मकवानपुर । हाम्रो नेपाल, हामी नेपाली अभियान मकवानपुर राप्रपा मकवानपुरमा समायोजन भएकाे छ । ज्ञानेन्द्र शाहीको नेतृत्वमा रहेको अभियान राप्रपा मकवानपुरमा शनिबार समायाेजन भएकाे हाे । अभियानका जिल्ला अध्यक्ष राजु सन्जेल सहितकाे मकवानपुर नेतृत्व राप्रपा मकवानपुरमा समायाेजन भएकाे राप्रपा मकवानपुर जिल्ला प्रवक्ता बिशभ अधिकारी जनाकारी दिए ।
कार्यक्रममा राप्रपाका नेता मधु अधिकारीले पार्टीको नीति अनुरुप समान बिचार भएका राजनीतिक दल, संघ-संस्था र अभियानलाई एकीकृत गर्दै राप्रपालाई बलियो राष्ट्रवादी शक्तिको रुपमा स्थापित गर्न लक्ष्यका साथ अगाडी बढ्नुपर्ने बताए। अहिले देखिएको लोकप्रियता, जनउभार र लहरलाई अब आउने स्थानीय तहको निर्वाचनमा भोटमा रुपान्तरण गर्नुपर्ने उनले बताए ।
राप्रपाको नेता मधु अधिकारीको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा अभियानको प्रदेश अध्यक्ष सुन्दर शाहीले न्यायोचित ढंगले समायोजन सम्पन्न गर्ने कुरामा आफु आशाबादी रहेको बताएका छन्।
कार्यक्रममा राप्रपा बागमती प्रदेशका सचिव गुन्जन न्यौपाने, प्रदेश सदस्य धुर्ब सन्जेल,पूर्व जिल्ला अध्यक्ष रामहरि न्यौपाने, पूर्व केन्द्रीय सदस्य बाल कृष्ण न्यौपाने, राप्रपा मकवानपुर जिल्ला सचिव सागर थापा अभियानका जिल्ला अध्यक्ष सन्जेल र अभियानका नगर अध्यक्ष यादव श्रेष्ठलगायतकाे उपस्थिति रहेको प्रवक्ता अधिकारीले बताए ।
मकवानपुर । बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौंडामा मेयर कप रेपिड चेस प्रतियोगिता सुरु भएको छ । नेपाल खेलकुद महासंघ (नेकोस) र बागमती प्रदेश बुद्धिचाल संघको संयुक्त आयोजनामा हेटौंडा मेयर कप रेपिड चेस प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको पहिलो दिन शुक्रबार चार चरणका खेल सम्पन्न भए । चार चरणको समाप्तिमा फिडेमास्टर क्षितिज भण्डारी र प्रकाश नेपाल शतप्रतिशत नतिजा निकाल्दै संयुक्त अग्रता बनाउन सफल भएका छन् । उनीहरूको समान चारचार अंक भएको छ । चार खेलमा तीनमा जीत र एकमा बराबरीमा गरेका फिडेमास्टर रुपेश जयसवाल ३ दशमलव ५ अंक बनाउँदै अंकतालिकाको दोस्रो स्थानमा रहेका छन् ।
त्यस्तै वर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौंलागाई, पूर्व राष्ट्रिय च्याम्पियन फिडेमास्टर मनिष हमाल, मकवानपुरका क्यान्डिडेटमास्टर कृष्ण थापा, झापाका राजन सुवेदी तथा सुश्रुत दाहाल, दोलखाका आशिष फुयाँल, धनुषाका सुशील चौधरी, धनकुटाका सुमन श्रेष्ठ, मकवानपुरका नवीनकुमार श्रेष्ठ, चितवनका सन्तोष गौतम र रुपन्देहीका चमन गाहा मगर समान तीन–तीन अंक बनाउन सफल भए ।
