मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका १९ मा बस्तीपुरमा सात दिने उद्यमशिलता तथा सिप विकास तालिम सुरु भएको छ। प्रदेश युवा परिषद बागमतीको आर्थिक सहयोग र हेडम्वा डेभलवमेन्ट एडभाजर फाउन्डेशनको आयोजनामा शनिबारबाट सुरु भएकाे तालिम ७ दिन सम्म सञ्चालन हुनेछ ।
तालिममा नव उद्यमीहरूका लागि व्यवसायिक योजना, व्यवसाय गर्दा ध्यान दिनुपर्ने क्षेत्रहरू, व्यवसायमा जोखिम तथा जोखिम व्यवस्थापन, व्यवसाय दर्ता प्रक्रिया तथा सरकारी नीतिनियम, र थोरै लगानीमा गर्न सकिने साना व्यवसायहरू जस्तै चटपटे, पानीपुरी, मम र आलुचप लगायतका विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ। यस तालिममा मनहरी, पदमपोखरी, बस्तीपुर, हाडीखोला र बसामाडीका २० जना युवाहरूको सहभागिता रहेको छ।
प्रदेश युवा परिषद बागमतीका कार्यकारी अध्यक्ष सन्तोष चौलागाईले थोरै लगानी गरेर साना व्यवसाय गर्न खोजिरहेको नव उद्यमीहरुका लागि लक्षित गरि सञ्चालन गरिएकाे बताए । मेहनत गर्ने सोचका साथ उद्यम सुरु गरेमा सफल भइने भन्दै चौलागाईंले मेहनतीकालागि उद्यमको सम्भावना रहेकोले युवालाई उद्यम सुरु गर्न आग्रह गरे । फाउन्डेशनका अध्यक्ष अनन्त कुमार बानियाले यस्ता तालिमले युवाहरूलाई व्यवसायिक जीवनमा प्रवेश गर्न सहज हुने बताए ।
बाँनियाकाे अध्यक्षता तथा चौलागाईंकाे प्रमुख आतिथ्यतामा भएकाे तालिम उद्घाटनमा टोल बिकास सस्था नगर समन्वय समितिका सदस्य अन्जु पण्डित, जनजागरण दुद्य उत्पादन सहकारी संस्थाका अध्यक्ष देवेन्द्र अर्याल, निर्मल बहुमुखी क्याम्पसका स्ववियु सभापती सरोज अर्याल लगायतकाे सहभागिता रहेकाे थियाे ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकाबाट १२ किलो ९ सय ग्राम गाँजासहित २ जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
हेटौड–१५ रातोमाटेस्थित सडकबाट करिब १२ किलो ९ सय ग्राम गाँजासहित २ जना महिलालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएकाे प्रदेश प्रहरी कार्यालय बागमतीले जनाएकाे छ। मकवानपुरकाे बकैया गाउँपालिका–४ बस्ने ३२ वर्षीया चमेली माया घलान र बकैया–१० मन्थली बस्ने २५ वर्षीया रोजिना घलानलाई उक्त परिणामकाे गाँजासहित नियन्त्रणमा लिइएकाे हाे ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौडाबाट काकडभिट्टा तर्फ जादै गरेकाे मे.१ ख ३३३७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार चमेली मायाको साथबाट करिब ६ किलो ५ सय ग्राम र रोजिनाको साथबाट करिब ६ किलो ४ सय ग्राम गाँजा सहित नियन्त्रणमा लिइएकाे प्रदेश प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।
मकवानपुर । प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियाेगिता चैत २५ गते आइतबारदेखि हुने भएको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्, बागमतीको संयुक्त आयोजनामा अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियाेगिता हुने भएकाे हाे ।
चितवनको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रदेश खेलकुद विकास परिषद्, बागमतीका सदस्य–सचिव सूर्यलाल भण्डारीले जानकारी दिए ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, फुटबल, कराँते, तेक्वान्दो, बक्सिङ, पौडी, ब्याडमिन्टन र क्रिकेट गरी ९ खेलको प्रतिस्पर्धा हुनेछ । पुरुष फुटबल बाहेक सबै खेल चितवनमा हुनेछ भने पुरुष फुटबल हेटौंडास्थित गौरीटार रङ्गशालामा हुने भण्डारीले बताए । प्रतियोगितामा १ सय ३६ स्वर्ण, १ सय ३६ रजत र १ सय ८४ कांस्यका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सातै प्रदेशका १ हजार ५ सय ४७ खेलाडी सहभागी हुने बताइएको छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब १२ करोड खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिताको समापन वैशाख १ गते गौरीटार रंगशाला हेटौडामा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गरिने कार्यक्रम रहेकाे छ ।
मकवानपुर । हेटौडामा चैत २४ गतेबाट हुने चौथो मेयर कप फुुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । हेटौडा उपमहानगरपालिकाकाे सहयाेग तथा नगर खेलकुद विकास समितिकाे व्यवस्थापनमा हुने प्रतियाेगिताकाे खेल तालिका बिहीबार सार्वजनिक गरिएकाे छ ।
सार्वजनिक खेलतालिका अनुसार चैत २४ गतेकाे उद्घाटन खेल साविक विजेता हेटौंडा ११ र ३ नम्बर वडा भिड्ने भएका छन् । चौथो संस्करणको प्रतियोेगितामा हेटौँडा उपमहानगरका १९ वटै वडाले सहभागिता जनाएकाे युवा तथा खेलकुद शाखाका अधिकृत बसन्त कुमार सिटौलाले जानकारी दिए । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुने प्रतियोेगिताको फाइनल खेल बैशाख ४ गते हुनेछ ।
प्रतियोेगिताकाे विजेता टिमले नगद २ लाख रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ५० हजार रुपैयाँसहित सिल्ड, मेडल र प्र्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा सहभागी भई तृतीय र चौथो हुने टिमले सान्त्वना स्वरुप ५० हजार र २५ हजार रुपैैयाँ नगद प्राप्त गर्ने सिटौलाले बताए ।
गत जेठ १६ गतेबाट भएकाे तेस्राे संस्करणकाे मेयर कपकाे उपाधी ११ नम्बर वडाले हात पारेकाे थियाे । फाइनल खेलमा १५ नम्बर वडालाई टाइब्रेकरमा ५–३ गाेल अन्तरले हराउदै ११ ले उपाधी जितेको हो । प्रतियोगिताको पहिलो र दोस्रो संस्करणकाे उपाधी १० नम्बर वडाले जितेको थियो ।
मकवानपुर । बागमती प्रदेश सरकारले पुर्णता पाएकाे छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार नेकपा एमालेका ४ जनालाई मन्त्री नियुक्त गरेपछि सरकारले पुर्णता पाएकाे हाे ।
मुख्यमन्त्री जम्कट्टेलले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोख्रेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकालाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठलाई नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्रीहरूले मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराएका हुन् । २५ पुसमा गठित सरकारमा पठाएका तीन जना मन्त्रीलाई पुनः जिम्मेवारी दिइएकाे हाे । उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठले भने पहिलोपटक मन्त्री बन्ने अवसर पाएका हुन् ।
यो सँगै गत फागुन २३ गते नेपाली कांग्रेसका ६ मन्त्रीले राजिनामा दिएपछि रिक्त रहेकाे ६ वटा मन्त्रालयमध्ये एमालेले ५ वटा मन्त्रालयको नेतृत्व लिएकाे हाे । यसअघि १७ चैतमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भएका थिए ।