मकवानपुर । प्रदेश युवा परिषद् बागमती प्रदेशसँगकाे सहकार्यमा साहित्य संगम मकवानपुरले कविता प्रतियाेगिता गर्ने भएकाे छ । युवा परिषद सहयाेगमा सङ्गमले खुला कविता प्रतियोगिता गर्ने भएकाे छ ।
विषय खुला रहेको युवा लक्षित कविता प्रतियाेगितामा ४० वर्ष मुनीका कविहरूले मात्र भाग लिन पाउने भएका छन् । कविताका साथ उमेर खुल्ने आधिकारिक प्रमाणपत्र र व्यक्तिगत विवरण (बायोडाटा) आश्विन २२ गतेभित्र प्राप्त भइसक्नुपर्ने आयोजकले जनाएकाे छ ।
ताेकिएकाे समयसिमा भित्र प्राप्त कवितामध्येबाट उत्कृष्ट २० छनौट गरिने छ । उत्कृष्ट २० मा पर्ने कविहरुलाई अन्तिम प्रतियोगितामा सामेल गराइने संगम सचिव मनाेज पोखरेलले बताए । अन्तिम प्रतियाेगितामा कविता वाचनकाे लागि कवि स्वयम् उपस्थित हुनुपर्ने पोखरेलले जानकारी दिए । प्रतियाेगिताकाे मिति भने पछि ताेकिने भएकाे छ ।
कविता बढीमा १५० शब्दसम्ममा लेखिएकाे, अन्यत्र (पत्रपत्रिका तथा सामाजिक सञ्जालमा) प्रकाशित नभएकाे तथा मौलिक हुनुपर्ने सूचनामा जनाइएको छ । कविता प्रतियाेगितामा प्रथम हुने कविले ४० हजार, द्वितीय हुने कविले ३० हजार, तृतीय हुने कविले २० हजार र सान्त्वना हुने कविले १० हजार पुरस्कार प्राप्त गर्ने संगम अध्यक्ष डीबी बर्तौलाले जानकारी दिए ।


मकवानपुर । मकवानपुरमा डेंगू संक्रमितको संख्या ५ सय नाघेकाे छ । गत साउन १ गतेदेखि हालसम्म डेंगू संक्रमितको कूल संख्या ५ सय नाघेको हाे ।
जिल्लामा पछिल्लो २४ घण्टामा थप १६ जनामा डेंगू संक्रमण पुष्टि भएसँगै संक्रमितको कूल संख्या ५ सय ११ पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । कर्यालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा मकवानपुरमा १६ जनामा डेंगु संक्रमण पुष्टि भएकाे थियाे ।
पछिल्लो २४ घण्टामा हेटौंडा उपमहानगरपालिकाका ११ जना, मकवानपुरगढी गाउँपालिकाका १ जना र मनहरी गाउँपालिकाका ४ जनामा डेंगू संक्रमण पुष्टि भएको हो । जिल्लामा हालसम्म डेंगू संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिमा रहेका छन् । उपमहानगरपालिकामा ३ सय ५८ जनामा डेंगू संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएकाे छ ।
यसैगरी, मनहरी गाउँपालिकाका ४५ जना, बागमती गाउँपालिकाका २२ जना, बकैया गाउँपालिकाका १५ जना, भीमफेदी गाउँपालिकाका १२ जना, मकवानपुरगढी गाउँपालिकाका ९ जना, इन्द्रसरोवर गाउँपालिकाका २ जना, थाहानगरपालिकाका १ जना र राक्सिराङ गाउँपालिकामा १ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, उक्त अवधिमा जिल्लाकाे हेटौंडा उपमहानगरपालिका–१३ का डेंगू संक्रमित १ जना पुरुषकाे मृत्यु भएको छ ।
