मकवानपुर । मकवानपुर जिल्लाकाे भिन्नभिन्न स्थानमा भएकाे घटनामा कैलाश गाउँपालिकाका २ जनाकाे मृत्यु भएकाे छ ।
जिल्लाकाे कैलाश ३ फास्टार बस्ने ठुलाे कान्छा चेपाङ र कैलाश १० गोपीराङ बस्ने प्रेम प्रजाकाे मृत्यु भएकाे बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएकाे छ ।
फास्टार बस्ने ४५/४६ वर्षीय चेपाङ शनिबारदेखि सम्पर्क विहिन भएकाेमा आइतबार स्थानीय कालिखाेलाकाे पुल नजिक पानीमा मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ । मृतकाे शव हेटौडा अस्पतालमा रहेकाेमा पोष्टमार्टम नभएकाे बताइएकाे छ ।
यसैगरी गोपीराङ बस्ने ४० वर्षीय प्रजा हेटौडा उपमहानगरपालिका १० वसपार्कमा मादक पदार्थ सेवान गरी वेवारिस अवस्थामा शनिबार प्रहरीले फेला पारेकाे थियाे । प्रजालाई उपचारकाे लागि हेटौडा अस्पताल लगिएकाेमा उपचारकाे क्रममा आइतबार मृत्यु भएकाे प्रदेश प्रहरीले जनाएकाे छ । मृतककाे शव आइतबार छोरीले बुझी लगेकाे प्रहरीले जानकारी दिएकाे छ ।
मकवानपुर । बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आइतबारबार आयोग अध्यक्षमा नियुक्त भएका श्रेष्ठलाई सोमबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ ग्रहण गराए।
रिक्त रहेको आयोगको अध्यक्षमा नियुक्तिका लागि प्रदेश सरकारले श्रेष्ठको नाम सिफारिस गरेको थियो । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले आयोगको अध्यक्षमा उनलाई नियुक्त गरेका थिए ।
मकवानपुर । हेटौंडा–सिस्नेरी-काठमाडौ र फाखेल-काठमाडौं सडक दुई तर्फी संचालनमा आएकाे छ । मर्मतकाे लागि २ असोजबाट एक तर्फी संचालन भएकाे सडक आइतबार बेलुकाबाट दुई तर्फी संचालनमा आएकाे हाे ।
मकवानपुरकाे इन्द्रसरोवर गाउँपालिका २ सिमखोला स्थित बाटोको मर्मत तथा ह्युम पाइप राख्न ३ दिन उक्त सडकमा काठमाडौबाट मात्रै हेटौडा तर्फ सवारी संचालन भएकाे थियाे । बाटोको मर्मत कार्य सम्पन्न भएकाेले आइतबारबाट दुबै तर्फी संचालनमा आएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
उक्त सडक बन्द हुँदा हेटौंडा-भैसे-पालुङ हुँदै काठमाडौं र कान्तिलोकपथ राजमार्ग हेटौंडा ठिगन हुँदै काठमाडौकाे रुट भइ सवारी संचालन भएकाे थियाे ।
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध डाइजेपामसहित २ जनालाई पक्राउ गरेको छ । शनिबार हेटौंडा–३, लेवटबाट १२१ एम्पुल लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।
१२१ एम्पुल सहित लागूऔषध सहित मकवानपुरगढी गाउँपालिका–२ का २५ वर्षीय बुद्ध बहादुर डिम्डुङ र हेटौंडा उपमहानगरपालिका–८, कमानेका २९ वर्षीय नवीन रुम्बालाई हेटौडा ३ लेवटबाट पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ ।
प्रहरी चौकी बसामाडीकाे टोलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनकाे नारायणगढबाट हेटौंडातर्फ आउँदै गरेको ना ३३ प ९५७६ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको जाँच गर्दा लागुऔषध डाईजेपाम ४१ एम्पुल, फेनार्गन ४० एम्पुल र नुर्फिन ४० एम्पुल बरामद गरेको हाे ।
प्रहरीका अनुसार डिम्डुङ र रुम्बालाई जिल्ला अदालत मकवानपुरबाट ४ दिनको म्याद लिइ थप अनुसन्धान भइरहेकाे छ ।
मकवानपुर । बागमती प्रदेश लोक सेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त भएका छन् । प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले आइतबार श्रेष्ठलाई आयोगकाे अध्यक्षमा नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री बहादुर सिं लामा, सभामुख भुवनकुमार पाठक र विपक्षी दलका नेता शालिकराम जम्मकट्टेलकाे ३ सदस्यीय समितिले २१ असोजमा श्रेष्ठलाई लोक सेवा आयोगको अध्यक्ष नियुक्त गर्न सिफारिस गरिएकाे थियो । प्रदेश लोकसेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा (१) अनुसार गठित सिफारिस समितिको सिफारिसमा सोही ऐनकाे दफा ४ को उपदफा (२) बमोजिम श्रेष्ठलाई अध्यक्ष नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएकाे हो ।
२ मंसिर २०७६ मा गठित आयोगको अध्यक्ष सुरेशमान श्रेष्ठ उमेर हदका कारण अध्यक्ष ३ चैत २०८० बाट पदमुक्त भएका थिए । पटक–पटक सरकार परिवर्तन र सत्तारुढ दलहरुबीच सहमति हुन नसक्दा ७ महिनादेखि आयोगको अध्यक्ष नियुक्त हुन सकेको थिएन ।
श्रेष्ठलाई आयोगको अध्यक्ष नियुक्त गर्न सिफारिस भएपछि आयोगका सदस्य सुदर्शन ढकालले पदबाट राजीनामा दिएका थिए । कनिष्ट व्यक्तिलाई अध्यक्ष नियुक्त गर्न सिफारिस गरिएकाे भन्दै ढकालले २ कार्तिकमा प्रदेश प्रमुख देवकोटा समक्ष राजीनामा दिएका थिए । ६ माघ २०७६ मा सदस्य नियुक्त भएका ढकालले ४ वर्ष ९ महिना काम गरेर राजीनामा दिएका हुन् ।
लाेक सेवा आयोगकाे अध्यक्षमा नियुक्त श्रेष्ठ नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर १ निवासी हुन् । लुम्बिनी प्रदेशको बुटवलस्थित स्वास्थ्य तालिम केन्द्रको निर्देशक पदमा कार्यरत श्रेष्ठ बिहीवार मात्रै सरकारी सेवाबाट अवकाश भएका थिए । उनी ११औं तह सहसचिव हुन् ।
यस अघि उनले तत्कालीन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको प्राविधिक सल्लाहकार पदमा रही काम गरिसकेका छन् । उनको शपथ कार्यक्रम सोमबार हुने बताइएकाे छ ।