मकवानपुर । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) को हेटौंडा अध्यक्षमा भक्त बहादुर केसी चयन भएका छन ।
शनिबार भएको नेपोनको प्रथम हेटौंडा नगर अधिवेशनबाट केसीको अध्यक्षतामा ३१सदस्यीय नगर कमिटी सर्बसम्मत चयन भएकोको हो ।
कमिटीको उपाध्यक्षमा नारायण पौडेल, सचिवमा तीर्थ कुमारी खड्का, कोषाध्यक्षमा दुर्गा महत तथा उपसचिवमा राजु चौलागाई रहनुभएको छ । हालका लागि पदाधिकारीहरुसहित २२ सदस्य चयन गरिएको छ भने बाँकी ९ जना सदस्यहरु सबै क्षेत्रबाट समेटिने गरी मनोनित गरिने अध्यक्ष भक्त बहादुर केसीले जानकारी दिए ।
नेपोन मकवानपुरका जिल्ला उपाध्यक्ष तथा हेटौंडा नगर इन्चार्ज रामकेदार बस्नेतको सभाध्यक्षतामा भएको नगर अधिवेशनमा नेकपा एमाले बागमती प्रदेश सदस्य रघुनाथ खुलालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा एमाले प्रदेश सदस्य सम्राट तुम्बाहाम्फे, नेपोनका केन्द्रिय सचिव सुधिर थापा, नेकपा एमाले मकवानपुरका सचिवालय सदस्य इश्वर ढुङ्गाना लगायतकाको आतिथ्यता रहेको थियो ।
मकवानपुर । वित्तीय संघियता सम्बन्धी किताब बिमोचन भएको छ । नेपालमा संघियताको राजनीतिक संरचना सम्बन्धी बिभिन्न किताबहरू लेखिएका छन । तर आर्थिक पाटोलाई फिल्डमै (स्थलगत अध्ययन) गरेर पहिलो चोटी लेखिएको अनुसन्धानमूलक किताब वित्तीय सघियता विमोचन गरिएको हो ।
मुलुकमा भर्खरै संघियताले पाइला टेक्दै गरेको कारणले गर्दा यसको आर्थिक पक्षको बिषयमा कम चर्चा भएको र संघीय सरकारले आफ्नो आर्थिक गतिविधि कसरी सन्चालन गरेको छ भन्ने उत्तर यस किताबले दिने किताबका लेखक बिशभ अधिकारीले बताए।
संघियताको आधारभूत सिद्धान्तको बिषयमा जानकारी हुन यो किताबको महत्वपूर्ण रहेको अर्को लेखक सागर बरालले जानकारी दिए। यस किताबमा शुभकामना पूर्व अर्थमन्त्री तथा अर्थविद डा. प्रकाशचन्द्र लोहनी र राष्ट्रपतिको पुर्व प्रेस सल्लाहकार राजेन्द्र दाहालले दिएको लेखक सम्पुर्ण बस्नेतले बताए।
किताबको प्रकाशक शिखा बुक्स रहेको छ भने किताब बिमोचन बागमती प्रदेशका प्रथम मुख्यमन्त्री माननिय डोरमणि पौडेलले गरेका थिए। किताब बिमोचन कार्यक्रममा पौडेलले यो किताब उत्यन्तै उपयोगी रहेको र वित्तीय संघियता सम्बन्धी बुझ्न खोज्ने पाठकहरु लागि यस पुस्तकबाट लाभान्वित हुने बताए ।
किताबको बारेमा प्राध्यापकद्वय युवराज गिरी र अर्पण पराजुलीले टिप्पणी गरेका थिए । कार्यक्रम सागर बरालको अध्यक्षतामा भएको कार्यक्रममा शुभकामना मन्तव्य मधु अधिकारीले दिएका थिए।
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को हेटौँडा उपमहानगरपालिका अध्यक्षमा अरुण लामा चयन भएका छन् । शनिबार भएको नगर भेलाले लामाको अध्यक्षतामा राप्रपा नगर समिति गठन भएको हो । समितिको उपाध्यक्षमा शुक्रराज प्रजा तथा सचिवमा रघुनाथ खराल चयन भएको राप्रपा मकवानपुरका प्रवक्ता विशभ अधिकारीले जानकारी दिए ।
राप्रपा केन्द्रीय नेता मधु अधिकारीको प्रमुख आतिथ्यतामा भएको भेलामा राप्रपा मकवानपुरका अध्यक्ष शिबराम थापा, नेताहरु रामहरी न्यौपाने, गुञ्जबहादुर न्यौपाने, धु्रब सञ्जेल लगाएतको आतिथ्यता रहेको थियो ।
मकवानपुर । मकवानपुरमा ४ जनाले हतियार बुझाएका छन । जिल्ला प्रशासन कार्यलय मकवानपुरले जिल्लाका इजाजत प्राप्त हातहतियारहरु चैत मसान्तभित्र अनिवार्य बुझाउन आग्रह गरेपनि ४ जनाले मात्र हतियार बुझाएका हुन ।
बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई भरभर्दो एवं विश्वसनीय बनाउन मकवानपुर प्रशासनले इजाजत प्राप्त हातहतियार नजिकको प्रहरी चौकीमा बुझाउन अनुरोध गरेकोमा ४ जनाले मात्र हतियार बुझाएका हुन् ।
जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले ४ जनाले मात्र प्रहरी कार्यलयमा हतियार बुझाएको बताए ।