मकवानपुर । मकवानपुर प्रहरीले गैंडाको खाग मुद्दाका फरार २ जना अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन पदमपुर घर भई हेटौंडा–१६ हटिया बस्ने ५२ वर्षीय विष्णु कार्की र ४६ वर्षीय काले बानियाँ रहेका छन् ।
उनीहरूलाई हेटौंडा उपमहानगरपालिका-१६ हटियाबाट शनिबार साँझ पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गैंडामारी खाग चोरी लगेको मुद्दामा फरार उनीहरूलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको टोलीले पक्राउ गरिएकाे मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।
पक्राउ परेका कार्की र बानियालाई आवश्यक कारबाहीका लागि कसरा सेक्टर चितवन राष्ट्रिय निकुञ्ज पठाएको प्रहरी जनाएकाे छ ।
मकवानपुर । मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित १ जनालाई नियन्त्रणमा लिएकाे छ । चाेरीकाे माेटरसाइकल सहित सर्लाही, बरहथवा नगरपालिका–३, मुर्तियाका ३८ वर्षीय दुर्गा बहादुर स्याङतानलाई नियन्त्रणमा लिइएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
हेटौंडा–१०, टि सि एन रोड बस्ने अशोक कुमार सिंहले भदाै ५ गते शुक्रबार राति ८ः५० बजे आफ्नै घर अगाडि पार्किङ गरी राखेको बा. प्र. ०३–००१ प ३४५९ नम्वरको १५५ सिसिको एम टी १५ मोटरसाईकल चोरी भएको भनि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
उक्त माेटरसाइकल खोजी गर्ने क्रममा शनिबार राति ८ बजे हेटौंडा–१५, रातोमाटे चेकपोष्टमा सुरक्षाजाँच गर्ने क्रममा मोटरसाईकलसहित स्याङ्तानलाई नियन्त्रणमा लिएको हो । उनलाई थप कारवाही तथा अनुसन्धानकाे लागि जिल्ला प्रहरी कार्यालयमा राखिएकाे बताइएकाे छ ।
मकवानपुर । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनका भोलिबाट सुरु हुँदैछ । अधिवेशनको लागि सबै तयारी पूरा भएको आयोजक कमिटीले जनाएको छ । अधिवेशन काठमाण्डौमा हुँदै छ । जसका लागि यसअघि नै प्रतिनिधि छनोट टुंगिएको छ । प्रदेश अध्यक्षका लागि आकांक्षीहरु बढेपछि नेतृत्व चयनमा निर्वाचन नै हुने देखिएको छ ।
प्रदेश अधिवेशनका लागि १ हजार ८० जना प्रतिनिधि छनोट भएको प्रदेश अध्यक्ष केशवराज पाण्डेले जानकारी दिए । उनका अनुसार, छनोट भएका प्रतिनिधि मध्ये ३३ प्रतिशत महिला र १० प्रतिशत युवा (४० वर्ष मुनिका) अनिवार्य गरिएको छ ।
एमालेले प्रतिनिधि छनोटका लागि १२५ सदस्य बराबर एक जना प्रतिनिधि चयनको मापदण्ड तय गरेको थियो । दलित समुदायतर्फ भने ५० जना सदस्य बराबर एक जना प्रतिनिधि चयन भएका छन् । जनसंगठनहरु मध्ये महासंघतर्फ तीन र संगठनतर्फ दुई जनाका दरले प्रतिनिधि चयन भएका छन् । राजनीतिक प्रतिवेदन, निर्वाचन समिति, प्रतिनिधि व्यवस्थापनलगायत कामका लागि नेताहरुको विभागीय जिम्मेवारी तोकिएको छ ।
