
म अटिजम भएको बालककी आमा हुँ । जन्मिएको करिब एक वर्षसम्म बाबुका क्रियाकलापहरू सामान्य नै थिए; ‘बाबा’, ‘पा’, ‘मामा’ ‘हट्’, ‘च्या’ जस्ता शब्द बोल्थ्यो तर प्रस्टसँग बुझिँदैन थियो । बाबु चकचके, गोरो र स्वस्थ थियो । त्यति बेलासम्म सब ठीकठाक थियो । सोह्र महिनाको हुँदासम्म पनि उसको बोली प्रस्ट भएन, बाबु–मम्मी देखाऊ भन्दा देखाएन, घुम्न जाऔं भन्दा बुझेन । बाबुले कान सुन्दैन या कम सुन्छ भन्ने ठानेर हामी जचाउन नेपालगन्जबाट काठमाडौं आयौं । टिचिङ अस्पतालमा चेकजाँच गरेपछि कान सुन्छ भन्ने थाहा भयो । डाक्टरले गैरिधारास्थित अटिजम केयर सेन्टरमा रिफर गर्नुभयो । त्यहाँ बाबुका विभिन्न क्रियाकलापको परीक्षण गरियो र यसैका आधारमा उसमा अटिजमका लक्षणहरू भएको प्रतिवेदन दिइयो । हामीलाई मदर्स ट्रेनिङमा आउन सुझाव पनि दिइयो । त्यस बेला बाबु अठार महिनाको भइसकेको थियो । अटिजम भनी पहिचान भए पनि मेरो आत्माले छोरालाई त्यस्तो केही भएको छैन भनिरहेको थियो । मनभरि पीडा बोकेर हामी घर फर्कियौं ।
बाबु तीन वर्षको भएपछि हामीले नेपालगन्जकै एउटा मन्टेसोरीमा भर्ना गरिदियौं । एक छिन पनि एक ठाउँमा नबस्ने, खाना खुवाउन ज्यादै गाह्रो हुने, झ्यालझ्यालमा चढ्ने, चोटपटक लाग्ला भनेर पनि नडराउने, बिनाकारण कहिले रुने, कहिले हाँस्ने, कहिले दौडनेलगायतका क्रियाकलापले गर्दा बाबुलाई मन्टेसोरीमा राख्न सकिन्न भन्नुभयो शिक्षकहरूले । त्यसपछि बाबुका लागि राम्रो विद्यालयको खोजीमा रहेका बेला कान्तिपुर दैनिकमा काठमाडौंमा रहेको विशेष स्कुल तथा पुनःस्थापना केन्द्रसम्बन्धी लेख छापियो, जसमा अटिजम भएका बालबालिकालाई राखिँदो रहेछ । यही लेखलाई पछ्याउँदै हामी त्यस केन्द्रमा पुग्यौं । अहिले बाबु त्यहीँ छ र पहिलाको भन्दा धेरै कुरा बुझ्छ पनि । बाबुलाई अटिजम छ भनेर हामीले स्विकारिसकेका छौं र हामीलाई आफ्नो छोरालाई अरूसँग दाँजेर हेर्नु पनि छैन अब । उसलाई जे–जति सकिन्छ, सिकाउँदै जान्छौं र अटिजम सम्बन्धमा बुझ्दै, बुझाउँदै पनि जानेछौं । समयमै पहिचान, स्वीकार गरी अटिजममैत्री व्यवहारमा आफूलाई ढाल्नुबाहेक यसको उपचारै छैन ।
बालबालिकाका सर्वांगीण विकासका लागि समयमै उपयुक्त शारीरिक वृद्धि र विकास अत्यावश्यक मानिन्छ । कुनै बालबालिकामा वृद्धि क्रमिक रूपमा हुँदै जाँदा सोही अनुपातमा विकास नभई अस्वाभाविक क्रियाकलाप तथा व्यवहार देखा पर्ने अवस्था अटिजम हो । यसलाई नेपालीमा आत्मकेन्द्रित व्यवहार भनिन्छ । सामान्य बालबालिकामा देखिनेभन्दा फरक स्वभाव, व्यवहार तथा क्रियाकलापहरू यदि कुनै बालबालिकामा देखा पर्छ भने त्यो अटिजमको संकेत हो । यो मस्तिष्क र स्नायु कोषहरूको स्वाभाविक विकास क्रममा हुने असमान अवस्थाको रूप हो । बालबालिकाको मस्तिष्कमा स्नायु कोषहरूको सञ्जालले राम्रोसँग काम नगर्दा सूचना प्रशोधनमा बाधा उत्पन्न भएर सामाजिक क्रियाकलाप, सञ्चार, सीप र कल्पनाशक्तिको विकासमा असर पुग्छ, जसले गर्दा उनीहरूमा सामान्यभन्दा फरक खालका व्यवहार तथा क्रियाकलापहरू देखा पर्छन्; जस्तो— उपयुक्त सञ्चारको बुझाइ नहुनु, घुलमिल हुन नसक्नु, मन पर्ने कुराहरू दोहोर्याइरहनु आदि ।
