वामपन्थी पार्टीहरूलाई एकता प्रक्रियामा ल्याउन फेरि बहस चलेको छ । स्थानीय तह निर्वाचनको संघारमा एकताको बहस चलेको हो । २०७४ मा प्रदेश र संघीय निर्वाचनमा वामपन्थी दलहरू मिलेर वाम गठबन्धन बनेको थियो । त्यतिबेला गठबन्धनलाई निर्वाचनमा २ तिहाइ नजिक बहुमत प्राप्त भयो ।
यसपटक पनि स्थानीय तह निर्वाचनअघि वाम एकताको बहस चलेको छ । तर, प्रमुख वामपन्थी दल एमाले र अन्य दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादीबीच राजनीतिक रूपमा भने शत्रुतापूर्ण सम्बन्ध छ । तैपनि यसबीचमा चलेको वाम एकताको बहसले सत्ता नेतृत्व दल नेपाली कांग्रेस तरंगित छ ।
मंगलबार विराटनगरमा नेता डा. शेखर कोइरालाले वामपन्थी दलहरू मिल्लान् भन्ने चिन्ता कांग्रेसलाई भएको बताए । ‘सबैको मत गठबन्धन गरेर जानु हुँदैन भन्नेछ । तर, यसो भनिरहँदा २०७४ मा जस्तो एमाले र माओवादीहरू फेरि मिल्लान् कि भन्ने चिन्ता पनि छ,’ उनले भने । कोइराला वामपन्थी दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादीसँग कांग्रेसले निर्वाचनमा गठबन्धन गर्न नहुने पक्षमा उभिएका नेता हुन् ।
यसरी कांग्रेस तरंगित हुने गरी वाम एकताको बहस छेड्ने एमाले नेता घनश्याम भुसाल हुन् । आइतबार पोलिटब्युरो बैठकमा उनले वाम एकता प्रक्रियाको नेतृत्व एमालेले लिनुपर्ने बताए । मंगलबार पनि काठमाडौंमा पत्रकारहरूसँग उनले भने, ‘तीन पार्टीमा वैचारिक र सैद्धान्तिक समस्या छैन । हामी जाने बाटो एउटै हो भने तीन पार्टी किन चाहियो ?’
उनका अनुसार वामपन्थी शक्तिहरूबीचको वर्तमान विभाजन कृत्रिम हो । हुन पनि वामपन्थी दलहरू एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीमा ‘प्रवृत्तिगत’ मतभेद छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई प्रतिनिधिसभा विघटनपछि ‘अहंकारी र स्वेच्छाचारी’ नेता भन्ने गरेका छन् । ओलीले बलियो कम्युनिस्ट सरकारलाई ढालेर दक्षिणपन्थी सरकार कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनाएको भन्दै प्रचण्ड र नेपालको आलोचना गर्ने गरेका छन् ।
यसरी वामपन्थी दलहरूमा प्रवृत्तिगत मतभेद मात्र छ । वाम राजनीतिक विश्लेषक भीम भुर्तेल पनि भन्छन्, ‘एमाले-माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन नहोला भन्न सक्दिनँ । यिनीहरूमा प्रवृत्तिको बाहेक अन्य केहीको समस्या छैन । सैद्धान्तिक र वैचारिक पक्षमा समान बुझाइ छ ।’
स्थानीय निर्वाचनमा कांग्रेसका दोस्रो तहका नेताहरूले माओवादी र एकीकृत समाजवादीलाई होच्याउने अभिव्यक्ति दिँदै पनि आएका छन् ।उपसभापति धनराज गुरुङले दुई दललाई भन्ने गरेका छन्, ‘कचौरे’ र ‘चमेरो’ जस्ता पार्टी । महामन्त्री गगनकुमार थापाले गठबन्धनविरोधी अभिव्यक्ति दिँदै आएका छन् । यसप्रति प्रचण्ड र नेपाल रुष्ट छन् ।
