मकवानपुर । नेकपा माओवादी केन्द्र राक्सिराङका नेता सन्च बहादुर प्रजासहित विभिन्न पार्टी परित्याग गरि नेकपा एमाले प्रवेश गरेका छन । आईतबार हेटाैडामा भएकाे पार्टी प्रवेश कार्यक्रममा प्रजा सहित १ दर्जन कार्यकर्ता माओवादी र नेपाली कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेका हुन् ।
एमाले पार्टी कार्यलय हेटाैडामा भएको पार्टी प्रवेश कार्यक्रममा नेता प्रजा सहित राक्सिराङ वडा नंबर ६ र ८ का अभिशेक चेपाङ,बनी राना चेपाङ,दिपक चेपाङ सहित १ दर्जन युवाहरु एमाले प्रवेश गरेका हुन् । उनीहरुलाई नेकपा एमाले केन्द्रीय सदस्य एवं मकवानपुरका इन्चार्ज रामेश्वर राना, संविधानसभा सदस्य एवं एमाले बागमती प्रदेश संगठन विभाग प्रमुख अनन्त पौडेल, एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ लगाएतले स्वागत गरेका थिए ।
‘नेताहरुले नेतृत्वमा पुगेर पनि आश्वसन मात्र दिएकाले पार्टीमा निष्कृय भएर बसेको थिए’ एमाले प्रवेश गर्दै नेता प्रजाले भने अब एमाले पार्टीले आफुहरुलाई दिने जिम्मेवारी पुरा गर्नेछ्र ।’ कार्यक्रममा बोल्दै एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले आफ्नो गाँउ टोलदेखि देशको समृद्धिको निम्ति एमालेकै नेतृत्व आवश्यक रहेको बताए । उनले नवप्रवेशीहरुलाई पार्टीले उचित जिम्मेवारी दिने समेत बताए ।
एमाले बागमती प्रदेश संगठन विभाग प्रमुख अनन्त पौडेलले एमाले सरकारमा हुँदा र नहुँदा पनि जनताको साथमा रहेको बताए । नेकपा एमाले केन्द्रीय सदस्य एवं मकवानपुरका इन्चार्ज रामेश्वर रानाले एमाले सधै ‘समृद्ध नेपाल सुखी नेपाली’ को पक्षमा अघि बढिरहेको बताए । उनले गाउँगाउँमा एमालेकै जनलहर रहेको बताउँदै सरकारबाट बाहिरिदैमा ‘समृद्ध नेपाल सुखी नेपाली’ को यात्रा नरोकिने बताए । उनले स्थानीय निर्वाचन नजिएकाे बताउँदै जिल्लाको १० वटै स्थानीय तह कमिटिहरुलाई निर्वाचन केन्द्रित भएर पार्टीका कार्यक्रमहरु अघि बढाउन आग्रह समेत गरेका छन् ।

कोरोनाको पहिलो लहर सुरु हुनुअघि विराटनगरकी एलिशा शर्माले कक्षा यूकेजी उत्तीर्ण गरिसकेकी थिइन् । लकडाउन खुलेपछि पनि उनले केही महिना पुरानै विद्यालयमा यूकेजी दोहोर्याइन् । दोस्रो लहरले गर्दा यस वर्ष पनि विद्यालय जान पाएकी छैनन् । कक्षा एकको पुरानो पुस्तक ल्याएर घरैमा पढ्न थालेकी छन् ।
बेलुकी अभिभावकले एलिशाका लागि दुई घण्टा ट्युसन पढाउने चाँजोपाँजो मिलाएका छन्, दिउँसो मैले उनलाई घरमा बोलाएर उति नै समय पढाउन थालेकी छु ।