अटिजम कुनै रोग नभएकाले औषधिबाट निको हुन्छ भन्ने हुँदैन । यो बौद्धिक अपांगता होइन, मस्तिष्कको विशेष अवस्था मात्रै हो । अटिजम किन हुन्छ भन्नेबारे विश्वमा विभिन्न अध्ययन हुँदै आएका छन् । अस्वस्थकर र विषादीयुक्त खानेकुरा, संक्रमण, धूमपान, मद्यपान एंव जन्मपूर्व आमाले लिने तनाव, वंशानुगत रोगलगायतलाई अटिजमका कारकका रूपमा अनुमान गरिएको छ, पुष्टि हुनै बाँकी छ । अटिजम विकासात्मक अपांगता हो, जुन बच्चा जन्मेसँगै आउँछ र ६ महिनादेखि ३ वर्षसम्ममा यसका व्यवहारहरू देखा पर्छन् । अमेरिकामा प्रत्येक ५४ शिशुमा १ जनामा यस्तो समस्या भएको एउटा अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठनले विश्वमा अटिजमको संख्या कुल जनसंख्याको एक प्रतिशत भएको उल्लेख गरेको छ । यसैलाई आधार मानेर नेपालमा करिब ३ लाखमा अटिजम भएको अनुमान गरिन्छ । नेपाल सरकारले अपांगताका दस प्रकारमध्ये एउटामा अटिजमलाई राखेको छ ।
आफ्ना उमेरका बालबालिकासँग खेल्न नरुचाउने, आँखामा आँखा जुधाउन नसक्ने, एक्लै बस्न र एक्लै खेल्न रुचाउने, सामान घुमाउने, घुमिरहेको सामान देखेर खुसी हुने वा कराउने, चोटपटक लाग्दा नबुझ्ने, काटेर रगत आउँदा पनि खासै नडराउने, बढी हल्ला मन नपराउने, झर्को मान्ने, कुनै नौलो वा आफूलाई आवश्यक चीज औंलाले नदेखाउने वा शब्दको प्रयोग नगर्ने बरु सीधै समात्नेलगायतका गतिविधि यसका लक्षणहरू हुन् । सामान्य बालबालिकाका लागि सिकाउन प्रयोग गरिने तरिकाहरू यस्ता बालबालिकालाई काम लाग्दैनन् । अटिजममा कहिलेकाहीँ अन्य शारीरिक समस्यासमेत देखा पर्छन् । त्यस्तो अवस्थामा अटिजम भएकाको जीवन झन् कष्टकर हुन पुग्छ । अटिजमका स्वभाव, व्यवहार र क्रियाकलापहरू व्यक्तिपिच्छे फरक–फरक हुन्छन् । कसैले आफैंलाई टोक्ने, चिथोर्ने वा हानि गर्ने गर्छन् भने कसैले अरूलाई । कोही जता पायो त्यतै दौडिरहन्छन् भने कोही एकै ठाउँमा बसिरहने हुन्छन् । कोही कान थुनिरहने, हात हल्लाइरहने खालका हुन्छन् । कोही ठूलो आवाज आउँदा र भीडमा ज्यादै डराउने हुन्छन् ।
अटिजम भएका बालबालिकाले खानेकुरा नचिन्ने र नबुझ्ने हुँदा खुवाउन ज्यादै कठिन हुन्छ, एक पटक खाएको कुरा केही समय नखुवाउँदा भुल्नेसमेत हुन्छन् । ठोस खानेकुरा राम्ररी चपाएर खान, चिसो तातो खाने कुरासमेत खान नसक्ने हुन्छन् । अटिजम भएका बालबालिकालाई दिसापिसाबसमेत बुझाउन कठिन हुन्छ । सामान्यभन्दा सामान्य व्यवहार सिकाउन पनि वर्षौं लाग्छ । रिसाहा वा सहनै नसक्ने व्यक्तिले अटिजम भएका बालबालिकालाई सिकाउनै सक्दैनन् । उनीहरूले यस्ता बालबालिकालाई झनै तनाव थपिदिन्छन् । अटिजम भएका बालबालिकाको हरेक क्रियाकलाप तनावयुक्त हुन्छ, जसले गर्दा सिकाउने बेला धेरै माया, स्याहार र संयम चाहिन्छ । यस्ता बालबालिकालाई बुझ्न, उनीहरूसँगै रमाउन सक्नुपर्छ । यसो गर्दा उनीहरू खुसी भई हाम्रा कुरा सुन्छन् र सिकाउन पनि सहज हुन्छ ।