विश्लेषक भुर्तेल गठबन्धनविरोधी कांग्रेस नेताहरूको अभिव्यक्तिले पनि दुई दल र एमालेसँगै अन्य साना वाम घटकहरूबीच एकता हुने सक्ने सम्भावना देख्छन् । र, यहीबेला नेता भुसालले एकताको बहस छेडेकाे हुन सक्छ ।
वामपन्थी नेता वामदेव गौतम त अझ गत वर्षको चैतदेखि नै वाम एकताको पक्षमा छन् । उनी नेकपा एकता राष्ट्रिय अभियानका संयोजक हुन् । समाजवादसम्मको राजनीतिक यात्राका लागि एकता आवश्यक रहेको उनको बुझाइ छ । तर, उनको अभियान प्रभावकारी भने छैन ।
गत वर्षको २३ फागुनमा सर्वोच्च अदालतले ऋषिराम कट्टेलको नेकपाको आधिकारिकता दिएपछि ओली र प्रचण्डले नेतृत्व गरेको नेकपा स्वतः खारेजमा परेको थियो । त्यसपछि कानुनी रूपमा दुई पार्टी अलग भएको हो । अलग हुँदाको राजनीतिक पृष्ठभूमि भने नेकपा हुँदा शक्ति बाँडफाँटलाई लिएर भएको तिक्तता र ओलीले ५ पुस २०७७ मा गरेको संसद् विघटन हो । राजधानीडेली डटकमबाट
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश समितिले १ दिने प्रशिक्षण गरेकाे छ । “घरघर जाऔं, कांग्रेस जिताऔं” अभियान अन्तरगत कांग्रेस बागमतीले मंगलबार प्रशिक्षण गरेकाे हाे । कांग्रेसले कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई स्थानीय निर्वाचन र एमसीसीको भ्रम सम्बन्धी १ दिनकाे प्रशिक्षण कार्यक्रम गरेकाे हो ।
कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा भएको प्रशिक्षणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्द पोख्रेल, राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटा र कांग्रेसका प्रशिक्षक रामबहादुर लामाले प्रशिक्षण दिएको कांग्रेस बागमती प्रदेश प्रवक्ता तिलक रुवालीले जानकारी दिए ।
सभापति बानियाँले एमसीसी सम्बन्धमा कम्युनिष्टले फैलाएको भ्रमलाई चिर्दै आम मतदातामा कांग्रेसको विचार र सिद्धान्त तथा आफूले गरेका राम्रो कामको प्रचार गर्न लागिपर्नु पर्ने बताए । साेमबार कांग्रेस बागमती प्रदेश पूर्व केन्द्रीय महामन्त्री प्रकाशमान सिंहले मूख्य कार्यालय हेटौंडामा उद्घाटन गरेका थिए । यसैगरी प्रदेश समितिकाे तेश्रो बैठकबाट कोषाध्यक्ष, प्रवक्तासहित विभिन्न समिति र विभागहरुमा संयोजक तोकिसकेकाे छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ । हेटौंडा ३ जम्बोमा घरायसी विवादको क्रममा ४१ बर्षीय अनिता विकको कुटाइबाट उनको श्रीमान् ४३ बर्षीय मित्रलाल सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मंगलबार आपसी विवादको क्रममा विकले सुनारलाई कुटपिट गरि धकेल्दा अचेत भएका उनकाे हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ । विकलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिइ घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । नेकपा एमाले बागमती प्रदेश कमिटिमा मकवानपुरका ७ जना मनाेनित भएका छन् । मकवानपुरका ७ सहित प्रदेश कमिटिमा ७९ जना सदस्य मनोनित भएका छन् । एमाले बागमतीले सोमबार विज्ञप्ति जारी गर्दै कमिटिको फागुन २६ गतेकाे तेस्रो पूर्ण बैठकले मकवानपुरका ७ जनासहित ७९ जना सदस्य मनोनयन गरेको जानकारी दिएकाे हाे ।