अरू विषयको भन्दा पनि नेपाली र अंग्रेजी पुस्तकको मोटाइ, लम्बाइ, चौडाइलगायत यसमा समाविष्ट पाठ र अभ्यासहरू सरसर्ती हेरेपछि कसरी पढाउने भनेर म धेरै बेर असमञ्जसमा परें । झट्ट हेर्दा पुस्तकभन्दा पनि कुनै सरकारी तथा गैरसरकारी संस्थाको प्रतिवेदनजस्ता देखिने ती दुवै पुस्तक चित्त नबुझेर पसलमा जोख्न पठाएँ । जम्मा ११ वटा पाठ समाविष्ट १६७ पानाको नेपाली पुस्तक जोख्दा चार सय ग्राम भयो, यस्तै १७ युनिटअन्तर्गतका उपशीर्षकका पाठ र २२० पाना भएको अंग्रेजी पुस्तक जोख्दा ठ्याक्कै ५ सय ग्राम भयो । त्यसो त ‘मेरो सेरोफेरो’ र ‘गणित’ पुस्तकको मोटाइ, लम्बाइ र चौडाइ पनि उस्ताउस्तै थियो । तर, ती सबैको चर्चा यहाँ सम्भव छैन ।
गत वर्षदेखि पाठ्यक्रम विकास केन्द्रले नयाँ ढाँचामा नेपाली, अंग्रेजीलगायत पुस्तक प्रकाशन गर्न निजी प्रकाशनहरूलाई स्वीकृति दिएपछि, सामुदायिक र निजी विद्यालयहरूले नेपाली भाषाका एकैखाले पुस्तक पढाउन थालेका छन् । केन्द्रले २०७७ असार २८ को निर्णयअनुसार शैक्षिक सत्र २०७७ देखि २०७९ सम्मका लागि उक्त पुस्तक पाठ्यसामग्रीका रूपमा स्वीकृति दिएको जानकारीसमेत गराएको छ ।
गत वर्ष उक्त पुस्तकबारे सरोकारवालहरूले कहीँ–कतै चर्चा गरेको पाइएन, यसपालि पनि स्थिति उस्तै छ । सामुदायिक विद्यालयको बालविकास कक्षा तथा निजी विद्यालयबाट पूर्वप्राथमिक तह छिचोलेका साना विद्यार्थी लक्षित, ‘प्रतिवेदन’ जस्ता देखिने यस्ता पुस्तकका लेखक तथा सम्पादकहरूले बालमनोविज्ञानलाई नजरअन्दाज गरेका छन् । कक्षा एकमा पढ्ने विद्यार्थीका मस्तिष्कले यस्ता पुस्तकका पाठ र अभ्यास कति बुझ्छन् भन्ने विषयलाई लेखक र प्रकाशनगृहले बुझेको देखिँदैन ।
‘जसरी पनि विद्यार्थीले पढ्नुपर्छ र शिक्षकले पढाउनुपर्छ’ भन्ने मानसिकताबाट निर्देशित यस्ता पुस्तक कालान्तरमा हाउगुजी बन्ने निश्चित छ । निजी विद्यालयबाट भर्खरै पूर्वप्राथमिक तह छिचोलेका विद्यार्थीले नेपाली र अंग्रेजी भाषामा कनीकुथी शब्द र वाक्य पढ्न सिकेका हुन्छन्, अधिकांशले त अक्षर र मात्रासम्म खुट्याउन सक्दैनन् । यस्ता विद्यार्थीहरूका लागि मोटा पुस्तकहरू पढाउनुको कुनै अर्थ छैन ।
विद्यालय चाहे निजी होऊन् या सामुदायिक, शिक्षाको माध्यम या त अंग्रेजी हुन्छ या नेपाली । पहिले सामुदायिक विद्यालयको चर्चा गर्नु मनासिब होला, जहाँ स्थापनाकालदेखि शिक्षाको माध्यम नेपाली भाषा छ । यस्ता विद्यालयले नेपाली भाषामा पढाइरहँदा पनि जहिल्यै शिक्षाको गुणस्तर खस्कियो भन्दै सरोकारवालहरूले चासो–चिन्ता व्यक्त गरिरहन्छन् । तर, किन, कसरी खस्क्यो, खस्किँदै छ भन्ने प्रश्नको जवाफ तिनले खोजेका छैनन् । भाषाको माध्यमबाटै शिक्षा ग्रहण गर्नुपर्नेमा, त्यही भाषा ती विद्यार्थीका लागि हाउगुजी बन्छ भने, के अर्थ रह्यो र पढ्नु–पढाउनुको ?