एउटा अटिजम बालकका स्वभावहरू अरूसँग पूरै नमिल्न सक्छन् । तर, सामान्यभन्दा असामान्य क्रियाकलाप देखा पर्नु, सञ्चारको बुझाइ अनि केही सिक्ने क्षमतामा कमी हुनुजस्ता मुख्य संकेतका आधारमा अटिजम भए–नभएको यकिन गर्न सकिन्छ । अटिजम भएका बालबालिकाले आफ्नो इच्छाले जुन काम गर्छन्, सोमा एकोहोरो लागिरहने हुँदा उनीहरूले गर्ने काममा ज्यादै निखार आएको हुन्छ, राम्ररी पनि गर्छन् । उनीहरू इमानदार हुन्छन्; झुट बोल्ने, ठग्ने प्रवृत्ति हुँदैन ।अटिजम भएका बालबालिकाको बुझाइ बिस्तारै–बिस्तारै बढ्दै जान्छ । उनीहरूलाई अभिभावकका तर्फबाट मुख्य सहयोग भनेकै अटिजमलाई स्विकार्नु हो, त्यसपछि मात्र परिवार–छरछिमेकले उनीहरूमाथि नराम्रो व्यवहार गर्ने हिम्मत गर्दैनन् ।
अटिजमका सम्बन्धमा परिवार र छरछिमेकमा जनचेतना जगाउनुपर्छ । अटिजम भएका बालबालिकालाई धेरैभन्दा धेरै माया दिएर अपनत्व र सुरक्षित महसुस गराउनुपर्छ । उनीहरूका गल्ती र कमीकमजोरीलाई दण्डित गर्ने, रिसाउने, डर–त्रास भर्ने काम गरेमा उग्र व्यवहारहरू झन् बढ्न सक्छन् । तसर्थ उनीहरूलाई माया गर्दै जाँदा बिस्तारै धेरै कुरा बुझाउन सकिन्छ । बुझाइलाई बढाउँदै लैजाने तरिका पनि यही हो । फिजियो, स्पिच, सेन्सरी, म्युजिकलगायतका थेरापी नियमित रूपमा गराउन; विशेषज्ञसँग आफ्ना छोराछोरीका लक्षणका सम्बन्धमा परामर्शहरू लिन; अटिजम विद्यालयमा आबद्ध गराउन; घरपरिवारले अटिजममैत्री व्यवहार गर्न र सहजै सिक्ने वातावरण बनाउन सके उनीहरूको जीवनलाई सरल र सामान्य बनाउन सकिन्छ । (शर्मा नेपाल नागरिक उड्डयन प्राधिकरणमा कार्यरत छिन् ।) इकान्तिपुरबाट साभार
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १०औं महाधिवेशन आयोजक कमिटी विघटन हुने भएको छ । गत २३ फागुनमा सर्वोच्च अदालतले एमाले ब्युँताएपछि २ जेठ २०७५ कै पार्टी कमिटी, विधान र नेतृत्वका आधारमा अगाडि बढ्नुपर्ने माग एमालेभित्र चर्काे रूपमा उठिरहेको छ ।
वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमसहितको समूह २ जेठको पार्टी कमिटीअनुसार अगाडि बढ्नुपर्ने अडानबाट पछि नहटेपछि ओली महाधिवेशन आयोजक कमिटी विघटन गर्न सहमत भएका हुन् ।
पार्टीभित्र तीव्र विवाद बढ्दै गएपछि खनाल नेपाल समूह अर्को पार्टी गठन गर्नेसम्मको तयारीमा जुटेपछि विवादको कारण बनेको महाधिवेशन आयोजक कमिटी विघटन गर्न ओली सहमत भएका हुन् । एमाले ब्युँताएयता खनाल र नेपाल तथा गौतम समूह कुनै पनि बैठकमा सहभागी भएको छैन ।
पार्टीका सबै संरचना २ जेठ २०७५ मा फर्किएको घोषणा गर्ने तयारी
त्यसयता ओली समूहको बैठक बस्ने र विभिन्न निर्णय गर्ने गरेको छ । उता खनाल नेपाल समूह पनि समानान्तर बैठकलाई निरन्तरता दिँदै सोहीअनुसारको निर्णयका आधारमा अघि बढिरहेको छ ।