जिल्लामा दर्ता गराएका ४९ थान हातहतियार मध्ये ४ जनाले मात्र हतियार बुझाएका हुन् । जिल्ला प्रशासन कार्यलय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले हतियार नबुझाउनेहरुको विषयमा सुरक्षा समितिको बैठक बसेर आवश्यक निर्णय लिईने बताए । उनले जिल्लामा ४९ थान हातहतियार दर्ता भएकोमा उक्त हतियारहरु ३८ जना व्यक्ति र संस्थाहरुको नाममा रहेको बताए ।
मकवानपुर/ आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग चुनावी गठबन्धन गरेको राप्रपा नेपालले मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको उपमेयरसहित केही वडाको वडाध्यक्ष दाबी गरेको छ ।
एक साता अघि जिल्ला कमिटी गठन गरेको राप्रपा नेपालले प्रदेश एक मात्रै उपमहानगरपालिकाको उपमेयर सहित शक्तिशाली वडाको वडा अध्यक्षमा दाबी गरेपछि यो बिषयले चर्चा पाएको छ ।
दुबै पार्टीको केन्द्रिय कमिटीबीच गठबन्धनको सहमति भएको थियो । त्यसको भोलिपल्ट आज बिहीबार मकवानपुरका स्थानीय तहमा तालमेल गर्ने विषयमा दुई पार्टीबीच छलफल भएपछि यस्तो दाबि गरिएको हो ।
आज बिहीबार एमाले पार्टी कार्यालयमा भएको छलफलमा उपमहानगरपालिकासहित केही पालिकामा तालमेलको विषयमा छलफल भएको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले बताए ।
उपमहानगरको उपमेयरसहित एमालेले हारेका वडाहरुमा आफ्नो दाबी रहने उनले बताए । यद्यपि अहिले नै पदको विषयमा छलफल सुरु नभइसकेको सापकोटाको भनाइ छ । राप्रपा नेपालले हेटौंडा उपमहानगरपालिकाको उपमेयरसहित उपमहानगरको वडा नम्बर ६, १ र १२ सहितका वडा र जिल्लाकै अर्को एक गाउँपालिकामा राप्रपा नेपालले दावी गरेको छ । तालमेलका विषयमा शुक्रबार र शनिबार थप छलफल हुने सापकोटाले बताए ।
नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले राप्रपा नेपालसँग चुनावी तालमेलको कुरा भएको तर सहमति हुन बाँकी रहेको बताए । “अहिले सांगठनिक अवस्थाको बारेमा दुबै पार्टीले तयारी गर्ने र फेरि छलफलमा बस्ने सहमति भएको छ” अध्यक्ष श्रेष्ठले “अहिले पदको बारेमा कुनै टुङ्गो भएको छैन तैपनि सहकार्यको कुरामा माग दाबी रहिहाल्छ, यो स्वभाविक हो ।” छलफलमा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला सह-इन्चार्ज कृष्णप्रसाद दाहाल, केन्द्रीय सदस्य जुनेली श्रेष्ठ, जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, उपाध्यक्ष लालबहादुर थापा सहभागी थिए ।
राप्रपा नेपालको तर्फबाट महामन्त्री राजाराम बर्तौला, केन्द्रीय सदस्य बालकृष्ण कार्की, दामोदर वाग्ले र जिल्ला अध्यक्ष सापकोटा सहभागी थिए । तत्कालिन राप्रपाले २०७४ को निर्वाचनमा हेटौंडा उपमहानगरमा मेयरमा ७ हजार र उपमेयरमा ७ हजार ४ सय मत पाएको थियो ।
स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको सुर्य चुनाव चिन्हबाट निर्वाचन लड्ने सहमति गरेको राप्रपा नेपालका नेताहरुले आज नेकपा एमालेका नेताहरुसँग औपचारिक भेट गरेका छन् ।
नेकपा एमाले पार्टी कार्यालय हेटौँडामा भएको भेटमा यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हुने तालमेलको विषयमा छलफल भएको थियो । बैठकमा जिल्लामा गठबन्धनलाई बलियो र परिणाममुखी बनाउने विषयमा छलफल भएको थियो । गठबन्धनको निष्कर्षमा पुग्नका निमित्त तथ्यसंगत ढंगबाट छलफल थप अगाडी बढाउने दुवै पार्टीका प्रतिनिधिबीच सहमती भएको छ ।
बैठकमा एमाले मकवानपुरका सह–इञ्चार्ज एवम् प्रतिनिधिसभा सांसद कृष्णप्रसाद दाहाल, केन्द्रिय सदस्य एवम् प्रदेशसभा सांसद जुनेली श्रेष्ठ, अध्यक्ष एकालाल श्रेष्ठ, उपाध्यक्ष लालबहादुर थापा सहभागी थिए । यसैगरी राप्रपा नेपालका तर्फबाट महामन्त्री राजाराम बर्तौला, केन्द्रिय सदस्य बालकृष्ण कार्की, मकवानपुर अध्यक्ष गुरुप्रसाद सापकोटा, मकवानपुर १ (ख) का अध्यक्ष दामोदर वाग्ले लगायतको सहभागी रहेका थियो ।