केही समययता कतिपय सामुदायिक विद्यालयले बालविकास कक्षाका लागि भर्ना लिन थालेका छन् । बालबालिकालाई यस कक्षामा राखेर कक्षा एकका लागि तयार गरिन्छ । बालविकास कक्षा छिचोलेका सामुदायिक विद्यालयका साना विद्यार्थीहरूको उमेर र रुचिलाई विशेष ध्यान दिनु जरुरी छ । किनभने निजी विद्यालयमातहत सञ्चालित यस्ता बालविकास कक्षा तथा प्ले ग्रुप कक्षामा केही महिना या एक वर्ष बिताएका साना विद्यार्थीहरूलाई शिशु कक्षाका लागि तयार गरिन्छ र शिशु कक्षापछि पुनः दुई वर्ष अर्थात् पूर्वप्राथमिक तह छिचोलेपछि मात्रै ती कक्षा एकमा पुग्छन् ।
सामुदायिकको तुलनामा कतिपय निजी विद्यालयले सञ्चालन गरेको बालविकास कक्षा वा मन्टेसोरीमा साना विद्यार्थीहरूलाई लेख्न–पढ्नभन्दा पनि सर्वांगीण विकास गराउन अतिरिक्त क्रियाकलाप गराइन्छ । यस्ता क्रियाकलापअन्तर्गत बोलीको विकास गराउन केही समय बालगीत गाउन सिकाइन्छ । अक्षर लेखाउनुअघि धर्साहरू कोर्न र चित्रहरूमा रंग भर्न सिकाइन्छ । यस्ता क्रियाकलापपछि बल्ल अक्षर कोर्ने आधारभूत सीप सिक्छन् ती विद्यार्थीहरूले । यसपछि ती विद्यार्थीहरू शिशु कक्षामा पुग्छन्, जहाँ एक वर्ष लगाएर अंग्रेजी, नेपाली र गणितका साउँअक्षर र अंक लेख्न, पढ्न र चिन्न सिक्छन् । यसरी एक वर्ष शिशु कक्षामा बिताएका ती विद्यार्थीहरूले एलकेजी पुगेपछि नेपाली र अंग्रेजी भाषाका सामान्य शब्द लेख्न र पढ्न सिक्छन्, अनि यूकेजी पुगेपछि वाक्य बनाउन र पढ्न सक्छन् ।
कतिपय पूर्वप्राथमिक तहका विद्यार्थीहरूलाई शिशु कक्षादेखि नै बालचित्रकथाका पुस्तकहरू हेर्न दिँदा उनीहरूले आफूले सिक्दै गरेका अक्षर र शब्द खोज्न सिक्छन् । अभिभावकहरूले यस्ता बालचित्रकथाका पुस्तकहरू नियमित पढेर सुनाउँदा बालबालिकामा कथा सुन्ने बानीको विकास हुन्छ, पछि उनीहरूमा पढ्ने अभिरुचि पनि जाग्छ । तर, हाम्रोमा धेरै बालबालिकाले यस्ता पुस्तकहरू पाएका छैनन् ।
भाषासिकाइको वैज्ञानिक र सहज आधारभूत शिक्षणलाई नजरअन्दाज गरी पाठ्यक्रम विकास केन्द्रले तयार गरेका पुस्तकहरू अव्यावहारिक र अवैज्ञानिक छन् । ती पुस्तकका पाठ र अभ्यासहरू सरसर्ती हेर्दा सबै मात्रा मिसिएका शब्द र वाक्य कसरी पढ्ने र पढाउने भन्नेबारे विद्यार्थी र शिक्षकहरू अलमलमा पर्छन् । साना विद्यार्थीहरूलाई नेपाली र अंग्रेजी भाषाका साउँअक्षर चिनाइसकेपछि बल्ल मात्राबारे ज्ञान दिनुपर्ने हुन्छ । यसरी सबै मात्रा चिनाइसकेपछि बल्ल उनीहरूलाई मिश्रित मात्रा मिसिएका शब्द र वाक्य गठन गर्न सिकाउनुपर्ने हुन्छ ।
