मकवानपुर । मकवानपुरकाे जिल्ला शिक्षा कार्यालयमा जिल्ला शिक्षा अधिकारी पदमा काम गरेका खड्गबहादुर कमाल मुख्यमन्त्रीका राजनीतिक सल्लाहकारमा नियुक्त भएका हुन् । लामाे समय सरकारी सेवामा रहेका कमाल गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजनीतिक सल्लाहकारमा नियुक्त भएका छन्।
त्रिभुवन विश्वविद्यालयबाट शिक्षामा स्नातकोत्तर गरेका उनले काठमाडौं विश्वविद्यालयबाट एमफिल गरेका छन्। मुख्यमन्त्रीले ५ जनासम्म विज्ञ नियुक्त गर्न पाउने प्रावधान छ। राजनीतिक सल्लाहकारले प्रदेश राज्यमन्त्री सरह सुविधा पाउने छन्।
नवलपुर (नवलपरासी) बुलिङटारका कमाललाई गत आइतबारको प्रदेश मन्त्रिपरिषद बैठकले राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हाे। निजामति सेवा अन्तर्गत शिक्षा सेवामा लामो समय क्रियाशील कमाल पछिल्लाे पटक क्षेत्रीय शिक्षा निर्देशकबाट अवकाशप्राप्त भएका हुन्। अवकाशपछि उनी राजनीतिमा सक्रिय छन्।
निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)भित्रको विवादलाई अब कानुनी प्रक्रियाबाटै टुंगो लगाउने भएको छ । जसपाका दुवै समूह सहमतिबाट विवाद टुंगो लगाउन असहमत भएपछि आयोग कानुनी प्रक्रियाबाटै विवाद निरुपणको प्रक्रियामा अघि बढ्ने भएको हो ।
आयोगले मंगलबार जसपाको उपेन्द्र यादवले नेतृत्व गरेको समूह र महन्थ ठाकुरले नेतृत्व गरेको समूहलाई कान्तिपथस्थित केन्द्रीय कार्यालयमा बोलाएर छलफल गरेको थियो । सो क्रममा आयोगले सहमति हुने सम्भावना भए प्रयास गर्न जसपाका नेताहरूलाई आग्रहसमेत गरेको थियो ।
तर, जसपाका दुवै समूहका नेताहरूले भने सहमतिको कुनै सम्भावना नरहेको भन्दै कानुनी प्रक्रियाबाट विवादको छिनोफानो गर्न आयोगलाई आग्रह गरेका छन् ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगले जसपाका दुवै समूहलाई बोलाएर सहमतिका लागि प्रयास गरेको तर सहमति हुने सम्भावना नरहेको जवाफ आएकाले आयोग अब कानुनअनुसार निर्णय प्रक्रियामा अघि बढ्ने जानकारी दिए ।
जसपाका दुवै समूहसँग विवादबारे आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ (४) अनुसार सहमतिको प्रयास गरेको थियो ।
‘आयोगले राजनीतिक दलसम्बन्धी कानुनअनुसार नै दुवै पक्षलाई बोलाएर सहमतिको प्रयास गरेको हो, त्यो सम्भावना देखिएन, आयोगले अब विवाद निरुपणका लागि कानुनअनुसार प्रक्रिया अघि बढाउँछ,’ आयोगका प्रवक्ता श्रेष्ठले राजधानीसँग भने ।
यसरी आयोगले प्रक्रिया अघि बढाउँदा राजनीतिक दलसम्बन्धी ऐनकै व्यवस्थाअनुसार विवाद समाधानका लागि प्रमुख आयुक्तको नेतृत्वमा आयुक्त रहने गरी इजलास गठन गर्ने तयारी आयोगले गरेको छ । इजलासमा कति जना आयुक्त बस्ने भन्ने विषयमा आयोगले टुंगो लगाउने र छिट्टै इजलास गठन हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
सहमतिका पक्षमा दुवै पक्ष सहमत नभएपछि आयोगले अब राजनीतिक दलसम्बन्धी ऐनको दफा ४५ (२) बमोजिम तत्काल कायम रहेको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त रहने इजलास गठन गरी सुनुवाइ गर्ने छ ।
यसरी गठन हुने इजलासले विवाद निरुपणका लागि दुवै पक्षसँग सुनुवाइ गर्नेछ । सुनुवाइका लागि जसपाका दुवै समूहले आआफ्ना कानुनी सहयोगीसमेत राखेर बहस पैरवी गराउन सक्नेछन् । सो व्यवस्था ऐनमा नै छ । यसरी सुनुवाइमार्फत हुने छिनोफानो पुनरावेदन अदालतले गरेको निर्णयबराबर हुने आयोगले जनाएको छ । ऐनले नै अदालतको अधिकारसरह आयोगलाई सो कार्यका लागि अधिकार दिएको छ ।
जसपामा यादव पक्ष र ठाकुर पक्षबीच लामो समयदेखि आधिकारिकताको विवाद छ । दुवै पक्षले आआफ्नै समूह आधिकारिक रहेको दाबी गर्दै आइरहेका छन् । यस्तै, दुवै समूहले एकअर्कामाथि कारबाहीसमेत गर्दै आइरहेका छन् ।
