मकवानपुर । फागुन १५ गते शनिबारसम्म देशका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। हाल प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ। अहिले तराईका केही स्थानहरुमा हुस्सु लागिरहेको महाशाखाले जनाएको छ।
विहीबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक –दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। महाशाखाले विहीबार विहान जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा शुक्रबार र शनिबार पनि पहाडी भेगमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ।
मकवानपुर । पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार ६९२ जनाको नमुना परीक्षण गर्दा ३६ जना महिला र ५८ जना पुरुष गरी कुल ९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै मन्त्रालयका अनुसार बुधवार ७१ जना संक्रमित भाइरसमुक्त भएका छन्। यससँगै कुल संक्रमित संख्या २ लाख ७३ हजार ७६० जना पुगेको छ । उनीहरु मध्ये २ लाख ७० हजार १३९ जना संक्रमणमुक्त भएका छन् भने कुल २६८४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
सरकारले सच्यायो कोरोनाबाट मृत्यु हुनेको तथ्यांक
सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु हुनेको संख्या सच्याएको छ । मृत्यु हुनेको संख्यामा बुधबार एकै दिन ६१९ जना थप गरिएको हाे ।
कोभिड १९ महामारीको व्यवस्थापन गरिरहेका अन्य निकायहरुको तथ्यांकको आधारमा अद्यावधिक गर्दा स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भन्दा थप ६१९ जनाको मृत्यु भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसअघि सरकारले कोरोनाबाट मृत्यु हुनेको वास्तविक तथ्यांक लुकाएको आरोप लाग्दै आएको थियो । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६८४ पुगेको छ । बुधबार भने कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।
मकवानपुर । अभिनेत्री वर्षा सिवाकोटी ‘कालीपुरुष’ फिल्ममा अनुबन्धित भएकी छन्। हालै ‘परदेशी २’को छायांकन सकाएकी वर्षा पछिल्लो समय व्यवसायमा पनि आवद्ध छिन्। सस्पेन्स थ्रिलर कथामा निर्माण हुन लागेको यो फिल्म इभाना इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको हो।
फिल्म राघव आचार्यले निर्देशन गर्ने छन् भने मानकृष्ण महर्जनको छायाँंकन रहने छ । ‘कालिपुरुष’मा नव–नायक रमेश बाँनियाको मुख्य भूमिका रहनेछ। फिल्मको अन्य टिम छनौटको क्रममा रहेका इभाना इन्टरटेन्मेन्टले जनाएकाे छ।फिल्मको छायाँकन फागुणको अन्तिम साताबाट सुरु बताइएको छ।
मकवानपुर । फागुन १४ गते शुक्रबारदेखि हुने हेटौंडा मेयर कप फुटबल प्रतियोगिताको अायाेजना हुने भएकाे छ । नगर खेलकुद विकास समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हुने प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको हो।
प्रतियोगिताको पहिलो तथा उद्घाटन खेल ११ र १ नम्बर वडाबीच प्रतिस्पर्धा हुनेछ। हेटौंडा–४ स्थित लोकतान्त्रिक मैदान (हुप्रचौर) सञ्चालन हुने प्रतियोगिता फागुन १४ गतेबाट २४ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता नकआउटका आधारमा हुनेछ। उपहानगरपालिकाको १९ वटै वडाको सहभागिता रहने प्रतियोगितामा चार वटा समुहमा विभाजन गरिएको छ । समुह ए मा वडा नं.११,१,९,१७ र १३ रहेका छन् भने समुह बी मा ७,३,१८,१२ र १५ रहेका छन् । त्यस्तै समुह सि मा १६,१९,४,२ र १० रहेका छन् भने समुह डि मा ५,८,१४ र ६ नम्बर वडा रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेतालाई नगद २ लाख रुपैया, उपविजेताले नगद १ लाख ५० हजार रुपैयासहित शिल्ड, मेडल र प्रमाणापत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद दश हजार रुपैया, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, प्रशिक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही पाँच/पाँच हजार रुपैया प्राप्त गर्नेछन् ।
त्यस्तै आयोजकले प्रतियोगिता संचालनको लागि सबै जसो तयारी पुरा भएको समेत जानकारी दिएको छ ।
मकवानपुर । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ ।
संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेकाे संवैधानिक इजलास सर्वाेच्च अदालतमा गठन भएकाे थियाे ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए ।
आदेशको पूर्णपाठ