यसै पनि निजी विद्यालयका विद्यार्थीलाई नेपाली भाषाका साउँअक्षर र मात्रा चिनाउन धेरै समय लाग्छ । सामुदायिकका बालविकास कक्षा छिचोलेका साना विद्यार्थीहरूले साउँअक्षर राम्ररी चिनी नसकी कक्षा एकमा भर्ना हुन्छन् । यसो हुँदा, नेपाली र अंग्रेजी भाषा सिकाइको प्रारम्भिक चरण दुवै थरी विद्यालयका विद्यार्थीहरूलाई असहज पनि देखिन्छ । नेपाली भाषाको शिक्षणसिकाइको अवैज्ञानिक सुरुआतको दूरगामी र नकारात्मक प्रभाव विद्यार्थीको समग्र सिकाइमा पर्छ भन्ने वास्तविकतालाई सरोकारवालाहरूले आत्मसात् गरेको देखिँदैन । यी र यस्ता कतिपय कारण भाषासिकाइको वैज्ञानिक र सहज सिकाइ हुन सकेको छैन । यसलाई वैज्ञानिक र सहज बनाउन शिक्षाविद्लगायत सरोकारवालहरूले प्रतिवेदनजस्ता देखिने पाठ्यपुस्तकबारे बहस गर्नु जरुरी छ । इकान्तिपुरबाट साभार गरिएकाे
सरकार गठनको एक महिना पुग्दा समेत प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल विस्तार गर्न सकेका छैनन् । नेकपा एमाले माधवकुमार नेपाल समूहलाई सरकारमा ल्याउने प्रयास जारी रहेकाले मन्त्रीमण्डल विस्तारमा ढिलाइ हुँदै आएको छ ।
नेपाल समूहले सरकारमा सहभागी हुने/नहुने कुनै निर्णय गर्न सकिरहेको छैन । सो समूहलाई सरकारमा सहभागी नगराएको खण्डमा सरकारले संसद्मा ल्याउने विधेयक पास हुन सक्ने अवस्था नरहने भन्दै प्रधानमन्त्री देउवाले केही दिन कुरेरै नेपाल समूहलाई सरकारमा सहभागी हुने नीति लिएको बताइएको छ ।
नेपाल समूहलाई सरकारमा ल्याउन सरकार गठन भएको यस अवधिमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई निवासमै पुगेर दर्जनौंपटक भेटवार्ता गरिरहेका छन् । तर, नेपाल समूहमै सरकारमा सहभागी हुने विषयमा मतभेद रहेको छ ।
मन्त्रीमण्डल विस्तारमा नेपाल समूहको प्रतीक्षा भइरहेका बेला यता पार्टीभित्रको आन्तरिक विवाद पनि समाधान हुन सकिरहेको छैन । पार्टीको केन्द्रीय कमिटीको बैठकले विधान सम्मेलन गर्ने निर्णय गर्दै स्थानीय पार्टी कमिटीमा पार्टी सदस्यता नवीकरणको कामलाई तीव्रता दिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई समान अधिकारसहितको अध्यक्ष मान्न नसकिने अडान लिएपछि एमालेको एकता प्रक्रिया अगाडि बढ्न सकेको छैन ।
नेपाल समूहले दैनिकरूपमा छलफल जारी राखे पनि पार्टी एकता गर्ने वा देउवा नेतृत्वको सरकारमा सहभागी हुने विषयमा निर्णय गर्न सकिरहेको छैन । माधव समूहका सांसद मेटमणि चौधरी देउवा सरकारलाई विश्वासको मत दिएका कारण सरकारमा पनि सहमति हुनुपर्नेमा एकमत रहेको बताउनुहुन्छ । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका नेपाल समूहका २२ सांसदले नै सरकारमा सहभागी हुनुपर्ने दबाब नेता नेपाललाई दिँदै आएका छन् । नेपाल समूहभित्र नै सरकारमा सहभागी हुने नहुने विषयमा विवाद हुँदा सरकार गठन भएको एक महिनाको अवधिमा पनि नेपाल समूहले कुनै निर्णय लिन सकिरहेको छैन ।
