मकवानपुर । हेटौंडा उपमहानगरपालिका खानेपानी र ढल निर्माण योजनाकाे तयारीमा रहेकाे छ । बढ्दाे शहरीकरणसँगै व्यवस्थित खानेपानी र ढल निर्माणको योजना बनाउने तयारीमा हेटौंडा उपमहानगरपालिका जुटेको हाे ।
हेटौंडाको शहरी ढल व्यवस्थापन, भूमिगत ढल र शहरी लेदोजन्य फोहर व्यवस्थापन सम्बन्धी सोमबार उपमहानगरपालिकामा भएकाे छलफलमा व्यवस्थित खानेपानी र ढल निर्माणको योजना बनाउने तयारीमा रहेकाे बताइएकाे हाे । एसियाली बिकास बैंकको सहयोग तथा नेपाल सरकार खानेपानी बिकास मन्त्रालयमार्फत् उपमहानगरपालिकाले खानेपानी तथा ढल व्यवस्थापन आयोजना मार्फत हेटौंडामा व्यवस्थित खानेपानी बितरण र ढल व्यवस्थापनको तयारी गरेको जनाएकाे छ ।
आयोजनाअन्तर्गत सन् २०५५ सम्मको डिपिआर योजनासहित शहरी क्षेत्रमा बिस्तारै बढ्दै गएको ढलजन्य लेदो तथा अन्य फोहोर व्यवस्थापन र व्यवस्थापनको बिषयमा छलफल भएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले उपमहानगरपालिकाले जमिन वर्गीकारणको कामलाई रोक्दै एकीकृत व्यवस्थित शहरको निर्माण र विकासमा अघि बढ्ने बताइन् ।
उनले सरकारी क्षेत्रबाट हुने गुरुयोजना र आवधिक योजनाको काम कहिले सकिन्छ भन्ने टुङ्गो नभएका कारण कार्यान्वयनमा जान समस्या हुने गरेको बताइन् । उनले भनिन् ‘अब हुने बिकासको काममा यस अघी लगानी भएका पूर्वाधारको प्रयोग गरेर अघि बढ्दा सहज हुन्छ ।’ उनले उपमहानगरपालिका आवधिक र गुरुयोजना बनाएरै बिकासको काममा अघि बढ्ने तयारीमा रहेको बताइन् ।
कार्यक्रममा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्टले अहिलेसम्म उपमहानगर क्षेत्रमा खानेपानीको बितरण, आवश्यक पूर्वाधार र व्यवस्थापन सम्बन्धमा बताएका थिए । बिष्टले अहिलेसम्म बोर्डले २२ वटा डीप बोरीङ, ७ वटा समवेलवाट उत्पादन भएको पानी २२ हजार २ सय ५० धारामार्फत् खानेपानीको बितरण भैरहेको बताए । बोर्डले अहिले दैनिक १ लाख ८२ हजार लिटर पानी दैनिक बितरण गर्दै आएको उनले जानकारी दिए ।
व्यवस्थित ढल र खानेपनीको व्यवस्थापनमा परामर्शदातासहितको टोलीले हेटौडा उपमहानगरपालिकाकाे बिकसित हुँदै गरेका वडामा निर्माण हुने भवन र पूर्वाधारलाई सहयोग पुग्ने गरी काम गर्न अनुगमन गरेका छन् । छलफल कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाईं खानेपानी तथा ढल व्यवस्थान आयोजनाका प्रमुख बालमुकुन्द श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।
रिता लामा
१.
नत मेरो हार भयो नत उस्को जित भयो
दुँनिया सामु अट्टहास मात्र हाम्रो प्रित भयो
थाहा थिएन प्रेममा एकदिन रुनुपर्छ भन्ने
हेरन आज भुल्नै नसकिने अतीत भयो ।
२.
भिजेका परेली सुकाउँदा सुकाउँदै
अनुहारमा पीडा लुकाउंदा लुकाउंदै
पलभरमै सकिनेछ जिन्दगी हरे
दैव ऋण यो चुकाउँदा चुकाउँदै
३.
खुसि खुसि सुनाउँदा कथा बन्नेछ
आँसु लिई सुनाउँदा ब्यथा बन्नेछ
लेख्दैछु जिन्दगीको पानामा जिवनी
लाग्छ एकदिन ईतिहास कै गाथा बन्नेछ ।
४.
ठुला शहर डर लाग्छ कतै हराई पो हाल्छौ कि ?
पापि पेट यो भर्न कतै ईमान पो फाल्छौ कि ?
लागेर लत तड्क भड्क यो रँगिन दुनियाँको
अहो कही कतै कदम गलत पो चाल्छौ कि ?