पार्टीको प्रदेश कमिटीमा नेतृत्वको लागि आकांक्षीहरुको भीड नै लागेपछि प्रदेश निर्वाचन खर्चिलो समेत हुने देखिएको छ । अरु प्रदेशमा जस्तै बागमतीमा पनि एमालेले प्रदेश संगठन कमिटीको संख्या झण्डै आधाले घटाउँदैछ । ४४७ सदस्यीय रहेकोमा यो अधिवेशनले ५ जना पदाधिकारीसहित २४० सदस्यीय कमिटी बनाउनेछ ।
पदाधिकारीमध्ये अध्यक्षका लागि बलियो दाबी देखिएको छ । प्रदेशको नेतृत्व गर्न पोलिटब्यूरो सदस्यहरुले नै चाहना राखे पनि अहिले ती नेताहरुपछि हटेका छन् तर अझै सर्वसम्मतको संभावना झिनो छ । पोलिटब्यूरो तहबाटै प्रदेशको नेतृत्व लिनुपर्छ भन्ने छलफल तथा बहस दलिलो भन्दै आएको एक प्रतिनिधिले बताए । तर केद्रीय सदस्य भन्दा तलका नेताहरु नै अध्यक्षको दाबेदार बन्ने भएपछि मनोविज्ञान बदलिएको पाइएको छ ।
हाल यो प्रदेशमा पार्वत गुरुङ, आनन्द पोखरेल, महेश बस्नेत र गोकुल बास्कोटा पोलिटब्यूरो सदस्य छन् । पार्टीभित्र यसअघिबाटै अन्तरसंघर्षमा रहेकाले महेश र गोकुललाई नै अध्यक्षको दाबेदारका रुपमा हेरिएको थियो । तर जनप्रतिनिधिले पार्टी पदाधिकारी बन्न नपाउने नीति बनेपछि बास्कोटा स्वतः प्रतिस्पर्धाबाट अलग भए ।
अहिले बास्कोटा मकवानपुरका कृष्ण दाहाललाई अध्यक्षको उम्मेदवार बनाउन लागि परेका छन् । २०४८ सालदेखि संसदीय अनुभव बटुलेका र पार्टीभित्र पुरानै नेतामा पर्ने दाहाल पनि कुनै हालतमा दाबी नछोड्ने अडान लिएका छन् ।
तर कैलाश ढुंगेल र हालका प्रदेश अध्यक्ष केशव पाण्डे पनि अध्यक्ष बलियो दाबेदार हुन् । बागमती प्रदेशमा पूर्व अर्थमन्त्री समेत रहेका ढुंगेललाई महेश बस्नेतलगायतका नेताहरुको समर्थन रहेको छ । पाण्डे भने अहिलेको कमिटीमा काम गर्न धेरै समय नपाएकाले फेरि सर्वसहमत नेतृत्व पाउनुपर्ने तर्क गर्छन् । तर उनको चाहनाप्रति प्रदेश सचिव विजय सुवेदी समेत सहमत छैनन् । सुवेदी आफैं अध्यक्षको दाबेदार छन् ।
बागमती प्रदेशका पूर्वसभामुख सानु श्रेष्ठले पनि प्रदेश अध्यक्षमा दाबी गरेका छन् । श्रेष्ठ एमालेमा पुराना नेता हुन् । पाँचौं महाधिवेशनदेखि केन्द्रीय सदस्य रहेका उनी पोलिटब्यूरो सदस्य भइसकेका छन् । भूमि त्रिपाठी, खेम लोहनी, कृष्णभक्त पोखरेललगायतले पनि प्रदेश नेतृत्वकै आकांक्षा राखेका छन् ।
एक नेताका अनुसार यदि मतदानबाटै नेतृत्व टुंग्याउनुपर्ने अवस्था आए आकांक्षी नेताहरुमध्ये कैलाश ढुंगेल वा केशव राज पाण्डेको कृष्ण दाहालसँग प्रतिस्पर्धा हुने सम्भावना बलियो छ । “पार्टीभित्र विकसित अवस्था हेर्दा सर्वसहमत नेतृत्व चुनिने संभावना कम छ”, एक पोलिटब्यूरो सदस्य भन्छन् । प्रतिनिधि चयनमा देखिएको प्रवृत्ति हेर्दा समेत सर्वसहमतिबाट नेतृत्व टुंगिन गाह्रो पर्ने देखिन्छ ।
गएको २७ भदौमा प्रतिनिधि चयनको मिति तोकिए पनि झण्डै दशदिनसम्म अन्तिम नतिजा आउन समय लागेको थियो । गएको ३ असोजमा ललितपुर महानगरबाट चयन हुने प्रतिनिधिका लागि मतदान नै भयो । पार्टी सदस्यहरुबीच भएको मतदानबाट खुलातर्फ १२ र महिलातर्फ ५ जना प्रतिनिधि चयन भए । खुलातर्फ १८ र महिलातर्फ सात जनाबीच प्रतिस्पर्धा भएको थियो । दलित तर्फ भने सर्वसहमत भयो ।