एमाले केन्द्रीय सदस्य विष्णु रिजालले अब पार्टीमा महाधिवेशन आयोजक कमिटी नामक अस्थायी संरचना नरहने प्रस्ट पारेका छन् । पार्टीलाई एकताबद्ध बनाउन महाधिवेशन आयोजक कमिटी विघटन गरेर साबिकको एमाले केन्द्रीय कमिटी बैठक बोलाउने तयारी भएको छ ।
‘अब नेकपा (एमाले)मा ‘महाधिवेशन आयोजक कमिटी’ नामक अस्थायी संरचना रहँदैन । साविक केन्द्रीय कमिटीको बैठक बस्छ र पार्टीलाई त्यसले अघि बढाउँछ । पार्टी एकताका लागि यस विकल्पलाई सबैले अधिकतम लचकताका साथ प्रयोग गर्नुपर्छ,’ रिजालले ट्वीटरमा लेखेका छन् ।
१०औं महाधिवेशन आयोजक कमिटीको बैठकबाट पार्टीका सबै संरचना २ जेठ २०७५ मा फर्किएको घोषणा गर्ने तयारीमा पार्टी अध्यक्ष ओली रहेको एमाले स्रोतले जनाएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकमा यस विषयमा गम्भीर रूपमा छलफल भएको छ । बैठकले १५ असारमा स्थायी कमिटी बैठक र १६ असारमा महाधिवेशन आयोजक कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।
एमाले स्थायी कमिटीका सदस्य सुवासचन्द्र नेम्वाङले पार्टी एकता कायम राख्ने देशभरका नेताकार्यकर्ताको चाहना सम्बोधन हुनेगरी निर्णय हुने बताए । ‘यसबारे निर्णय लिन १५ गते स्थायी कमिटी बैठक र १६ गते आयोजक कमिटीको बैठक बोलाइएको छ । देशभरका नेता कार्यकर्ताहरूको पार्टीलाई एकताबद्ध राख्ने चाहना सम्बोधन हुनेगरी हामी निर्णय गर्दै छौं, अब पार्टीलाई एकताबद्ध बनाउँछौं,’ नेम्वाङले भने ।
कर्णाली प्रदेशका एमाले सांसदलाई पदमुक्त गर्ने निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले नै महाधिवेशन आयोजक कमिटीले गरेको निर्णयले वैधता नपाउने आदेश दिएको थियो ।
एमाले सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले १६ गते १०औं महाधिवेशन आयोजक कमिटी बस्ने निर्णय भएको बताए । राष्ट्रिय राजनीतिको सम्बन्धमा केही निर्णय गर्नुपर्ने भएकाले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउनुपरेको उनले बताए ।
‘पछिल्लो राजनीतिक स्थिति, कोभिड महामारीको अवस्था, प्राकृतिक विपत्ति र राष्ट्रिय राजनीतिका विभिन्न आयामको संक्षिप्त तर गहन छलफल गरेका छौं । यो विषयमा थप केही निर्णय गर्न आवश्यक भएको, अझ फराकिलो र उच्च तहबाट छलफल गरेर केही निर्णय निकाल्नुपर्ने भएको हुनाले १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बिहान ११ बजे काठमाडौंमा बस्नेगरी बैठक आह्वान गर्ने निर्णय बैठकले गरेको छ,’ ज्ञवालीले भने ।
प्रवक्ता ज्ञवालीले पार्टी एकताको आशा कायमै रहेको बताउँदै केही नेताहरू विपक्षीलाई काँधमा राखेर उनीहरूलाई शक्तिशाली बनाउने प्रयासमा लागे पनि धेरै नेता कार्यकर्ता एमाले एकताकै पक्षमा रहेकाले एकताको प्रयत्न र प्रयास जारी राखिएको बताए । राजधानी दैनिकमा प्रकाशित समाचार साभार
- गीताश्री शर्मा
