मकवानपुर । ५ ए साइड शिक्षक फुटबल प्रतियोगिताको उपाधी नवोदय शिशु सदनले हात पारेको छ । शनिबारको फाइनल खेलमा ब्रम्हदिक एकेडेमीलाई १७–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै नवोदयले उपाधिमा कब्जा जमाएको हो ।
नवोदयका जीतमा माधव भूर्तेलले ४ गोल, सुनिल मल्ल, किशोर श्रेष्ठ र बिजेन लामाले ह्याट्रिक पूरा गरेका थिए । यस्तै किसव दासले २ गोल, अजय बजगाई र कविर गौतमले १–१ गोल गरेका थिए ।ब्रम्हदिक एकेडेमीका सन्देश तामाङले एक मात्र सान्त्वना गोल गरेका थिए ।
प्रतियोगिताभरी १३ गोल गरेका नवोदयका माधव भुर्तेल ‘टप स्कोरर’ घोषित भए भने ब्रम्हदिकका अनुज कार्की उत्कृष्ट खेलाडी घोषित भए ।प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
भुटनदेवी माविलाई ९- १ को गोल अन्तरले पराजित गर्दै नवोदयले विजयी सुरुवात गरेको थियो । श्रमिक माविसंग २-२ गोलको बराबरी भएपछि ब्रम्हदिकले ट्राइबेकरमा जित निकाल्दै नवोदयसंग भेट पक्का गरेको थियो ।
प्रतियोगिताका बिजयी टिमलाई फाल्गुन ७ गते कार्यक्रम गरि पुरस्कार वितरण गरिने छ । हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडा कार्यालयको आयोजना, शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा ४ को व्यवस्थापन र ब्रम्हदिक एकेडेमीको सह व्यवस्थापनमा भएको प्रतियोगितामा हेटौंडा ४ नम्वर वडाका चार वटा विद्यालयले सहभागिता रहेको थियो ।
मकवानपुर । ज्ञानदीप बहुद्देश्यीय सहकारी संस्था लिमिटेड तथा ज्ञानदीप शिक्षा निकेतन मा। विको २५ ओैँ वार्षिकोत्सवको अवसरमा आयोजित ज्ञानदीप रजत महोत्सव २०८२ अन्तर्गत आज सम्पन्न नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि सनसाइन मावि, बसामाडीले जितेको छ ।
हेटौंडा उपमहानगरपालिकाअन्तर्गतका १० ओटा विद्यालयहरूको सहभागिता रहेको उक्त प्रतियोगितामा विजेता टोली सनसाइन माविले नगद ८,००० सहित ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्यो । त्यस्तै उपविजेता टोली ब्रह्मदिक् एकेडेमीले नगद ५,००० सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो ।
तेस्रो स्थान प्राप्त गर्ने टोली तुलसीमेहर मेमोरियल माविले नगद पुरस्कार ३,००० सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो ।
कार्यक्रममा ज्ञानदीप शिक्षा निकेतन मावि सञ्चालक समिति उपाध्यक्ष राजेश बानिया, कोषाध्यक्ष मोहनप्रसाद न्यौपाने, पिटिए अध्यक्ष प्रकाश बानियाको पनि उपस्थिति रहेको थियो ।
विद्यालयका हाजिरीजवाफ क्लबका संयोजक नवीन मल्लको संयोजन तथा मावि तह संयोजक माधव अधिकारीको व्यवस्थापनमा सञ्चालित कार्यक्रम विश्वनारायण श्रेष्ठको अध्यक्षता एवम् ज्ञानदीप बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष श्री ऋषिराम उपाध्याय पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
मकवानपुर । सरकारले बिहीकारकाे मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेकाे मन्त्रिपरिषद् बैठककाे निर्णय सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले शुक्रबार सार्वजनिक गरेका हुन् ।
सरकारले २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानविन गरी प्रतिवेदन पेश गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेकाे छ ।
अन्य के के छन् ? सरकारका निर्णयहरु:
- सिद्धार्थ राजमार्ग (बुटवल–पोखरा खण्ड) सुधार आयोजनाको तयारीका लागि एशियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने ।
- तोकिएको उद्योग व्यवसायको क्षेत्रमा स्वचालित मार्ग (अटोमेटिक रूट) बाट हुने विदेशी लगानीको माथिल्लो सीमा हटाउन स्वीकृति दिने ।
- भारतको नयाँ दिल्लीमा २०८२ माघ २२ देखि २४ गतेसम्म सञ्चालन हुने पहिलो साउथ एशियन एग्रोफरेस्ट्री एण्ड ट्रेस आउटसाइड फरेस्ट कन्फ्रेन्समा कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदनप्रसाद परियार र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रलाई सहभागी हुन स्वीकृति दिने ।
- २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानविन गरी प्रतिवेदन पेश गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने ।
- नेपाल सरकारको प्रतिनिधित्व गर्दै २०८२ पुस १५ देखि १७ गतेसम्म बंगलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको अन्त्येष्टि समारोहमा सहभागी हुनुभएका माननीय परराष्ट्र मन्त्रीको बंगलादेश भ्रमण समर्थन गर्ने ।
- नेपाल सरकारको नाममा दर्ता रहेको भक्तपुर जिल्लामा रहेको पाँच रोपनी जग्गा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको कार्यालय भवन निर्माण गर्ने प्रयोजनका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई उपयोग गर्न स्वीकृति दिने ।
- नेपाल सरकारको नाममा दर्ता स्रेस्ता कायम रहेको काभ्रेपलाञ्चोक जिल्लामा रहेको एक रोपनी जग्गा खानेपानी तथा सरसफाई डिभिजन नं. ३, सिन्धुपाल्चोकलाई उपयोग गर्न स्वीकृति दिने।
- मिति २०८१–११–२७ मा प्रतिनिधि सभाबाट पारित मोन्ट्रियल प्रोटोकलको किगाली संशोधनलाई मिति २०८१–११–२७ गतेको अतिरिक्ताङ्क गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृति प्रदान गर्ने।
- गृहमन्त्रीलाई नेपाल सरकारको प्रवक्ता तोक्ने ।
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–११ आँपचौरमा ट्रक र स्कुटर ठोक्किएर दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ ।
हेटौंडालाई ललितपुर जोड्ने कान्ति लोकपथस्थित आँपचौरमा बिहीबार जितपुर भञ्ज्याङतर्फबाट ठिंगनतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ क ०९५२ नम्बरको ट्रक र म.प्र. ०३–०३९ प ५६४४ नम्बरको स्कुटर ठोकिएर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा स्कुटर चालक पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१० पानीट्यांकीका ५० वर्षीय अनुराग श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा घाईते श्रेष्ठलाई हेटौंडा अस्पताल ल्याइएकोमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । ट्रक तथा चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका १७ हटिया सानाेगङगटेमा करेन्ट लागेर १ जनाकाे मृत्यु भएकाे छ ।
बिहीबार दिउँसो हेटौडा १७ सानोगङगटे स्थित बिद्युतको ट्रान्समिटरमा काम गर्ने क्रममा करेन्ट लाग्दा मनहरी ५ बसन्तपुर बस्ने २७ वर्षीय निरज भन्ने आदर्श भट्टराईकाे मृत्यु भएकाे हाे । करेन्ट लागि घाईते भएका उनलाई हेटौंडा अस्पताल ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार मृतक बिद्युत प्राधिकरणको कर्मचारी नभएकाे तर ठेकेदार मार्फत काम गर्न खटिएको कामदार हुन् ।