मकवानपुर । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी आफैंले राखेका प्रधानमन्त्री शेरबहादुर देउवाकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीेले श्रेष्ठलाई आइतबार राज्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
प्रधानमन्त्री देउवाले सत्ता सम्हालेको १३ औं दिनमा कांग्रेसका समानुपातिक सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहदरबारस्थित प्रधानमन्त्रीतथा मन्त्रीपरिषद्को कार्यालयमा नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई पद तथा गोपनीयताको सपथ गराएका थिए ।
नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना खोपलाई आफूले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार आयोजित सपथपछि उनले आफ्नो पहिलो प्राथमिकता खोप हुने बताएका हुन् ।
हालसम्म नेपाली काग्रेंसको तर्फबाट गृह मन्त्रीमा बालकृष्ण खाँण र कानुन मन्त्रिमा ज्ञानेन्द्रबहादुर कार्की, माओबादी केन्द्रको तर्फबाट अर्थमन्त्रीमा जनार्दन शर्मा र उर्जा मन्त्रीमा पम्फा भुषाल नियुक्त भइसकेका छन् ।
काे हुन् श्रेष्ठ
स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त श्रेष्ठ मूलतः शिक्षा क्षेत्रका व्यवसायी हुन् । श्रेष्ठ २०१२ सालमा भोजपुरमा जन्मिएका उनी ४२ वर्षअघि भोजपुरबाट काठमाडौं आए हुन् । उनी हाल शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा संलग्न छन् ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य रहेका उनी ललिपुरको हात्तीवनमा रहेको लिटिल एन्जल्स एजुकेशन ग्रुपका संस्थापक अध्यक्ष हुन् । उनी उच्च माध्यमिक विद्यालय एसोसिएसन हिसान र प्याब्सनका पूर्व अध्यक्षसमेत हुन् भने हाल सल्लाहकार छन् । उनी कांग्रेसमा दोस्रो पटक समानुपातिक कोटाबाट सांसद बनेका व्यक्ति हुन् । यसअघि उनी संविधानसभा सदस्य थिए ।
श्रेष्ठको नेपालको शैक्षिक क्षेत्रमा मात्रै नभएर अन्य व्यवसायमा पनि लगानी छ । उनले व्यावसायिक शुरुवातमा भने लिटिल एन्जल स्कूल खोलेर शैक्षिक व्यवसायीका रुपमा परिचय बनाएका थिए । उनी प्राइम कमर्सिंयल बैंकका पूर्व अध्यक्षसँगै मुख्य लगानीकर्ता पनि हुन् । उनको पछिल्लो समय जलविद्युत् आयोजनामा पनि लगानी छ । उनी पाँचथर पावर कम्पनी प्रालिका अध्यक्ष हुन् । यस्तै सानीगाड हाइड्रो पावर बझाङ, कालङगा हाइड्रो वझाङ, बुङ्गल हाइड्रो बझाङ, भिजन इनर्जी रामेछाप र माउन्टेन इनर्जी म्याग्दीका पनि उनको लगानी छ ।
यसैगरी चितवनमा होटल सिराइचुली, होटल सेन्ट्रल पार्क, धुलिखेलमा हिमालयन दृश्य रिसोर्ट र तनहुँमा घाँसी हेल्थ रिसोर्टमा पनि उनको लगानी छ । पोखरामा उनको नयाँ होटल परियोजना सुरु भएको छ । कृषि फार्म, निजी वन विकास लगायत धेरै क्षेत्रमा उनको लगानी छ । यस्तै हाउजीङ तथा रियल स्टेटमा पनि उनको लगानी छ ।
श्रेष्ठले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा पनि हात हालेका छन् । नेपालमा निजी अस्पतालमा लगानी गर्न सुरु गरेका श्रेष्ठले यस वर्ष नै ५० करोड रुपैयाँभन्दा बढी लगानीमा पाँचवटा निजी अस्पताल बनाउने तयारी गरेका छन् ।
उनी महेन्द्रनारायण निधि मेमोरियल सामूदायिक अस्पताल काठमाडौंको ट्रस्टीजको अध्यक्ष हुन् । यस्तै काठमाडौंको बालाजुमा रहेको जनमैत्री अस्पतालकासमेत उनी अध्यक्ष हुन् ।
