवेश गरेका शिवजी यादव र राजकुमार लेखी तथा पूर्व उपसभामुख गंगा यादव रहेका छन् । एमालेको विधानअनुसार एमाले महाधिवेशन प्रतिनिधि बन्न पार्टी सदस्य भएको १० वर्ष हुनुपर्नेछ भने महिलाको हकमा ७ वर्ष कायम छ । यी दुवै योग्यता वली लगायत अन्यकाे हकमा नपुग्ने देखिएको छ । वली २०७४ सालमा राप्रपा छोडेर एमाले प्रवेश गरेकी थिइन् ।
तर, पार्टी एकताका क्रममा एमाले प्रवेश गरेका अन्य नेताहरुलाई भने पूर्ववत् पार्टीको इतिहासलाई कायम गरिने भएकाले उनीहरु एमाले केन्द्रीय सदस्य बन्नबाट रोकिने छैनन् । उदाहरणका लागि माओवादीबाट आएका रामबहादुर थापा ‘बादल’ देखि टोपबहादुर रायमाझीलाई केन्द्रीय सदस्य बन्न विधानले छेक्ने छैन ।
गत भदौ १५ देखि १७ सम्म सम्पन्न विधान महाधिवेशनले विधान संशोधन गर्दै संशोधित नयाँ विधानकाे धारा ६३ एमाले महाधिवेशनमा प्रतिनिधि बन्न कम्तीमा १० वर्ष पार्टी सदस्य भएको योग्यता भएको हुनुपर्ने व्यवस्था गरेको हो । तर धारा ६३ को उपधारा १ मा महिला, दलित, श्रमिक, अल्पसंख्यक, आदिवासी जनजाति र अपांगता भएका व्यक्तिको हकमा ७ वर्ष पार्टी सदस्य भए पुग्ने व्यवस्था राखिएको छ ।
त्यसैगरी एमालेको केन्द्रीय कमिटीको पदाधिकारी र स्थायी कमिटी सदस्यको उम्मेदवार हुन केन्द्रीय कमिटीको सदस्य भएर एक कार्यकाल काम गरेको हुनुपर्ने व्यवस्था पनि गरेको छ । एमालेले केन्द्रीय कमिटी सदस्य उम्मेदवार हुने मापदण्ड पनि एमालेले विधानमै तोकेको छ । यसका लागि कम्तीमा १० वर्ष पार्टी सदस्य भएर केन्द्रीय कमिटी वा केन्द्रीय निकायको सदस्य भएपछि मात्रै उम्मेदवार बन्न पाउनेछन् ।
मकवानपुर । आउँदाे कात्तिक ७ र ८ गते भिटामिन ए र जुकाको औषधि खुवाइने भएकाे छ । सरकारले हरेक वर्ष कात्तिक २ र ४ गते खुवाउँदै आइरहेको भिटामिन ए र जुकाको औषधि यसपटक दसैं अवधिमा परेकाले ७ र ८ गते खुवाउने निर्णय गरेको जनाइएको छ ।
सरकारले राष्ट्रिय भिटामिन ए र जुकाको औषधि खुवाउने मिति परिवर्तन गरी ७ र ८ गते संचालन गर्ने भएको हाे । ७५३ वटै पालिकामा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ ।
बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन जाँदा जनस्वास्थ्यका मापदण्ड अपनाएर खुवाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।
मकवानपुर । मकवानपुरमा थप १३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । पछिल्लो २४ घण्टामा ४२ जनामा गरिएको परीक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएकाे स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
पुष्टि हुनेहरुमा हेटौंडा उपमहानगरपालिकाका १० जना, मकवानपुरगढी गाउँपालिकाका २ जना र मनहरी गाउँपालिकाका १ जना रहेका छ । यस्तै मंगलबार जिल्लामा थप ६ जना कोरोना संक्रमण निकाे भएका छन् । जिल्लामा हाल ५३ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।
१ लाख ३१ हजार १४४ जनाले लगाए कोरोना बिरुद्धको पूर्ण खोप
मकवानपुरमा १ लाख ३१ हजार १४४ जनाले कोरोना बिरुद्धको पूर्ण खोप लगाएका छन् । कोरोना बिरुद्धको पहिलो खोप भने १ लाख ७४ हजार ९ सय ६५ जनाले मात्र लगाएका छन् । कोरोना भाइरस संक्रमणको पहिलाे लहरमा निकै कमले खाेप लगाएका थिए । तर काेराेनाकाे दोस्रो लहर फैलिएपछी भने खाेप लगाउनेकाे संख्या बढेकाे पाइएकाे हाे ।
अहिले पहिलो मात्रा खोप लगाएकाहरुलाई जिल्लाका १० वटै स्थानीय तहमा खोप लगाउने काम भइरहेको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले बताए । दोस्रो मात्रा खोप लगाउनका लागि कुनै अभाब समेत नभएको उनले जानकारी दिए ।

धादिङ । धादिङमा गाउँपालिका अध्यक्ष कार्यक्रम स्थलबाट लखेटिएका छन् । नेकपा एकिकृत समाजवादी अनुशासन आयाेगका सदस्य तथा गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठ दशैकाे शुभकामना कार्यक्रममा कार्कीडाडामा आयाेजित कार्यक्रममा लखेटिएका हुन् ।
अध्यक्ष श्रेष्ठले आफुले अबसर नपाएकाे र पद नपाएकाे भाषण गर्न थालेपछि स्थानिय युवाहरुले कार्यक्रम विथाेलेका थिए । एमालेकाे सुर्यचिन्हबाट चुनाव जिताएका जनताले नेकपा एसतिर लागेकाे भन्दै गाउँबाट लखेटेका हुन । युवा क्लबले आयाेजना गरेकाे कार्यक्रममा श्रेष्ठले सहभागिहरुले गाउँकाे विकासमा ध्यान नदिएकाे र याेजना बनाएर काम नगर्दा बिकास नभएकाे बताएका थिए ।
रणनीतिक याेजना नबनाई ताेक आदेशमा आफु समर्थकलाई मात्र याेजना बाँडेकाे आराेप लागेकाे बेला गाउँमा नयाँ पार्टीमा लाग्न गाउँ चार्दै हिडेका अध्यक्षलाई पहिला विकास देउ भन्दै माग गर्न थालेका छन् । नेकपा एसका नेताका रुपमा चिनाउन खाेजेकाे र अन्य दललाई हाेच्याएपछि गाउँका युवाहरुले कार्यक्रम विथाेलिनेगरि प्रतिवाद गरेका हुन् । घटनाका कारण दुई जना सामान्य घाईते भएका थिए ।
मकवानपुर । सरकारले साफ च्याम्पियनसिपका खेलाडीलाई जनही ५ लाख दिने भएकाे छ । मन्त्रिपरिषद्को कार्तिक १ गते सोमबारकाे बैठकले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका खेलाडीलाई जनही ५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेकाे हाे ।
मन्त्रिपरिषद्को बैठकले खेलाडीलाई जनही ५ लाख र प्रशिक्षकलाई जनही ३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । माल्दिभ्समा सम्पन्न १३ औँ साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलसम्म पुगेको थियो । तर फाइनलमा भारतसँग ३-० ले पराजित भएको नेपाल उपविजेतामा सिमित रहेको हो । नेपाली टोली आज (सोमबार) मात्र नेपाल फर्किएको छ ।