मकवानपुरबाट बुद्धरत्न मानन्धर, हरिबहादुर महत, ईन्द्रमान स्याङ्तान, सम्राट तुम्बाहाम्फे, डिल्लीप्रसाद दाहाल, रामचन्द्र अर्याल र श्यामभक्त श्रेष्ठ प्रदेश कमिटि सदस्यमा मनोनित भएका हुन् । एमाले बागमती प्रदेशका अध्यक्ष केशबराज पाण्डेको अध्यक्षता तथा एमालेका केन्द्रीय कमिटिका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा फागुन २६ गते काठमाडौंमा बसेको बैठकले उनीहरुलाई प्रदेश कमिटीमा मनोनयन गरेको हो ।
यस्तै, बैठकले पार्टीका प्रत्येक सदस्यहरु कुनै न कुनै कमिटीमा आवद्ध हुने र कमिटीका प्रत्येक सदस्यले गरेका कार्यको मापन गर्न सकिने गरी जिम्मेवारी प्रदान गरेको जनाएको छ । प्रत्येकलाई व्यक्तिगत अनुभव र रुचि अनुसार, पार्टी काममा आवश्यकताको आधारमा जिम्मेवारी बाँडफाँड गरिएको दावी गरेको छ ।
प्रीति आत्रेय ज्ञवाली
कुनै न कुनै तनावले
घेरिएको छ जीवन
कहिले कुनै कुराको
त कहिले कुनै
तनाव पनि हुन्छन्
समय र परिस्थितिका
कुनै कुनैबाट
सजिलै उम्कन्छ मानिस
कुनै कुनैले अल्झाइरहन्छ
व्यक्तिको मनमा तनाव
कहिले हुन्छ कहिले हुन्न
तनावको व्यवस्थापन गर्नसके
मानिस खुशी हुन्छ
नसके रिसाऊँछ
मुर्मुरिन्छ ।
व्यक्तिले जान्नु जरूरी छ
जसरी समस्याको समाधान हुन्छ
त्यस्तै तनावको पनि
व्यवस्थापन गर्नुपर्छ
आफ्नोलागि पनि
केही समय छुट्ट्याउनुपर्छ
मान्छेपिच्छेका हुन्छन्
फरक फरक तरिका
कसैले पढेर
कसैले गफ गरेर
कसैले घुमेर, हिनेर
कसैले मनपर्ने खानेकुरा खाएर
कसैले गीत सुनेर
कसैले नाचेर
कसैले लेखेर
कसैले व्यायाम गरेर
कसैले मन मिल्नेसँग कुरा गरेर
कसैले चलचित्र हेरेर
कसैले विभिन्न कार्यक्रम हेरेर
कसैले सन्तानसँग समय बिताएर
कसैले सामाजिक संजाल चलाएर
कसैले टिक टक बनाएर
तनावको व्यवस्थापन गर्छन् ।
व्यक्तिले बुझ्नु जरूरी छ
जसरी जीवनमा सुख दु:ख हुन्छ
त्यस्तै तनाव पनि हुन्छ
जुन अस्थायी हुन्छ
जसको व्यवस्थापन
हामी आफैँले
आ-आफ्नो अनुकूलता
हेरेर गर्नुपर्छ
व्यक्तिविशेषका फरक हुन्छन्
तनाव र यसको व्यवस्थापन
खाँटी कुरा के छ भने
तनावका बेला
आत्तिन हुन्न
रिसाउन हुन्न
हतारमा निर्णय गर्न हुन्न
किनकि
यदाकदा
तनावमा गरेको निर्णयले
अनपेक्षित रूपमा
हानि गर्छ
पछुतो हुन्छ
सबैले बेलैमा
आफ्नो तनाव बुझौँ
सही ढंगले
व्यवस्थापन गरौँ
जरूरी परेमा
कुरा सुन्ने र बुझ्नेसँग
उचित सल्लाह लिऊँ
शान्त भएर
धैर्यमनस्कले काम गरौँ
तनावलाई
आफूमा हावी हुन नदिऊँ
सही ढंगले
यसको व्यवस्थापन गरौँ
स्वस्थ रहौँ
प्रसन्न रहौँ
हाँसीखुशी रहौँ ।
बुटवल हाल कम्बोडिया