काठमाडाै । पछिल्लो २४ घण्टामा देशभर दुई हजार दुई सय ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १० हजार पाँच सय ६९ जनाको पीसीआर र तीन हजार दुई सय ६५ जनाको एन्टिजेन गरी १३ हजार आठ सय ३४ जनाको नमुना परीक्षण गर्दा दुई हजार दुई सय ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यो कुल परीक्षणको १६ प्रतिशतभन्दा केही बढी हो । हिजो शनिवारको तुलनामा आज सङ्क्रमणदर केही घटेको छ । योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ३४ हजार सात सय ९९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा दुई हजार ५० जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ४३ हजार ६ सय १५ पुगेको छ । थप १८ जनाकाे कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । योसहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार सात सय १३ जना पुगेको छ ।
अहिले नेपालमा २७ हजार दुई सय २८ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये ६ सय ६६ जनाको आईसीयू र एक सय ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएकाे छ । उज्यालाे नेटवर्कबाट
मकवानपुर । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामाको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामाको घोषणा गरेका हुन् ।
अलमुताइरी २०७७ चैतमा नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङका कारण राजीनामा दिन लागेको अल्मुताइरीले फेसबुकमार्फत जानकारी दिएका छन् ।

- कविता पूर्ण पाैड्याल
उमेरले बोक्रा नतासी छिप्पिन्छ ऊ
भाले नबिउँझी बिउँझन्छ ऊ
अनि बिस्तारै लाग्छ पैसाको
बोट फल्ने रुखको खोजीमा
रहर लागेर हैन भोक मार्न हिड्छ ऊ
झोला भित्र बालापन बोकेर
घरीघरी सोच्दछ ऊ
कसैले मेरो कसौंडीमा भात उमारी दिए
म पनि त दगुर्थे होला भकुण्डोको पछिपछि
कसैले म ननिदाएको कारण सोधी दिए
हर्षले झार्थे होला वेदनाका कयौं थोपाहरू
एकछाती नीलो आकाश
रहरको इन्द्रेणी बोकेर आउँछ
लुकामारी खेल्दै
अनि, सोहोरेर लान्छ
आँखाबाट सपना
संसारै धमिलो पारेर
हराउछ्न खुशिका बुट्टाहरू
उस्की आमा हराए झैँ
त्यो कागे खोलामा
कहिल्यै नफर्किने गरी
आज आमाको सम्झनाले असाध्यै सताएपछी
एउटा कविते पत्र लेख्छ ऊ
अनि माथि अकाश तर्फ फ्याँक्छ
प्यारी आमा,
मायाको खानी थियो तिमीसँग
खान्न खान्न भन्दा खुवाउने कहाँनी थियो तिमीसँग
घामको मुहान छेक्ने शीतल छाँया थियो तिमीसँग
संसार आट्ने मुटु अनि न्यानो माया थियो तिमीसँग
आमा, सर्वस्व गुमाएपछि
एक्लो भएको छु आज तिमी बिना यहाँ
हरेकपल मेरो झझल्कोमा डुल्छौ तिमी
तिम्रो सम्झनाले औधी सताउँदा
आफ्नै अनुहार नियाल्ने गर्छु ऐनामा
उतिबेला तिमीलाई
तँ जस्तै तेरो छोरो भन्ने मेरो हजुरबुवालाई सम्झदै
हो आमा तेसैले आज खोजी रहेछु आफुमा तिमीलाई
कतै खोज्ने ठाउँ नपाएर यो संसारमा
आमा
एक पटक दैवलाई भेटेर सोध्न मन छ
तिमीलाई किन खोस्यो मबाट
फेरि बाबालाई पनि किन टाढा पुर्यायो नियतिले
म तेति ठुलो कहाँ भएको छु र आमा
जति ठूलो आज समयले बनाउँदैछ मलाई
‘काम नगरी खानेलाई चोर भन्छ्न्’
तिम्रो यहि शब्द मेरो कानमा गुन्जी रहँदा
आज कर्मको पाठ घोक्न हिड्दैछु
तर आमा
निष्ठुर रहेछ् दुनियाँ
मैले रित्तै फर्कनु पर्छ घर सधैंभरी
मलाई सम्झाउने हरूको भिड हुन्छ त्यहाँ
फोटो खिच्नेको ताँती हुन्छ त्यहाँ
एउटै भाषण सवैको मुखभरी
यो त पढ्ने लेख्ने उमेर हो
यसरी काम खोजेर हिन्नु हुन्न बाबा
बिद्यालय जानू पर्छ है भोलिदेखि
यहि एउटा बाक्य सुन्दासुन्दै