भरतपुर चितवन
मकवानपुर । मकवानपुरकाे मनहरीमा पुर्व विद्यार्थीद्वारा शिक्षकलाई पुस्तक उपहार प्रदान गरिएकाे छ । महेन्द्र किरण माध्यामिक विद्यालय मनहरीका प्रध्यानाध्यापकलाई साेही विद्यालयका पूर्व विद्यार्थी एसएलसी व्याच २०५७ मार्फत् पुस्तक उपहार दिइएकाे हाे ।
विद्यालय प्रधान्याध्यापक शिवबहादुर रिमाललाई पूर्व विद्यार्थी एसएलसी व्याच २०५७ मार्फत् लेखक छवि अनित्यकाे पुस्तक शिक्षकको भाषा उपहारस्वरुप हस्तान्तरण गरिएको हाे । विजया दशमीकाे उपलक्ष्यमा विद्यालयले आयाेजना गरेकाे शुभकामना आदानप्रदान कार्यक्रममा पूर्व विद्यार्थी संप्रस पौडेलले उक्त पुस्तक प्रध्यानाध्यापक रिमाललाई उपहार प्रदान गरेका हुन् ।
पाैडेल सहित विद्यालयका पूर्व विद्यार्थीहरू हरिप्रसाद अधिकारी, जयराम अधिकारी, योगेन्द्र चालिसे, प्रदीप बर्तौला, उत्तम ढकाल, सुष्मा भुजेल, धर्मराज ईटनी, कल्पना अर्याल, रामकृष्ण राना र रामशरण इटनीले पुस्तक सहयोग गरेका हुन् । यस अघी यो पुस्तक बंशगाेपाल माध्यामिक विद्यालय चौघडा जनप्रीय माध्यामिक विद्यालय हटिया तथा महेन्द्र माध्यामिक विद्यालय पदमपाेखरी लगायतका विद्यालयमा उपहारस्वरूप हस्तान्तरण गरिएका छन् ।
सम्झना थापा मगर
खै कहाँ छ ? हत्यारालाई कारागार सरकार ।
देशमा भइरहेको छ हत्या बारम्बार सरकार ।
महिलाले आफ्नो इज्जत ढाक्न मुस्किल भयो
खुल्लम खुल्ला भइरहेको छ बलात्कार सरकार ।
न्याय किन अन्धो हुँदै गएको होला आजभोलि
किन गरेनन् अधिकारको प्रचार प्रसार सरकार ।
बलत्कारीलाई छाडा भएर हिड्न दिनाले झन्
महिलाहरु माथि अति भयो अत्याचार सरकार ।
नेपालमा के वेथिति आयो यस्तो बुझ्न नसकीने
नदिएसम्म हरेक कामहरु हुँदैन पार सरकार ।
कसरी हुन्छ कु- कार्यहरु रोक्ने उपायहरु खोज्नुस्
नत्र भइरहने छ एक अर्कोमा काटमार सरकार ।
स्याङ्जा
मकवानपुर । साहित्य संगम मकवानपुरकाे ३ सय २३ औं साहित्य सन्ध्यामा खुला निबन्ध प्रतियोगिता भएकाे छ । विश्व मुटु दिवसकाे अवसरमा संगमकाे आयोजना भएकाे सन्ध्यामा विजया दशमीको शुभकामना आदानप्रदान एवम् खुला निबन्ध प्रतियोगिता भएको हो ।
शनिबार भएको खुला निबन्ध प्रतियोगितामा मकवानपुरे कवी चिरञ्जीवी लामिछाने प्रथम भएका छन् । सय पूर्णाङ्क रहेकाे प्रतियोगतामा ७८ अंक प्राप्त गर्दै लामिछाने प्रथम भएका हुन् । यस्तै ७६ अंक प्राप्त गर्दै प्रतिमा पौडेल द्वितीय, ७४ अंक प्राप्त गर्दै गरिमा थापा तृतीय र ७३ अंक प्राप्त गर्दै गौरी कँडेल सान्त्वना भएका छन् ।
प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः ५ हजार रुपैयाँ, ३ हजार रुपैयाँ, २ हजार रुपैयाँ र एक हजार रुपैयाँसहित पुरस्कृत गरिएको छ । प्रतियोगितामा १४ जनाको सहभागिता रहेको थियो । निमेष निखिल, सुवास खनाल र भवानी तिमल्सिनाले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।
संगमकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्ष तथा नेपाल हृदय रोग निवारण प्रतिष्ठानका केन्द्रिय सदस्य भगिरथ शर्मा खरेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । नेपाल हृदय रोग निवारण प्रतिष्ठान मकवानपुर शाखाले कार्यक्रममा प्रायोजन गरेको थियो ।