पहिलो चरणमा पूर्व राष्ट्रिय महिला च्याम्पियन सिन्दीरा जोशीमाथि जित हात पारेका क्षितिजले दोस्रोमा सर्लाहीका कमल श्रेष्ठ, तेस्रोमा सुशील चौधरी तथा चौथो कृष्ण थापालाई हराए । त्यसैगरी प्रकाशले पहिलो चरणमा सुदेश श्रेष्ठ, दोस्रो चरणमा सर्लाहीका रवीन्द्र बहादुर थापा, तेस्रो चरणमा मनिष हमाल तथा चौथो चरणमा सुश्रुत दाहालमाथि विजय प्राप्त गरे । शनिबार हुने पाँचौं चरणको खेलमा क्षितिज र प्रकाश आमनेसामने हुनेछन् ।
तीन पटकका राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपालीले शुक्रबारका चार खेल मध्ये एकमा हार र एकमा बराबरीमा रोकिएपछि २ दशमलव ५ अंक बनाएका छन् । तेस्रो चरणमा कृष्ण थापासँग हार व्यहोरेका बद्रीलाल चौथो चरणमा पुरुषोत्तम चौंलागाईंसँग बराबरीमा रोकिएका हुन । बद्रीसँगै काभ्रेका खोमप्रसाद तिमिल्सना, मकवानपुरका बलराम श्रेष्ठ र सुदेश श्रेष्ठ समान २ दशमलव ५ अंक बनाउन सफल भएका छन् ।
हेटौंडा उपमहानगर पालिकाका प्रमुख हरिबहादुर महत तथा नेपाल बुद्धिचाल संघका अध्यक्ष एकालाल श्रेष्ठले चेस गोटी चालेर औपचारिक उद्घाटन गरको प्रतियोगितामा ५२ जना खेलाडीको सहभागिता रहेको छ । विभिन्न विधामा गरी नगद २ लाख ५ हजार पुरस्कार रहेको दुई दिने प्रतियोगिता फिडेको स्विस लिग प्रणाली अनुसार ७ चरणसम्म प्रतिस्पर्धा हुनेछ ।

मकवानपुर । नेपाली कांग्रेस हेटौडा नगर समितिमा १७ जना सदस्य मनाेनित गरिएकाे छ । हेटाैडानगरमा कोषाध्यक्षसहित १७ जना सदस्य मनोनीत गरिएको हाे ।
कांग्रेस हेटौडा नगर समितिको शुक्रबार भएकाे तेस्रो भेलाले नगर कोषाध्यक्षमा कुलप्रसाद चौलागाईं सहित १७ सदस्य मनाेनित गरिएकाे हेटौंडा नगर सचिव सविन न्यौपानेले जानकारी दिए । त्यसैगरी भेलाले आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट हेटौंडा उपमहानगरमा क्षेत्रमा पर्ने विकास निर्माण र अन्य योजनाहरू समेटेर निर्वाचन घोषणापत्र तयार गर्न कृष्ण प्रसाद दाहालको संयोजकत्वमा घोषणापत्र मस्यौदा समिति गठन गरेकाे छ । नगर सभापति उत्सव इटेनीको संयोजकत्वमा ८ सदस्यीय व्यवस्थापन समितिमा गठन गरिएकाे छ ।
शुक्रबारको भेलाले आगामी स्थानीय तहको निर्वाचनको हेटौंडा नगरमा निर्वाचन सम्बन्धी कार्यको अनुगमन तथा सहजीकरण गर्न सभापति उत्सव इटेनीलाई हेटौंडाकाे ११, १३, १९, ७, ९ नम्बर वडा, उपसभापति रामकृष्ण कोइरालालाई वडा नम्बर १६ र १७, उपसभापति डोल्मा स्याङ्बोलाई वडा नम्बर ५ र ६ सचिव सविन न्यौपानेलाई वडा नम्बर १ र १०, सचिव हर्क रत्न लामालाई वडा नम्बर ८, १३, १४, १५, सहसचिव विकास बानियाँलाई वडा नम्बर २ र १८ र सह-सचिव निगमलाल श्रेष्ठलाई वडा नम्बर ४ र १२ को प्रतिनिधि चयन गरेको नगर सचिव न्यौपानेले बताए ।
त्यसैगरी भेलाले कांग्रेसको बिधान बमोजिम २४ सदस्यीय कार्य सम्पादन समिति गठन गरिएको छ । हेटौंडानगरको तेस्रो भेलाले सल्लाहकारमा महेन्द्र राउत, विजेन्द्र अग्रवाल र प्रेस सल्लाहकारमा प्रेस युनियन मकवानपुरका महाधिवेशन प्रतिनिधि सुनिल शिवाकोटीलाई मनोनीत गरेको सचिव न्यौपानेले जानकारी दिए ।
