मकवानपुर । हेटौंडा ८ मा शनिवार विहान भेटिएको पुरुष शवको पहिचान भएको छ । शवकाे सनाखत हुन नसकेकाेले मकवानपुर प्रहरीले शनिवार दिउँसाे मृतककाे हुलिया सार्वजनिक गरेकाे थियाे । हुलिया सार्वजनिक भए पछी मृतककाे पहिचान भएकाे प्रहरीले जानकारी दिएकाे हाे ।
मृतक मकवानपुरगढी गाउँपालिकाका वडा नम्बर-६ का ५० वर्षीय सिताराम सुवेदीको भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिए । शनिबार बिहान हेटाैडा वडा नंबर ८ को सनउड कोलोनिमा सुवेदीको शव फेला परेको थियो । उनी ३ दिन अघि घरबाट निस्किएको परिवारले बताएको छ । सुवेदीको परिवार शनिवार नै शवको पहिचान गरेकाे रानाले जानकारी दिए ।
सुवेदीको शव हेटौंडा अस्पतालमा राखिएको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
मकवानपुर । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कोरोना संक्रमण भएर निको हुनेको संख्या २ लाख २४ हजार ५३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यसअघि शुक्रबारसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख २१ हजार ८ सय ४७ जना रहेको थियो। नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ७७ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २४ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३९ हजार ८ सय ८५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हाे ।
नेपालमा हालसम्म १७ लाख ७८ हजार २४ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ५ सय ३६ जना रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १४ हजार २ सय २५ जना सक्रिय संक्रमित छन्।
मकावनपुर । १७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसकाे अवसरमा हेटौंडा उपमहानगरपालिकाले शनिबार ५ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ ।
वर्षभरी आफ्ना क्षेत्रमा महत्वपुर्ण काम गरेको भन्दै हेटौंडा ५ की मिना चौरेल, हेटौंडा १० की भागिरथी चालिसे, हेटौंडा १२ का पार्वती नगरकोटी, हेटौंडा १४ की पार्वती नगरकोटी र हेटौंडा १५ की सोविता थापालाई उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले सम्मान गरेका हुन् ।
‘कोभिड–१९ को रोकथाम र स्वास्थ्यका लागि संयुक्त कार्यः महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकाको भूमिका अपरिहार्य’ भन्ने मुलनाराका साथ कार्यक्रम गरिएको हो । कार्यक्रममा उपमेयर मिना कुमारी लामा, प्रमुख प्रशासकिय अधिकृत नबराज घिमिरे, सामाजिक विकास महासाखाका प्रमुख भिम तिमल्सिना, स्वास्थ्य अधिकृत भोला चौलागाई लगायतको उपस्थिती रहेकाे थियो ।
चितवन । हिन्दुराष्ट्र र राजतन्त्रका समर्थकहरूले शनिबार चितवनमा प्रदर्शन गरेका छन्। हिन्दुराष्ट्र नेपाल र राजतन्त्रको माग गर्दै हजारौं समर्थकहरूले र्यालीमा सहभागिता जनाएका हुन्।
भरतपुरस्थित बसपार्कबाट सुरू भएको र्याली हाकिमचोक, चौबिसकोठी, नारायणगढ, आँपटारी, बाइपासरोड हुँदै पुनः बसपार्क पुगेर टुंगिएको थियो। सहभागीहरुले सरकार, भ्रष्टाचार, गणतन्त्र, धर्मनिरपेक्षता र संघीता विरोधी नारा लगाएका थिए।
यस्ताै राजसंस्थाको पक्षमा शनिबार काठमाडौं उपत्यकामा समेत प्रदर्शन भएको छ । ‘राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७’ को आह्वानमा भएको प्रदर्शनमा सहभागीहरुले राष्ट्रिय झण्डा र पृथ्वीनारायण शाहको तस्वीर बोकेका थिए ।
प्रदर्शनमा सहभागीहरूले राजसंस्थाको स्थापना तथा संघीयता र धर्म निरपेक्षता खारेज गर्नुपर्ने नारा लगाएका छन् । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरमा पुगेर सभामा परिणत भएको थियो ।
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले आज राति लिड्स युनाईटेडसँग प्रतिस्पर्धा गर्दैछ। चेल्सीले घरेलु मैदानमा लिड्ससँग खेल्नेछ।
घरेलु मैदानमा चेल्सी लिड्सलाई हराउने लक्ष्यमा हुनेछ। तर, बलियो टिम लिड्सविरुद्ध चेल्सीलाई जित निकाल्न सहज भने हुने छैन। चेल्सी १९ अंक जोडेर तालिकाको तेस्रो रहेको छ। घरेलु मैदानमा लिड्सलाई हराएर चेल्सी शीर्ष स्थानमा उक्लन चाहन्छ। लिड्स भने १४ अंक जोडेर १२ औं स्थानमा रहेको छ।
लिड्स चेल्सीलाई हराएर अंक तालिका सुधारको लक्ष्यमा हुनेछ। चेल्सी र लिड्सबीचको खेल नेपाली समय अनुसार पौने २ बजे सुरु हुनेछ। अर्को खेलमा एभर्टनले बर्नलीसँग उसैको मैदानमा खेल्नेछ। दुई टिमबीचको खेल साँझ सवा ६ बजे सुरु हुनेछ। एभर्टन १६ अंक जोडेर आठौं स्थानमा रहेको छ। ५ अंक जोडेको बर्नली रेलिगेसन क्षेत्रमा रहेको छ। एजेन्सी