यादव पक्षले पछिल्लोपटक राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्थामा नै टेकेर आयोगमा आधिकारिकता दाबी गर्दै निवेदनसमेत दिएको थियो ।
त्यसपछि आयोगले ठाकुर पक्षलाई यादव पक्षको दाबीबारे १५ दिनभित्र जवाफ माग गरेको थियो । आयोगको सो पत्रपछि ठाकुर पक्षले जवाफ पठाएको थियो भने त्यसपछि आयोगले विवाद मिलाउने प्रयासस्वरूप सहमतिका लागि दुवै समूहलाई बोलाएको थियो । राजधानी दैनिकमा प्रकाशित समाचार साभार गरिएकाे
मकवानपुर । नेपाल आयल निगमले पेट्रोल डिजेल र मट्टितेलको मूल्य बढाएको छ। मगलबार राति १२ बजेदेखि बढेको मूल्य लागू हुने निगमले जनाएकाे छ । यस अघी निगमले २ हप्ता पहिले मूल्य बढाएकाे थियाे ।
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाइएको निगमले जनाएको छ। अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय २९, डिजेल तथा मट्टितेलको प्रतिलिटर १ सय १२ रुपैयाँ कायम भएको छ।
यसअघि असार ९ गते निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। भारतबाट आउने मूल्य नै बढेकाले समायोजन गरिएको निगमले जनाएको छ ।

देशभर मनसुनी वायुको प्रभाव रहेकोले केही स्थानमा हल्कादेखि मध्यम बर्षा भइरहेकाे जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल देशभर सामान्य देखि पुर्ण बदली रहेको छ। प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको महाशाखाले जानकारी दिएकाे छ।
असार २३ गते बुधबार देशका अधिकांश भूभागहरूमा सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरुमा तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक वा दुई स्थान धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १ बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका का एक वा दुई स्थान धेरै भारी वर्षाको सम्भावना रहेकोले उक्त प्रदेशहरुको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु समेत माैसम पूर्वानुमान महाशाखाले आग्रह गरेकाे छ ।
मकवानपुर । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्तीका दिनमा नवोदय साहित्यिक बगैँचा बाल क्लवले विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ ।
आज (मङ्गलबार) पत्रकार सम्मेलन मार्फत यस्तो जानकारी गराइएको हो । नबोदय बोर्डिङ स्कुलको बाल क्लबको आयोजनामा आगामी २९ गते भानु जयन्तीको अवसरमा विविध कार्यक्रमको आयोजना गर्न लागिएको विद्यालयले जनाएको हो ।
क्लवकी अध्यक्ष अनुषा उप्रेतीले आदिकवि भानुभक्त आचार्यको जीवन कथामा आधारित नाटक प्रदर्शनी, पोलिङ, वर्तमान अवस्थामा बाल साहित्यलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा बहस, तीनपुस्ते साहित्यकारहरुले रचना वाचन गर्ने, समालोचनात्मक दृष्टिकोणको साहित्यकार निमेष निखिललले प्रस्तुत गर्ने र विषयगत ५ वटा दिमाग ख्याउने प्रश्न सोधिने बताइन् ।
कार्यक्रममा वर्तमान अवस्थामा बाल साहित्यलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा पत्रकार सुरेश श्रेष्ठ, शिक्षक दीपक गौतम, विद्यार्थी धनगडीका विभूती अधिकारी र बाल साहित्यकार यशु श्रेष्ठले बहस गर्नेछन् ।
यसैगरी तीनपुस्ते साहित्यकार रचनावाचनमा मुना अर्याल, पुरुषोत्तम आचार्य र प्रसन्ना चौलागाईँले रचना वाचन गर्ने अध्यक्ष उप्रेतीले बताइन् । नेपाली भाषा र साहित्यको जगेर्ना गर्ने, साहित्यतर्फ आकर्षित गराउँदै रचना मार्फत समाज सुधार गर्न,विभिन्न साहित्यकाहरुको स्मरण गर्दै सम्मान गर्न, नेतृत्व क्षमता तथा व्यक्त्तित्व विकास गराउँदै सिर्जनशील बन्न, तार्किक साथै काल्पनिक क्षमताको विकास गराउन, कुनै पनि काम गर्दा सञ्चार, सहकार्य, सिर्जनात्मक, समालोचनात्मकताको विकास गराउने उद्देश्यले कार्यक्रम गर्न लागिएको उप्रेतीको भनाइ रहेको छ । गतवर्षदेखि नवोदय साहित्यिक बगैँचा बाल क्लवले भानुजयन्ती विशेष कार्यक्रम गर्दै आइरहेको छ ।