त्यसैगरी बैठकमा सहभागि वडा सभापति तथा प्रतिनिधिले आगामी निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाका साथै वडा तहमा उम्मेदवार टुङ्ग्याउदा जनताको माझमा भिजेका, जनतासँग नजिक रहेर काम गरेका तथा कांग्रेसमा क्रियाशील रहेका व्यक्तिहरुलाई टिकट दिन पार्टीका शीर्षस्थ नेताहरू आग्रह गरेका छन् । भेलामा सहभागी वडा सभापति तथा प्रतिनिधिले आगामी स्थानीय तह निर्वाचन अन्तर्गत कांग्रेस हेटौंडा नगरमा जनलहर सृजना गरी नगरमा विजयको झण्डा फहराउन वडा तहबाट सकृय भूमिका निभाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ ले तेक्वान्दो खेल सामग्री वितरण गरेको छ । शुक्रबार सुरसा ढुङ्गना डोजाङलाई तेक्वान्दो खेलकुद सामग्री वितरण गरेको हो ।
जिल्ला तेक्वान्दो कार्यसमिति मकवानपुरको पहलमा डोजाङलाई करिब ३० हजार रुपैयाँ बराबरको खेल सामग्री प्राप्त भएको अध्यक्ष राजकाजी बज्राचार्यले जानकारी दिए । ढुङ्गनाले बालज्योति मावि र पिप्लेमा तेक्वान्दो प्रशिक्षण दिदै आएकी छिन् । उनले दैनिक ५० जना खेलाडीलाई प्रशिक्षण दिने गरेको बज्राचार्यले बताए ।
हेटौंडा–५ का वडाध्यक्ष राजेश बानियाँले खेल सामग्री हस्तान्तरण गरेका हुन् । खेल सामग्री हस्तान्तरण कार्यक्रममा तेक्वान्दोका केन्द्रीय सदस्य दिपेन्द्र चन्द ठकुरी, जिल्ला कार्यसमिति सदस्य विमल विक लगायतको उपस्तिथि रहेको थियो ।
मकवानपुर । नेकपा माओवादी केन्द्र मकवानपुरले चुनावी कमाण्डर तोकेको छ । माओवादी केन्द्र मकवानपुर जिल्ला समन्वय समितिको बैठकले स्थानीय तह निर्वाचन लक्षित कमाण्डर ताेकेकाे हाे । जिल्ला संयोजक सर्केश घलानको अध्यक्षतामा बसेको बैठकले मकवानपुरका १० वटै स्थानीय तहमा चुनावी कमाण्डर तोकेको छ ।
बागमती गाउँपालिकामा जिल्ला संयोजक सर्केश घलान, बकैया गाउँपालिकामा केन्द्रीय सदस्य बिजय गौतम, हेटौंडा उपमहानगरपालिकामा केन्द्रीय सदस्य प्रमिला पुलामी, मकवानपुरगढी गाउँपालिकामा केन्द्रीय सदस्य मानकुमारी नेपाली, भीमफेदी गाउँपालिकामा बागमती प्रदेश कमिटि उपाध्यक्ष प्रेम बहादुर पुलामी, थाहा नगरपालिका र इन्द्रसरोबर गाउँपालिकामा केन्द्रीय सदस्य सन्तोष विष्टलाई स्थानीय तह चुनावमा कमाण्डरकाे जिम्मेवारी दिइएको छ ।
त्यस्तै कैलाश गाउँपालिकामा जिल्ला सचिव भीम पाख्रिन, राक्सिराङ गाउँपालिकामा प्रदेश कमिटिका सचिवालय सदस्य ओम घलान र मनहरी गाउँपालिकामा प्रदेश कमिटि सचिवालय सदस्य बीर बहादुर घलानलाई जिम्मेवारी तोकेको नेकपा माओवादी मकवानपुरका नेता कमानसिं पाख्रिन (पृथक) ले जानकारी दिए । पार्टी केन्द्रीय सदस्य नारायण दाहालको प्रमुख आतिथ्यतामा भएको बैठकमा पार्टी केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानको विषेश आतिथ्यता रहेको थियो ।