मकवानपुर । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित ८ वटा राजनीतिक दलले एकताका लागि १८ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् । ८ दलबीच नयाँ पार्टीको नाममा सहमति नभएकाे बताइएकाे छ भने चुनावचिन्ह पाँचकुने तारामा सहमति भएकाे छ ।
सहमतिपत्रमा माओवादीका संयोजक प्रचण्ड र एसका अध्यक्ष माधव नेपालसहित नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव, जनसमाजवादी पार्टीका अध्यक्ष सुवासराज काफ्ले, नेकपा (समाजवादी) पार्टीका अध्यक्ष राजु कार्की, नेकपाका महासचिव चिरन पुन, नेकपा माओवादी स्समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र नेकपा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले हस्ताक्षर गरेका छन् ।
आइतबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीकाे बैठकमा १८ बुँदे सहमति भएको हो । आगामी १९ कार्तिकमा उक्त ८ पार्टीहरूबिच एकता घाेषणा गरिने भएकाे छ ।
पार्टी एकताका लागि ८ पार्टीले गरेका सहमतिका बुँदाहरुमा के के छन्??
- पार्टीको मार्ग निर्देशक सिद्धान्त : मार्क्सवाद–लेनिनवाद हुनेछ ।
- नेपाली कान्तिको कार्यक्रम : नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुनेछ।
- पार्टीको तात्कालिक कार्यनीति : पुँजीवादी जनवादी कान्तिका उपलब्धिको रक्षा राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रूपान्तरण गर्दै समाजवादको आधार तयार गरिने छ ।
- आन्दोलनको स्वरूप आन्दोलन मूलतः शान्तिपूर्ण हुनेछ। परिस्थिति अनुसार सडक, सदन र सरकार लगायत आवश्यकता अनुसारका सबै मोचाहरु आन्दोलनको मोर्चा हुनेछन् ।
- पार्टीको एकता राष्ट्रिय सम्मेलन : एकता प्रक्रियामा सहभागी सबै घटकहरूका केन्द्रीय समितिहरूको संयुक्त भेलाको रूपमा एकता राष्ट्रिय सम्मेलनको आयोजना २०८२ कात्तिक १९ गते गरिने छ । एकता राष्ट्रिय सम्मेलनबाट पार्टी एकताको घोषणा, घोषणा पत्र र अन्तरिम विधान पारित र केन्द्रीय समितिको गठन लगायतका कार्यहरू गरिनेछ ।
- एकता राष्ट्रिय महाधिवेशन :आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गरिनेछ ।
- केन्द्रीय समितिको गठन : एकता प्रक्रियामा सहभागी भएका पार्टीहरूका साविकका केन्द्रीय समितिहरूलाई समायोजन गर्दै आपसी सहमतिको आधारमा केन्द्रीय समिति गठन गरिने छ ।
- केन्द्रीय समिति भित्रको संरचना : केन्द्रीय समिति, राजनीतिक समिति सचिवालय, कार्य संयोजन समिति हुनेछ ।
- संयोजक र सहसंयोजक : केन्द्रीय समितिमा संयोजक र सहसंयोजक पद हुनेछ । प्रदेश, जिल्ला, पालिका र वडा तहका सबै समितिहरूमा पनि संयोजक र सहसंयोजक व्यवस्था हुनेछ ।
- सहमति र समन्वय एकता : राष्ट्रिय सम्मेलन र एकता महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू, आयोजना, सङ्गठनात्मक संरचनाको गठन सबै आपसी सहमति र समझदारीमा गरिनेछ ।
- सबै तहको पार्टी पङ्क्तिमा एकता समायोजन : सबै तहका पार्टी समितिहरू र जनसङ्गठनहरूमा इन्चार्ज तथा सहइन्चार्ज र संयोजक तथा सहसंयोजकहरु सम्भव भएसम्म एकतामा सहभागी घटकहरूबाट रहने व्यवस्था गरिने छ ।
- दुई तहमा रहनसक्ने : कुनै पनि सदस्यहरू दुई तहको समितिमा रहन सक्ने छन् ।
- पार्टी समितिहरूको सञ्चालन : पार्टी समितिहरूको सञ्चालन सामूहिक नेतृत्व प्रणालीमा आधारित जनवादी केन्द्रियताको सिद्धान्त अनुरूप हुने छ ।
- राजनीतिक प्रतिवेदन र कार्यक्रम : पार्टी एकता घोषणापश्चात् राजनीतिक प्रतिवेदन कार्यक्रम लगायतका दस्ताबेजहरू निर्माण गर्न कार्यदल गठन गरिने छ ।
- सङ्गठनात्मक समायोजन : पार्टी समितिहरू र जनसङ्गठनहरूमा सङ्गठनात्मक एकता र समायोजनका लागि विभिन्न तहमा कार्यदल गठन गरिनेछ ।