मङ्गलीको सधैं मुखमा सुपारी च्याप्ने बानी । भात खाइसक्या छैन, सुपारी मुखा हाल्नै पर्ने । सौदा-पात जाँदा उबारेको पैसाले दुइ-चार टुक्रा भए पनि सुपारी किनेर थैलीमा हालेकै हुने। मेला-पात जाँदा मुखमा आधा कप्टेरो नै चेपेको हुन्थ्यो । सुपारी उनको अभिन्न मित्र, एक-अर्काका पर्याय ।
मङ्गलीका पति हर्कमानको समय प्रायः हल गोरुसँगै मेलापातमै बित्थ्यो । कहिले आफ्नो त कहिले पर्मा वा दैनिक रोजगारीमा । हलगोरु नै उनको आयस्रोत भने हुन्छ। हर्कमानले गाउँ-घर, छरछिमेक रिझाएर राखेका छन् , पर्खेर भा’पनि हर्कमान नै चाहिने । मङ्गली र हर्कमानको सानो चिटिक्क परेको सानो घर र चारपाथी धानको बिउ जाने खेत छ । यसो साग- सब्जी रोप्नलाई गोडाचारेक सुख्खा बारीका पाटा भनौं कोठेबारी पनि छ । कमेरो र रातो माटोले पोतेको घरलाई दिनैपिच्छे सिकुवा र मझेरी हरियो गोबरले लिप्ने गर्थिन्। माटोले बनाएको दुइमुखे चुल्होमा दाल-भात सब्जी मिलिक्कै पाक्थ्यो । हर्कमानले हिउँदमा बारीमै चिरेका दाउराले वर्षभरि पुगिहाल्थ्यो।
हर्कमान र मङ्गलीकी मुटु एउटै छोरी झुमा, एघार वर्षकी पढ्नमा असाद्धै राम्री र बाठी थिइन् । गाउँकै विद्यालयको पाचौं श्रेणीमा पढ्थिन् । ईश्वर वन्दनापछि सधैँ मदिरा सेवन गर्दा जीउमा पुग्ने नोक्सानी, गुटका खाँदा गर्ने असर, धुम्रपानले हुने हानी र बिमारी बारे,स्वास्थ्य सम्बन्धी शिक्षा, खानपान र सरसफाई विषयमा विद्यार्थीहरूले छोटा-छोटा निबन्धात्मक टीकाटिप्पणी दिनुपर्ने नियम थियो। झुमाले यी कुरा ध्यान दिएर सुन्थिन् अनि आफ्नो पालोमा बोल्ने पनि गर्थिन् ।
स्कूलबाट आएपछि छोरी झुमाले आमालाई भनिन्,”आमा,तपाईं किन सधैं सुपारी खानुहुन्छ? स्वास्थ्यको लागि राम्रो होइन त !”
मङ्गलीले अँध्यारो अनुहार पार्दै भनिन्, ” नानी ! म न सुर्ती खान्छु , न बंगाली खान्छु, न पान , न मदिरा नै सेवन गर्छु ! मैले खाने अम्मल भनेको यही सुपारी मात्र त हो।”
” सुपारी तपाईंलाई साह्रै मनपर्छ ?” बालखा छोरी झुमाले निर्दोष प्रश्न गरिन् ।
अप्ठ्यारो मान्दै आमाले भनिन् , “तिमीलाई जति चक्लेट मनपर्छ । “
“छोड्न सक्नु हुन्छ आमा ? ” झुमाले सोधिन् ।
“तिमीले मिठाई छोड्न सक्छ्याै भने म पनि सुपारी छाेड्न सक्छु।”
” त्यसो’भा आजदेखि तपाईं सुपारी छोड्नुहोस् म चकलेट ! ” झुमाका निर्दोष आँखाले आमालाई हेरिन्, आमाले पनि छोरीलाई एकटक लगाएर मायालु नजरले हेरिन् अनि अँगालोमा कसिन् ।
आज पूरा दुइ महिना भएछ, झुमाले चकलेट मुखमा हालेकी छैनन् । जन्मदिनमा साथीभाइले ल्याइदिएका मिठाई पनि सबै स्कूलमा लगेर बाँडिदिइन् । मङ्गली सौदापात गर्न जाँदा दोकानेले पनि , ” दिदी! सुपारी कतिको दिउँ ? “भनेर सोध्न छोडेको छ ।
मङ्गलीले सुपारीको स्वाद भुलिन् । सुपारीको तलतल पनि लाग्न छोड्यो । एकदिन अनायसै आमाले बजारबाट आउँदा चकलेट,टफी र केही मिठाईहरू बोकेर आएकी थिइन् । झुमा होमवर्क गर्दै सिकुवामा बसेकी रहिछन् । ” नानी, यतिका दिन मिठाई नखाँदा तिमीलाई कस्तो कस्तो लागेको छैन ? ” झुमाले टाउको उठाएर मायालाग्दो नजरले आमालाई हेरेर भनिन् , “तपाइँलाई सुपारीको तलतल लागेको छ कि छैन ? “