थाकिसक्यो आमा मेरो कान
बिद्यालय नजाँँदा पनि त टेकेको छु नि खुट्टा
तर अन्न बिना सक्दिनँ उभिन म आमा
तिमि नै बुझाइदेउ न यो समाजलाई
भनत
कसरी जाउँ म बिद्यालय कस्ले गरिदिन्छ भर्ना
कस्ले किनिदिन्छ कापी कलम किताब र कपडा
अनि फेरि कसले गर्छ जोगाड यो भुँडीको
भो आमा म हैरान भइसकेँ आडम्बरी समाजदेखि
तेसैले निधो गरेको हुँ तिम्रो समीप आउने
एक अँगालो चोखो मायामा लुट्पुटिने
तिमी हुँदा सवैले कति धेरै माया गर्थे
अहिले देख्दिनँ कसैको आखामा
त्यो माया, त्यो प्रेम
हो आमा
सक्ने छैन अब म तिमी बिना बाच्न
बुझ्ने छ दैवले पनि
म आउँदैछु आमा त्यही खोलामा
जुन खोलाबाट तिमी फर्किएनौ कहिल्यै
‘उहीँ तिमीले छोडेको टुहुरो छोरा “मँ”
उसैबेला घाँस काट्न जाँदा
घासीको नजर पर्छ एउटा कागजको टुक्रामा
जसलाई पढेर आत्तिदै थरथरी काम्दै
कुद्देर पुग्छे कागे खोला
तर ऊ शान्त भएर अविरल बगिरहेको हुन्छ
निलेर एउटा् अबोध बालक
बँगैगाउँ गुहावटी आसाम
मकवानपुर । नेपाल अंग्रेजी भाषा शिक्षक सगठन (नेल्टा) बागमती प्रदेशद्वारा आयाेजना गरिएकाे अंग्रेजी शिक्षक तालिम/वेबिनार सम्पन्न भएकाे छ । नेल्टा बागमती प्रदेशद्वारा आयोजित दोस्रो शृंखलाको अंग्रेजी शिक्षक तालिम/वेबिनार साउन ९ गते सम्पन्न गरिएकाे हाे ।
नेल्टा बागमती प्रदेशको आयोजनामा नेल्टाका जिल्ला, प्रदेश र केन्द्रीय पदाधिकारीहरु, आजीवन सदस्यहरु तथा विभिन्न तहमा अध्यापन गर्ने अग्रेजी शिक्षकहरु सहभागी रहेको अनलाइन तालिमको शृंखला- २ आज साउन ९ गते सम्पन्न भएको छ । नेल्टा बागमती प्रदेशका अध्यक्ष गणेश हुमागाईको सभाध्यक्षता रहेको कार्यक्रममा नेल्टाका सल्लाहकार एवम् पूर्व अध्यक्ष प्रो. डा. जय राज अवस्थी प्रमुख वक्ता रहेका थिए ।
नेल्टाका वरिष्ठ उपाध्यक्ष एवम् काठमाडौं विस्वविद्यालयका प्रा. डा. लक्ष्मण ज्ञावालीले सहजीकरण गरेकाे कार्यक्रममा अमेरिकी दूतावास काठमाडौंका रेलो (RELO) कार्यक्रम विशेषज्ञ श्री विश्वराज गौतम, नेल्टा केन्द्रीय समिति तथा प्रदेश समितिका पधाधिकारी एवम् सदस्यहरु, नेल्टा सेन्टरका प्रोग्राम कोअर्डिनेटर, एक्सेस प्रोग्राम कोअर्डिनेटर लगायत विभिन्न जिल्लाका अध्यक्षहरुको आतिथ्यता रहेको थियाे ।

आगामी साउन १६ गते हुने तेश्रो शृंखलाको वेबिनार/तालिमको सहजीकरण नेल्टा केन्द्रीय समितिका पूर्व तालिम संयोजक श्री सरिता देवानले गर्ने भएका छन् । विषम परिस्थितिको समयलाई सदुपयोग गर्दै नेल्टा बागमती प्रदेशले आयोजना गरेको हरेक शनिवार बिहान ७:३० देखि ९ बजेसम्मको यो शृंखलावद्द कार्यक्रममा विभिन्न तहमा अध्यापन गर्ने अंग्रेजी शिक्षकहरुको उपस्थिती रहेको छ |
सम्बन्धित विषयमा उच्च दक्षता हासिल गरेका राष्ट्रीय एवं अन्तरराष्ट्रिय प्रशिक्षकहरुले प्रशिक्षण दिने कार्यक्रम अंग्रेजी अध्यापन गर्ने शिक्षकहरुका लागि धेरै नै उपयोगी हुने बिश्वास गरिएको छ | विषम परिस्थितिको समयलाई सदुपयोग गरी शिक्षकहरुका लागि अत्यन्तै उपयोगी अनलाइन तालिम शुरु गरी तालिममा भाग लिने अवसर प्रदान गरेकोमा सहभागीहरुले नेल्टा बागमती प्रदेशलाई धन्यबाद दिएका छन् ।
तालिमलाई अत्यन्त व्यवस्थित, मर्यादित र प्रभावकारी ढंगबाट संचालन गर्न प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सहयोग पुर्याउनुहुने सम्पूर्ण महानुभावहरुलाई आयोजकले धन्यबाद समेत दिएको छ । कार्यक्रमको संचालन नेल्टा बागमतीका महासचिब किशोर पराजुली गरेका थिए ।