- पार्टीको तहगत कार्यकारी समितिहरु: केन्द्र, भौगोलिक र गैरभौगोलिक दुवै तर्फका प्रदेश, जिल्ला, पालिका र वडा तह कार्यकारी हुनेछन्। सङ्घ र प्रदेश निर्वाचन क्षेत्रमा समन्वय समिति हुने र टोल तथा प्रारम्भिक स्तरका समितिहरू सङ्गठन समितिको रूपमा रहने छन् ।
- पार्टीको नाम र चुनाव चिन्ह : पार्टीको नाम………………….. रहने र चुनाव चिन्ह पाँचकुने तारा हुने छ ।
- मतभेद समाधान : वैचारिक राजनीतिक विषयमा एकआपसमा रहन सक्ने मतहरूबारे निरन्तर छलफल गर्दै जाने र एकता राष्ट्रिय महाधिवेशनबाट निष्कर्षमा पुर्याइने छ ।

मकवानपुर । मकवानपुर जिल्लाको जेनजी संयाेजकमा सुगम नेगी चयन भएका छन् ।
त्यसैगरि जेनजी जिल्ला सह-संयाेजकमा निश्चल रसाईली र नवीन परियारलाई जिम्मेवारी दिइएको छ। जेनजी बागमती प्रदेश संयोजक अफ्साना बानुका अनुसार जिल्ला संयोजक तथा सह संयोजक बहुमतको आधारमा छनौट गरिएको हो ।
संयोजक नेगी र सह–संयोजकद्वय रसाईली र परियारलाई सफल कार्यकालका लागि शुभकामना दिदै प्रदेश संयोजक बानुले नयाँ नेतृत्वले जनविश्वास, जवाफदेहिता र पारदर्शिताका सिद्धान्तअनुसार कार्य गर्ने बताइन् ।
मकवानपुर । श्रम संस्कृति पार्टीकाे मकवानपुर जिल्लामा संगठन विस्तार गरिएकाे छ । तीव्रता दिएको छ। धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ नेतृत्वकाे पार्टीकाे मकवानपुर जिल्ला तथा पालिका र वडा तहसम्म तदर्थ कमिटी गठन गरेकाे छ ।
पार्टीकाे जिल्ला तदर्थ समिति संयोजकमा युनेश लामा सिन्तान चयन भएका छन्। संगठनकाे सह–संयोजकमा ध्रुव दहाल, किशोर राना मगर, दिपक सिङ घलान रहेका छन् । यसैगरी सचिवमा मर्सी मोक्तान तथा सह–सचिव भुपेन्द्र राना मगर रहेका छन्। जिल्ला समिति सदस्यहरुमा मोहन वाइबा, महादेव घलान, दिपेन्द्र पुडासैनी लगायत २१ सदस्य रहेकाे बताइएकाे छ ।
त्यस्तै, पार्टीकाे मनहरी गाउँपालिका समितिको संयोजकमा पवन कुमार मोक्तान र सह–संयोजकमा पूर्णहरी अधिकारी चयन भएका छन्। मनहरी गाउँपालिका समिति १९ सदस्यीय रहेको जनाइएको छ। यसैगरी भीमफेदी गाउँपालिकामा दिपेन्द्र पुडासैनीकाे नेतृत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ।
वडा तहसम्म संगठन विस्तार थालेको पार्टीले भीमफेदी गाउँपालिका वडा नं. ४ मा शिव बहादुर केसीकाे संयोजकमा ११ सदस्यीय वडा समिति गठन गरिएकाे छ । चित्र बहादुर रुम्बा सह–संयोजक रहेकाे समितिमा प्रताप लामा सचिव, र बासुदेउ थिङलगायतका सदस्य रहेका छन्।
जिल्ला संयोजक युनेश लामा सिन्तानका अनुसार श्रम संस्कृति पार्टीले हरेक शनिबार श्रमदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। “हामी श्रमलाई संस्कृतिको रूपमा स्थापित गर्न चाहन्छौं र यही सन्देश गाउँ–गाउँ र वडा–वडासम्म पुर्याउँदैछौं”उनले भने ।
सिन्तानका अनुसार पार्टीले श्रमदानलाई पनि वडास्तरमा पुर्याउने योजना अघि बढाएको छ । श्रमदान संस्कृतिले समाजमा सामूहिक श्रम र सहयोगकाे भावना विकास हुने पार्टीले विश्वास लिएकाे छ।
मकवानपुर । गृह मन्त्रालयले ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूको सरुवा गरेको छ। मन्त्रालयले आइतबार मकवानपुर सहितका ३६ प्रमुख जिल्ला अधिधकारीहरुकाे सरुवा गरेकाे हाे ।
मन्त्रालयले केही जिल्लामा नयाँ सीडिओको जिम्मेवारी तोकिएको छ भने केहीलाई एक जिल्लाबाट अर्काे जिल्लामा पठाइएको छ। मकवानपुरका सिडिओ स्किम श्रेष्ठकाे सिन्धुली जिल्लामा सरुवा भएकाे छ । यसैगरी मकवानपुरकाे सिडिओमा सिराहाबाट वसन्त अधिकारी आउने भएका छन् । श्रेष्ठले १५ फागुन २०८१ बाट मकवानपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेकी थिइन् ।