नेताहरुका अनुसार, अरुतिर पनि प्रतिनिधि चयन सजिलो भएन । “प्रतिनिधि चयनमा देखिएको होड र नेताहरुको दौडधुप हेर्दा बागमती प्रदेशको नेतृत्व मतदानबाट मात्रै टुंगिने जस्तो देखिन्छ”, बागमती प्रदेश कमिटीका एक नेता भन्छन् ।
केन्द्रीय सदस्य रचना खड्का, सहमति नजुटे लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन हुने अवस्थालाई पनि सहज मान्नुपर्ने बताउँछन् । “दुई महिने मिसन ग्रासरुट अभियानमा प्राप्त सुझाव पनि कार्यकर्ताप्रति उत्तरदायी हुनेगरी लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गरिनुपर्छ भन्ने हो”, खड्का भन्छिन् । बागमती प्रदेशका पूर्वमन्त्री खड्का आफैं पनि प्रदेश अध्यक्षको दाबेदार हुन् । विद्यार्थी राजनीतिबाट नवौं महाधिवेशनमै केन्द्रीय सदस्य बनेकी खड्का आफूले प्रदेशको नेतृत्व पाउँदा देशभर सन्देश समेत जाने बताउँछिन् ।
“युवालाई भूगोलमा जोडेर जानुपर्छ र त्यसले पार्टीमा युवा आकर्षण बढाउँछ भन्ने पार्टीको नीति छ । मैले प्रदेशको नेतृत्व गर्दा त्यो सम्बोधन हुन्छ” खड्का भन्छिन्, “अरु प्रदेशलाई हेर्दा पनि महिला नेतृत्वमा पुग्ने संभावना न्यून देखिन्छ ।”
प्यानलगत प्रतिस्पर्धा गर्न नहुनेमा भने पार्टीभित्र बलियो मत रहेको उनको भनाइ छ । तर मतदानबाट नेतृत्व टुंग्याउने अवस्था आए स्वतः प्यानल बन्ने सम्भावना देखेरै शीर्ष नेताहरु सर्वसहमतिमा जोड दिइरहेका छन् । लुम्बिनीको नेतृत्व मतदानबाटै टुंगिएकाले बागमतीमा सर्वसहमतिको पहल सजिलो नरहेको एक नेता बताउँछन् ।
मतदानबाटै नेतृत्व टुंग्याउनुपर्ने अवस्था आउन सक्ने आँकलन गरेरै प्रदेश अधिवेशनको बन्दसत्रको तालिका सार्वजनिक गरेको छ । “सर्वसम्मत नेतृत्व छनोटको पहल गरिने, त्यसो नभएमा इलेक्ट्रोनिकल भोटिङ मेसिन (राम–लक्ष्मण) को माध्यमबाट मतदान गरिने”, नेतृत्व चयनको कार्यतालिकामा उल्लेख छ । निर्वाचन तालिका अनुसार प्रदेश अधिवेशनको लागि ८ गते खुला मञ्चमा उद्घाटन कार्यक्रम पार्टी अध्यक्ष केपी ओलीले गर्ने छन् । यसैगरी ९ गते प्रज्ञा भवनमा बन्दशत्र र १० गते पार्टी कार्यालयको च्यासलको हलमा नेतृत्व चयनको कार्य हुनेछ ।
सर्वसम्मतको प्रयास हुने तर जनताको बहुदलीय जनमतले पार्टीभित्र आन्तरीक प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गरेर नेतृत्व चयन गर्न सक्छ भन्ने मान्यतालाई फलो गरिने प्रदेश उप सचिव रत्न गुरुङले बताइन् । गुरुङ आफैं पनि सचिवको दावेदार हुन् । निर्वाचनमा सबै शत्ति मिलेर हामीलाई कमजोरजस्तो देखाइएको भए पनि एमाले बलियो संगठन भएको गुरुङले बताइन् ।