काठमाडौं । पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेर देखाउन वर्तमान सरकारलाई नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले चुनौती दिएका छन् ।
आज पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर बस्नेतले यस्तो चुनौती दिएका हुन् । बस्नेतले भने, ‘केपी ओली दोषी हुनुहुन्छ र तिम्रो बाउको हिम्मत छ भने पक्राउ गरेर देखाऊ ।’ जेनजी युवा आन्दोलनमा दमन गरेको आरोपमा उनीमाथि केही जेनजी अगुवाहरुले प्रहरीमा मंगलबार उजुरी दिएका थिए । सो उजुरी प्रहरीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा फरवार्ड गरेको थियो ।
यसैबारे बाेल्दै बस्नेतले ओलीलाई पक्राउ गरेर देखाउन चुनौति दिएका हुन् । दलका नेताहरुमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु गरिएको विषयमा पनि बस्नेतले आक्रोश पोखे । उनले युवाहरुको बलमा सत्तामा पुगेकाहरुमाथि पनि अनुसन्धान गर्नुपर्ने बताए । उनले अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जामन्त्री कुलमान घिसिङको नामै लिएर पहिले उनीहरुबाट अनुसन्धान सुरु गर्नुपर्ने बताए ।
मकवानपुर । निर्वाचन आयोगले २१ फागुनकाे लागि तय गरिएकाे प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ। आयोगले सोमबार जारी गरेको कार्यतालिकाअनुसार निर्वाचन तयारीका सबै प्रक्रिया निर्धारित समयमा सञ्चालन हुने जनाएकाे छ।
यस्तो छ कार्यतालिका (आयोगकाे विज्ञप्ति सहित)
- मंसिर १ गतेदेखि १० गतेसम्म दल दर्ता हुनपर्ने ।
- पहिलो हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने ।
- फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाईने साथै फागुन १८ गतेदेखि प्रचारप्रसार निषेध गरिने ।
- फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने ।
- समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पुस १८–१९ गते बन्दसूची पेश गरिने

मकवानपुर । असोज तेस्राे साता परेकाे अविरल वर्षापछिकाे विपदमा परी मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार साँझ विवरण अद्यावधिक गर्दै मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको जनाएको हो ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार पहिरोमा परी इलाममा ३७, पाँचथर र काभ्रेमा एक/एक जना गरी ३९ काे मृत्यु भएकाे छ । यस्तै बाढीबाट पाँचथर, खोटाङ, मोरङ, सुनसरी, उदयपुर र रौतहटमा एक/एक जना गरी ६ जनाकाे मृत्यु भएकाे छ ।
चट्याङबाट दुई र अविरल वर्षाले उदयपुरमा एक जनाको ज्यान गएको हाे । यसैगरी हालसम्म छ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बाढीमा परेर रसुवामा चार र इलाममा एक तथा पहिरोमा परेर इलाममा एक जना रहेका छन् । विपद्जन्य घटनामा हालसम्म २८ जना घाइते भएका छन् । घाइते हुनेमा पहिरोमा परेर इलाममा १०, पाँचथरमा दुई, ललितपुरमा दुई, भोजपुरमा तीन, खोटाङमा तीन, उदयपुर, मकवानपुर, ताप्लेजुङ, धनकुटा र बारामा एक/एक जना रहेका छन् ।
यस्तै, अविरल वर्षाका कारण घाइते हुनेमा धनकुटा र बारामा एक/एक तथा बाढीबाट खोटाङमा एक जना घाइते भएका छन् । सार्वजनिक विवरणअनुसार हालसम्म १८ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।
मकवानपुर । अविरल वर्षातका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै उच्च रेड अलर्ट जारी गरिएको छ भने ब्यारेजका ५६ वटै ढोका खोलिएकाे छ ।
कोशी ब्यारेजमा पानीको बहाव ४ लाख ८६ हजार ७६० क्यूसेक रहेको जनाइएको छ । एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ । गत वर्षको असोजमा पानीको बहाव प्रतिसेकेन्ड ५ लाख ५७ हजार क्यूसेक मापन भएको थियो ।
कोशी ब्यारेजमा पानीको सतह पुल सम्म आएको छ भने सप्तरी र सुनसरी दुवै तर्फबाट आवागमनमा रोक लगाइएको छ ।