सत्तारूढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीभित्र पनि मन्त्री बन्ने विषयलाई लिएर विवाद रहेको छ । कांग्रेस माओवादी र जसपाले मन्त्री छनोट गर्न नसक्दा त्यसको बहाना भने नेपाल समूहलाई सरकारमा सहभागी गराउनका लागि ढिला भएको बताउने गरिएको छ । तर, नेपाल समूहका एक नेता मन्त्रीमण्डल विस्तार गर्न आफूहरु बाधक नभएको बताउँछन् । शुरुमा माधव नेपालले मन्त्रीमण्डललाई पूर्णता दिएर अगाडि बढ्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नुभएको हो, तर के कारणले हो अझै मन्त्रीमण्डल विस्तार हुन सकिरहेको छैन ।
नेपाल समूहले सरकारमा सहभागी हुने निर्णय गरेको अवस्थामा मन्त्रीमण्डल विस्तार गर्दा पुनः मन्त्रीबाट हटाउनुपर्ने अवस्था सिर्जना हुन नदिन अझै केही दिन कुरेर सकेसम्म नेपाल समूहलाई सरकारमा सहभागी गराउने रणनीति प्रधानमन्त्री देउवाले बताउनुभएको छ । तर, नेपाल समूह भने जुट्न पनि नसक्ने र सरकारमा पनि सहभागी हुन नसक्ने अवस्थाबाट जुग्रिँदै आएको छ ।
मन्त्री बन्नका लागि कांग्रेस, माओवादी र जसपाभित्र पनि हानाथाप छ । जसपाभित्र कसको नेतृत्वमा सरकारमा जाने विषयमा मतभेद शुरु भएको छ । सरकारमा सहभागी हुने विषयलाई लिएर पार्टी अध्यक्ष उपेन्द्र यादव र नेता डा. बाबुराम भट्टराईबीच विवाद चुलिँदै आएको छ ।
सरकार गठन भएको एक महिना बितिसक्दा समेत सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय भागवण्डा र कुन–कुन मन्त्रालय कुन दलले लिने भन्ने विषयमा अझै टुंगो लाग्न सकेको छैन ।
परिस्थिति जटिल : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीतिक परिस्थिति जटिल बन्दै गएको बताएका छन् । उनले माधवकुमार नेपालको अडानले टिकेकोे शेरबहादुर देउवाको सरकार कुनै पनि बेला अल्पमतमा पर्न सक्ने संकेत गरेका हुन् ।
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले परिवर्तन उल्ट्याउन खोज्ने शक्तिले अहिलेको गठबन्धनलाई भत्काएर पुरानै सरकार ल्याउन खोजिरहेको निष्कर्ष सुनाउनुभएको छ । प्रचण्डको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने– ‘नयाँ सरकार गठन भए पनि प्रतिगमको घण्टी बजी नै रहेको छ, माधव नेपाल दह्रो अडिदिएको हुनाले मात्रै बहुमत पुगेको छ ।’ उनले जसपाले वैधानिकता पाएकाले २०, कांग्रेस र माओवादीको १ सय ११ जोड्दा १ सय ३१ मात्र पुग्ने अवस्था हेर्दा अहिले सरकार अल्पमतमा रहेको बताए ।