” छैन छोरी, मैले त सुपारीको स्वाद पनि भुलिसकें, तलतल त परैजाओस् । लु भन छोरी ! मलाई सुपारी खान किन दिइनौ ? “
बिहानमात्र स्कूलमा झुमाले सुपारी र गुट्काबाट हुने हानी र असरबारे दिएको वक्तव्य आमालाई हुबहू सुनाइन् , आमा-छोरी खुशीले गदगद् भइरहेका थिए, अघि आमाले बजारबाट ल्याएका मिठाईहरू झोलाबाट निकालेर नाबालक छोरीका हातमा राखिदिएर बलियो अँगालोमा बाँधेर छोरीका गालामा म्वाई खाइन् । हर्कमान आफ्नो दैनिकी सकेर टुप्लुक्क आइपुगे ।
गान्तोक, सिक्किम
मकवानपुर । मकवानपुर प्रहरीले हेटाैडाबाट १९ नेवारपानीबाट सालको काठसहित ३ जनालाई पक्राउ गरेको छ।
असार १२ गते राती ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले ना ४ख ५५०१ काे ट्रिपरबाट ५१.६० क्युफिट चिरान सालको काठसहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा मनहरीबाट हेटौडा तर्फ आउँदै गरेको ना ४ख ५५०१ नं. को ट्रिपर गाडीलाई रोकेर चेकजाँच गर्दा ५१.६० क्युफिट अबैध सालको काठ फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
पक्राउ पर्नेमा गाडी चालक मकवानपुरको मनहरी गाउँपालिका ७ बिजौना का २५ वर्षीय बाबुलाल मोक्तान, उक्त ट्रिपरमा सवार सोही स्थानका २६ वर्षीय राजु प्रजा र २६ वर्षीय निशान प्रजा रहेको प्रवक्ता रिमालले बताए ।
काठ, ट्रिपर र मानिस नियन्त्रणमा लिईआवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय राप्ती,मनहरी पठाईएको मकवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुर । अभिनेत्री तथा मोडल सन्ध्या केसी विवाह गरेकी छिन् । अभिनेत्री केसी गत शुक्रवार आफ्नो प्रेमी आभूषण ज्योति कंसाकारसँग कानुनी रुपमा विवाह गरेकी हुन् । बिगत दुई वर्षदेखि यी अभिनेत्री आभूषणसँग प्रेम सम्बन्धमा थिइन् ।
आफुहरुको कानूनी विवाह भएको उनले सामाजिक सञ्जालमा मार्फत खुलासा गरेकी छिन् । अदालतबाट विवाहको प्रकृया पुरा गरेपछि उनले श्रीमानसँगका केही तस्विरहरु सार्वजिनक गर्दै विवाह गरेको जनाएकी हुन् ।
सन्ध्याले फेसबुकमा लेखेकी छन्, ‘हामीले विवाहित जोडीको रुपमा एक सुन्दर यात्रा सुरु गर्न हात मिलाएका छौं । म आभूषणसँग विवाहको खबर सार्वजनिक गर्दा रोमाञ्चित महसुस गर्दैछु । धार्मिक रुपमा हामी एक हुन बाँकी छ, जुन हामी स्थिति सहज भएपछि गर्नेछौं । त्यतिन्जेल तपाईंहरूको स्नेह र आर्शिवाद चाहन्छौं । आजदेखि हामी एक्लै हिँड्ने छैनौं । हाम्रो हृदय हाम्रो आश्रय हुनेछ ।’
अभिनेता अनमोल केसीको जोडी बनेर पाँच वर्ष अघि नेपाली चलचित्र ‘ड्रिम्स’सबाट नायिकाको रुपमा सन्ध्याले डेब्यु गरेकी थिईन् । सन्ध्याले ‘कमलेको बिहे, पण्डित बाजेको लौरी, कथा काठमाण्डू’ लगायतका फिल्ममा पनि अभिनय गरिसकेकी छन् । उनले केही म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छन् ।