प्रचण्डले प्रधानमन्त्रीले नाम माग्नासाथ स्थायी कमिटीको बैठक राखेर मन्त्रीका नाम दिन सक्ने बताउँदै दलभित्रको अवस्थाका कारणले मन्त्रीमण्डल विस्तारमा ढिलो भएको बताए । ‘अहिले प्रधानमन्त्री आफैंले कांग्रेस कार्यसमितिको बैठकपछि गरौं भन्नुभएको छ ।’ –उनले भने ।
नेपालसमाचारपत्र (newsofnepal.com) मा प्रकाशित समाचार साभार गरिएकाे
मकवानपुर । स्वतन्त्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा गोकुल अधिकारी चयन भएका छन् । शनिबार हेटौंडामा भएको तेश्रो अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा प्रेमकला पौडेल, सचिवमा प्रमोद अर्याल, कोषाध्यक्षमा रणधीर गुप्ता र सदस्यमा जमुना थिङ चयन भएका छन् । २ जना सदस्य पछि चयन गरिने अध्यक्ष अधिकारीले बताए ।
संघले केन्द्रीय परिषद् सदस्यमा सुरेश श्रेष्ठ र आदर्श थोकर चयन भएका छन् भने प्रदेश परिषद् सदस्यमा मेनुका बल, रबिन्द्र वाइबा र दीक्षान्त खड्का चयन भएको छन् । स्वतन्त्र पत्रकार संघ राष्ट्रिय सल्लाहाकार नवराज पहाडीको प्रमुख आतिथ्यता र स्वतन्त्र पत्रकार संघ राष्ट्रिय कोषाध्यक्ष शालिग्राम पाण्डेको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सल्लाहकार पहाडीले पत्रकारहरु स्वतन्त्र हुनु पर्ने बताए । ‘पत्रकारिता पेशा आफैंमा स्वतन्त्र पेशा हो,’ उनले भने,‘तर, पत्रकारहरु पनि अहिले विभिन्न दलहरुसँग आवद्ध छ । दलीय आवद्धताले पत्रकारिता पेशा स्वतन्त्र हुन सक्दैन ।’ यस्तै विशिष्ट अतिथि राष्ट्रिय कोषाध्यक्ष पाण्डेले पत्रकारिता पेशा चुनौतिपूर्ण रहेको भन्दै क्षमतावान मान्छेहरुलाई पत्रकारिता पेशामा टिक्न गाह्रो नहुने बताए ।
मकवानपुर । मकवानपुर जिल्ला तेक्वान्दो कार्य समितिको अध्यक्षमा लालकाजी रत्न बज्राचार्य सर्वसम्मतले चयन भएका छन् । शनिबार भएको छैठौँ पुर्नगठन कार्यक्रमले बज्राचार्यलाई ४ बर्षे कार्यकाल लागि पुनः अध्यक्षमा चयन गरेको हो ।
यसैगरी तेक्वान्दो कार्य समितिको प्रथम उपाध्यक्षमा निरु कुमारी मगर,द्वितीय उपाध्यक्षमा ओम कुमार लामा ,सचिवमा बिक्रम लामिछाने,सह—सचिवमा सुरेश ढुंगाना ,कोषाध्यक्षमा रबिन्द्र डंगोल रहेका छन् । जिल्ला तेक्वान्दो कार्य समितिमा १८ सदस्यीय कमिटि चयन भएका छन् ।
हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौंडा वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देल,मकवानपुर खेलकुद विकास समितिका अध्यक्ष सानु लामा अतिथि रहेका थिए ।